[1] अब्राहामका पुत्र, दावीदका पुत्र येशू ख्रीष्टको वंशावली:
[2] अब्राहाम इसहाकका पिता, इसहाक याकोबका पिता, याकोब यहूदा र तिनका दाजुभाइहरूका पिता,
[3] यहूदा फारेस र जेरहका पिता, तिनीहरूकी आमा तामार थिइन्। फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता,
[4] आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, नहशोन सल्मोनका पिता थिए।
[5] सल्मोन बोअजका पिता, तिनकी आमा राहाब थिइन्, बोअज ओबेदका पिता, तिनकी आमा रूथ थिइन्। ओबेद यिशैका पिता,
[6] अनि यिशै राजा दावीदका पिता थिए। दावीद सोलोमनका पिता थिए; तिनकी आमा पहिले उरियाहकी पत्नी थिइन्,
[7] सोलोमन रहबामका पिता, रहबाम अबीयाहका पिता, अबीयाह आसाका पिता,
[8] आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, यहोराम उज्जियाहका पिता,
[9] उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता,
[10] हिजकिया मनश्शेका पिता, मनश्शे अमोनका पिता, अमोन योशियाहका पिता,
[11] अनि योशियाह येकोनिया र तिनका भाइहरूका पिता, तिनीहरू बेबिलोनमा लगिएको समयमा जन्मेका थिए।
[12] बेबिलोनमा लगिएपछि: येकोनिया शालतिएलका पिता, शालतिएल यरुबाबेलका पिता,
[13] यरुबाबेल अबिहूदका पिता, अबिहूद एल्याकीमका पिता, एल्याकीम आजोरका पिता,
[14] आजोर सादोकका पिता, सादोक आखिमका पिता, आखिम एलिहूदका पिता,
[15] एलिहूद एलाजारका पिता, एलाजार मत्तानका पिता, मत्तान याकोबका पिता,
[16] अनि याकोब योसेफका पिता, जो मरियमका पति थिए। अनि मरियमले ख्रीष्ट भनिने येशूलाई जन्म दिइन्।
[17] यसरी अब्राहामदेखि दावीदसम्म जम्मा चौध पुस्ता, दावीददेखि बेबिलोनमा लगिएको समयसम्म चौध पुस्ता र बेबिलोनबाट निकाला भएदेखि ख्रीष्टसम्म चौध पुस्ता छन्।
[18] येशू ख्रीष्टको जन्म यसरी भयो: उहाँकी आमा मरियमको मगनी योसेफसित भएको थियो। तर तिनीहरूको विवाह हुनुभन्दा अगि नै यो थाहा भयो, कि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थिइन्।
[19] तिनका पति योसेफ एक धर्मी मानिस भएका हुनाले र आफू समाजमा अपमान हुन नचाहेकाले, तिनलाई सुटुक्क त्यागिदिने विचार गरे।
[20] तर ती दिनहरूमा योसेफले यस्तो विचार गरेपछि प्रभुका एउटा दूतले सपनामा तिनीकहाँ देखा परेर यसो भने, “दावीदको पुत्र योसेफ, मरियमलाई तिम्री पत्नीको रूपमा घर लैजान नडराऊ। किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ।
[21] तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाम येशू राख्नू। किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।”
[22] यी कुराहरू त्यसरी नै पूरा भए, जसरी प्रभुले आफ्ना अगमवक्ताद्वारा भन्नुभएको थियो:
[23] “कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँलाई इम्मानुएल भन्नेछन्,” जसको अर्थ हो, “परमेश्वर हामीसित।”
[24] योसेफ बिउँझेपछि प्रभुका दूतले तिनलाई आज्ञा दिएझैँ गरे। अनि मरियमलाई पत्नीको रूपमा घरमा लगे।
[25] तर तिनले पुत्र नजन्माउन्जेल तिनीसित सहवास गरेनन्। अनि तिनले उहाँको नाम येशू राखे।