Skip to content
Opens in a new window
Listen to this chapter • 4:58

[1] येशूले आफ्ना बाह्रै जना चेलाहरूलाई निर्देशन दिइसक्नुभएपछि, उहाँ त्यहाँबाट गालीलका सहरहरूतिर शिक्षा दिन र प्रचार गर्न जानुभयो।

[2] जब यूहन्‍नाले झ्यालखानामा ख्रीष्‍टले गर्नुभएको कामको बारेमा सुने, तिनले आफ्ना चेलाहरूलाई उहाँकहाँ यो सोध्न पठाए,

[3] “के आउनेवाला मुक्तिदाता जो हुनुहुन्थ्यो, त्यो तपाईं नै हुनुहुन्छ, अथवा हामी अझै कसैको प्रतीक्षा गरौँ?”

[4] येशूले जवाफ दिनुभयो, “जाओ, र तिमीहरूले जे सुन्छौ र देख्छौ, त्यही कुरा यूहन्‍नालाई भनिदेओ:

[5] दृष्‍टिविहीनहरूले दृष्‍टि पाउँछन् र लङ्गडाहरू हिँड्छन्। कुष्‍ठरोग लागेकाहरू निको हुन्छन्। बहिराहरूले सुन्छन्; मरेकाहरू जीवित पारिन्छन्; र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ।

[6] त्यो धन्यको हो, जसको विश्‍वास मबाट हट्दैन।”

[7] जब यूहन्‍नाका चेलाहरू जान लागे, तब येशूले भीडलाई यूहन्‍नाको विषयमा भन्‍न लाग्नुभयो: “तिमीहरू उजाडस्थानमा के हेर्न गयौ? के हावाले हल्‍लाएको निगालोलाई?

[8] यदि होइन भने तिमीहरू के हेर्न गयौ त? के महङ्गो लुगा लगाएको मानिसलाई हेर्न? होइन, महङ्गो लुगा लगाउनेहरू त राजाका दरबारमा हुन्छन्।

[9] त्यसो भए तिमीहरू के हेर्नलाई गयौ त? के अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, एक अगमवक्ताभन्दा पनि महान्‌लाई।

[10] यिनी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ: “ ‘म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।’

[11] म तिमीहरूलाई साँच्‍चै भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमा बप्‍तिस्मा दिने यूहन्‍नाभन्दा महान् अरू कोही छैन; तापनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा पनि महान् हुनेछ।

[12] बप्‍तिस्मा दिने यूहन्‍नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्य बलपूर्वक अगि बढिरहेको छ, र जबरजस्ती गर्नेहरूले यसलाई पक्रिराखेका छन्।

[13] किनकि सबै अगमवक्ताहरू र व्यवस्थाले यूहन्‍नाको समयसम्म अगमवाणी गरे।

[14] यदि तिमीहरू यसलाई ग्रहण गर्न राजी छौ भने आउनुपर्ने एलिया यिनी नै हुन्।

[15] जसको कान छ, उसले सुनोस् र बुझोस्।

[16] “यस पुस्तालाई म केसित तुलना गरूँ? तिनीहरू बजारमा बसेर अरूहरूलाई बोलाउँदै यसो भन्‍ने केटाकेटीहरूजस्ता छन्:

[17] “ ‘हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, अनि तिमीहरू नाचेनौ। हामीले शोकको गीत गायौँ, अनि तिमीहरूले विलाप गरेनौ!’

[18] किनकि यूहन्‍ना न त खाँदै आए, न पिउँदै आए; अनि तिनीहरू भन्छन्, ‘तिनलाई भूत लागेको छ।’

[19] मानिसको पुत्र खाँदै र पिउँदै आयो; अनि तिनीहरू भन्छन्, ‘हेर, यो घिचुवा र पियक्‍कड, र कर उठाउनेहरू र पापीहरूको मित्र।’ तर बुद्धि ठिक छ भन्‍ने त्यसका कामहरूद्वारा नै प्रमाणित हुन्छ।”

[20] त्यसपछि येशूले ती सहरहरूलाई धिक्‍कार्न थाल्नुभयो; जहाँ उहाँका धेरैजसो अचम्मका कामहरू गरिएका थिए; किनकि तिनीहरूले पश्‍चात्ताप गरेनन्।

[21] “धिक्‍कार तँलाई हे खोराजिन! धिक्‍कार तँलाई हे बेथसेदा! यदि तिमीहरूमा गरिएका अचम्मका कामहरू टायर र सीदोनका मुलुकहरूमा गरिएका भए त्यहाँका मानिसहरूले धेरै पहिले नै भाङ्ग्रा ओढेर र खरानी धसेर पश्‍चात्ताप गर्नेथिए।

[22] तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टायर र सीदोनको अवस्था सहन सक्ने हुनेछ।

[23] अनि हे कफर्नहुम, के तँ आकाशमा उचालिनेछस्? होइन, तँ पातालमा खसालिनेछस्। यदि तँकहाँ गरिएका अचम्मका कामहरू सदोममा गरिएका भए, त्यो आजसम्म रहिरहनेथियो।

[24] तर म तँलाई यो भन्दछु, न्यायको दिनमा तेरोभन्दा त सदोम सहरको अवस्था सहन सक्ने हुनेछ।”

[25] त्यस बेला येशूले भन्‍नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंको प्रशंसा गर्दछु; किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र ज्ञानीहरूबाट गुप्‍त राखेर साना बालबालिकाहरूलाई प्रकट गरिदिनुभएको छ।

[26] किनकि हे पिता, तपाईंलाई यस्तै गर्न असल लाग्यो।

[27] “मेरा पिताले सबै थोकहरू मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताबाहेक कसैले चिन्दैन; अनि पितालाई पुत्रले बाहेक र पुत्रले प्रकट गर्न चाहनुभएका मानिसहरूबाहेक अरू कसैले चिन्दैन।

[28] “हे सबै थाकेका र बोझले दबिएकाहरू हो, मकहाँ आओ, र म तिमीहरूलाई विश्राम दिनेछु।

[29] मेरो जुवा आफूमाथि राख, र मबाट सिक; किनकि म नम्र र कोमल हृदयको छु, र तिमीहरूले आफ्ना आत्माको लागि विश्राम पाउनेछौ।

[30] किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।”

मत्ती — Chapters