Skip to content
Opens in a new window
Listen to this chapter • 5:41

[1] त्यस समयमा चेलाहरूले येशूकहाँ आएर सोधे, “स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुन्छ?”

[2] उहाँले एउटा सानो बालकलाई बोलाएर तिनीहरूका बीचमा उभ्याउनुभयो,

[3] र भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरू बदलिएर साना बालकहरूजस्ता भएनौ भने तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ।

[4] यसकारण जसले आफैँलाई यस बालकजस्तो नम्र बनाउँछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ;

[5] अनि जसले यसरी एउटा बालकलाई मेरो नाममा ग्रहण गर्दछ, उसले मलाई नै ग्रहण गर्दछ।

[6] “यदि कसैले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पनि पाप गर्न लगाउँछ भने त्यसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रको गहिराइमा डुबाइएको भए असल हुनेथियो।

[7] पाप गर्न लगाउने कुराहरूको लागि यस संसारलाई धिक्‍कार! किनभने यस्ता कुराहरू अवश्य आउँछन्; तर धिक्‍कार त्यस मानिसलाई, जसद्वारा ती आउँछन्!

[8] तिमीहरूका हात वा खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुई हात अथवा दुई खुट्टा लिएर अनन्तको आगोमा फालिनुभन्दा त अपाङ्ग वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ।

[9] अनि यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेओ। दुई आँखाहरू लिएर नरकको आगोमा फालिनुभन्दा त एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ।

[10] “होसियार रहो, तिमीहरूबाट यी सानाहरूमध्ये एउटा पनि हेला नहोऊन्। किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतले सधैँ स्वर्गमा हुने मेरा पिताको अनुहार हेर्दछन्।

[11] किनकि मानिसको पुत्र हराएकालाई बचाउन आएको हो।

[12] “तिमीहरूलाई के लाग्छ? यदि कुनै मानिसका एक सय भेडाहरू छन्, र तीमध्ये एउटा बाटो बिराएर गयो भने उसले उनान्सयलाई पहाडमा छोडेर त्यस बाटो बिराएर जाने एउटालाई खोज्न जाँदैन र?

[13] म तिमीहरूलाई साँच्‍चै भन्दछु, उसले त्यो भेट्टाएपछि बाटो नबिराउने ती उनान्सयभन्दा त्यस एउटाप्रति ऊ आनन्दित हुनेछ।

[14] यसकारण यी सानाहरूमध्ये एउटै पनि नहराओस् भन्‍ने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले इच्छा गर्नुहुन्छ।

[15] “यदि तिम्रो सहविश्‍वासीले तिम्रो विरुद्धमा पाप गर्‍यो भने सीधै तिमीले उसको गल्ती देखाइदेऊ। यदि उसले तिम्रो कुरा सुन्छ भने तिमीले उसलाई जित्यौ।

[16] तर यदि उसले सुनेन भने आफ्नो साथमा अरू एक वा दुई जनालाई लैजाऊ र ‘दुई वा तीन साक्षीहरूद्वारा हरेक कुरा पक्‍का भएको होस्।’

[17] यदि उसले तिनीहरूका कुरा पनि मानेन भने मण्डलीलाई यो भनिदेऊ। तर उसले मण्डलीको कुरा पनि मानेन भने तिमीले तिनीप्रति गैरयहूदीहरू र कर उठाउनेहरूप्रति झैँ व्यवहार गर।

[18] “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ, त्यो स्वर्गमा फुकाइनेछ।

[19] “साँच्‍चै, म तिमीहरूलाई फेरि भन्दछु, पृथ्वीमा यदि तिमीहरूमध्ये दुई जनाले एकमत भएर जे माग्छौ, त्यो तिमीहरूका निम्ति स्वर्गमा हुनुहुने मेरा पिताद्वारा दिइनेछ।

[20] किनकि जहाँ दुई वा तीन जना मेरो नाममा एकसाथ भेला हुन्छन्, म त्यहाँ तिनीहरूसित हुन्छु।”

[21] तब पत्रुसले येशूकहाँ आएर सोधे, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गर्दा मैले उसलाई कति पटक क्षमा गरूँ? के सातपल्ट?”

[22] येशूले जवाफ दिनुभयो, “म तिमीलाई भन्दछु, सातपल्ट होइन, तर सात गुणा सत्तरी पल्ट।

[23] “यसकारण स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्ना सेवकहरूबाट हिसाब लिने इच्छा गरे।

[24] तिनले जब त्यसो गर्न थाले, तब दश हजार झोला सुनका सिक्‍का ऋण लिएको मानिसलाई तिनीकहाँ ल्याइयो।

[25] उसले तिर्न नसकेको कारण त्यस मालिकले त्यो ऋण तिर्नका लागि त्यो मानिस, उसकी पत्नी, उसका बालबच्‍चाहरू र ऊसँग भएका सबै थोक बेचियोस् भन्‍ने हुकुम दिए।

[26] “त्यस सेवकले तिनको अगि घुँडा टेकेर बिन्ती गर्‍यो, ‘ममाथि धैर्य गर्नुहोस्, र म सबै तिरिदिनेछु।’

[27] त्यस सेवकको मालिकले त्यसमाथि दया गरेर त्यो ऋण माफी गरिदिए, र त्यसलाई जान दिए।

[28] “तर त्यो सेवक गयो, र ऊसँग काम गर्ने एउटा सेवकलाई भेट्टायो, जससित उसको एक सय चाँदीका सिक्‍का ऋण थियो। उसले त्यसलाई पक्रेर त्यसको घोक्रो अँठ्यायो अनि ‘मेरो ऋण तिरिहाल्’ भनेर माग गर्‍यो।

[29] “ऊसँग काम गर्ने त्यस सेवकले उसको अगि घुँडा टेकेर बिन्ती गर्‍यो, ‘ममाथि धैर्य गर्नुहोस्, र म सबै तिरिदिनेछु।’

[30] “तर उसले अस्वीकार गर्‍यो। अनि गएर त्यसले ऋण नतिरुन्जेल त्यस मानिसलाई झ्यालखानामा हालिदियो।

[31] तर जे घटना भएको थियो, त्यो अरू सेवकहरूले देखेपछि तिनीहरू अति दुःखित भए, र गएर जे भएको थियो, त्यो कुरा आफ्ना मालिकलाई भनिदिए।

[32] “तब त्यस मालिकले त्यस सेवकलाई भित्र बोलाएर भने, ‘तँ दुष्‍ट सेवक, तैँले मसित क्षमा मागेको कारण मैले तेरा सबै ऋण माफ गरिदिएँ।

[33] मैले तँमाथि दया देखाएझैँ, के तैँले पनि आफ्नो सङ्गी-सेवकप्रति दया देखाउनुपर्ने थिएन र?’

[34] रिसमा त्यस मालिकले त्यसलाई सम्पूर्ण ऋण नतिरेसम्म कष्‍ट पाउनलाई झ्यालखानाका अधिकारीहरूकहाँ सुम्पिदिए।

[35] “तिमीहरूले पनि आफ्ना सहविश्‍वासीलाई हृदयदेखि क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूप्रति यस्तै व्यवहार गर्नुहुनेछ।”

मत्ती — Chapters