[1] येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “पाप गर्न लगाउने कुराहरू निश्चय नै हुनेछन्, तर त्यस व्यक्तिलाई धिक्कार छ जसद्वारा ती आउँदछन्।
[2] उसले यी सानाहरूमध्ये एक जनालाई ठेस लगाउनु भन्दा त त्यसको घाँटीमा ढुङ्गा झुन्डाएर त्यसलाई समुद्रमा फालिदिएको भए त्यसको लागि असल हुने थियो ।
[3] आफ्नो बारेमा होशियार रहो । तिम्रो भाइले पाप गर्छ भने त्यसलाई हप्काऊ र त्यसले क्षमा माग्छ भने त्यसलाई क्षमा गर ।
[4] यदि त्यसले तिम्रो विरुद्धमा दिनमा सात पटकसम्म पाप गर्दछ भने र सातै पटक तिमीकहाँ फर्की आएर, ‘म पश्चात्ताप गर्छु’ भन्यो भने तिमीले त्यसलाई क्षमा गर्नुपर्छ ।
[5] प्रेरितहरूले प्रभुलाई भने “हाम्रो विश्वास बढाइदिनुहोस् ।”
[6] प्रभुले भन्नुभयो “यदि तिमीसँग रायोको बिउजत्रो विश्वास छ भने नेभाराको रुखलाई ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञा मान्नेछ ।
[7] तर तिमीहरूमध्ये को होला जसको नोकरले जोत्दै वा भेडा चराउँदै गर्दा उसले तिमीलाई भन्नेछ, तत्कालै आउनुहोस् र खाना खानलाई बसौँ ।”
[8] मेरो लागि खानको लागि खानेकुरा तयार पार, र कम्मरमा पटुका कस र मैले नसकुन्जेल मेरो सेवा गर भनेन भने, के तिमीले त्यसपछि केही कुरा खाने र पिउने गर्दछौ र ?
[9] उसले आफ्नो नोकरलाई स्याबासी दिनेछैन किनकि हामीले केही आज्ञा नगरी के उसले हाम्रो निम्ति गर्नेछ ?
[10] तिमीले अर्हाएको कुरा मात्र गर्दछौ भने तिमीले यसो पो भन्नुपर्ने हो, “हामी अयोग्य नोकरहरू हौँ, हामीले गर्नुपर्ने मात्र गरेका छौँ ।”
[11] यो भन्दै गर्दा तिनीहरू यरूशलेमको यात्रा गर्दै थिए । त्यस बेला उहाँ सामरिया र गालील हुँदै यात्रा गर्नुभयो ।
[12] एउटा गाउँमा पुगेपछि, उहाँले दस जना कुष्ठरोग लागेका मानिसलाई भेट्नुभयो । तिनीहरू उहाँ भन्दा टाढा उभिए ।
[13] र तिनीहरूले चर्को स्वरले भने, “हे येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।”
[14] जब उहाँले तिनीहरूलाई देख्नुभयो र भन्नुभयो, “जाओ र आफैलाई पूजाहारीकहाँ देखाओ । र तिनीहरू गए अनि निको भए ।”
[15] जब तीमध्ये एक जनाले आफू निको भएको महसुस गर्यो, ऊ चर्को स्वरले परमेश्वरको महिमा गर्दै फर्कियो ।”
[16] उसले येशूको चरणमा पर्दै, उहाँलाई धन्यवाद चढायो । त्यो एउटा सामरी थियो ।
[17] येशूले उत्तर दिँदै भन्नुभयो, “के त्यहाँ दस जना निको भएका होइनन् ? अरू नौ जना कहाँ गए ?
[18] के यो परदेशीबाहेक निको भएकाहरू फर्केर परमेश्वरलाई महिमा दिनुपर्ने होइन र ?
[19] उहाँले त्यसलाई भन्नुभयो, “उठ र आफ्नो बाटो जाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।”
[20] फरिसीहरूले परमेश्वरको राज्य कहिले आउँछ भनी सोधे । येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “परमेश्वरको राज्य तिमीहरूले देखेको जस्तै होइन,
[21] न त तिनीहरूले भन्नेछन्, ‘यता हेर ! वा उता हेर !’ किनभने परमेश्वरको राज्य तिमीहरूकै बिचमा छ ।”
[22] येशूले चेलाहरूलाई भन्नुभयो, “त्यो दिन आउनेछ जब तिमीहरूले मानिसका पुत्रलाई हेर्ने इच्छा गरौला तर तिमीहरूले देख्नेछैनौ ।
[23] तिनीहरूले तिमीलाई भन्नेछन्, ‘यता हेर ! उता हेर !’ तर तिमीहरूले नहेर, न त तिनीहरूलाई पछ्याओ ।
[24] आकाशमा एउटा कुनामा बिजुली चम्कँदा अर्को कुनामा देखिए जस्तै मानिसका पुत्रको आगमनको दिनमा त्यस्तै हुनेछ ।
[25] तर उहाँ पहिले विभिन्न थोकहरूबाट सताइनुहुनेछ र यो पुस्ताद्वारा अस्वीकार गरिनुहुनेछ ।
[26] यस्ता घटनाहरू नोआको समयमा पनि भएको थियो र मानिसका पुत्रको समयमा पनि ती कुराहरू हुनेछन् ।
[27] नोआ जहाजभित्र नपसुन्जेलसम्म तिनीहरू खाँदै, पिउँदै, र विवाहमा सहभागी भएका थिए । त्यसपछि बाढी आयो र तिनीहरू सबैलाई नष्ट पार्यो ।
[28] यस्तै घटनाहरू लोतको समयमा पनि घटेको थियो । त्यस समयमा तिनीहरूले खाँदै, पिउँदै, किन्दै, बेच्दै, र ती विभिन्न कुराहरूको निर्माण गर्दै थिए ।
[29] तर त्यो दिन जब लोत सदोम छोडेर गए, त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र तिनीहरू सबैलाई नष्ट पार्यो ।
[30] अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् ।
[31] त्यस दिनमा घरको माथिल्लो तल्लाबाट आफ्ना मालसामान लिन त्यो तल नझरोस् । र कोही खेतमा छ भने फर्केर नआओस्।
[32] लोतकी पत्नीलाई सम्झ ।
[33] जसले आफ्नो प्राण बचाउन खोज्ला त्यसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण गुमाउला, त्यसले त्यो बचाउनेछ ।
[34] म तिमीलाई भन्नेछु, रातको समयमा दुई जना एकै ठाउँमा सुत्नेछन् ।
[35] तिनीहरूमध्ये एक जना लगिनेछ, र अर्को छोडिनेछ ।
[36] (खेतमा दुई जना हुनेछन् तिनीहरूमध्ये एक जना लगिनेछ र अर्को छोडिनेछ । )
[37] तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु ?” र उहाँले तिनीहरूलाई भन्नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू भेला हुनेछन् ।”