Skip to content
Opens in a new window
Listen to this chapter • 9:17

[1] एकाबिहानै सबै मुख्य पुजारीहरू र जनताका प्रधानहरूले येशूलाई मार्ने निर्णय गरे।

[2] तिनीहरूले उहाँलाई बाँधेर लगे, र राज्यपाल पिलातसको हातमा सुम्पिदिए।

[3] जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डको आज्ञा दिइएको देख्यो, ऊ पछुतोले भरियो। अनि तीस वटा चाँदीका सिक्‍काहरू मुख्य पुजारीहरू र प्रधानहरूलाई फर्काइदियो,

[4] अनि भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” तिनीहरूले जवाफ दिए, “हामीलाई यसको के मतलब? यो त तिम्रो जिम्मेवारी हो।”

[5] यसकारण यहूदाले त्यो पैसा मन्दिरमा फ्याँकिदियो र बाहिर निस्कियो। तब ऊ टाढा गयो, र झुण्डिएर मर्‍यो।

[6] मुख्य पुजारीहरूले ती सिक्‍काहरू टिपेर भने, “यसलाई ढुकुटीमा हाल्न उचित हुँदैन; किनकि यो रगतको मोल हो।”

[7] तसर्थ तिनीहरूले त्यस पैसाले परदेशीहरूका लागि गाड्ने ठाउँ भनेर कुमालेको जमिन किन्‍ने निर्णय गरे।

[8] यसैकारण आजको दिनसम्म नै यसलाई रगतको जमिन भनिन्छ।

[9] तब यर्मिया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो: “तिनीहरूले इस्राएलीहरूद्वारा उहाँको मोल भनेर तोकेका चाँदीका तीस वटा सिक्‍काहरू लिए,

[10] अनि प्रभुले मलाई आदेश दिनुभएअनुसार तिनीहरूले त्यसलाई कुमालेको जमिन किन्‍न प्रयोग गरे।”

[11] येशू राज्यपालको अगि उभिनुभयो, र राज्यपालले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैँले भन्‍नुभयो।”

[12] जब उहाँलाई मुख्य पुजारीहरू र प्रधानहरूले दोष लगाए, उहाँले कुनै जवाफ दिनुभएन।

[13] तब पिलातसले उहाँलाई सोधे, “तिनीहरूले तिम्रो विरुद्धमा दिएका साक्षीहरू के तिमी सुन्दैनौ?”

[14] तर येशूले कुनै पनि अभियोगको जवाफ नदिनुभएको देखेर राज्यपाल अति छक्‍क परे।

[15] निस्तार चाडको समयमा भीडले चाहेबमोजिम एक जना कैदीलाई छोडिदिने राज्यपालको चलन थियो।

[16] त्यस बेला तिनीहरूसित बारब्बा नाम भएको एक जना कुख्यात कैदी थियो।

[17] जब भीड जम्मा भयो, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरूका लागि मैले कसलाई छोडिदिएको चाहन्छौ? बारब्बालाई कि ख्रीष्‍ट भनिने येशूलाई?”

[18] किनकि तिनीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भनी तिनलाई थाहा थियो।

[19] पिलातस न्याय आसनमाथि बसिरहेका बेला तिनकी पत्नीले तिनलाई यो समाचार पठाइन्: “यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज राति मैले सपनामा तिनको कारण धेरै कष्‍ट भोगेकी छु।”

[20] तर मुख्य पुजारीहरू र प्रधानहरूले बारब्बालाई छोड्न र येशूलाई मृत्युदण्ड दिन माग गर्न भीडलाई उक्साए।

[21] राज्यपालले सोधे, “दुई जनामा म तिमीहरूका निम्ति कसलाई छोडिदिऊँ भन्‍ने तिमीहरू चाहन्छौ?” तिनीहरूले जवाफ दिए, “बारब्बालाई।”

[22] पिलातसले सोधे, “त्यसो भए ख्रीष्‍ट भनिने येशूलाई म के गरूँ?” तिनीहरूले जवाफ दिए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”

[23] पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?” तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”

[24] जब पिलातसले आफ्नो केही सीप नलागेको, बरु अझ खैलाबैला मच्‍चिन सक्ने देखे, तब तिनले पानी लिए, र भीडको सामु आफ्ना हात धुँदै भने, “म यस मानिसको रगतदेखि निर्दोष छु। यसको जिम्मा तिमीहरूकै हो।”

[25] सबै जनाले जवाफ दिए, “उसको रगत हामी र हाम्रा सन्तानमाथि परोस्।”

[26] तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए। तर तिनले येशूलाई कोर्रा लगाउन लगाए, र उहाँलाई क्रूसमा टाँग्नलाई सुम्पिदिए।

[27] तब राज्यपालका सिपाहीहरूले येशूलाई प्रेटोरियममा लगे, र सबै पल्टनलाई उहाँको चारैतिर भेला गराए।

[28] तिनीहरूले उहाँको वस्त्र फुकालेर सिन्दूरे रङ्गका वस्त्रहरू लगाइदिए।

[29] अनि तिनीहरूले काँडाहरू बटारेर एउटा मुकुट बनाए, र उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँको दाहिने हातमा एउटा निगालो राखिदिए; अनि उहाँको अगि घुँडा टेकेर उहाँलाई अपमान गर्दै भने, “यहूदीहरूका राजाको जय!”

[30] तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा घरी-घरी हिर्काए।

[31] उहाँलाई अपमान गरिसकेपछि तिनीहरूले त्यो वस्त्र फुकालिदिए; र उहाँलाई उहाँकै वस्त्र लगाइदिएपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे।

[32] तिनीहरू बाहिर जाँदै गर्दा तिनीहरूले साइरिनीवासी सिमोनलाई भेट्टाए; अनि तिनीहरूले उसलाई क्रूस बोक्न कर लगाए।

[33] तिनीहरू गलगथा अर्थात् खप्परे भनिने ठाउँमा आइपुगे।

[34] त्यहाँ तिनीहरूले येशूलाई पित्त मिसाइएको दाखमद्य पिउन दिए; तर चाख्नुभएपछि उहाँले त्यो पिउन अस्वीकार गर्नुभयो।

[35] तिनीहरूले उहाँलाई क्रूसमा टाँगिसकेपछि उहाँका वस्त्रहरू चिट्ठा हालेर आपसमा बाँडे।

[36] अनि तिनीहरू त्यहाँ बसेर उहाँलाई पहरा दिन थाले।

[37] उहाँको शिरको मास्तिर तिनीहरूले उहाँको विरुद्धमा लेखिएको यो दोषपत्र टाँगे: यो यहूदीहरूको राजा येशू हो।

[38] त्यति बेला दुई डाँकुहरू पनि उहाँसित क्रूसमा टाँगिएका थिए—एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि।

[39] त्यस ठाउँबाट भएर हिँड्नेहरूले आफ्ना शिर हल्‍लाउँदै उहाँलाई अपमान गरेर

[40] यसो भने, “ए मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने, आफैँलाई बचा! तँ परमेश्‍वरको पुत्र होस् भने क्रूसबाट ओर्लेर तल आइज!”

[41] त्यसरी नै मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरूले पनि उहाँको अपमान गरे।

[42] तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफैँलाई चाहिँ बचाउन सक्दैन! यो इस्राएलको राजा हो! अहिले यो क्रूसबाट तल ओर्ली आओस्, तब हामी यसलाई विश्‍वास गर्नेछौँ।

[43] यसले परमेश्‍वरमाथि भरोसा राखेको छ। यदि परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले यसलाई अहिले नै मुक्त गरून्, किनकि यसले ‘म परमेश्‍वरका पुत्र हुँ’ भनेको छ।”

[44] यसरी नै उहाँसित क्रूसमा टाँगिने डाँकुहरूले पनि उहाँलाई धेरै अपमान गरे।

[45] बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो।

[46] दिउँसो तीन बजेतिर येशू ठूलो सोरमा कराउनुभयो, “इली, इली, लामा सबखथनी?” जसको अर्थ हो “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?”

[47] त्यहाँ उभिनेहरूमध्ये कतिले जब यो सुने, तब तिनीहरूले भने, “यसले एलियालाई बोलाउँदैछ।”

[48] तीमध्ये एक जनाले तुरुन्तै दौडेर गई एउटा स्पन्ज लियो। उसले त्यसलाई सिर्कामा चोपेर एउटा निगालोमा राखेर पिउन भनी येशूलाई दियो।

[49] अरूले भने, “अब यिनलाई एकलै छोडिदेओ। हेरौँ कतै एलिया आएर यिनलाई बचाउँछन् कि।”

[50] येशू चर्को सोरले फेरि कराउनुभयो; त्यसपछि उहाँले आफ्नो प्राण त्याग्नुभयो।

[51] त्यस बेला मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो। पृथ्वी हल्‍लियो अनि चट्टानहरू फुटे।

[52] चिहानहरू उघारिए अनि मरेर गएका धेरै पवित्र जनका शरीरहरू जीवित भई उठे।

[53] तिनीहरू चिहानबाट बाहिर निस्किआए, र येशू पुनर्जीवित भएपछि तिनीहरू पवित्र सहरमा गए र धेरै मानिसहरूकहाँ देखा परे।

[54] जब येशूलाई पहरा दिने त्यो सेनापति र ऊसँग हुने अरूहरूले त्यो भुइँचालो र अरू घटनाहरू देखे, तब तिनीहरू अत्यन्त डराएर भने, “निश्‍चय उहाँ परमेश्‍वरका पुत्र हुनुहुँदोरहेछ!”

[55] त्यहाँ धेरै स्त्रीहरू थिए, जसले टाढैबाट हेरिरहेका थिए। तिनीहरू उहाँको खाँचोमा सेवा गर्नलाई गालीलदेखि नै येशूको पछि लागेका थिए।

[56] तीमध्ये मरियम मग्दलिनी, याकोब र योसेफकी आमा मरियम र जब्दीका छोराहरूकी आमा थिइन्।

[57] साँझ परेपछि अरिमथियाका योसेफ नाम भएका धनी मानिस आए, जो स्वयम् येशूका चेला भएका थिए।

[58] तिनले पिलातसकहाँ गएर येशूको लास मागे, र पिलातसले तिनलाई त्यो दिइयोस् भन्‍ने हुकुम गरे।

[59] अनि योसेफले लास लगे, र मलमलको सफा लुगाले बेह्रे,

[60] अनि आफ्नै नयाँ चिहानमा राखे, जुन चट्टान खोपेर बनाइएको थियो। तिनले चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड्याइदिएर तिनी गए।

[61] त्यहाँ चिहानको सामु मरियम मग्दलिनी र अर्की मरियम बसिरहेका थिए।

[62] अर्को दिन, अर्थात् तयारीको दिनको भोलिपल्ट मुख्य पुजारीहरू र फरिसीहरू पिलातसकहाँ गए।

[63] तिनीहरूले भने, “हजुर, त्यस ठगले जिउँदो हुँदा ‘म तीन दिनपछि फेरि जीवित भई उठ्नेछु’ भनेको कुरा हामीलाई याद छ।

[64] यसकारण तेस्रो दिनसम्म चिहानलाई सुरक्षित राख्ने हुकुम दिनुहोस्। नत्रता त्यसका चेलाहरूले आएर उसको शरीर चोरेर लैजालान्, र मानिसहरूलाई ‘उहाँ जीवित भई उठ्नुभएको छ’ भन्लान्। यो अन्तिम धोकाचाहिँ पहिलोभन्दा अझ खराब हुनेछ।”

[65] पिलातसले जवाफ दिए, “केही पहरेदारहरू लैजाओ, र चिहानलाई तिमीहरूले जानेअनुसार सुरक्षित राख।”

[66] यसकारण तिनीहरू गए, र ढुङ्गामा छाप लगाएर पहरेदारहरूलाई राखेर चिहानलाई सुरक्षित बनाए।

मत्ती — Chapters