[1] तब येशू शैतानद्वारा परीक्षित हुनलाई पवित्र आत्माद्वारा उजाडस्थानमा लगिनुभयो।
[2] अनि चालीस दिन र चालीस रात उपवास बसेपछि उहाँ भोकाउनुभयो।
[3] परीक्षा गर्नेले उहाँकहाँ आएर यसो भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी भइजा भनी आज्ञा दिनुहोस्।”
[4] येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’”
[5] तब शैतानले उहाँलाई पवित्र सहरमा लग्यो, र उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा उभ्यायो।
[6] अनि उहाँलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्; किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘उहाँले तपाईंको सम्बन्धमा आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ, अनि तिनीहरूले तपाईंलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्; ताकि तपाईंको खुट्टा ढुङ्गामाथि नबजारियोस्।’”
[7] येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो पनि लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू।’”
[8] फेरि शैतानले उहाँलाई एउटा अति अग्लो पहाडमाथि लगेर संसारका सबै राज्यहरू र तिनीहरूका वैभव देखायो,
[9] अनि उहाँलाई भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने म यी सबै थोक तपाईंलाई दिनेछु।”
[10] त्यसपछि येशूले त्यसलाई भन्नुभयो, “हे शैतान, तँ मबाट टाढा भइजा! किनकि यसरी लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू।’ ”
[11] तब शैतान उहाँलाई छोडेर गइहाल्यो। अनि स्वर्गदूतहरू आएर उहाँको सेवाटहल गरे।
[12] जब येशूले यूहन्ना झ्यालखानामा परेका छन् भनी सुन्नुभयो, तब उहाँ गालील प्रदेशमा फर्कनुभयो।
[13] नासरत सहरलाई छोडेर उहाँ कफर्नहुममा जानुभयो, जुन जबूलून र नप्तालीको इलाकामा समुद्रको किनारमा थियो।
[14] यशैया अगमवक्ताले भनेका कुरा पूरा हुनलाई यसो भएको थियो:
[15] “यर्दन नदीपारि समुद्रको छेउतिर रहेको जबूलून र नप्तालीको मुलुक, गैरयहूदीहरूको गालील,
[16] अन्धकारमा बस्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युको छायामा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ।”
[17] त्यस बेलादेखि येशूले यसो भन्दै प्रचार गर्न लाग्नुभयो, “पश्चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।”
[18] येशू गालील समुद्रको किनारमा हिँडिरहनुभएको समयमा उहाँले दुई भाइहरू, पत्रुस भनिने सिमोन र तिनका भाइ अन्द्रियासलाई देख्नुभयो। तिनीहरू मछुवा भएको कारणले गर्दा तिनीहरूले तालमा जाल हान्दै थिए।
[19] येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।”
[20] त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे।
[21] अनि त्यहाँबाट अगि जाँदै गर्नुहुँदा उहाँले अरू दुई भाइहरू, जब्दीको छोरा याकोब र तिनका भाइ यूहन्नालाई देख्नुभयो। तिनीहरू आफ्ना पिता जब्दीसित डुङ्गामा आफ्नो जाल तयार पार्दैथिए। येशूले तिनीहरूलाई बोलाउनुभयो,
[22] अनि तुरुन्तै तिनीहरू डुङ्गा र आफ्ना बुबालाई छोडेर उहाँको पछि लागे।
[23] येशूले गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका हरेक रोग र दुर्बलतालाई निको पार्दै जानुभयो।
[24] उहाँको कीर्ति सारा सिरियाभरि फिँजियो। अनि मानिसहरूले विभिन्न किसिमका रोग लागेकाहरू, कष्ट भोगेकाहरू, भूत लागेकाहरू, छारेरोग लागेकाहरू र पक्षघात भएकाहरूलाई उहाँकहाँ ल्याए। अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो।
[25] गालील प्रदेश, डेकापोलिस, यरूशलेम, यहूदिया प्रदेश र यर्दन पारिका हुलका हुल मानिसहरू उहाँको पछि लागे।