[1] येशूले मन्दिर छोडेर जान लाग्दा उहाँका चेलाहरू उहाँको ध्यान मन्दिरको बनावटतिर आकर्षित गराउन उहाँकहाँ आए।
[2] उहाँले सोध्नुभयो, “के तिमीहरू यी सबै थोक देख्दैछौ? म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँ एउटा ढुङ्गामाथि अर्को रहनेछैन, तर प्रत्येक ढुङ्गा भत्काएर फ्याँकिनेछ।”
[3] येशू जैतुन डाँडामा बसिरहनुहुँदा चेलाहरू सुटुक्क उहाँकहाँ आएर सोधे, “हामीलाई भन्नुहोस्, यो कहिले हुनेछ, र तपाईंको आगमन र जगत्को अन्त्यको चिन्ह के हुनेछ?”
[4] येशूले जवाफ दिनुभयो: “होसियार रहो, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्।
[5] किनकि धेरै जना ‘म ख्रीष्ट हुँ,’ भन्दै मेरो नाममा दाबी गर्दै आउनेछन्, र धेरैलाई धोका दिनेछन्।
[6] तिमीहरूले लडाइँहरू र लडाइँहरूका हल्लाहरू सुन्नेछौ, तर तिमीहरू नडराउनू। यस्ता कुराहरू त हुनैपर्छ; तर अन्त्य आउन अझै बाँकी नै छ।
[7] जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा अनिकाल र भुइँचालाहरू जानेछन्।
[8] यी सबै प्रसववेदनाका सुरुवात मात्र हुन्।
[9] “तब तिनीहरूले तिमीहरूलाई सताइनका लागि र मारिनका लागि सुम्पिइनेछन्; अनि मेरा निम्ति सबै राष्ट्रहरूद्वारा तिमीहरू घृणित हुनेछौ।
[10] त्यस बेला धेरै जना विश्वासबाट पछि हट्नेछन्, र एक-आपसमा विश्वासघात र घृणा गर्नेछन्।
[11] अनि धेरै झूटा अगमवक्ताहरू देखा परेर धेरैलाई भ्रममा पार्नेछन्।
[12] दुष्टता बढेकोले धेरैको प्रेम सेलाउनेछ,
[13] तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार गरिनेछ।
[14] अनि राज्यको सुसमाचार सबै राष्ट्रहरूमा साक्षीको रूपमा विश्वभरि प्रचार गरिनेछ; त्यसपछि अन्त्य आउनेछ।
[15] “यसरी जब तिमीहरूले दानिएल अगमवक्ताद्वारा भनिएको ‘विनाशकारी घृणित कुरा’ पवित्रस्थानमा खडा भएको देख्नेछौ—पढ्नेले बुझोस्,
[16] तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्।
[17] घरको कौसीमा हुनेहरू कोही पनि घरबाट केही थोक लिनलाई तल नओर्लोस्।
[18] खेतमा हुने कोही पनि आफ्ना लुगा लिन फर्केर नजाओस्।
[19] ती दिनहरूमा गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि कति डरलाग्दा हुनेछन्!
[20] शब्बाथको दिनमा अथवा हिउँदमा तिमीहरू भाग्नु नपरोस् भनी प्रार्थना गर।
[21] किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, संसारको उत्पत्तिदेखि अहिलेसम्म न कहिल्यै भएको थियो, न त फेरि कहिल्यै हुनेछ।
[22] “यदि ती दिनहरू नघटाइएका भए कोही पनि बाँच्न सक्ने थिएन; तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन्।
[23] त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ’ अथवा, ‘उहाँ त्यहाँ हुनुहुन्छ’ भन्यो भने त्यसमा विश्वास नगर।
[24] किनकि झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू देखा पर्नेछन्। सम्भव भएसम्म चुनिएकाहरूलाई पनि बहकाउनलाई ठूला-ठूला अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू गर्नेछन्।
[25] हेर, मैले तिमीहरूलाई पहिलेबाट नै भनिदिएको छु।
[26] “यसकारण यदि कसैले तिमीहरूलाई ‘हेर, उहाँ बाहिर मरुभूमिमा हुनुहुन्छ’ भन्यो भने निस्केर नजाओ; अथवा, ‘उहाँ यहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भन्यो भने त्यो कुरा विश्वास नगर।
[27] किनकि जसरी पूर्वतिर चम्केको बिजुली पश्चिममा पनि देखा पर्छ, त्यसरी नै मानिसको पुत्रको आगमन पनि हुनेछ।
[28] जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू भेला हुन्छन्।
[29] “ती दिनहरूका सङ्कष्टपछि तुरुन्तै, “ ‘सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; आकाशबाट ताराहरू खस्नेछन्, अनि आकाशका शक्तिहरू डगमगाउनेछन्।’
[30] “त्यस बेला मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ; अनि पृथ्वीका सबै जातिहरूले विलाप गर्नेछन्। तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महा महिमासहित आकाशका बादलहरूमा आइरहेको देख्नेछन्।
[31] अनि उसले आफ्ना दूतहरूलाई तुरहीको चर्को आवाजसित पठाउनेछ। अनि तिनीहरूले आकाशको एक कुनादेखि अर्को कुनासम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई बटुल्नेछन्।
[32] “अब अञ्जीरको रूखबाट यो पाठ सिक: जब यसका हाँगाहरूमा कलिला पातहरू पलाउन थाल्छन्, ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी तिमीहरूले थाहा पाउँछौ।
[33] त्यसरी नै जब तिमीहरूले यी सबै कुराहरू भइरहेका देख्छौ, तब यो नजिकै, ढोकैमा छ भनी तिमीहरूले जान।
[34] म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्चय नै नष्ट भएर जानेछैन।
[35] आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्।
[36] “त्यस दिन र त्यस समयको विषयमा कसैले जान्दैन। न स्वर्गका दूतहरूले, न पुत्रले; तर पिताले मात्र जान्नुहुन्छ।
[37] जसरी नोआको दिनमा भएको थियो, त्यसरी नै मानिसको पुत्रको आगमनमा पनि हुनेछ।
[38] किनकि जलप्रलय अगिका दिनहरूमा नोआ जहाजभित्र पस्ने दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाह गर्दै र विवाह गराउँदैथिए।
[39] अनि जलप्रलय आएर तिनीहरू सबैलाई नबगाउन्जेल तिनीहरूलाई के हुन्छ भन्ने कुरा थाहा नै थिएन। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ।
[40] दुई जना मानिसहरू खेतमा हुनेछन्; एक जना लगिनेछ, र अर्को छोडिनेछ।
[41] दुई जना स्त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्; एउटी लगिनेछ र अर्की छोडिनेछ।
[42] “यसकारण जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनेछन् भनी तिमीहरू जान्दैनौ।
[43] तर यो बुझिराख: यदि घरको मालिकले राति कुन समयमा चोर आउँछ भनी जानेका भए, तिनी होसियार रहनेथिए, र तिनले आफ्नो घर फोरिन दिनेथिएन।
[44] यसकारण तिमीहरू पनि तयार बस; किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।
[45] “त्यसो भए त्यो विश्वासयोग्य र बुद्धिमान् सेवक को हो, जसलाई त्यसका मालिकले घरका अन्य सेवकहरूलाई तिनीहरूका भोजन ठिक समयमा दिनू भनेर तिनीहरूमाथि अधिकार दिएका छन्?
[46] उसका मालिक फर्केर आउँदा उसले त्यसै गरिरहेको भेट्टाए भने त्यस सेवकका लागि असल हुनेछ।
[47] म तिमीहरूलाई साँचो भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्।
[48] तर यदि त्यो सेवक दुष्ट छ, र त्यसले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भनी भन्यो,
[49] अनि आफ्ना सङ्गी-सेवकहरूलाई पिट्न र मतवालाहरूसित खान र पिउन थाल्यो भने,
[50] त्यस सेवकका मालिक त्यसले नचिताएको दिनमा र त्यसलाई थाहै नभएको समयमा आइपुग्नेछन्।
[51] तब तिनले त्यसलाई टुक्रा-टुक्रा पारेर काट्नेछन् र कपटीहरूका साथमा राख्नेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछन्।