[1] परमेश्वरका पुत्र, येशू ख्रीष्टको विषयमा सुसमाचारको सुरुवात,
[2] यशैया अगमवक्ताको पुस्तकमा यसरी लेखिएको छ: “म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।”
[3] “उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ।’”
[4] यसरी बप्तिस्मा दिने यूहन्ना उजाडस्थानका इलाकामा पाप क्षमाका लागि पश्चात्तापको बप्तिस्माको प्रचार गर्दै आए।
[5] यहूदियाका सम्पूर्ण गाउँका मानिसहरू र यरूशलेमका मानिसहरू तिनीकहाँ गए, र आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीद्वारा यर्दन नदीमा बप्तिस्मा लिए।
[6] यूहन्नाले ऊँटको रौँबाट बनेको वस्त्र लाउँथे। कम्मरमा छालाको पेटी बाँध्दथे; अनि तिनले सलह र वन-मह खान्थे।
[7] तिनको सन्देश यस्तो थियो: “म पछि मभन्दा शक्तिशाली एक जना आउनुहुनेछ, जसका जुत्ताको फित्ता निहुरेर फुकाउन योग्यको म छैनँ।
[8] म तिमीहरूलाई पानीले मात्र बप्तिस्मा दिन्छु, तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।”
[9] त्यस बेला येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्नाद्वारा यर्दनमा बप्तिस्मा लिनुभयो।
[10] जब येशू पानीबाट बाहिर निस्केर आउँदैहुनुहुन्थ्यो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मालाई ढुकुरझैँ उहाँमाथि ओर्लंदै गर्नुभएको देख्नुभयो।
[11] अनि स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, जसलाई म प्रेम गर्छु; तिमीसँग म अति प्रसन्न छु।”
[12] पवित्र आत्माले उहाँलाई तुरुन्तै उजाडस्थानमा लैजानुभयो,
[13] अनि उहाँ उजाडस्थानमा शैतानद्वारा परीक्षित हुँदै चालीस दिनसम्म जङ्गली जनावरहरूसित रहनुभयो। उहाँलाई स्वर्गदूतहरूले सेवाटहल गरे।
[14] यूहन्ना झ्यालखानामा हालिएपछि येशू परमेश्वरको सुसमाचार घोषणा गर्दै गालील प्रदेशमा जानुभयो।
[15] उहाँले भन्नुभयो, “समय पूरा भइसकेको छ, परमेश्वरको राज्य नजिकै आइपुगेको छ। पश्चात्ताप गर र सुसमाचारमा विश्वास गर!”
[16] जब येशू गालील समुद्रको किनारमा हिँड्दैहुनुहुन्थ्यो, उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई तालमा जाल हान्दै गरेका देख्नुभयो; किनकि तिनीहरू मछुवा थिए।
[17] येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।”
[18] त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे।
[19] उहाँ अलि पर पुगेपछि, उहाँले जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्नालाई डुङ्गामा आफ्ना जाल तयार गरिरहेका देख्नुभयो।
[20] तुरुन्तै उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले आफ्ना बुबा जब्दीलाई ज्यालादारहरूको साथमा डुङ्गामा छोडेर उहाँको पछि लागे।
[21] उहाँहरू कफर्नहुममा जानुभयो, अनि शब्बाथको दिन सुरु हुनेबित्तिकै येशू सभाघरमा गएर शिक्षा दिन थाल्नुभयो।
[22] मानिसहरू उहाँको शिक्षामा छक्क परे; किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैँ होइन, तर अधिकार भएको व्यक्तिले झैँ सिकाउनुभयो।
[23] त्यति नै बेला अशुद्ध आत्मा लागेको एक जना मानिस सभाघरमा यसरी करायो,
[24] “हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु, तपाईं परमेश्वरको पवित्र जन हुनुहुन्छ!”
[25] येशूले त्यसलाई हकारेर भन्नुभयो, “चुप लाग्! त्यसबाट निस्किजा!”
[26] अशुद्ध आत्माले त्यस मानिसलाई जोडसित हल्लायो, र चिच्याएर त्यसबाट निस्क्यो।
[27] तब ती मानिसहरू अति छक्क परे, तिनीहरूले एक-अर्कालाई भने, “यो के हो? अधिकार सहितको नयाँ शिक्षा हो? यिनले त अशुद्ध आत्माहरूलाई पनि आज्ञा दिन्छन्, र तिनीहरूले यिनको आज्ञा मान्दछन्।”
[28] उहाँको विषयमा यो खबर सारा गालील प्रदेशभरि फैलियो।
[29] उहाँहरूले सभाघर छोड्नसाथ उहाँहरू याकोब र यूहन्नासित सिमोन र अन्द्रियासको घरमा जानुभयो।
[30] त्यस ठाउँमा सिमोनकी सासू ज्वरोले थलिएकी थिइन्, र तुरुन्तै तिनीहरूले येशूलाई तिनको विषयमा भने।
[31] येशू तिनीकहाँ जानुभयो, र तिनको हात पक्रेर उठ्नलाई सहायता गर्नुभयो। ज्वरोले तिनलाई छोडिहाल्यो; अनि तिनले उहाँहरूको सेवा गरिन्।
[32] त्यो साँझ घाम अस्ताएपछि मानिसहरूले सबै रोगीहरू र दुष्ट आत्मा लागेका धेरैजनालाई येशूकहाँ ल्याए।
[33] सहरका सारा मानिसहरू ढोकामा नै भेला भए;
[34] अनि येशूले विभिन्न किसिमका रोग लागेका धेरैलाई निको पार्नुभयो। उहाँले धेरै भूतहरूलाई धपाउनुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन; किनभने तिनीहरूले उहाँ को हुनुहुन्छ भनी जान्दथे।
[35] एकाबिहानै, उज्यालो हुनुभन्दा पहिले नै येशू उठेर घरबाट निस्कनुभयो र एउटा एकान्त ठाउँमा गएर त्यहाँ उहाँले प्रार्थना गर्नुभयो।
[36] सिमोन र तिनका साथीहरू उहाँलाई खोज्न गए।
[37] जब उहाँलाई भेट्टाए, तिनीहरूले भने: “सबैले तपाईंलाई खोज्दैछन्!”
[38] येशूले जवाफ दिनुभयो, “हामी अरू नै कतै छेउछाउका गाउँहरूमा जाऔँ, ताकि त्यहाँ पनि म प्रचार गर्न सकूँ; किनकि म यसैका लागि आएको हुँ।”
[39] यसरी उहाँ गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरू निकाल्दै यात्रा गर्नुभयो।
[40] एक जना कुष्ठरोग लागेको मानिस उहाँकहाँ आएर घुँडा टेक्दै उहाँसित बिन्ती गर्यो, “यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।”
[41] दयाले भरिएर येशूले आफ्नो हात पसारेर त्यस मानिसलाई छुनुभयो र उहाँले भन्नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!”
[42] तुरुन्तै कुष्ठरोगले त्यसलाई छोड्यो, र त्यो शुद्ध भयो।
[43] येशूले त्यसलाई कडा चेतावनी दिँदै पठाउनुभयो:
[44] “यो कुरा कसैलाई नभन्नू; तर जाऊ, आफैँलाई पुजारीकहाँ देखाऊ, र मोशाले तिमीहरूको शुद्धीकरणका निम्ति दिएका आज्ञाअनुसार तिनीहरूका साक्षीको लागि बलिदानहरू चढाऊ।”
[45] तर त्यो बाहिर गयो, र खुल्लमखुल्ला त्यो खबर फैलाउन थाल्यो। त्यसकारण उहाँ सहरमा पस्न सक्नुभएन, र बाहिर एकान्त ठाउँहरूमा रहनुभयो। तैपनि हरेक ठाउँबाट मानिसहरू उहाँकहाँ आए।