Skip to content
Opens in a new window
Listen to this chapter • 5:57

[1] तब पवित्र आत्माले भरिएर येशू यर्दन नदीबाट फर्कनुभयो, अनि आत्माद्वारा उजाड-स्थानमा डोर्‍याइनुभयो ।

[2] त्‍यहाँ उहाँ चालीस दिनसम्म दियाबलसद्वारा परीक्षित हुनुभयो । ती दिनहरूमा उहाँले केही पनि खानुभएन, र त्‍यो समयको अन्‍त्‍यमा उहाँ भोकाउनुभएको थियो ।

[3] तब शैतानले येशूलाई भन्‍यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने, यो ढुङ्‌गालाई रोटी हुन आज्ञा दिनुहोस् ।”

[4] येशूले जवाफ दिनुभयो, “लेखिएको छ, मानिस रोटीले मात्र बाँच्‍न सक्दैन ।”

[5] त्‍यसपछि, शैतानले उहाँलाई उच्‍च स्थानमा लगेर संसारका सबै राज्‍यहरूलाई छिनभरमै देखायो ।

[6] शैतानले उहाँलाई भन्‍यो, “म तपाईंलाई यी सबै राज्‍यहरू र यसको वैभवमाथि शासन गर्ने अधिकार दिनेछु । म यो गर्न सक्छु, किनकि यी सबैमाथि शासन गर्ने अधिकार मलाई दिइएको छ, मैले जसलाई चाहन्‍छु त्‍यसलाई दिन सक्छु ।

[7] यसकारण यदि तपाईंले मलाई दण्डवत् गरी आराधना गर्नुभयो भने, यी सबै तपाईंकै हुनेछन् ।”

[8] तर येशूले जवाफ दिनुभयो र त्‍यसलाई भन्‍नुभयो, “लेखिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्‍वरको मात्र आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू ।”

[9] त्‍यसपछि शैतानले येशूलाई यरूशलेम मन्‍दिरको उच्‍च स्थानको टुप्‍पामा लगेर उहाँलाई भन्‍यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने, यहाँबाट तल हाम्फाल्नुहोस् ।

[10] किनभने लेखिएको छ, तपाईंको सुरक्षा र वास्ता गर्न ‘उहाँले आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ ।’

[11] अनि तिनीहरूले तपाईंलाई हात हातै थाम्‍नेछन्, त्‍यसकारण तपाईंका खुट्टा ढुङ्‌गामा ठोकिने छैनन् ।”

[12] येशूले जवाफ दिँदै त्‍यसलाई भन्‍नुभयो, “यस्तो भनिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्‍वरको परीक्षा नगर्नू ।”

[13] अनि शैतानले येशूको परीक्षा गरिसकेपछि उहाँलाई अर्को समय नआएसम्म छोडेर गयो ।

[14] त्‍यसपछि पवित्र आत्माको शक्‍तिद्वारा येशू गालीलमा फर्कनुभयो र उहाँको विषयमा भएको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो ।

[15] उहाँले तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो र हरेकले उहाँको प्रशंसा गरे ।

[16] एक दिन येशू नासरतमा आउनुभयो, जुन सहरमा येशू हुर्कनुभएको थियो । उहाँको रीतिअनुसार उहाँ यहूदी सभाघरमा प्रवेश गरी विश्रामको दिनमा खडा भई धर्मशास्‍त्र पाठ गर्नुभयो ।

[17] उहाँलाई यशैया अगमवक्‍ताको चर्मपत्रको मुट्ठो दिइयो । त्‍यसपछि उहाँले मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो ।

[18] “परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनुभएको छ र दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिन, अन्‍यायमा परेकाहरूलाई स्वतन्‍त्रता प्रदान गर्न,

[19] र परमप्रभुको निगाहको वर्ष घोषणा गर्न मलाई पठाउनुभएको छ ।”

[20] त्‍यसपछि उहाँले चर्मपत्रको मुट्ठोलाई बन्‍द गर्नुभयो र सभाघरको मुख्य सेवकलाई फिर्ता गर्नुभयो र उहाँ बस्‍नुभयो । सभाघरमा उपस्थित भएका सबै मानिसहरूको हेराइ उहाँमाथि पर्‍यो ।

[21] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आज तिमीहरूले यी वचनहरू सुन्‍दा सुन्‍दै यो पुरा भएको छ ।”

[22] उहाँले बोल्नुभएको वचनको सबैजना साक्षी भए र सबै मानिसहरू उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्‍चर्य चकित भए । उनीहरू यसो भन्‍दै थिए, “के यी मानिस ‍योसेफका छोरा होइनन् र ?

[23] येशूले तिनीहरूलाई भन्‍नुभयो, “निश्‍चय नै तिमीहरूले मलाई यो उखान भन्‍नेछौ, ए वैद्य तिमी आफैँलाई निको पार । कफर्नहुममा जे-जति कामहरू तपाईंले गर्नुभयो त्‍यो हामीले सुनेका छौँ, ती कार्यहरू तिम्रो आफ्नो स्थानीय ठाउँमा पनि गर ।”

[24] साँच्‍चै म तिमीलाई भन्‍दछु, “कुनै पनि अगमवक्‍तालाई आफ्नो देशमा स्वीकार गरिँदैन ।

[25] तर म तिमीहरूलाई सत्‍य भन्‍दछु, तीन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्‍द गरी वृष्‍टि रोकिँदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए ।

[26] तर एलियालाई अन्‍य कुनै व्यक्‍ति र स्थानहरूमा नपठाई सिदोन नगरमा भएकी सारपतकी विधवाकहाँ पठाइयो ।

[27] अगमवक्‍ता एलीशाको समयमा इस्राएलमा धेरै कुष्‍ठरोगीहरू थिए, तर सिरियाली नामानबाहेक कोही पनि निको पारिएन ।

[28] जब सभाघरमा भएका सबै मानिसहरूले यी सबै कुराहरू सुने, तब उनीहरू रिसले चुर भए ।

[29] तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लगे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्‍यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्‍न गरे ।

[30] तर उहाँ तिनीहरूका बिचबाट निस्केर आफ्नो बाटो लाग्‍नुभयो ।

[31] त्‍यसपछि उहाँ गालील सहरको कफर्नहुममा जानुभयो । विश्राम दिनमा उहाँले मानिसहरूलाई सभाघरमा सिकाउँदै हुनुहुन्‍थ्यो ।

[32] तिनीहरू उहाँको शिक्षामा आश्‍चर्य चकित भए, किनभने उहाँले अधिकारसहित बोल्नुभएको थियो ।

[33] त्‍यस दिन सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस त्‍यहाँ थियो, र उसले ठुलो स्वरले चिच्‍याउँदै भन्‍यो,

[34] “नासरतका येशू, हामीहरूसँग तपाईंको के सरोकार छ ? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो ? तपाईं को हुनुहुन्‍छ भनी मलाई थाहा छ । तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्‍छ ।”

[35] येशूले दुष्‍टात्मालाई हकार्नुभयो र भन्‍नुभयो, “चुप लाग् र त्‍यसबाट बाहिर निस्किआइज ।” त्‍यसले तिनीहरूका बीचमा उसलाई लडायो र कुनै पनि हानि नोक्सानी नगरीकन उसबाट निस्केर गयो ।

[36] सबै मानिसहरू अति आश्‍चर्य चकित भए र उनीहरू एक अर्कामा यो विषयमा छलफल गर्न लागे । उनीहरूले भने, “यी वचनहरू कस्ता हुन् ? उहाँले अशुद्ध आत्माहरूलाई अधिकार र शक्‍तिसाथ आज्ञा गर्नुहुन्‍छ र तिनीहरू बाहिर निस्केर जान्‍छन् ?”

[37] उहाँको विषयमा भएका समाचारहरू वरिपरिका सबै क्षेत्रहरूमा चारैतिर फैलियो ।

[38] त्‍यसपछि येशू सभाघरबाट निस्केर सिमोनको घरमा पस्‍नुभयो । सिमोनकी सासुलाई उच्‍च ज्वरोले सताएको थियो र उनीहरूले तिनको पक्षमा उहाँसँग बिन्‍ती गरे ।

[39] उहाँ उनको छेउमा उभिनुभयो र ज्वरोलाई हकार्नुभयो र ज्वरोले उनलाई छोड्‌यो । तुरुन्‍तै तिनी उठिन् र उहाँहरूको सेवा गर्न थालिन् ।

[40] साँझपख सूर्य अस्ताउने बेलामा धेरै प्रकारका रोग लागेका बिरामीहरूलाई येशूकहाँ ल्याइयो । उहाँले तिनीहरू सबैमाथि आफ्नो हात राख्‍नुभयो र सबैलाई निको पार्नुभयो ।

[41] तिनीहरूमध्‍ये धेरैबाट भूत आत्मा चिच्‍याउँदै बाहिर निस्केर यसो भन्‍यो, “तपाईं जीवित परमेश्‍वरका पुत्र हुनुहुन्‍छ ।” येशूले भूत आत्माहरूलाई हकार्नुभयो र तिनीहरूलाई बोल्न दिनुभएन, किनभने उहाँ ख्रीष्‍ट हुनुहुन्‍थ्यो भनी तिनीहरूलाई थाहा थियो ।

[42] जब बिहान भयो, उहाँ एकान्‍त ठाउँमा जानुभयो । ठुलो भीडले उहाँलाई खोजी राखेको थियो र उहाँ जहाँ हुनुहुन्‍थ्यो, भीड त्‍यहीँ नै आइपुग्यो र तिनीहरूले उहाँलाई अन्‍त जानबाट रोक्‍ने कोसिस गरे ।

[43] तर येशूले भन्‍नुभयो, “मैले अन्‍य सहरहरूमा पनि राज्‍यको सुसमाचार प्रचार गर्नुपर्छ, किनभने म यसैको लागि पठाइएको हुँ ।”

[44] त्‍यसपछि यहूदियाका सबै प्रान्‍तका सभाघरहरूमा उहाँले निरन्‍तर प्रचार गर्नुभयो ।

लुकाले लेखेको सुसमाचार — Chapters