Skip to content
Opens in a new window
Listen to this chapter • 3:33

[1] थुमाले सातओटा छापहरूमध्ये पहिलो छाप खोल्नुभएको मैले देखें। तब ती चार जीवित प्राणीहरूमध्ये एउटाले गर्जनको सोरमा यसो भनिरहेको सुनें, “आऊ!”

[2] अनि त्यहाँ मैले मेरो सामु एउटा सेतो घोडा देखें! त्यसको सवारले एउटा धनु समातेको थियो, अनि उसलाई एउटा मुकुट दिइयो; अनि ऊ विजय गर्ने उद्देश्यले विजयीझैं निस्क्यो।

[3] जब थुमाले दोस्रो छाप खोल्नुभयो, तब मैले दोस्रो जीवित प्राणीले यसो भनिरहेको सुनें, “आऊ!”

[4] अनि अर्को उज्ज्वल रातो घोडा आयो। उसलाई एउटा ठूलो तरवार दिइयो। त्यसको सवारलाई संसारदेखि शान्ति उठाइलैजाने र एक-अर्का मानिसलाई मारून् भन्‍ने अख्तियार दिइयो।

[5] जब थुमाले तेस्रो छाप खोल्नुभयो, मैले तेस्रो जीवित प्राणीले यसो भनिरहेको सुनें, “आऊ!” मैले हेरें, अनि मेरो सामु एउटा कालो घोडा थियो! त्यसको सवारको हातमा एउटा तराजु थियो।

[6] तब ती चार जीवित प्राणीहरूमध्ये एउटा आवाजले यसो भनिरहेको मैले सुनें, “एक दिनको ज्याला एक किलो गहुँ र एक दिनको ज्याला, तीन किलो जौ; तेल र दाखमद्यलाई हानि नगर्नू!”

[7] जब थुमाले चौथो छाप खोल्नुभयो, मैले चौथो जीवित प्राणीले यसो भनिरहेको सोर सुनें, “आऊ!”

[8] मैले हेरें, मेरो सामु एउटा हल्का हरियो रङ्गको घोडा थियो! त्यसको सवारलाई मृत्यु भन्‍ने नाउँ दिइएको थियो, र पातालचाहिँ त्यसको पछि-पछि लागेको थियो। तिनीहरूलाई संसारको चौथाइ भागलाई तरवारले, अनिकालले, रूढीले र संसारका जङ्गली जन्तुहरूले मार्ने शक्‍ति दिइएको थियो।

[9] जब थुमाले पाँचौं छाप खोल्नुभयो, तब मैले वेदीको मुनि तिनीहरूका आत्माहरूलाई देखें, जो परमेश्‍वरको वचनको कारण र आफ्नो साक्षी कायम राखेको कारण मारिएका थिए।

[10] तिनीहरूले जोडसित यसो भने, “हे सार्वभौम, पवित्र र सत्य परमेश्‍वर, तपाईंले कहिलेसम्म संसारका बासिन्दाहरूमाथि न्याय गरेर हाम्रा रगतको बदला लिनुहुन्‍न र?”

[11] तब ती प्रत्येकलाई पाउसम्म लामो सेतो वस्त्र दिइयो; अनि तिनीहरूका सङ्गी-सेवकहरू र दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीहरूझैं मारिएर संख्यामा पूरा नभएसम्म केही समय पर्खिनू भनी तिनीहरूलाई भनियो।

[12] थुमाले छैटौं छाप खोल्नुभएको मैले हेरें। तब एउटा ठूलो भुइँचालो गयो। सूर्यचाहिँ बाख्राको रौँले बनिएको भाङ्ग्राझैं कालो भयो; अनि सम्पूर्ण चन्द्रमा रगतजस्तो रातो भयो,

[13] अनि आकाशका ताराहरूचाहिँ नपाकेका अञ्जीरहरू हावाले हल्‍लाइँदा झरेझैं पृथ्वीमा झरे।

[14] आकाशचाहिँ पत्रको मूठाझैं बेह्रिएर गयो; अनि प्रत्येक पहाड र टापूचाहिँ आफ्नो ठाउँबाट हटिगए।

[15] तब संसारका राजाहरू, राजकुमारहरू, सेनापतिहरू, धनीहरू, पराक्रमीहरू, प्रत्येक सेवक र स्वतन्त्र व्यक्‍ति, ओडार, चट्टान र पहाडहुँदो लुके।

[16] तिनीहरूले पहाड र चट्टानहरूलाई भने, “हामीमाथि खस र हामीलाई सिंहासनमाथि बस्‍नुहुनेको अनुहारदेखि र थुमाको क्रोधदेखि लुकाइदेओ!

[17] किनकि उहाँहरूको क्रोधको महा दिन आइपुगेको छ, अनि यसको सामना कसले गर्न सक्ला र?”

प्रकाश — Chapters