Skip to content
Opens in a new window
Listen to this chapter • 3:49

[1] राजा हेरोदको समयमा यहूदियाको बेथलेहेममा येशूको जन्म भएपछि पूर्वबाट ज्योतिषीहरू यरूशलेममा आए।

[2] अनि सोधे, “यहूदीहरूका राजा भएर जो जन्मनुभएको छ, उहाँ कहाँ हुनुहुन्छ? हामीले पूर्वमा उहाँको तारा देख्यौँ, र हामी उहाँलाई दण्डवत् गर्न आएका छौँ।”

[3] त्यस बेला जब राजा हेरोदले यो सुने, तिनी र यरूशलेममा भएका सबै आत्तिए।

[4] अनि तिनले सबै मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूलाई बोलाए। अनि ख्रीष्‍टको जन्म कहाँ हुनुपर्ने हो भनी सोधे।

[5] तिनीहरूले जवाफ दिए, “यहूदियाको बेथलेहेममा, किनकि अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्:

[6] “ ‘तर यहूदा प्रदेशमा भएको, ए बेथलेहेम, तँ कुनै किसिमले पनि यहूदाका शासकहरूमध्ये सानो छैनस्; किनकि तँबाट एक जना शासक आउनुहुनेछ, जो मेरा मानिस, इस्राएलका गोठाला हुनुहुनेछ।’”

[7] तब हेरोदले ज्योतिषीहरूलाई सुटुक्‍क बोलाएर तारा देखा परेको ठिक समय पत्ता लगाए।

[8] अनि तिनले तिनीहरूलाई बेथलेहेममा पठाएर यसो भने, “जाओ, र होसियारीसाथ बालकलाई खोज। तिमीहरूले उहाँलाई भेट्टाउनसाथ मलाई भन, र म पनि गएर उहाँलाई दण्डवत् गर्नेछु।”

[9] राजाबाट यो कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे। अनि तिनीहरूले पूर्वमा देखेका त्यो तारा, तिनीहरू त्यस बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूका अगि-अगि लाग्यो।

[10] जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए।

[11] घरभित्र आइपुगेपछि तिनीहरूले बालकलाई आफ्नी आमा मरियमको साथमा देखे। अनि तिनीहरूले घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब तिनीहरूले आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढाए।

[12] त्यस रात हेरोदकहाँ नजानू भन्‍ने सपनामा चेतावनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के।

[13] अनि तिनीहरू गइसकेपछि प्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परेर भने, “उठ, बालक र तिनकी आमालाई लिएर इजिप्टमा भागिहाल। मैले फेरि केही नभनुन्जेल त्यहीँ बस। किनकि हेरोदले बालकलाई मार्नका लागि खोज्नेछ।”

[14] यसकारण तिनी उठे, बालक र तिनकी आमालाई लिएर राति नै इजिप्टतिर प्रस्थान गरे,

[15] जहाँ तिनीहरू हेरोदको मृत्यु नहोउन्जेलसम्म रहे। अनि यसरी परमेश्‍वरले आफ्ना अगमवक्ताद्वारा भन्‍नुभएको वचन पूरा भयो: “मैले आफ्नो पुत्रलाई इजिप्टबाट बोलाएँ।”

[16] जब हेरोदले आफू ज्योतिषीहरूद्वारा ठगिएको थाहा पाए, तब तिनी धेरै रिसाए। अनि ज्योतिषीहरूद्वारा ठिक पत्ता लगाइएको समयअनुसार बेथलेहेम र त्यसका सिमानामा भएका दुई वर्ष र त्यस मुनिका सबै बालकहरूलाई मार्ने आदेश दिए।

[17] तब यर्मिया अगमवक्ताद्वारा भनिएको यो वचन पूरा भयो:

[18] “रामामा एउटा आवाज सुनियो, रुवाइ र ठूलो विलाप, राहेल आफ्ना बालकहरूका निम्ति रोएकी, र तिनी शान्त हुन नमानेकी; किनकि तिनीहरू अब रहेनन्।”

[19] हेरोदको मृत्युपछि प्रभुका एउटा दूत इजिप्टमा सपनामा योसेफकहाँ देखा परे,

[20] अनि भने, “उठ, बालक र तिनकी आमालाई लिएर इस्राएलको देशमा जाऊ। किनकि बालकको प्राण लिन चाहनेहरू मरिसकेका छन्।”

[21] यसैले तिनी उठे; बालक र तिनकी आमालाई साथमा लिएर इस्राएलको देशमा गए।

[22] तर जब तिनले हेरोदको ठाउँमा तिनका छोरा अर्खिलाउसले यहूदियामा राज्य गर्दैछन् भन्‍ने सुने, तब तिनी त्यहाँ जान डराए। तब सपनामा चेतावनी पाएर तिनी गालीलको इलाकामा गए।

[23] तिनी नासरत भन्‍ने सहरमा गएर बसे। यसरी अगमवक्ताहरूद्वारा भनिएको कुरा पूरा भयो: “उहाँ नासरी कहलाइनुहुनेछ।”

मत्ती — Chapters