[1] तब येशूले भीडहरू र आफ्ना चेलाहरूलाई भन्नुभयो:
[2] “व्यवस्थाका शिक्षकहरू र फरिसीहरू मोशाको आसनमा बस्छन्।
[3] यसकारण तिनीहरूले भनेका हरेक कुरा तिमीहरूले मान र गर, तर तिनीहरूले जे गर्छन्, त्योचाहिँ नगर। किनकि तिनीहरूले जे प्रचार गर्छन्, त्यो अभ्यास गर्दैनन्।
[4] तिनीहरूले बोक्नै नसक्ने गह्रौँ भारी बाँधेर मानिसहरूका काँधमा राखिदिन्छन्, तर तिनीहरू आफैँचाहिँ ती उचाल्नलाई आफ्नो एक औँलासमेत चलाउँदैनन्।
[5] “तिनीहरूले प्रत्येक कुरा मानिसहरूले देखून् भनेर गर्छन्। तिनीहरूले आफ्ना धर्मशास्त्रका पदहरू लेखेको पत्रलाई चौडा बनाउँछन् र आफ्ना वस्त्रका झुम्काहरू लामा बनाउँछन्।
[6] तिनीहरू भोजमा आदरको स्थान मन पराउँछन् र सभाघरहरूमा सबैभन्दा प्रमुख आसनहरू लिन मन पराउँछन्।
[7] तिनीहरू बजारहरूमा आदरपूर्ण अभिवादन पाउन र मानिसहरूले तिनीहरूलाई ‘गुरुज्यू’ भनेर बोलाएको मन पराउँछन्।
[8] “तर तिमीहरूलाई कसैले ‘गुरुज्यू’ नभनोस्; किनकि तिमीहरूका एउटै मालिक हुनुहुन्छ र तिमीहरू सबै दाजुभाइ हौ।
[9] अनि यस पृथ्वीमा कसैलाई ‘पिता’ नभन, किनकि तिमीहरूका एउटै पिता हुनुहुन्छ, जो स्वर्गमा हुनुहुन्छ।
[10] न त तिमीहरूलाई ‘शिक्षक’ भनियोस्, किनकि तिमीहरूका एउटै मात्र शिक्षक हुनुहुन्छ जो ख्रीष्ट हुनुहुन्छ।
[11] तिमीहरूमा जो सबैभन्दा उच्च छ, त्यो नै तिमीहरूका सेवक हुनेछ।
[12] किनकि जसले आफूलाई उच्च पार्छ, त्यो नम्र बनाइनेछ; र जसले आफूलाई नम्र बनाउँछ, त्योचाहिँ उच्च पारिनेछ।
[13] “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्कार छ! तिमीहरू मानिसहरूका सामु स्वर्गको राज्य बन्द गर्दछौ। तिमीहरू आफू पनि प्रवेश गर्दैनौ, न त प्रवेश गर्न चाहनेहरूलाई नै प्रवेश गर्न दिन्छौ।
[14] ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्कार छ! तिमीहरू विधवाहरूका घर निलिहाल्दछौ, र देखाउनका लागि लामा-लामा प्रार्थना गर्दछौ। यसैले अरूले भन्दा तिमीहरूले धेरै दण्ड पाउनेछौ।
[15] “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्कार छ! तिमीहरू एक जनालाई आफ्नो धर्ममा ल्याउनलाई जमिन र समुद्र चाहार्छौ। अनि त्यो तिमीहरूका धर्ममा आएपछि आफूभन्दा दुईगुणा नरकको छोरा बनाउँछौ।
[16] “ए दृष्टिविहीन अगुवाहरू हो, तिमीहरूलाई धिक्कार छ! तिमीहरू यसो भन्दछौ, ‘यदि कसैले मन्दिरको शपथ खायो भने यसको कुनै अर्थ हुँदैन; तर यदि कसैले मन्दिरको सुनको शपथ खायो भने त्यस शपथले त्यो बाँधिनेछ।’
[17] तिमी दृष्टिविहीन मूर्खहरू! कुन महत्त्वपूर्ण हो: सुन कि सुनलाई पवित्र पार्ने मन्दिर?
[18] तिमीहरू यो पनि भन्दछौ, ‘यदि कसैले वेदीको शपथ खायो भने यसको अर्थ हुँदैन। तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खायो भने त्यो त्यस शपथले बाँधिनेछ।’
[19] हे मूर्ख र दृष्टिविहीन मानिसहरू हो! कुन महत्त्वपूर्ण हो: भेटी कि भेटीलाई पवित्र पार्ने वेदी?
[20] यसकारण जसले वेदीको शपथ खान्छ, त्यसले वेदी र त्यसमाथि राखिएका प्रत्येक कुराको शपथ खान्छ।
[21] अनि जसले मन्दिरको शपथ खान्छ, त्यसले मन्दिर र मन्दिरभित्र बास गर्नुहुनेको शपथ खान्छ।
[22] अनि जसले स्वर्गको शपथ खान्छ, त्यसले परमेश्वरको सिंहासन र त्यसमाथि बस्नुहुनेको शपथ खान्छ।
[23] “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्कार छ! तिमीहरू आफ्ना मसलाहरू अर्थात् पुदिना, सुँप र जीराका दशांश दिन्छौ, तर तिमीहरूले व्यवस्थाका अझ मुख्य कुराहरू अर्थात् न्याय, दया र विश्वासयोग्यताको अवहेलना गर्दछौ। तिमीहरूले पहिलोको अवहेलना नगरी दोस्रोको पनि पालन गर्नुपर्नेथियो।
[24] तिमी दृष्टिविहीन अगुवाहरू! तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई निलिहाल्दछौ।
[25] “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्कार छ! तिमीहरू कचौरा र थालको बाहिर सफा गर्दछौ, तर भित्र त लोभ र असंयमले भरिएका हुन्छौ।
[26] ए दृष्टिविहीन फरिसीहरू! पहिला कचौरा र थालको भित्रपट्टि सफा गर, तब बाहिरपट्टि पनि सफा हुनेछ।
[27] “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्कार छ! तिमीहरू सेतो चून लगाइएका चिहानहरूजस्ता छौ, जुन बाहिर त सुन्दर देखिन्छन्, तर भित्र त मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका हुन्छन्।
[28] यही प्रकारले तिमीहरू मानिसहरूका सामु धर्मी देखा पर्दछौ, तर भित्र भने कपटीपन र दुष्टताले भरिएका छौ।
[29] “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्कार छ! तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ र धर्मीहरूका स्मारकहरू सिँगार्छौ।
[30] र भन्छौ, ‘यदि हामी हाम्रा पुर्खाहरूको समयमा बाँचेका भए हामी तिनीहरूले अगमवक्ताहरूको रगत बगाउनमा सहभागी हुनेथिएनौँ।’
[31] यसरी तिमीहरू अगमवक्ताहरूको हत्या गर्नेहरूका सन्तान हौ भनी आफ्नै विरुद्धमा साक्षी दिन्छौ।
[32] त्यसकारण तिमीहरूका पुर्खाहरूले सुरु गरेका पापको नाप पूरा गर!
[33] “हे सर्पहरू हो! साँबे सर्पका बच्चाहरू हो! तिमीहरू नरकको दण्डबाट कसरी उम्कन्छौ?
[34] यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू र बुद्धिमान् मानिसहरू, र शिक्षकहरू पठाउँदैछु। तीमध्ये कतिलाई तिमीहरूले मार्नेछौ र क्रूसमा चढाउनेछौ; अरूलाई तिमीहरूले तिमीहरूका सभाहरूमा कोर्रा लगाउनेछौ; र एक सहरदेखि अर्को सहरमा खेद्नेछौ।
[35] यसकारण तिमीहरूमाथि यस पृथ्वीमा बगाइएका धर्मी रगत अर्थात् धर्मी हाबिलदेखि लिएर तिमीहरूले मन्दिर र वेदीको बीचमा हत्या गरेका बेरेक्याहका छोरा जकरियाको रगतसम्म आइपर्नेछ।
[36] म तिमीहरूलाई साँच्चै भन्दछु, यी सबै कुरा यस पुस्तामाथि नै आइपर्नेछन्।
[37] “ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्। मैले कति पटक तेरा बालबच्चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुलेझैँ बटुल्न खोजेँ, तर तँ राजी भइनस्।
[38] हेर्, तेरो घर तेरो निम्ति उजाड पारेर छोडिएको छ।
[39] म तँलाई भन्दछु, तैँले ‘प्रभुको नाममा आउनुहुने धन्यका हुनुहुन्छ’ नभनेसम्म, तैँले मलाई फेरि देख्नेछैनस्।”