[1] मैले स्वर्गमा अर्को ठूलो र आश्चर्यजनक चिन्ह देखें: सातओटा अन्तिम विपत्तिहरू लिएका सात स्वर्गदूतहरू थिए। यी अन्तिम विपत्तिहरू हुन्, किनकि यीसँगै परमेश्वरको क्रोध पूरा हुनेछ।
[2] अनि मैले आगोसित मिसिएको काँचको समुद्रझैं देखें; अनि समुद्रको किनारमा त्यो पशु र त्यसको मूर्ति अनि त्यसको नाउँको संख्यामाथि विजयी भएकाहरूलाई देखें। तिनीहरूले परमेश्वरले दिनुभएका वीणाहरू लिएका थिए।
[3] तिनीहरूले परमेश्वरको सेवक मोशाको र थुमाको गीत गाए: “हे सर्वशक्तिमान परमप्रभु परमेश्वर, तपाईंका कामहरू महान् र अचम्मका छन्। राष्ट्रहरूका राजा, तपाईंका मार्गहरू न्यायपूर्ण र सत्य छन्।
[4] हे प्रभु, तपाईंको डर कसले मान्दैन? अनि तपाईंको नाउँको महिमा कसले गर्दैन र? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै राष्ट्रहरू आएर तपाईंको सामु दण्डवत् गर्नेछन्, किनकि तपाईंका धार्मिक कामहरू प्रकट भएका छन्।”
[5] त्यसपछि मैले स्वर्गमा मन्दिर उघारिएको देखें, जुनचाहिँ गवाहीको पाल हो।
[6] त्यस मन्दिरबाट सात स्वर्गदूतहरू सात विपत्तिहरू लिएर बाहिर आए। तिनीहरूले सफा र चम्किलो मलमलको वस्त्र पहिरेका थिए, अनि छातीमा सुनका पेटी बाँधेका थिए।
[7] तब ती चार जीवित प्राणीहरूमध्ये एक जनाले ती सात स्वर्गदूतहरूलाई सदा-सर्वदा जिउनुहुने परमेश्वरको क्रोधले भरिएका सातओटा सुनका कचौराहरू दिए।
[8] अनि परमेश्वरको महिमा अनि उहाँको शक्तिबाट आएको धूवाँले मन्दिर भरियो; र ती सात स्वर्गदूतहरूका सात विपत्तिहरू पूरा नभएसम्म कोही पनि मन्दिरभित्र पस्न सकेन।