[1] येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँ गालील प्रदेश छोडेर यर्दनको अर्कोतिर भएको यहूदिया प्रदेशका इलाकाहरूमा जानुभयो।
[2] ठूला भीडहरू उहाँको पछि लागे। अनि त्यहाँ उहाँले तिनीहरूमध्येका बिरामीहरूलाई निको पार्नुभयो।
[3] केही फरिसीहरू उहाँलाई जाँच गर्न भनी उहाँकहाँ आए। तिनीहरूले सोधे, “जुनसुकै कारण भए तापनि के मानिसले आफ्नी पत्नीलाई त्याग्नु उचित हो?”
[4] उहाँले उत्तर दिनुभयो, “के तिमीहरूले धर्मशास्त्र पढेका छैनौ, सुरुमा सृष्टिकर्ताले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो,’
[5] अनि भन्नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्’?
[6] यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।”
[7] तिनीहरूले सोधे, “त्यसो भए किन मोशाले त्यस मानिसले आफ्नी पत्नीलाई त्यागपत्र दिएर त्यागोस् भन्ने आज्ञा दिए त?”
[8] येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई तिमीहरूको हृदयको कठोरताको कारण, तिमीहरूका पत्नीहरूलाई त्याग्ने अनुमति दिए। तर सुरुदेखि नै त यस्तो थिएन।
[9] म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई वैवाहिक व्यभिचारको कारणबाहेक अरू कारणले विवाह सम्बन्ध-विच्छेद गर्दछ, र अर्की स्त्रीलाई विवाह गर्दछ, उसले पनि व्यभिचार गर्दछ।”
[10] चेलाहरूले उहाँलाई भने, “यदि पति-पत्नीको बीचमा यस्तै अवस्था हो भने त विवाह नगर्नु नै असल रहेछ।”
[11] येशूले उत्तर दिनुभयो, “यो कुरा हरेकले ग्रहण गर्न सक्दैन। तर जसलाई यो दिइएको छ, उसले मात्र ग्रहण गर्न सक्छ।
[12] किनकि कोही त जन्मदेखि नै नपुंसक हुन्छन्: अरूलाईचाहिँ मानिसहरूले त्यस्ता बनाए। अनि अरूचाहिँ स्वर्गको राज्यको लागि नपुंसक नै भएर रहन चाहन्छन्। जसले यो स्वीकार गर्न सक्छ, त्यसले गरोस्।”
[13] तब मानिसहरूले साना बालबालिकाहरूमाथि उहाँले हात राखिदेऊन्, र तिनीहरूका निम्ति प्रार्थना गरिदेऊन् भनी तिनीहरूलाई येशूकहाँ ल्याए; तर चेलाहरूले तिनीहरूलाई हप्काए।
[14] येशूले भन्नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक; किनकि स्वर्गको राज्य यस्तैहरूका लागि हो।”
[15] येशूले आफ्ना हात तिनीहरूमाथि राख्नुभयो, त्यसपछि उहाँ त्यहाँबाट जानुभयो।
[16] एक जना मानिसले येशूकहाँ आएर सोध्यो, “हे गुरु, अनन्त जीवन प्राप्त गर्नलाई मैले के असल काम गर्नुपर्छ?”
[17] येशूले जवाफ दिनुभयो, “असल के हो भनी तिमी मलाई किन सोध्छौ? असल त एक जना मात्र हुनुहुन्छ। यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने आज्ञाहरू पालन गर।”
[18] त्यस मानिसले सोध्यो, “कुन-कुनचाहिँ?” येशूले जवाफ दिनुभयो, “ ‘हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झूटो साक्षी नदिनू,
[19] आफ्ना बुबाआमालाई आदर गर्नू, आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू।’”
[20] त्यस जवान मानिसले जवाफ दियो, “मैले यी सबै पालन गर्दैआएको छु; ममा अझै के कमी छ?”
[21] येशूले उत्तर दिनुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने जाऊ, आफ्ना सबै थोक बेचेर गरिबहरूलाई देऊ; अनि तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ। त्यसपछि आऊ, मेरो पछि लाग।”
[22] यो सुनेर त्यो जवान मानिस दुःखी भएर गइहाल्यो, किनकि ऊसँग धेरै सम्पत्ति थियो।
[23] तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “म साँच्चै भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति कठिन छ।
[24] म फेरि तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त, बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।”
[25] जब चेलाहरूले यो सुने, तिनीहरू साह्रै छक्क परे र सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?”
[26] येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, “मानिसका लागि यो असम्भव छ; तर परमेश्वरका लागि सबै कुरा सम्भव छन्।”
[27] पत्रुसले उहाँलाई जवाफ दिए, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौँ; त्यसो भए हामीले के पाउनेछौँ त?”
[28] येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, सबै कुरा नयाँ तुल्याइसकेपछि, जब मानिसको पुत्र आफ्नो महिमाको सिंहासनमा विराजमान हुनेछ; तिमीहरू पनि जसले उसलाई पछ्याएका छौ, इस्राएलका बाह्र कुलका न्याय गर्दै बाह्र वटा सिंहासनहरूमा बस्नेछौ।
[29] अनि जसले मेरा निम्ति घर, दाजुभाइ, दिदीबहिनीहरू, बुबाआमा, बालबच्चा र जग्गाजमिन छोडेको छ, त्यसले त्यसको सय गुणा र अनन्त जीवन पाउनेछ।
[30] तर धेरै जो पहिला छन्, ती पछिल्ला हुनेछन्, र जो पछिल्ला छन्; ती पहिला हुनेछन्।