Skip to content
Opens in a new window
Listen to this chapter • 4:51

[1] तब मैले हेरें, अनि मेरो सामु सियोन पर्वतमा थुमालाई उभिरहनुभएको देखें, उहाँसँग एक लाख चवालीस हजारलाई देखें, जसको निधारमा उहाँको र उहाँका पिताको नाउँ लेखिएका थिए।

[2] तब मैले स्वर्गबाट जोडसित बग्दै गरेको पानी र ठूलो गर्जनजस्तो आवाज आइरहेको सुनें। मैले सुनेको आवाज वीणा वादकहरूले आफ्ना वीणाहरू बजाएको जस्तै थिए।

[3] तिनीहरूले सिंहासनको सामु, ती चारओटा जीवित प्राणीहरूको र प्रधानहरूको सामुन्‍ने एउटा नयाँ गीत गाए। पृथ्वीबाट छुटकारा पाएका ती एक लाख चवालीस हजारले बाहेक कसैले पनि त्यो गीत सिक्न सक्दैनथे।

[4] यी मानिसहरू ती हुन्, जो स्त्रीहरूसित बिटुलिएनन्; किनकि तिनीहरूले आफूलाई शुद्ध राखेका थिए। थुमा जहाँ जानुहुन्छ, तिनीहरूले उहाँलाई पछ्याउँछन्। तिनीहरू मानव जातिबाट किनिएका थिए, अनि परमेश्‍वर र थुमालाई पहिलो फलझैं चढाइए।

[5] तिनीहरूका मुखमा कुनै झूट पाइएन; तिनीहरू निर्दोष छन्।

[6] तब मैले बीच आकाशमा उडिरहेका अर्को स्वर्गदूतलाई देखें, अनि तिनीसित पृथ्वीमा बस्‍नेहरू, प्रत्येक राष्ट्र, कुल, भाषा र जातिहरूलाई घोषणा गर्नुपर्ने अनन्तको सुसमाचार थियो।

[7] तिनले चर्को सोरले भने, “परमेश्‍वरसित डराओ, अनि उहाँलाई महिमा देओ, किनकि उहाँको न्यायको बेला आएको छ। उहाँको आराधना गर, जसले स्वर्गहरू, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुभयो।”

[8] दोस्रो स्वर्गदूतले पनि आएर भने, सबै राष्ट्रहरूलाई आफ्नो व्यभिचारी कामवासनाको मद्यको कचौरा पिउन लगाउने, “महान् शहर बेबिलोनको पतन भयो! पतन भयो।”

[9] अनि ती दुईका पछि एकजना तेस्रो स्वर्गदूतले आएर चर्को सोरले भने: “यदि कसैले त्यस पशु र त्यसको मूर्तिलाई आराधना गर्छ र त्यसको छाप निधारमा अथवा हातमा लगाउँछ भने,

[10] त्यसले पनि उहाँको क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्‍वरको क्रोधको कडा मद्य पिउनेछ। त्यसलाई पवित्र स्वर्गदूतहरू र थुमाको उपस्थितिमा जल्दै गरेको गन्धकमा यातना दिइनेछ।

[11] अनि तिनीहरूका यातनाको धूवाँ सदा-सर्वदा उँभोतिर गइरहनेछ। जसले त्यो पशु र त्यसको मूर्तिको आराधना गर्छन् र जसले त्यसको नाउँको छाप लगाउँछन् तिनीहरूले दिनरात आराम पाउनेछैनन्।”

[12] परमेश्‍वरका आज्ञाहरू पालन गर्ने, अनि येशूप्रति विश्‍वासयोग्य भइरहने परमेश्‍वरका जनहरूको धीरज र सहनशीलता यसैमा हुनुपर्छ।

[13] तब मैले स्वर्गबाट आएको एउटा आवाजले यसो भनिरहेको सुनें, “यो लेख: अबदेखि उसो प्रभुमा मर्नेहरू धन्यका हुन्।” आत्मा भन्‍नुहुन्छ, “हो, तिनीहरूले परिश्रमबाट विश्राम पाउनेछन्, किनकि तिनीहरूका काम तिनीहरूका साथ लाग्नेछन्।”

[14] मैले हेरें, अनि मेरो सामुन्‍ने एउटा सेतो बादल थियो, त्यस बादलमा एकजना “मानिसको पुत्रझैं” बसिरहनुभएको थियो, जसको शिरमा सुनको एउटा मुकुट अनि हातमा एउटा धारिलो हँसिया थियो।

[15] तब मन्दिरबाट अर्का स्वर्गदूत आए, अनि बादलमा बसिरहनुहुनेलाई चर्को सोरले भने, “तपाईंको हँसिया लिएर कटनी गर्नुहोस्; किनकि कटनीको समय आएको छ, अनि पृथ्वीको बाली पाकिसकेको छ।”

[16] यसरी बादलमा बस्‍नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो; अनि पृथ्वीमा कटनी भयो।

[17] स्वर्गमा भएको मन्दिरबाट अर्का स्वर्गदूत आए, तिनीसित पनि एउटा धारिलो हँसिया थियो।

[18] आगोको जिम्मेवारी पाएका अझ अर्का स्वर्गदूत वेदीबाट आए, अनि धारिलो हँसिया हुनेलाई चर्को सोरमा भने, “तिम्रो हँसिया लिएर पृथ्वीको अङ्गुरका झुप्पाहरू बटुल; किनकि अङ्गुर पाकिसकेको छ।”

[19] त्यस स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए, र त्यसमा भएका अङ्गुर बटुले अनि तिनीहरूलाई परमेश्‍वरको क्रोधको ठूलो दाखको कोलमा फालिदिए।

[20] शहर बाहिरको दाखको कोलमा त्यो अङ्गुर कुल्चीमिल्ची गरियो, अनि दाखको कोलबाट रगत निस्केर आयो। त्यो रगत घोडाको लगामसम्म आयो, र त्यो तीन सय किलोमिटर सम्म फैलिएको थियो।

प्रकाश — Chapters