Skip to content
Opens in a new window
Listen to this chapter • 4:18

[1] छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र तिनका भाइ यूहन्‍नालाई अलग्गै एउटा अग्लो पहाडमा लानुभयो।

[2] त्यहाँ तिनीहरूका सामु उहाँको रूप परिवर्तन भयो। उहाँको अनुहार सूर्यझैँ चम्क्यो, र उहाँको वस्त्र ज्योतिझैँ चम्किला भए।

[3] त्यसै बेला तिनीहरूका सामु मोशा र एलिया येशूसित कुरा गरिरहेका देखा परे।

[4] पत्रुसले येशूलाई भने, “प्रभु, हामीलाई यहीँ रहनु असल छ। यदि तपाईं चाहनुहुन्छ भने म तीन वटा वासस्थान बनाउनेछु। तपाईंका लागि एउटा, मोशाका लागि एउटा र एलियाका लागि एउटा।”

[5] तिनी बोल्दैगर्दा, एउटा चहकिलो बादलले तिनीहरूलाई ढाक्यो। अनि बादलबाट यसो भन्‍ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु: यिनीसित म अति प्रसन्‍न छु। यिनको कुरा सुन!”

[6] चेलाहरू यो कुरा सुनेपछि डरले घोप्टो परेर भुइँमा लडे।

[7] तर येशूले आएर तिनीहरूलाई छुनुभयो र भन्‍नुभयो, “उठ, नडराओ।”

[8] जब तिनीहरूले माथि हेरे, तिनीहरूले येशूबाहेक अरू कसैलाई देखेनन्।

[9] उहाँहरू जब पहाडबाट ओर्लँदैहुनुहुन्थ्यो, येशूले यस्तो आदेश दिनुभयो, “मानिसको पुत्र मृत्युबाट जीवित भई नउठेसम्म तिमीहरूले जे देख्यौ, त्यो कसैलाई नभन्‍नू।”

[10] चेलाहरूले उहाँलाई सोधे, “त्यसो भए किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?”

[11] येशूले उत्तर दिनुभयो, “एलिया साँच्‍चै नै आउँछन्, र सबै कुरा पुनर्स्थापित गर्नेछन्।

[12] तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, र तिनीहरूले उनलाई चिन्‍न सकेनन्। तर उनलाई तिनीहरूले मनपरी व्यवहार गरे। सोही किसिमले मानिसको पुत्रले तिनीहरूका हातबाट कष्‍ट भोग्नेछ।”

[13] तब उहाँले बप्‍तिस्मा दिने यूहन्‍नाको विषयमा तिनीहरूलाई भन्‍नुभएको भनी चेलाहरूले बुझे।

[14] जब उहाँहरू भीड भएको ठाउँमा आउनुभयो, तब एक जना मानिसले येशूकहाँ आएर उहाँको सामु घुँडा टेकेर भन्यो,

[15] “प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्। उसलाई छारेरोग लागेको छ, र उसले धेरै कष्‍ट पाइरहेछ। ऊ घरी-घरी आगोमा अथवा पानीमा लड्छ।

[16] मैले उसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले त्यसलाई निको पार्न सकेनन्।”

[17] येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला? र तिमीहरूलाई सहुँला? त्यस केटोलाई यहाँ मकहाँ ल्याओ।”

[18] येशूले त्यस भूतआत्मालाई हप्काउनुभयो, र त्यो त्यस केटोबाट निस्क्यो; र त्यो केटो त्यसै घडीदेखि निको भयो।

[19] तब चेलाहरूले गुप्‍तमा येशूकहाँ आएर सोधे, “हामीले किन त्यसलाई निकाल्न सकेनौँ?”

[20] उहाँले जवाफ दिनुभयो, “किनकि तिमीहरूमा विश्‍वासको कमी छ। तिमीहरूलाई साँच्‍चै भन्दछु, यदि तिमीहरूमा सानो रायोको दानाजत्रो मात्रै पनि विश्‍वास छ भने तिमीहरूले यस पहाडलाई ‘यहाँबाट त्यहाँ हटिजा’ भन्‍न सक्छौ, र त्यो हटेर जानेछ। तिमीहरूका लागि कुनै कुरा पनि असम्भव हुनेछैन।

[21] तर यस किसिमको चङ्गाइचाहिँ प्रार्थना र उपवासविना हुन सक्दैन।”

[22] उहाँहरू गालीलमा भेला भएपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ।

[23] तिनीहरूले उसलाई मार्नेछन्, र तेस्रो दिनमा ऊ फेरि जीवित भई उठ्नेछ।” अनि चेलाहरू अत्यन्तै दुःखी भए।

[24] येशू र उहाँका चेलाहरू कफर्नहुममा आएपछि मन्दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर सोधे, “के तिमीहरूका गुरुले मन्दिरको कर तिर्दैनन्?”

[25] तिनले जवाफ दिए, “हो, तिर्नुहुन्छ।” जब पत्रुस घरभित्र आए, येशूले पहिला सोधिहाल्नुभयो, “सिमोन तिम्रो के विचार छ, संसारका राजाहरूले आफ्नै छोराहरूबाट कर उठाउँछन् कि अरूबाट?”

[26] पत्रुसले जवाफ दिए, “अरूबाट।” येशूले तिनलाई भन्‍नुभयो, “त्यसो भए छोराहरूले त छुट पाउँछन्।

[27] तरै पनि तिनीहरू नचिढिऊन्, तिमी जाऊ र तालमा तिम्रो बल्छी हान। तिमीले पक्रेको पहिलो माछा लेऊ। त्यसको मुख खोल्दा तिमीले एउटा चाँदीको सिक्‍का पाउनेछौ। त्यो लगेर तिम्रा र मेरा निम्ति कर हो भनेर तिनीहरूलाई देऊ।”

मत्ती — Chapters