[1] त्यस बेला देशका एक चौथाइ भागका शासक हेरोदले येशूको विषयमा विवरण सुने।
[2] तिनले आफ्ना भारदारहरूलाई भने, “यिनी त बप्तिस्मा दिने यूहन्ना हुन्; जो मरेकाबाट जीवित भएका छन्। त्यसकारण तिनीद्वारा शक्तिशाली कामहरू भइरहेका छन्।”
[3] हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यूहन्नालाई पक्रेर बाँधेका थिए; र तिनलाई झ्यालखानामा राखेका थिए।
[4] किनकि यूहन्नाले तिनलाई यसो भनेका थिए: “तपाईंले तिनलाई राख्नु उचित छैन।”
[5] हेरोदले यूहन्नालाई मार्न चाहेका थिए, तर तिनी मानिसहरूदेखि डराउँथे। किनकि तिनीहरूले यूहन्नालाई एक अगमवक्ता भनी मान्दथे।
[6] हेरोदको जन्मदिनमा हेरोदियासकी छोरीले पाहुनाहरूका निम्ति नाचेर हेरोदलाई धेरै खुशी पारी।
[7] त्यसले जे मागे पनि दिनेछु भनी शपथ खाएर त्यसलाई वचन दिए।
[8] आमाले सिकाएअनुसार त्यसले भनी, “यहाँ मलाई एउटा थालमा बप्तिस्मा दिने यूहन्नाको शिर दिनुहोस्।”
[9] यो सुनेर राजा दुःखित भए, तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उनले त्यस बिन्तीलाई पूरा गरिदिने आज्ञा दिए।
[10] झ्यालखानामा यूहन्नाको शिर काट्न लगाए।
[11] तिनको शिर एउटा थालमा ल्याएर त्यस केटीलाई दिइयो; अनि त्यसले त्यो आफ्नी आमाकहाँ लगी।
[12] यूहन्नाका चेलाहरू आएर तिनको मृत शरीर लगे, र गाडिदिए अनि गएर तिनीहरूले येशूलाई भनिदिए।
[13] जब येशूले यो घटना सुन्नुभयो, तब उहाँ डुङ्गामा चढेर त्यस ठाउँबाट सुटुक्कै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेर भीडहरू सहरहरूबाट पैदलै उहाँको पछि लागे।
[14] जब येशू ओर्लनुभयो, तब उहाँले एउटा ठूलो भीडलाई देख्नुभयो। तिनीहरूप्रति उहाँ दयाले भरिनुभयो, र तिनीहरूका रोगहरूलाई निको पार्नुभयो।
[15] साँझ पर्नलाग्दा चेलाहरूले उहाँकहाँ आएर भने, “यो एउटा सुनसान ठाउँ हो, र अबेला हुँदैछ। भीडहरूलाई बिदा गर्नुहोस्, र तिनीहरूले गाउँतिर गएर आफ्ना लागि केही खानेकुरा किनून्।”
[16] येशूले जवाफ दिनुभयो, “तिनीहरूलाई जान खाँचो छैन। तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।”
[17] तिनीहरूले जवाफ दिए, “यहाँ हामीसित त पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।”
[18] उहाँले भन्नुभयो, “ती मकहाँ ल्याओ।”
[19] अनि उहाँले मानिसहरूलाई हरियो चउरमा बस्ने आदेश दिनुभयो। ती पाँच रोटी र दुई माछा लिएर स्वर्गतिर हेरेर उहाँले धन्यवाद दिनुभयो, र रोटी भाँच्नुभयो। तब ती चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए।
[20] तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।
[21] खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरूबाहेक पुरुषहरू मात्र लगभग पाँच हजार थिए।
[22] येशूले भीडलाई बिदा गर्न लाग्दा चेलाहरूलाई चाहिँ डुङ्गामा चढेर झट्टै आफूभन्दा अगि पारिपट्टि जान लाउनुभयो।
[23] उहाँले भीडलाई बिदा गरिसक्नुभएपछि उहाँ एकलै प्रार्थना गर्न एउटा पहाडमा जानुभयो। रात पर्दा उहाँ त्यहाँ एकलै हुनुहुन्थ्यो,
[24] तर डुङ्गा जमिनदेखि धेरै टाढा पुगिसकेको थियो, बतास उल्टो बहेकाले छालहरूले त्यसलाई हुत्याउँदैथियो।
[25] बिहान तीन बजेतिर येशू समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो।
[26] जब चेलाहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरू डराए। अनि तिनीहरू, “यो त भूत हो” भनी डरले चिच्याए।
[27] तर येशूले तुरुन्तै तिनीहरूलाई भन्नुभयो: “साहस गर! म नै हुँ; नडराओ।”
[28] पत्रुसले जवाफ दिए, “प्रभु यदि तपाईं नै हुनुहुन्छ भने मलाई तपाईंकहाँ पानीमा आउने आज्ञा दिनुहोस्।”
[29] उहाँले भन्नुभयो, “आऊ।” तब पत्रुस डुङ्गाबाट ओर्लेर पानीमाथि हिँड्दै येशूतिर आए।
[30] तर जब तिनले बतास देखे, तब तिनी डराए, र डुब्न लाग्दा, “प्रभु, मलाई बचाउनुहोस्!” भनेर चिच्याए।
[31] येशूले तुरुन्तै आफ्नो हात पसारेर तिनलाई पक्रनुभयो र भन्नुभयो, “हे अल्पविश्वासी, तिमीले किन शङ्का गर्यौ?”
[32] अनि जब उहाँहरू डुङ्गामा चढ्नुभयो, बतास शान्त भयो।
[33] तब डुङ्गामा हुनेहरूले “साँच्चै तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ” भने, र उहाँलाई दण्डवत् गरे।
[34] उहाँहरू पारि पुगेपछि गनेसरेतमा ओर्लनुभयो।
[35] अनि जब त्यहाँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले छेउछाउका सबै इलाकाहरूमा खबर पठाए। मानिसहरूले आफ्ना सबै रोगीहरू उहाँकहाँ ल्याए।
[36] रोगीहरूलाई उहाँको वस्त्रको किनार मात्र भए पनि छुन दिनुहोस् भनी उहाँलाई बिन्ती गरे। जतिले उहाँलाई छोए, तिनीहरू सबै निको भए।