Skip to content
Opens in a new window
Listen to this chapter • 5:01

[1] यसपछि मैले स्वर्गमा एउटा ठूलो भीडको गर्जनजस्तो यसरी चिच्याएको सुनें: “हल्‍लेलूयाह! मुक्‍ति, महिमा र शक्‍ति हाम्रा परमेश्‍वरका हुन्,

[2] किनकि उहाँका न्यायहरू सत्य र न्यायपूर्ण छन्। आफ्ना व्यभिचारद्वारा पृथ्वीलाई भ्रष्‍ट पार्ने त्यस महावेश्यालाई उहाँले दण्ड दिनुभएको छ। र परमेश्‍वरले त्यससित आफ्ना सेवकहरूका रगतको बदला लिइसक्नुभएको छ।”

[3] अनि तिनीहरू फेरि चिच्याए: “हल्‍लेलूयाह! त्यस स्त्रीबाट निस्केको न्यायको धूवाँ सदा-सर्वदाको लागि उँभोतिर गइरहन्छ।”

[4] ती चौबीस प्रधानहरू अनि ती चार जीवित प्राणीहरूले घोप्टो परेर सिंहासनमा बस्‍नुहुने परमेश्‍वरलाई आराधना गरे। अनि तिनीहरू यसो भन्दै कराए: “आमेन, हल्‍लेलूयाह!”

[5] तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो: “हे उहाँका सबै सेवकहरूहो, तिमीहरू जो उहाँसित डराउँछौ, अर्थात् साना र ठूलाहरू दुवै। हाम्रा परमेश्‍वरलाई प्रशंसा गर।”

[6] तब एउटा ठूलो भीडको जस्तो, पानीको बेगजस्तो आवाज र मेघ गर्जनको आवाजजस्तो यसरी चिच्याएको मैले सुनें: “हल्‍लेलूयाह! किनकि हाम्रा सर्वशक्‍तिमान परमप्रभु परमेश्‍वरले राज्य गर्नुहुन्छ।

[7] हामी आनन्द मनाऔं, र खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाको विवाहको बेला आइपुगेको छ, अनि उहाँकी दुलहीले आफूलाई तयार पारेकी छिन्।

[8] तिनलाई चहकिलो र स्वच्छ मलमलको कपडा पहिरनलाई दिइएको थियो।” मसिनो मलमलको कपडाले सन्तहरूका धार्मिक कार्य जनाउँछ।

[9] अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख: ‘थुमाको विवाहको भोजको निम्तो पाउनेहरू धन्यका हुन्!’ ” अनि तिनले अझ थपेर भने, “यी परमेश्‍वरका सत्य वचनहरू हुन्।”

[10] अनि म तिनको पाउमा दण्डवत् गर्नलाई घोप्टो परें। तर तिनले मलाई भने, “यसो नगर! म येशूको गवाही कायम राख्ने तिमी अनि तिम्रा दाजुभाइ-दिदीबहिनीहरूझैं एकजना सङ्गी-सेवक हुँ। परमेश्‍वरको मात्रै आराधना गर! किनकि अगमवाणीका आत्माले नै येशूको गवाही बोकेका छन्।”

[11] मैले स्वर्ग उघ्रिएको देखें, अनि मेरो सामु एउटा सेतो घोडा थियो, जसको सवारलाई विश्‍वासयोग्य र सत्य भनिन्छ। उहाँले निष्पक्षसित न्याय र लडाइँ गर्नुहुन्छ।

[12] उहाँका आँखाहरू बल्दै गरेको आगोजस्ता छन्, अनि उहाँका शिरमा धेरै मुकुटहरू छन्। उहाँमा एउटा नाउँ लेखिएको छ, जो उहाँबाहेक अरू कसैले जान्दैन।

[13] उहाँले रगतमा चोपिएको एउटा पोशाक पहिरिनुभएको छ; अनि उहाँको नाउँ परमेश्‍वरको वचन हो।

[14] सेता घोडाहरूमा सवार भएका अनि मिहिन सेता र स्वच्छ मलमलको वस्त्र पहिरेका स्वर्गीय सेनाहरूले उहाँलाई पछ्याइरहेका थिए।

[15] राष्ट्रहरूलाई प्रहार गर्नलाई उहाँको मुखबाट एउटा धारिलो तरवार निस्केको छ। “उहाँले फलामको राजदण्डले तिनीहरूमाथि शासन गर्नुहुनेछ।” उहाँले सर्वशक्‍तिमान परमेश्‍वरको क्रोधको मद्यको कोल कुल्चनुहुनेछ।

[16] उहाँको वस्त्र र तिघ्रामा यो नाउँ लेखिएको छ: राजाहरूका राजा अनि प्रभुहरूका प्रभु।

[17] अनि मैले एकजना स्वर्गदूतलाई सूर्यमा उभिरहेका देखें, जसले आकाशको बीचमा उडिरहेका चराहरूलाई चर्को सोरमा भनिरहेका थिए, “आओ, परमेश्‍वरको ठूलो भोजको लागि एकसाथ भेला होओ,

[18] अनि तिमीहरूले राजाहरू, सेनापतिहरू, शक्‍तिशाली योद्धाहरू, घोडाहरू, त्यसका सवारहरू अनि स्वतन्त्र र सेवक सेविकाहरू, ठूला र सानाहरू सबैका मासु खान पाउनेछौ।”

[19] तब मैले त्यस पशु, र पृथ्वीका राजाहरू अनि तिनीहरूका सेनाहरूलाई त्यस घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसित युद्ध गर्नलाई एकसाथ भेला भएको देखें।

[20] तर त्यो पशु अनि त्यसको पक्षमा अचम्मका शक्‍तिशाली कामहरू गर्ने त्यो झूटा अगमवक्‍ता पक्राउ पर्‍यो। यी अलौकिक चिन्हहरूद्वारा पशुको छाप लाउने, र त्यसको मूर्तिलाई आराधना गर्नेहरूलाई बहकाएको थियो। ती दुवै गन्धक अग्निकुण्डमा जिउँदै फालिए।

[21] अरू बाँकी रहेकाहरूचाहिँ घोडामा सवार हुनुहुनेको मुखबाट निस्केको तरवारद्वारा मारिए, अनि सबै चराहरूले तिनीहरूका मासु लुछ्दै खाएर अघाए।

प्रकाश — Chapters