Skip to content
Opens in a new window
Listen to this chapter • 4:38

[1] एक दिन फरिसीहरू र सदुकीहरूले येशूकहाँ आएर उहाँलाई जाँच गर्न, तिनीहरूका लागि स्वर्गबाट एउटा चिन्ह देखाउन मागे।

[2] उहाँले भन्‍नुभयो, “साँझ हुँदा तिमीहरू ‘मौसम राम्रो हुनेछ; किनकि आकाश रातो छ,’

[3] अनि बिहान ‘आज आँधी आउनेछ; किनकि आकाश रातो छ र बादलले ढाकेको छ,’ भन्छौ। तिमीहरू आकाशको अवस्था हेरेर दिन कस्तो हुनेछ भनी अर्थ लगाउन सक्छौ, तर तिमीहरूले समयको चिन्हहरूबाट बुझ्न सक्दैनौ।

[4] दुष्‍ट र व्यभिचारी पुस्ताले अचम्मको चिन्ह खोज्दछ, तर यसलाई योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।” त्यसपछि तिनीहरूलाई छोडेर येशू त्यहाँबाट जानुभयो।

[5] जब उहाँहरू तालपारि जानुभयो, चेलाहरूले रोटी लैजान बिर्से।

[6] “होसियार!” येशूले तिनीहरूलाई चेतावनी दिनुभयो “फरिसीहरू र सदुकीहरूको खमिरदेखि होसियार रहो।”

[7] तिनीहरूले आपसमा छलफल गरेर भने, “यो त हामीले रोटी ल्याएनौँ भनेर होला।”

[8] तिनीहरूका छलफल थाहा पाएर येशूले सोध्नुभयो, “हे अल्पविश्‍वासीहरू हो, तिमीहरू रोटी छैन भनेर किन आपसमा कुरा गर्दछौ?

[9] तिमीहरू अझै बुझ्दैनौ? पाँच हजारका निम्ति पाँच रोटी थिए, र कति डाला तिमीहरूले बटुल्यौ, त्यो सम्झना गर्दैनौ?

[10] अथवा चार हजारका निम्ति सात रोटी थिए, र कति डाला तिमीहरूले बटुल्यौ?

[11] मैले रोटीको विषयमा तिमीहरूसित भनिरहेको थिइनँ भनी तिमीहरूले कसरी बुझेनौ? तर तिमीहरू फरिसी र सदुकीहरूको खमिरदेखि होसियार होओ।”

[12] तब उहाँले रोटीमा हाल्ने खमिरदेखि होइन, तर फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार रहनू भन्‍नुभएको रहेछ भनी तिनीहरूले बुझे।

[13] जब येशू कैसरिया फिलिप्पीका इलाकामा आउनुभयो, तब उहाँले चेलाहरूलाई “मानिसहरूले मानिसको पुत्र को हो भनी भन्छन्?” भनी सोध्नुभयो।

[14] तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना, कसैले एलिया भन्छन्; अनि कतिले चाहिँ यर्मिया अथवा अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्।”

[15] उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूले चाहिँ मलाई को हो भन्छौ त?”

[16] सिमोन पत्रुसले उत्तर दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ, जीवित परमेश्‍वरका पुत्र।”

[17] येशूले जवाफ दिनुभयो, “योनाका छोरा सिमोन, तिमी धन्य हौ; किनकि यो तिमीलाई मानिसद्वारा होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताद्वारा प्रकट गरिएको हो।

[18] म तिमीलाई भन्दछु, तिमी पत्रुस हौ, र म यस चट्टानमाथि मेरो मण्डली स्थापित गर्नेछु; अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्।

[19] म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु: तिमीहरूले पृथ्वीमा जे बाँध्नेछौ, त्यो स्वर्गमा बाँधिनेछ, र तिमीहरूले पृथ्वीमा जे फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ।”

[20] तब उहाँले आफ्ना चेलाहरूलाई, उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी कसैलाई नभन्‍नू भनी चेतावनी दिनुभयो।

[21] त्यस समयदेखि उसो येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेममा जानुपर्छ, र प्रधानहरू, मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरूका हातबाट धेरै कष्‍टहरू सहनुपर्छ, मारिनुपर्छ, र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी भन्‍न थाल्नुभयो।

[22] पत्रुसले उहाँलाई एकातिर लगेर “यसो कहिल्यै नहोस्, प्रभु! तपाईंलाई यस्तो कहिल्यै नहोस्” भनी हप्काउन थाले।

[23] येशूले फर्केर पत्रुसलाई भन्‍नुभयो, “ए शैतान, मबाट टाढा होइजा! तँ मेरा लागि ठेस लाग्ने कारण होस्। तेरो मनमा परमेश्‍वर सम्बन्धी विचारहरू होइनन्, तर मानिसहरू सम्बन्धी विचारहरू छन्।”

[24] तब येशूले चेलाहरूलाई भन्‍नुभयो, “यदि कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।

[25] किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो पाउनेछ।

[26] कुनै मानिसले सारा संसार हात पारेर आफ्नो प्राणचाहिँ गुमाउँछ भने उसलाई के फाइदा होला? अथवा कुनै मानिसले आफ्नो प्राणको बदलामा के दिन सक्ला र?

[27] किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसित आउनेछ, र त्यस बेला उसले हरेक व्यक्तिलाई त्यसले जे गरेको छ, त्यसको कामहरूअनुसार प्रतिफल दिनेछ।

[28] “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यो ठाउँमा उपस्थित भएकाहरूमध्ये कतिले मानिसको पुत्रलाई आफ्नो राज्यमा आइरहेका नदेखेसम्म मृत्युको स्वाद चाख्नेछैनन्।”

मत्ती — Chapters