Skip to content
Opens in a new window
Listen to this chapter • 3:02

[1] शब्बाथ दिनको भोलिपल्ट हप्‍ताको पहिलो दिन, एकाबिहानै मरियम मग्दलिनी र अर्की मरियम येशूलाई राखिएको चिहान हेर्न गए।

[2] अचानक ठूलो भुइँचालो गयो; किनकि प्रभुका एक जना दूतले स्वर्गबाट ओर्लिआएर चिहानमा गई त्यस ढुङ्गालाई हटाए, र त्यसमाथि बसे।

[3] तिनको मुहार बिजुली चम्केजस्तो र लुगा हिँउजस्तो सेतो थियो।

[4] ती पहरेदारहरू यति साह्रो डराए कि तिनीहरू काँपे, र मरेतुल्य भए।

[5] ती स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “नडराओ, किनकि तिमीहरू क्रूसमा टाँगिएका येशूलाई खोज्दैछौ भनी म जान्दछु।

[6] उहाँ यहाँ हुनुहुन्‍न: उहाँले भन्‍नुभएझैँ उहाँ जीवित हुनुभएको छ। आओ, र उहाँलाई राखिएको ठाउँ हेर।

[7] तब झट्टै गई उहाँका चेलाहरूलाई यसो भनिदेओ: ‘उहाँ मरेकाहरूबाट जीवित भई उठ्नुभएको छ। अनि तिमीहरूभन्दा अगाडि नै गालीलमा जाँदैहुनुहुन्छ। त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ हेर मैले तिमीहरूलाई भनिदिएको छु।”

[8] त्यसकारण ती स्त्रीहरू डराएका भए तापनि आनन्दसाथ चिहानबाट हतार-हतार उहाँका चेलाहरूलाई खबर दिन दगुरे।

[9] अचानक येशूले तिनीहरूलाई भेट्नुभयो, र भन्‍नुभयो, “अभिवादन!” तिनीहरू उहाँकहाँ गए, र उहाँको पाउ पक्री उहाँलाई दण्डवत् गरे।

[10] तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, त्यहाँ तिनीहरूले मलाई देख्नेछन्।”

[11] ती स्त्रीहरू बाटोमा छँदै, पहरेदारहरूमध्ये केही सहरमा गए। अनि जे भएको थियो, सो प्रत्येक कुरा मुख्य पुजारीहरूलाई बताइदिए।

[12] जब मुख्य पुजारीहरूले प्रधानहरूलाई भेटे, तब तिनीहरूले एउटा योजना बनाए। तिनीहरूले सिपाहीहरूलाई धेरै घूस दिए,

[13] अनि भने, “तिमीहरूले ‘उहाँका चेलाहरूले राति हामी सुतेको बेला आएर उहाँलाई चोरेर लगे’ भन्‍नू।

[14] यदि यो खबर हाकिमकहाँ पुग्यो भने हामी तिनलाई सन्तुष्‍ट पार्नेछौँ, र तिमीहरूलाई विपत्तिमा पर्न दिनेछैनौँ।”

[15] यसकारण ती सिपाहीहरूले घूस लिए, र तिनीहरूलाई अह्राएबमोजिम गरे। आजसम्म पनि यही कथा यहूदीहरूको बीचमा फैलिएको छ।

[16] तब ती एघार जना चेलाहरू गालीलको पहाडमा गए, जहाँ येशूले तिनीहरूलाई जानू भन्‍नुभएको थियो।

[17] तिनीहरूले उहाँलाई देखे, र दण्डवत् गरे: तर कतिले त शङ्का गरे।

[18] तब येशू तिनीहरूकहाँ आउनुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ।

[19] यसकारण जाओ, र सबै राष्ट्रहरूमा गएर चेला बनाओ, र तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्‍तिस्मा देओ,

[20] मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुराहरू पालन गर्न तिनीहरूलाई सिकाओ। निश्‍चय म यस युगको अन्त्यसम्म, सधैँ नै तिमीहरूको साथमा रहनेछु।”

मत्ती — Chapters