Skip to content
Opens in a new window
Listen to this chapter • 5:18

[1] तब यरूशलेमबाट केही फरिसी र व्यवस्थाका शिक्षकहरू येशूकहाँ आएर सोधे,

[2] “तपाईंका चेलाहरूले किन पुर्खाहरूका परम्परा भङ्ग गर्दछन्? तिनीहरूले खानअगि आफ्ना हात धुँदैनन्।”

[3] येशूले जवाफ दिनुभयो, “तिमीहरूले चाहिँ किन आफ्ना परम्पराका निम्ति परमेश्‍वरको आज्ञा भङ्ग गर्छौ?

[4] किनकि परमेश्‍वरले भन्‍नुभएको छ, ‘आफ्ना बुबाआमालाई आदर गर’, अनि ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’

[5] तर तिमीहरू, कुनै मानिसले आफ्ना बुबा वा आमालाई, ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो परमेश्‍वरलाई चढाइसकिएको छ’ भन्यो भने,

[6] त्यसले ‘आफ्ना बुबा वा आमाको आदर’ गर्नुपर्दैन भन्छौ। यसरी तिमीहरूले आफ्ना परम्पराका निम्ति परमेश्‍वरको आज्ञालाई व्यर्थको तुल्याउँछौ।

[7] ए कपटीहरू हो! तिमीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठिकै भनेका थिए:

[8] “ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय मदेखि टाढा छ।

[9] तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्; तिनीहरूको शिक्षा मानवीय नियम मात्र हुन्।’”

[10] अनि येशूले भीडलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “सुन र बुझ।

[11] जे मानिसको मुखबाट भित्र पस्छ, त्यसले उसलाई अशुद्ध पार्दैन; तर जे उसको मुखबाट बाहिर निस्कन्छ, त्यसले उसलाई अशुद्ध पार्छ।”

[12] तब चेलाहरूले उहाँकहाँ आएर सोधे, “यो सुनेर फरिसीहरू अपमानित भएका छन् भनी तपाईंलाई थाहा भयो?”

[13] उहाँले जवाफ दिनुभयो, “मेरा स्वर्गीय पिताले नरोपेको हरेक बोटबिरुवा जरैसित उखेलिनेछ।

[14] तिनीहरूलाई छोडिदेओ; ती दृष्‍टिविहीन अगुवाहरू हुन्। यदि एउटा दृष्‍टिविहीनले अर्को दृष्‍टिविहीनलाई डोर्‍याउँछ भने दुवै खाडलमा पर्नेछन्।”

[15] पत्रुसले भने, “यस दृष्‍टान्तको अर्थ हामीलाई बुझाइदिनुहोस्।”

[16] येशूले तिनीहरूलाई सोध्नुभयो, “के तिमीहरू अझै अबुझ छौ?

[17] जे कुरा मुखभित्र पसेर पेटमा जान्छ, त्यो शरीरबाट बाहिर निस्कन्छ भनी तिमीहरू जान्दैनौ?

[18] तर जे कुरा मुखबाट बाहिर निस्कन्छ, त्यो हृदयबाट आउँछ; अनि यसैले मानिसलाई अशुद्ध पार्छ।

[19] किनकि हृदयबाट दुष्‍ट विचारहरू; हत्या, व्यभिचार, अनैतिकता, चोरी, झूटा साक्षी, निन्दा निस्कन्छन्।

[20] यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छ, तर नधोइएका हातहरूले खाँदा उसलाई अशुद्ध पार्दैन।”

[21] त्यो ठाउँ छोडेर येशू टायर र सीदोनका इलाकातिर जानुभयो।

[22] त्यतातिरबाट एउटी कनानी स्त्री जोडसित रुँदै यसो भन्दै आई, “प्रभु, दावीदको पुत्र, ममाथि दया गर्नुहोस्! मेरी छोरीलाई भूतआत्मा लागेको छ, र साह्रै सताएको छ।”

[23] येशूले जवाफमा एक शब्द पनि बोल्नुभएन। यसकारण उहाँका चेलाहरूले उहाँकहाँ आएर बिन्ती गरे, “त्यसलाई पठाइदिनुहोस्, किनकि त्यो हाम्रो पछि-पछि रुँदै आइरहेकी छ।”

[24] उहाँले जवाफ दिनुभयो, “म त इस्राएली घरानाका हराएका भेडाहरूकहाँ मात्र पठाइएको हुँ।”

[25] त्यो स्त्री उहाँकहाँ आई, र घुँडा टेकेर भनी, “प्रभु, मलाई सहायता गर्नुहोस्!”

[26] उहाँले जवाफ दिनुभयो, “केटाकेटीहरूको रोटी लिएर कुकुरहरूको अगि फालिदिनु उचित होइन।”

[27] त्यस स्त्रीले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि आफ्ना मालिकहरूका टेबुलबाट खसेका टुक्राटाक्रीहरू खान्छन्।”

[28] तब येशूले जवाफ दिनुभयो, “हे स्त्री, तिम्रो विश्‍वास ठूलो रहेछ। तिमीले चाहेजस्तै नै होस्।” अनि उसकी छोरी त्यसै बेला निको भई।

[29] येशू त्यहाँबाट निस्केर गालील समुद्रको किनारै-किनारा भएर जानुभयो; अनि उहाँ एउटा पहाडी ठाउँमा गएर बस्‍नुभयो।

[30] त्यहाँ ठूला भीडहरू उहाँकहाँ लुला-लङ्गडा, दृष्‍टिविहीन, अपाङ्ग, लाटो र अरू धेरै बिरामीहरूलाई लिएर आए; अनि उहाँका पाउमा राखिदिए; तब उहाँले तिनीहरूलाई निको पार्नुभयो।

[31] जब मानिसहरूले लाटाहरूका बोली फुटेका, अपाङ्गहरू ठिक भएका, लङ्गडाहरू हिँडेका र दृष्‍टिविहीनहरूका आँखा खोलिएका देखे, तब तिनीहरू छक्‍क परे; अनि तिनीहरूले इस्राएलका परमेश्‍वरको प्रशंसा गरे।

[32] येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “म यी मानिसहरूलाई देखेर दयाले भरिएको छु; तिनीहरू हामीसित तीन दिनदेखि छन्, र तिनीहरूसित खानेकुरा केही छैन। म यिनीहरूलाई भोकै पठाउन चाहन्‍नँ, नत्रता यिनीहरू बाटैमा मूर्च्छा पर्नेछन्।”

[33] उहाँका चेलाहरूले जवाफ दिए, “यति ठूलो भीडलाई खुवाउनलाई यस निर्जन ठाउँमा हामीले प्रशस्त रोटी कहाँ पाउन सकौँला?”

[34] येशूले सोध्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्?” तिनीहरूले जवाफ दिए “सात वटा र स-साना केही माछाहरू।”

[35] उहाँले भीडलाई भुइँमा बस्‍न लाउनुभयो।

[36] तब उहाँले ती सात वटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिएर भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो; अनि तिनीहरूले मानिसहरूलाई बाँडिदिए।

[37] तिनीहरू सबैले खाए, र अघाए। त्यसपछि चेलाहरूले उब्रेका टुक्राहरू सात डालाभरि बटुले।

[38] खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरूबाहेक, करिब चार हजार पुरुषहरू थिए।

[39] भीडहरूलाई पठाइसकेपछि येशू एउटा डुङ्गामा चढेर मगादानका छेउछाउतिर जानुभयो।

मत्ती — Chapters