Skip to content
Opens in a new window
Listen to this chapter • 9:00

[1] येशू त्यही दिन त्यस घरबाट निस्केर तालको छेउमा बस्‍नुभयो।

[2] उहाँको चारैतिर यति ठूला भीडहरू जम्मा भए कि उहाँ एउटा डुङ्गामा चढेर बस्‍नुभयो; अरू सबै मानिसहरूचाहिँ किनारमा उभिए।

[3] तब उहाँले यसो भन्दै तिनीहरूलाई दृष्‍टान्तबाट धेरै कुराहरू भन्‍नुभयो: “एक जना किसान बिउ छर्नलाई निस्क्यो।

[4] उसले जब बिउ छर्दैथियो, केही बिउ बाटोमा परे; अनि चराहरू आएर खाइदिए।

[5] केही ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन। माटो पर्याप्‍त नभएकोले, ती चाँडै उम्रे।

[6] तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाए; अनि तिनीहरूमा जरा नभएको हुनाले सुकिहाले।

[7] अरू केही बिउचाहिँ काँडाका झाडीमा परे; अनि काँडाहरू बढेर आए, र ती बिरुवाहरूलाई निसासिदिए।

[8] अरू बिउहरूचाहिँ असल जमिनमा परे; जसबाट त्यसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा अन्‍न फलाए।

[9] जसको कान छ, त्यसले सुनोस् र बुझोस्।”

[10] चेलाहरूले उहाँकहाँ आएर सोधे, “तपाईं मानिसहरूसित किन दृष्‍टान्तहरूमा बोल्नुहुन्छ?”

[11] उहाँले जवाफ दिनुभयो, “स्वर्गको राज्यको रहस्यको ज्ञान तिमीहरूलाई प्रकट गरिएको छ, तर तिनीहरूलाई प्रकट गरिएको छैन।

[12] जोसित छ, त्यसलाई अरू दिइनेछ, र त्योसित प्रशस्त हुनेछ; तर जोसित छैन, त्योसित भएको पनि खोसिनेछ।

[13] यसैकारण म तिनीहरूसित दृष्‍टान्तद्वारा बोल्छु: “तिनीहरूले हेरे तापनि देख्नेछैनन्: तिनीहरूले सुने तापनि सुन्‍ने वा बुझ्नेछैनन्।”

[14] तिनीहरूमा यशैयाको अगमवाणी पूरा भयो: “ ‘तिमीहरू सुनिरहनेछौ, तर कहिल्यै बुझ्नेछैनौ; तिमीहरू देख्न त देख्छौ, तर कहिल्यै बुझ्नेछैनौ।

[15] किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्। तिनीहरूका कानले प्रायः सुन्दैनन्, अनि तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्। नत्रता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए, आफ्ना कानले सुन्‍नेथिए, आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’”

[16] “तर तिमीहरूका आँखा धन्यका हुन्; किनकि तिनले देख्छन्; अनि तिमीहरूका कान धन्यका हुन्; किनकि तिनले सुन्छन्।

[17] किनकि म तिमीहरूलाई साँच्‍चै भन्दछु, धेरै अगमवक्ताहरू र धर्मी मानिसहरूले तिमीहरूले देखेका कुराहरू हेर्ने उत्कट इच्छा गरेका थिए, तर देखेनन्। अनि तिमीहरूले सुनेका कुराहरू सुन्‍ने उत्कट इच्छा गरेका थिए, तर सुनेनन्।

[18] “त्यसैले बिउ छर्नेको दृष्‍टान्तको अर्थ के हो, ध्यानसित सुन:

[19] कसैले राज्यको वचन सुनेर बुझेन भने दुष्‍ट आएर उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ। बाटोतिर परेको बिउ यही हो।

[20] ढुङ्गेनी जमिनमा खसेको बिउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्‍नेबित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छ।

[21] तर तिनीहरूका जरा नभएको हुनाले ती थोरै समयको लागि मात्र रहन्छन्। जब वचनको कारण दुःख र सतावट आइपर्छ, तब तिनीहरू झट्टै पछि हटिहाल्छन्।

[22] काँडाहरूमा परेको बिउले त्यस्तो मानिसलाई जनाउँछ, जसले वचन त सुन्छ, तर यस जीवनको फिक्री र धनसम्पत्तिको छलले वचनलाई निसासिदिन्छन्, र त्यो फलहीन हुन्छ।

[23] तर असल जमिनमा परेको बिउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्छ र बुझ्छ। उसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछ।”

[24] येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य त्यो मानिसजस्तो हो, जसले आफ्नो खेतबारीमा असल बिउ छर्‍यो।

[25] तर सबै सुतिरहेका बेला उसको शत्रु आयो, र गहुँको बीच-बीचमा सामा छरेर गयो।

[26] जब गहुँ उम्रियो र बाला लाग्यो, तब सामा पनि देखा पर्‍यो।

[27] “त्यसैले मालिकका सेवकहरू आएर उसलाई भने, ‘मालिक, के तपाईंले आफ्नो खेतबारीमा असल बिउ छर्नुभएको होइन र? तब यो सामा कताबाट आयो त?’

[28] “ ‘कुनै शत्रुले यसो गर्‍यो,’ उसले जवाफ दियो। “ती सेवकहरूले उसलाई सोधे, ‘के हामी गएर ती उखेलिदिऔँ भन्‍ने तपाईं चाहनुहुन्छ?’

[29] “उसले जवाफ दियो, ‘भयो, पर्दैन, नत्रता तिमीहरूले सामासँग-सँगै गहुँ पनि उखेल्नेछौ।

[30] कटनीको समयसम्म दुवैलाई सँगसँगै बढ्नदेओ। त्यस बेला म कटनी गर्नेहरूलाई भन्‍नेछु: पहिले सामा बटुलेर जलाइनको लागि बिटा बाँध: त्यसपछि गहुँ बटुलेर मेरो धनसारमा ल्याओ।’ ”

[31] उहाँले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य एउटा रायोको बिउजस्तो हो, जसलाई कुनै मानिसले लिएर बारीमा रोप्यो।

[32] बिउहरूमा सबैभन्दा सानो भए तापनि जब यो बढ्छ, यो बारीमा भएका अरू बोटबिरुवाहरूभन्दा ठूलो भएर झाँगिन्छ, र चराचुरुङ्गीहरू यसका हाँगाहरूमा बास बस्छन्।”

[33] उहाँले तिनीहरूलाई अझ अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य खमिरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करिब सत्ताइस किलो जति पिठोमा मिसाई, र सम्पूर्ण पिठो खमिरी नहुन्जेल राखी।”

[34] येशूले भीडलाई यी सबै कुराहरू दृष्‍टान्तहरूमा भन्‍नुभयो; उहाँले दृष्‍टान्तहरू प्रयोग नगरी तिनीहरूलाई केही भन्‍नुभएन।

[35] यसरी अगमवक्ताद्वारा भनिएको यो कुरा पूरा भयो: “म दृष्‍टान्तहरूमा आफ्नो मुख खोल्नेछु; म संसारको उत्पत्तिदेखि गुप्‍त रहेका कुराहरू प्रकाश गर्नेछु।”

[36] तब येशू भीडलाई छोडेर घरमा आउनुभयो। उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “हामीलाई खेतबारीमा भएको सामाको दृष्‍टान्तको अर्थ बुझाइदिनुहोस्।”

[37] उहाँले जवाफ दिनुभयो, “जसले असल बिउ छर्‍यो, त्योचाहिँ मानिसको पुत्र हो।

[38] खेतबारी संसार हो, र असल बिउहरू राज्यका सन्तान हुन्। सामाचाहिँ त्यस दुष्‍टका सन्तान हुन्;

[39] अनि त्यसलाई छर्ने शत्रु शैतान हो। कटनी युगको अन्त्य हो; अनि खेतालाहरू स्वर्गदूतहरू हुन्।

[40] “सामा उखेलिएर आगोमा हालिएझैँ यस युगको अन्त्य पनि त्यस्तै हुनेछ।

[41] मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ; अनि तिनीहरूले पाप गर्न लगाउने र दुष्‍ट काम गर्ने सबैलाई राज्यबाट बटुल्नेछन्।

[42] अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्; जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।

[43] तब धर्मी मानिसहरू भने आफ्नो पिताको राज्यमा सूर्यझैँ चम्कनेछन्। जसको कान छ, उसले सुनोस् र बुझोस्।

[44] “स्वर्गको राज्य खेतमा लुकाइराखिएको गाडधनजस्तो हो। जब एक जना मानिसले त्यसलाई भेट्टायो, र फेरि लुकायो, र ऊ आनन्दसाथ गयो, अनि आफूसित भएका सबै थोक बेचेर त्यो खेत किन्यो।

[45] “फेरि स्वर्गको राज्य असल मोतीहरूको खोजी गर्ने एक जना व्यापारीजस्तो हो,

[46] जसले एउटा बहुमूल्य मोती भेट्टायो, र त्यो गइहाल्यो; अनि आफूसित भएका सबै थोक बेचेर त्यो मोती किन्यो।

[47] “फेरि, स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तै हो, जसमा सबै किसिमका माछाहरू परे।

[48] जब जाल भरियो, तब मछुवाहरूले त्यसलाई तानेर किनारमा ल्याए। त्यसपछि तिनीहरू बसेर असल माछाहरूलाई टोकरीमा बटुले, तर खराबजतिलाई बाहिर फ्याँकिदिए।

[49] युगको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आएर दुष्‍टहरूलाई धर्मीहरूबाट अलग गर्नेछन्,

[50] अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्; जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।”

[51] येशूले तिनीहरूलाई “के यी कुराहरू बुझ्यौ?” भनी सोध्नुभयो। तिनीहरूले जवाफ दिए, “ज्यू, बुझ्यौँ।”

[52] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण स्वर्गको राज्यको विषयमा शिक्षा पाएको हरेक व्यवस्थाको शिक्षक, घरको एक जना मालिकजस्तै हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुरानो मूल्यवान् वस्तुहरू झिक्दछ।”

[53] जब येशूले यी दृष्‍टान्तहरू भनिसक्नुभयो, उहाँ त्यहाँबाट अगि बढ्नुभयो।

[54] आफ्नो घर भएको सहरमा आएर उहाँले मानिसहरूलाई तिनीहरूका सभाघरमा सिकाउन थाल्नुभयो; अनि तिनीहरूले छक्‍क परेर सोधे, “यी मानिसले यस्तो बुद्धि र शक्तिशाली कामहरू गर्ने शक्ति कहाँबाट प्राप्‍त गरे?

[55] के यिनी सिकर्मीका छोरा होइनन्? के यिनकी आमाको नाम मरियम होइन? अनि यिनका भाइहरू याकोब, योसेफ, सिमोन र यहूदा होइनन् र?

[56] के यिनका बहिनीहरू हामीसित छैनन् र? त्यसो भए यिनलाई यी सबै कुराहरू कहाँबाट प्राप्‍त भयो?”

[57] अनि तिनीहरू उहाँसित चिढिए। तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “आफ्नै सहरमा र आफ्नै घरमा बाहेक अरू कहीँ पनि अगमवक्तालाई अनादर गरिँदैन।”

[58] उहाँले तिनीहरूका विश्‍वासको कमीले गर्दा त्यहाँ धेरै शक्तिशाली कामहरू गर्नुभएन।

मत्ती — Chapters