Skip to content
Opens in a new window
Listen to this chapter • 8:23

[1] यसपछि छिट्टै प्रभु येशू आफ्ना बाह्र जना चेलाका साथमा वरपरका सहरहरू र गाउँहरूमा प्रचार गर्दै र परमेश्‍वरको राज्‍यको सुसमाचार घोषणा गर्दै जानुभयो ।

[2] केही स्‍त्रीहरू जो दुष्‍टात्मा र रोगहरूबाट निको भएका थिए, तिनीहरू पनि उहाँहरूसँगै थिए । तिनीहरू मरियम जसलाई मग्दलनी भनिन्‍थ्यो, जसबाट सात वटा भूतात्मा निकालिएका थिए ।

[3] हेरोदका कारिन्‍दा खुजासकी पत्‍नी योअन्‍ना र सुसन्‍ना, यिनीहरू र अरूहरू आफ्ना भौतिक स्रोतहरूबाट उहाँहरूका निम्ति जुटाई दिन्‍थे ।

[4] अब मानिसहरूको एउटा ठुलो भीड एकसाथ भेला भएको थियो, साथै धेरै विभिन्‍न सहरबाट मानिसहरूसमेत उहाँकहाँ आइरहेका थिए । उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो ।

[5] “एउटा बिउ छर्ने केही बिउहरू छर्नलाई निस्क्यो । उसले छर्दा केही बिउहरू बाटोमा परे र ती बिउहरू खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए ।

[6] अरू बिउ ढुङ्‌गेनी जमिनमा परे र चाँडै ती बिरुवाको रूपमा बढे र सुकिहाले, किनकि त्‍यो जमिन ओबानो थियो ।

[7] अझै अरू बिउहरू काँढाका बिरुवाहरूमा परे, र बिउहरू सँगसँगै बिरुवाहरू पनि बढे र बिउहरूलाई काँढे झाडीले निसासिदियो ।

[8] तर केही बिउहरू असल जमिनमा परे र सय गुणा फल फलाए ।” येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले बोलाउनुभयो, जसको सुन्‍ने कानहरू छन् त्‍यसले सुनोस् ।

[9] त्‍यसपछि उहाँका चेलाहरूले उहाँलाई यो दृष्‍टान्‍तको अर्थ के हुन सक्छ भनी सोधे ।

[10] येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई परमेश्‍वरका राज्‍यका रहस्यका कुराहरू बुझ्‍ने अवसर दिइएको छ, तर बाँकी मानिसहरूलाई दृष्‍टान्‍तमा सिकाइने छ । त्‍यसकारण ‘वास्तवमा तिनीहरूले हेरेर पनि देख्‍नेछैनन्, सुनेर पनि बुझ्‍नेछैनन् ।’

[11] अब दृष्‍टान्‍तको अर्थ यही होः बिउ परमेश्‍वरको वचन हो ।

[12] बाटोको किनारमा परेका बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्‍छन्, तर दुष्‍ट आउँछ र तिनीहरूको हृदयमा भएका वचन खोसेर लैजान्‍छ ताकि तिनीहरूले विश्‍वास नगरून् र नबाँचून् ।

[13] त्‍यसपछि ढुङ्‌गेनी जमिनमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्‍छन्, खुसीसाथ ग्रहण गर्छन्, तर तिनीहरूको गहिराइ नभएकोले केवल एक क्षणका लागि मात्र विश्‍वास गर्छन् र जाँचको समयमा तिनीहरू पतन भएर जान्‍छन् ।

[14] काँडाको झाडीमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुनेका छन्, तर जीवन जिउने क्रममा, संसारका धन सम्पत्तिको फिक्री, सुख विलासका कारण निसासिएर परिपक्‍व फल फलाउन सक्दैनन् ।

[15] तर असल जमिनमा परेका बिउ ती मानिसहरू जस्ता हुन्, जसले इमान्दार र असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् र धैर्यसाथ फल फलाउँछन् ।

[16] अनि बत्ती बालेर कसैले पनि भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन, बरु यसलाई उसले सामदानमा राख्छ, ताकि भित्र पस्‍ने सबैले उज्‍यालो देखून् ।

[17] किनभने कुनै पनि कुरालाई प्रकट हुन नसक्‍ने गरी लुकाउन सकिँदैन, न त कुनै पनि गोप्य कुरा प्रकट नै हुन नसक्‍ने र ज्‍योतिमा आउन नसक्‍ने हुन्‍छ ।

[18] त्‍यसैकारण, तिमीहरू कसरी सुन्‍छौ, त्‍यसमा होशियार होओ, किनभने जससँग छ त्‍यसलाई धेरै दिइनेछ, जससँग छैन उसले आफूसँग जे छ भनी सोचेको छ त्‍योसमेत उसबाट खोसिनेछ ।”

[19] त्‍यसपछि येशूकी आमा र भाइहरू उहाँकहाँ आए, तर भिडको कारणले गर्दा उहाँको नजिक आउन सकेनन् ।

[20] र उहाँलाई यसो भनिएको थियो, “तपाईंकी आमा र भाइहरू तपाईंलाई भेट्ने इच्‍छा गरी बाहिर पर्खिरहेका छन् ।”

[21] तर येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “मेरा आमा र भाइहरू ती हुन्, जसले मेरो वचन सुन्‍छन् र पालन गर्छन् ।”

[22] अब ती दिनहरूमा एक दिन येशू र उहाँका चेलाहरू डुङ्‌गामा चढ्नुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामी तालको पल्लोपट्टि जाऔँ ।” तब उहाँहरू डुङ्‌गामा चढ्नुभयो ।

[23] तर उहाँहरू यात्रामा हुनुहुँदा, प्रभु येशू निदाउनुभयो र त्‍यस तालमा धेरै ठुलो आँधीबेहरी आयो अनि तिनीहरूको डुङ्‌गा पानीले भरिन थाल्यो र तिनीहरू डरलाग्दो खतरामा थिए ।

[24] त्‍यसपछि येशूका चेलाहरू उहाँकहाँ आए र यसो भन्‍दै उहाँलाई ब्युँझाए, “प्रभु, प्रभु, हामी त मर्नै लाग्यौँ ।” उहाँ उठ्नुभयो, र बतासलाई हप्काउनुभयो, पानीको बेग थामियो र त्‍यहाँ सुनसान भयो ।

[25] अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास कहाँ छ ?” डराएर तिनीहरू अचम्मित हुँदै एक-अर्कालाई भन्‍दै थिए “उहाँ को हुनुहुन्‍छ, जसले आँधी र पानीलाई हप्काउनुहुन्‍छ र तिनले उहाँको आज्ञा मान्‍छन् ?”

[26] उहाँहरू गेरासेनसको इलाकामा आइपुग्‍नुभयो, जुन गालीलको पारिपट्टि पर्छ ।

[27] जब प्रभु डुङ्‌गाबाट पाखामा उत्रनुभयो, एउटा सहरबाट आएको एक जना मानिसले उहाँलाई भेट्‌यो र त्‍यस मानिसमा दुष्‍टात्माहरू थिए । किनभने लामो समयदेखि त्‍यस मानिसले कपडाहरू लगाएको थिएन र घरमा बस्दैनथ्यो, बरु चिहानहरूमा नै बस्दथियो ।

[28] जब उसले येशूलाई देख्यो, ऊ चिच्‍च्‍यायो, र उहाँको सामु घोप्टोपर्यो । उसले उच्‍च स्वरमा भन्‍यो, “सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईंसँग मेरो के सरोकार ? म बिन्‍ती गर्छु कि मलाई नसताउनुहोस् ।”

[29] किनभने येशूले त्‍यो मानिसबाट अशुद्ध आत्मालाई निस्केर आउने आज्ञा गर्दै हुनुहुन्‍थ्यो, किनकि धेरै पटक त्यसले उसलाई पक्रेर राखेको थियो । ऊ साङ्‌ग्ला र नेलले बाँधिएर पहरामा राखिएको भए तापनि उसले ती छिनालिहाल्थ्यो र दुष्‍ट आत्माले मरुभूमितिर डोर्‍याउँथ्यो।

[30] त्‍यसपछि येशूले त्‍यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो ?” र त्‍यसले भन्‍यो, “फौज ।” किनभने धेरै दुष्‍ट आत्माहरू त्‍यसभित्र पसेका थिए ।

[31] तिनीहरूलाई अगाध खाँदमा नपठाउनुहोस् भनी तिनीहरूले उहाँलाई निरन्‍तर बिन्‍ती गरे ।

[32] अब त्‍यहाँ नजिकै डाँडामा सुँगुरको एक बथान चरिरहेको थियो र दुष्‍ट आत्माहरूले उहाँलाई सुँगुरको बथानमा पठाइदिन भनी बिन्‍ती गरे । उहाँले तिनीहरूलाई त्‍यसो गर्ने आज्ञा दिनुभयो ।

[33] त्‍यसैले, त्‍यस मानिसबाट दुष्‍ट आत्माहरू निस्की सुँगुरको बथानमा पसे, र त्‍यो बथान भिरालोबाट हुर्रिंदै गएर समुद्रमा डुबेर मरे ।

[34] सुँगुर चराइरहेका मानिसहरूले जे भइरहेको थियो त्‍यो देखेपछि तिनीहरू भाग्दै सहर र वरपरका ठाउँहरूमा गए र त्‍यो कुरो बताए ।

[35] त्‍यसकारण, मानिसहरू जसले यसबारे सुने, के भएको थियो सो हेर्नलाई तिनीहरू येशूकहाँ आए र त्‍यस मानिस जसबाट दुष्‍ट आत्माहरू निस्केर गएका थिए, त्‍यसलाई कपडा लगाएर राम्रो अवस्थामा येशूको चरणमा बसिरहेको भेट्टाए र तिनीहरू डराएका थिए ।

[36] तब जुन घटना घटेको ती मानिसहरूले देखेका थिए अर्थात् कसरी दुष्‍ट आत्माहरूद्वारा नियन्‍त्रित मानिस बचाइको थियो, सो तिनीहरूले अरूहरूलाई भने ।

[37] गेरासेन र वरपरका सबै मानिसहरूले येशूलाई तिनीहरूबाट जान आग्रह गरे, किनभने तिनीहरू साह्रै डराएका थिए । यसकारण उहाँ फर्कन डुङ्गा चढ्नुभयो ।

[38] तर दुष्‍ट आत्माहरू निस्केर गएको मानिसले येशूसँगै जानलाई उहाँलाई बिन्‍ती गर्‍यो, तर येशूले यसो भन्‍दै उसलाई पठाउनुभयो,

[39] “आफ्नो घर फर्क र परमेश्‍वरले तिम्रो निम्ति गर्नुभएका महान् कार्यहरूको स्मरण गर ।” त्यो मानिस आफ्नो बाटो लाग्यो, येशूले त्यसको निम्ति गर्नुभएको सबै महान काम सारा सहरभरि नै प्रचार गर्न लाग्यो ।

[40] जब येशू फर्कनुभयो, भिडले उहाँलाई स्वागत गर्‍यो, किनकि तिनीहरू सबैले उहाँलाई पर्खिरहेका थिए ।

[41] हेर, याइरस नाउँ गरेका एक जना मानिस त्‍यहाँ आए, जो सभाघरका अगुवाहरूमध्‍ये एक थिए । याइरस प्रभु येशूका पाउमा घोप्‍टो परे र उहाँलाई उनको घरमा आउन बिन्‍ती गरे ।

[42] किनभने उनको एउटै मात्र बाह्र वर्षकी छोरी मर्नै लागेकी थिइन् । तर उहाँ जाँदै गर्नुहुँदा मानिसहरूको भीडले उहाँलाई घचेटिरहेको थियो ।

[43] त्‍यहाँ एउटी बाह्र वर्षसम्म रगत बग्‍ने समस्या भएकी स्‍त्री थिइन् । तिनले आफ्नो सम्पूर्ण पैसा डाक्टरहरूकहाँ औषधी उपचारमा खर्च गरिसकेकी थिइन्, तर तिनीहरूमध्‍ये कसैले पनि निको पार्न सकेका थिएनन् ।

[44] तिनी येशूको पछिल्तिर आइन् र उहाँको कपडाको छेऊ छोइन् र तुरुन्‍तै तिनको रक्‍तश्राव रोकियो ।

[45] येशूले भन्‍नुभयो, “मलाई कसले छोयो ?” जब सबैले यसलाई इन्कार गरे, पत्रुसले भने, “प्रभु मानिसहरूको भीडले तपाईंलाई घेरेर घचेट्दै छन् ।”

[46] तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोयो, किनभने शक्‍ति मबाट बाहिर गइरहेको मैले थाहा पाएँ ।”

[47] जब त्‍यस स्‍त्रीले आफूले गरेको कुरा लुकाउन नसक्‍ने देखिन्, तब काँप्दै येशूको चरणमा घोप्‍टो परिन्, तिनले येशूलाई छुनुको कारण र कसरी तुरुन्‍तै निको भइन् सबै मानिसहररूका सामु बताइन् ।

[48] त्‍यसपछि उहाँले तिनलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्‍तिसँग जाऊ ।”

[49] जब उहाँ अझै बोल्दै हुनुहुन्‍थ्यो, सभाघरका अगुवाको घरबाट एक जना आएर भने, “तिम्री छोरी मरिसकिन् । गुरुलाई दुःख नदेऊ ।”

[50] तर जब येशूले त्‍यो सुन्‍नुभयो, उहाँले उसलाई जवाफ दिनुभयो, “नडराऊ, विश्‍वास मात्र गर र तिनी बचाइनेछिन् ।”

[51] जब उहाँ घरमा आउनुभयो, तब पत्रुस, यूहन्‍ना र याकूब, केटीको बुबा र आमाबाहेक अरू कसैलाई पनि भित्र पस्‍ने अनुमति दिनुभएन ।

[52] अनि त्‍यहाँ सबै मानिसहरू ती केटीका निम्ति रुँदै र विलाप गर्दै थिए । तर उहाँले भन्‍नुभयो, “नरोऊ, तिनी मरेकी छैनन्, तर निदाएकी मात्र छिन् ।”

[53] तर तिनीहरू केटी मरेको थाहा पाएर, येशूलाई गिल्ला गर्दै हाँसे ।

[54] तर उहाँले केटीलाई हातमा लिएर यसो भनेर बोलाउनुभयो, “नानी उठ ।”

[55] तिनको आत्मा फर्क्यो, र तिनी तुरुन्‍तै उठिन् । उहाँले तिनलाई केही खान दिनका लागि आज्ञा दिनुभयो ।

[56] तिनका बुबा-आमा अचम्मित भए, तर त्‍यहाँ जे भएको थियो त्‍यो कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो ।

लुकाले लेखेको सुसमाचार — Chapters