[1] हप्ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर उनीहरू चिहानमा आए ।
[2] तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए ।
[3] तिनीहरू भित्र पसे, तर प्रभु येशूको शरीरलाई भेट्टाएनन् ।
[4] जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलोवस्त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए ।
[5] ती स्त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए, तिनीहरूले स्त्रीहरूलाई भने, “किन तिमीहरूले जीवितलाई मृतकहरूका बीचमा खोज्छौ ?”
[6] उहाँ यहाँ हुनुहुन्न, तर जीवित हुनुभएको छ ! उहाँ गालीलमा हुनुहुँदा तिमीहरूलाई के भन्नुभएको थियो, सो सम्झ ।
[7] मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ ।”
[8] तब ती स्त्रीहरूले उहाँका वचनलाई सम्झे ।
[9] र चिहानबाट फर्के, र ती सबै कुराहरू एघार जना र अरू सबैलाई बताइदिए ।
[10] अब मरियम मग्दलिनी, योअन्ना, याकूबकी आमा मरियम र उनीहरूसँग अरू स्त्रीहरू पनि थिए र प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए ।
[11] तर यो सन्देश प्रेरितहरूलाई बेकारको कुरा जस्तो लाग्यो, र तिनीहरूले स्त्रीहरूको कुरामा विश्वास गरेनन् ।
[12] तापनि पत्रुस उठे, र चिहानतिर दौडेर गए र निहुरेर भित्र हेर्दा सूती कपडाको पट्टीहरूलाई देखे । तब पत्रुस आश्चर्य चकित हुँदै के भएको होला भन्दै आफ्नो घर तर्फलागे ।
[13] हेर, तिनीहरू दुई जना त्यही दिन इम्माउस नाउँ भएको गाउँतिर गइराखेका थिए, जुन यरूशलेमबाट साठी किलोमिटर टाढा थियो ।
[14] जे भएको थियो, ती सबै कुराको विषयमा तिनीहरूले एक-अर्कामा छलफल गरे ।
[15] तिनीहरू छलफल र एकसाथ प्रश्न गरिरहेका बेलामा येशू आफै तिनीहरूको नजिक आउनुभयो र तिनीहरूसँगै जानुभयो ।
[16] तर तिनीहरूका आँखा उहाँलाई नचिन्ने बनाइएका थिए ।
[17] येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू दुवै जना हिँड्दै गर्दा के को विषयमा कुरा गरिरेहेका थियौ ?” उदास भएर तिनीहरू त्यहाँ उभिए ।
[18] तिनीहरूमध्ये क्लेओपास नाउँ गरेका एक जनाले उहाँलाई जवाफ दिए, ”यी दिनहरूमा यरूशलेममा भएका कुराहरू थाहा नपाउने व्यक्ति के तपाईं मात्रै एक हुनुहुन्छ ?”
[19] येशूले तिनीहरूलाई भन्नुभयो, “के कुराहरू ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्ता हुनुहुन्थ्यो, सबै मानिसहरू र परमेश्वरको अगाडि काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो ।
[20] र कसरी मुख्य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए र उहाँलाई क्रुसमा टाँगे ।
[21] तर उहाँले नै इस्राएललाई स्वतन्त्र गर्नुहुने थियो भनी हामीले आशा राखेका थियौँ । र यी सबै कुराबाहेक, यी सबै कुरा हुन आएको आज तेस्रो दिन भइसक्यो ।
[22] तरै पनि, बिहान सबेरै उहाँको चिहानमा गएर, हाम्रो समूहका केही स्त्रीहरूले हामीलाई आश्चर्य चकित पारेका छन्, ।
[23] जब तिनीहरूले उहाँको शरीरलाई भेट्टाएनन्, तब यसो भन्दै तिनीहरू आए, तिनीहरूले स्वर्गदूतहरूको दर्शन पनि देखे जसले उहाँ जीवित हुनुभएको थियो भने ।
[24] हामीसँग भएका केही मानिसहरू चिहानमा गए, र थाहा पाए कि स्त्रीहरूले भने जस्तै भएको थियो । तर तिनीहरूले उहाँलाई देखेनन् ।”
[25] येशूले तिनीहरूलाई भन्नुभयो, “हे मूर्ख मानिसहरू र विश्वास गर्न सुस्त हृदय भएकाहरू हो, ती सबै कुराहरू अगमवक्ताहरूले बोलेका थिएनन् र ?
[26] के ख्रीष्टले यी सबै कुराहरूमा दुःख कष्ट भोग्न र उहाँको महिमामा प्रवेश गर्न आवश्यक थिएन र ?”
[27] तब मोशादेखि लिएर सबै अगमवक्ताहरूद्वारा सबै धर्मशास्त्रमा येशूको विषयमा भनिएका कुराहरू उहाँले तिनीहरूलाई व्याख्या गरिदिनुभयो ।
[28] तिनीहरू जुन गाउँतिर गइरहेका थिए, तिनीहरू त्यसको नजिकै पुग्न लाग्दा येशूले अझै टाढा जाने जस्तै गरी व्यवहार गर्नुभयो ।
[29] तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे, “हामीसँगै बस्नुहोस् किनकि साँझ परिसक्यो र लगभग दिन बितिसक्यो ।” त्यसैले, येशू तिनीहरूसँगै बस्न जानुभयो ।
[30] जब उहाँ तिनीहरूसँग खान बस्नुभयो, तब उहाँले रोटी लिनुभयो, आशिष् माग्नुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो ।
[31] तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने, र उहाँ तिनीहरूका दृष्टिबाट अल्पिनुभयो ।
[32] तिनीहरूले एक अर्कोलाई भने, बाटोमा उहाँ हामीसँग बोल्नुँहुदा उहाँले हामीलाई धर्मशास्त्र खोलिदिनुहुँदा के हाम्रा हृदयभित्र जलन भइराखेको थिएन र ?”
[33] त्यसै घडी तिनीहरू उठे, र यरूशलेममा फर्के । तिनीहरूले एघार जना एक आपसमा र उनीहरूसँग भएकाहरू पनि जम्मा भइराखेको भेट्टाए,
[34] तिनीहरूले भने, “प्रभु जीवित हुनुभएको रहेछ, र सिमोनकहाँ देखा पर्नुभएको रहेछ ।”
[35] त्यसकारण, बाटोमा जे भएको थियो, ती कुराहरू तिनीहरूले बताए र कसरी येशूले रोटी भाँच्ने बेलामा तिनीहरूलाई आफूलाई प्रकट गर्नुभयो, सो पनि बताए ।
[36] जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफै तिनीहरूका बीचमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस् ।”
[37] तर तिनीहरू भयभीत भए र डरले भरिए, र हामीले एउटा आत्मा देख्यौँ भनी विचार गरे ।
[38] येशूले तिनीहरूलाई भन्नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ ? किन तिमीहरूका हृदयमा प्रश्न उठाउँछौ ?
[39] मेरा हात र खुट्टा हेर, त्यो म आफै हुँ । मलाई छोएर हेर । किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीले मेरो शरीरमा भएको देखेका छौ ।”
[40] जब उहाँले यो भनी सक्नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हातहरू र गोडा देखाउनुभयो ।
[41] तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ ?”
[42] तिनीहरूले उहाँलाई एउटा पकाएको माछा दिए ।
[43] येशूले त्यसलाई लिनुभयो, र तिनीहरूकै सामु खानुभयो ।
[44] उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।”
[45] तब तिनीहरूले धर्मशास्त्र बुझ्न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो ।
[46] उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ, ख्रीष्टले कष्ट भोग्नु, र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नु आवश्यक छ ।
[47] र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ ।
[48] तिमीहरू यी कुराहरूका साक्षी छौ ।
[49] हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँछु, तर माथिबाट शक्ति प्राप्त नगरेसम्म तिमीहरू यही सहरमा पर्खेर बस ।”
[50] त्यसपछि तिनीहरू बेथानी नपुगेसम्म उहाँले तिनीहरूलाई अगुवाइ गर्नुभयो । उहाँले आफ्ना हातहरू उचालेर तिनीहरूलाई आशिष् दिनुभयो ।
[51] त्यसपछि, जब उहाँले तिनीहरूलाई आशिष् दिँदै हुनुहुन्थ्यो, उहाँ तिनीहरूलाई छोडेर स्वर्गतिर उचालिनुभयो ।
[52] त्यसैले, तिनीहरूले उहाँको आराधना गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के ।
[53] तिनीहरू निरन्तर परमेश्वरलाई धन्यको भन्दै मन्दिरमा रहे ।