Skip to content
Opens in a new window
Listen to this chapter • 4:14

[1] “न्याय नगर, नत्रता तिम्रो पनि न्याय हुनेछ।

[2] किनकि तिमीले जसरी अरूको न्याय गर्दछौ, त्यसरी नै तिम्रो पनि न्याय हुनेछ; जुन नापले तिमी नाप्दछौ, तिमी पनि त्यही किसिमले नापिनेछौ।

[3] “तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखाभित्र भएको मुढोलाई चाहिँ ध्यानै दिँदैनौ?

[4] जब तिम्रो आँखाभित्र मुढो रहिरहेको हुन्छ, तब तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्‍न सक्छौ?

[5] ए कपटी, पहिले आफ्नै आँखाबाट मुढो निकाल। अनि पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्नेछौ।

[6] “जे पवित्र छ, त्यो कुकुरहरूलाई नदेओ। तिमीहरूका मोती सुँगुरहरूको अगि नफाल। यदि तिमीहरूले यसो गर्‍यौ भने तिनीहरूले आफ्ना खुट्टाले ती कुल्चलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान्।

[7] “माग, र तिमीहरूलाई त्यो दिइनेछ। खोज र तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ।

[8] किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ; जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।

[9] “तिमीहरूमध्ये त्यो को होला, जसको छोराले रोटी माग्यो भने उसलाई ढुङ्गा देला?

[10] अथवा माछा माग्यो भने उसलाई सर्प देला?

[11] यसरी तिमीहरू यति दुष्‍ट भईकन त आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति असल उपहारहरू दिनुहुनेछ।

[12] यसकारण हरेक कुरामा, अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरूले पनि अरूहरूबाट चाहन्छौ। किनकि व्यवस्था र अगमवक्ताहरूको शिक्षाको सारांश यही हो।

[13] “साँघुरो ढोकाबाट भित्र पस; किनकि विनाशमा पुर्‍याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ; अनि धेरैले त्यसबाट प्रवेश गर्छन्।

[14] तर जीवनमा पुर्‍याउने ढोका सानो र बाटो साँघुरो छ, र थोरैले मात्र त्यो भेट्टाउँछन्।

[15] “झूटा अगमवक्ताहरूदेखि होसियार बस; जो तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्, तर भित्रचाहिँ तिनीहरू डरलाग्दा ब्वाँसाहरू हुन्।

[16] तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। के मानिसहरूले काँडाका बोटबाट अङ्‌गुर अथवा सिउँडीको बोटबाट अञ्जीर टिप्छन्?

[17] यस्तै किसिमले असल रूखले असल फल फलाउँछ, तर खराब रूखले खराब फल फलाउँछ।

[18] असल रूखले खराब फल फलाउन सक्दैन। अनि खराब रूखले असल फल फलाउन सक्दैन।

[19] असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा फालिनेछ।

[20] यसरी तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ।

[21] “मलाई ‘प्रभु, प्रभु,’ भन्‍नेहरू सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्; तर त्यसले मात्र प्रवेश गर्नेछ, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालना गर्दछ।

[22] त्यस दिन धेरैले मलाई भन्‍नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाममा अगमवाणी गरेनौँ र? अनि तपाईंको नाममा भूतहरू धपाएनौँ र? अचम्मका काम गरेनौँ र?’

[23] तब म तिनीहरूलाई स्पष्‍ट रूपले भन्‍नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। हे अधर्म काम गर्नेहरू हो, मबाट दूर भइजाओ!’

[24] “यसकारण हरेक जसले मेरा यी वचनहरू सुनेर त्यसअनुसार काम गर्दछ, त्यो त्यस बुद्धिमान् मानिसजस्तो हो, जसले आफ्नो घर चट्टानमाथि बनायो।

[25] अनि पानी पर्‍यो, भल आयो, हुरी चल्यो, र त्यस घरमा बजारियो; तर पनि त्यो ढलेन। किनकि त्यसको जग चट्टानमाथि थियो।

[26] तर हरेक मानिस, जसले मेरा यी वचनहरू सुनेर तिनलाई पालना गर्दैन, त्यो एउटा मूर्ख मानिसजस्तो हो, जसले आफ्नो घर बालुवामाथि बनायो।

[27] अनि पानी पर्‍यो, भल आयो, हुरी चल्यो, र त्यसमा बजारियो। अनि त्यो पूरै ध्वस्त भएर ढल्यो।”

[28] येशूले यी कुरा भनिसक्नुभएपछि भीडहरू उहाँको शिक्षामा छक्‍क परे।

[29] किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैँ होइन, तर अधिकार भएको व्यक्तिले झैँ सिकाउनुहुन्थ्यो।

मत्ती — Chapters