[1] उहाँहरू जब यरूशलेमको नजिकै जैतुन डाँडानिर बेथफागे नामक स्थानमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो,
[2] “तिमीहरूका सामु भएको गाउँमा जाओ, र त्यहाँ पुग्नेबित्तिकै तिमीहरूले एउटा गधा त्यसको बछेडाको छेउमा बाँधिएको भेट्टाउनेछौ। तिनीहरूलाई फुकाएर मकहाँ ल्याओ।
[3] यदि कसैले तिमीहरूलाई केही भन्यो भने तिनीहरूलाई भन्नू, प्रभुलाई यिनीहरूको खाँचो छ, र त्यसले तिनीहरूलाई तुरुन्तै पठाइदिनेछ।”
[4] अगमवक्ताद्वारा यसो भनेर बोलिएको वचन पूरा होस् भनेर यो भएको हो:
[5] “यरूशलेमका मानिसहरूलाई भन, ‘हेर, तिम्रो राजा तिमीकहाँ आउँदैहुनुहुन्छ, नम्र र गधामाथि सवार हुनुभएर, बछेडामाथि, एउटा गधाको बछेडामाथि।’ ”
[6] ती चेलाहरू गए, र येशूले तिनीहरूलाई अह्राउनुभएजस्तै गरे।
[7] तिनीहरूले त्यस गधा र बछेडोलाई ल्याए, तीमाथि तिनीहरूका लुगाहरू ओछ्याए; र येशू त्यसमाथि बस्नुभयो।
[8] एउटा धेरै ठूलो भीडले तिनीहरूका लुगाहरू बाटोमा ओछ्याइदिए; अनि अरू कतिले चाहिँ रूखका हाँगाहरू काटेर बाटोमा फिँजाइदिए।
[9] उहाँको अगि र पछि लागेका भीडहरू, र ती पछ्याउनेहरूले यसो भन्दै कराए, “दावीदका पुत्रलाई होसन्ना!” “धन्य उहाँ, जो प्रभुको नाममा आउनुहुन्छ!” “परमधाममा होसन्ना।”
[10] जब येशू यरूशलेममा प्रवेश गर्नुभयो, सम्पूर्ण सहरमा हलचल मच्चियो; तब मानिसहरूले सोधे, “यिनी को हुन्?”
[11] त्यस भीडले जवाफ दियो, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता येशू हुन्।”
[12] येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो, र त्यहाँ किनबेच गर्नेहरू सबैलाई धपाइदिनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू र परेवा बेच्नेहरूका टेबुलहरू पल्टाइदिनुभयो।
[13] र उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूको ओडार बनाइरहेका छौ।’”
[14] दृष्टिविहीन र लङ्गडाहरू उहाँकहाँ मन्दिरमा आए; अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो।
[15] तर जब मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँले गर्नुभएका अद्भुत कार्यहरू देखे, र मन्दिरको इलाकामा बालबालिकाहरूले “दावीदका पुत्रलाई होसन्ना” भनेका सुने, तब तिनीहरू रिसाए।
[16] तिनीहरूले उहाँलाई सोधे, “यी बालबालिकाहरूले के भन्दैछन्, तिमी सुन्दैछौ?” येशूले जवाफ दिनुभयो, “हो, सुन्दैछु। के तिमीहरूले कहिल्यै धर्मशास्त्र पढेका छैनौ: “ ‘केटाकेटीहरू र शिशुहरूका ओठबाट प्रभु, तपाईंले प्रशंसा निकाल्नुभएको छ?’”
[17] अनि उहाँ तिनीहरूलाई छोडेर सहरबाहिर बेथानीमा जानुभयो, र त्यहीँ बास बस्नुभयो।
[18] एकाबिहानै जब उहाँ सहरतिर फर्कँदै हुनुहुन्थ्यो, उहाँ भोकाउनुभयो।
[19] बाटोको किनारमा एउटा अञ्जीरको रूख देखेर उहाँ त्यहाँ आउनुभयो, तर त्यसमा पातहरूबाहेक केही पाउनुभएन। तब उहाँले त्यसलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल नफलोस्!” अनि त्यो रूख तुरुन्तै ओइलायो।
[20] जब चेलाहरूले यो देखे, तिनीहरू छक्क परेर सोधे, “यो अञ्जीरको रूख कसरी यति चाँडो ओइलायो?”
[21] येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, यदि तिमीहरूमा विश्वास छ, र शङ्का गरेनौ भने यस अञ्जीरको रूखलाई जे गरिएको थियो, तिमीहरूले त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई ‘तँ जा, गएर आफूलाई समुद्रमा फ्याँक्’ भन्यौ भने त्यो भइहाल्नेछ।
[22] तिमीहरूले विश्वास गरेर प्रार्थनामा जे माग्छौ, त्यो तिमीहरूले पाउनेछौ।”
[23] येशू मन्दिरका चोकहरूमा आउनुभयो; अनि उहाँले शिक्षा दिँदैगर्दा मुख्य पुजारीहरू र जनताका प्रधानहरू उहाँकहाँ आए। तिनीहरूले सोधे, “तिमीले कुन अधिकारले यी कुराहरू गरिरहेका छौ? अनि तिमीलाई यो अधिकार कसले दियो?”
[24] येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। यदि तिमीहरूले जवाफ दियौ भने मैले कुन अधिकारले यी कामहरू गर्दैछु भनेर तिमीहरूलाई म भन्नेछु।
[25] यूहन्नाको बप्तिस्मा कहाँबाट आएको हो? स्वर्गबाट हो कि मानिसहरूबाट?” तिनीहरूले आपसमा छलफल गरे र भने, “यदि हामीले ‘स्वर्गबाट,’ भन्यौँ भने उनले ‘त्यसो भए तिमीहरूले किन तिनलाई विश्वास गरेनौ’ भनी भन्नेछन्।
[26] यदि हामीले ‘मानिसबाट’ हो भन्यौँ भने हामीलाई मानिसहरूको डर छ; किनकि तिनीहरू सबैले यूहन्नालाई अगमवक्ता भनी मान्छन्।”
[27] त्यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामी जान्दैनौँ।” तब उहाँले भन्नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु, त्यो भन्दिनँ।
[28] “तिमीहरू के सोच्छौ? एक जना मानिसका दुई छोराहरू थिए। तिनी पहिलोकहाँ गएर भने, ‘छोरा, आज गएर दाखबारीमा काम गरिदे है।’
[29] “त्यसले जवाफ दियो, ‘अहँ, म जान्नँ,’ तर पछिबाट त्यसले आफ्नो मन बदली गर्यो र गयो।
[30] “तब ती बुबा अर्को छोराकहाँ गएर त्यही कुरा भने। त्यसले जवाफ दियो, ‘हवस्, म जान्छु,’ तर त्यो गएन।
[31] “ती दुईमध्ये कुन चाहिँले बुबाको इच्छा पूरा गर्यो?” तिनीहरूले भने, “पहिलोले।” येशूले तिनीहरूलाई भन्नुभयो, “म साँच्चै तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू परमेश्वरको राज्यमा तिमीहरूभन्दा पहिले प्रवेश गर्दैछन्।
[32] किनकि यूहन्ना तिमीहरूकहाँ धार्मिकताको बाटो देखाउन आए, र तिमीहरूले उनलाई विश्वास गरेनौ, तर कर उठाउनेहरू र वेश्याहरूले त गरे। अनि तिमीहरूले यो देखेर पनि पश्चात्ताप गरेर विश्वास गरेनौ।
[33] “अर्को दृष्टान्त सुन: एक जना जमिनका मालिक थिए, जसले एउटा दाखबारी लगाए, र त्यसको चारैतिर पर्खाल बनाएर दाख पेल्ने एउटा कोल खने; र एउटा मचान बनाए। तब तिनले त्यो दाखबारी केही मोहीहरूलाई ठेक्कामा दिए, र आफू यात्रामा गए।
[34] जब कटनीको समय आयो, तब तिनले फल जम्मा गर्न भनी आफ्ना सेवकहरूलाई ती मोहीहरूकहाँ पठाए।
[35] “तर ती मोहीहरूले सेवकहरूलाई पक्रे: अनि एउटालाई पिटे, अर्कोलाई मारे र तेस्रोलाई ढुङ्गाले हाने।
[36] मालिकले फेरि अरू सेवकहरूलाई तिनीहरूकहाँ पहिलेभन्दा बढी संख्यामा पठाए, तब ती मोहीहरूले तिनीहरूसित पनि त्यस्तै व्यवहार गरे।
[37] अन्त्यमा तिनले आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, र तिनले सोचे, ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्लान्।’
[38] “तर ती मोहीहरूले जब छोरालाई आउँदैगरेको देखे, तब तिनीहरूले आपसमा भने, ‘यो त उत्तराधिकारी हो; आओ, यसलाई मारौँ र उसको उत्तराधिकार हात पारौँ।’
[39] यसरी तिनीहरूले त्यसलाई दाखबारीको बाहिर निकालेर मारे।
[40] “यसकारण जब दाखबारीका मालिक आउँछन्, तब तिनले ती मोहीहरूलाई के गर्लान्?”
[41] तिनीहरूले जवाफ दिए, “तिनले ती दुष्टहरूलाई दुर्दशापूर्वक अन्त्य गरिदिनेछन्, र त्यो दाखबारी अरू मोहीहरूलाई दिनेछन्, जसले कटनीको समयमा तिनको भागको उब्जनी तिनलाई दिनेछन्।”
[42] येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ: “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द तुल्याए, त्यही जगको मुख्य ढुङ्गा बन्यो; प्रभुले नै यो गर्नुभएको हो, अनि यो हाम्रा दृष्टिमा अचम्मको छ’?
[43] “यसकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ र यस्तो जातिलाई दिइनेछ, जसले यसबाट फल फलाउनेछ।
[44] जो यस ढुङ्गामाथि खस्ला, त्यो टुक्रा-टुक्रा हुनेछ; तर जसमाथि यो खस्छ, त्यो धुलोपिठो हुनेछ।”
[45] जब मुख्य पुजारीहरू र फरिसीहरूले येशूको यो दृष्टान्त सुने, तिनीहरूले उहाँले तिनीहरूकै विषयमा भन्दै हुनुहुन्छ भनी जाने।
[46] तिनीहरूले उहाँलाई पक्रने उपाय खोज्न थाले, तर तिनीहरू भीडसित डराउँथे; किनकि तिनीहरूले उहाँलाई अगमवक्ता भनी मान्थे।