Skip to content
Opens in a new window
Listen to this chapter • 5:30

[1] तब तिनीहरूले कसरी सधैँ प्रार्थना गर्नुपर्छ र निरुत्साह हुनुहुँदैन भन्‍ने सम्बन्धमा उहाँले तिनीहरूसँग दृष्‍टान्‍तमा बोल्नुभयो ।

[2] उहाँले भन्‍नुभयो, “कुनै एउटा सहरमा एक जना न्‍यायाधीश बस्दथे, जसले परमेश्‍वरको भय मान्‍दैनथे र मानिसहरूको पनि आदर गर्दैनथे ।

[3] त्‍यस सहरमा एक जना विधवा बस्थिन् र बारम्बार ती अधर्मी न्‍यायाधीशकहाँ आउँथिन् र भन्‍थिन्, ‘मलाई सहायता गर्नुहोस् र मेरो वादीको विरुद्ध मलाई न्‍याय दिलाउनुहोस् ।’

[4] लामो समयसम्म उनले ती विधवालाई सहायता गर्ने इच्‍छा गरेनन्, तर केही समयपछि उनले मनमनै भने, ‘मैले परमेश्‍वरको भय मान्‍दिनँ र मानिसहरूको पनि आदर गर्दिनँ,

[5] तर यस विधवाले मलाई सताउँछे । त्‍यसैले, मकहाँ बारम्बार आएर त्यसले मलाई नसताओस् भनेर, म त्यसलाई न्‍याय दिलाउनेछु’ ।”

[6] तब प्रभुले भन्‍नुभयो, “ती अन्‍यायी न्‍यायाधीशले के भन्‍छन्, सुन ।

[7] के परमेश्‍वरले पनि उहाँलाई दिनरात पुकारा गर्ने आफ्ना चुनिएका मानिसहरूको निम्ति न्‍याय गरिदिनुहुन्‍न र ? के उहाँ तिनीहरूप्रति धैर्यवान् हुनुहुन्‍न र ?

[8] म तिमीहरूलाई भन्‍दछु, उहाँले तिनीहरूलाई तुरुन्‍तै न्‍याय दिलाउनुहुनेछ । तर जब मानिसका पुत्र आउनेछन्, के उनले पृथ्वीमा विश्‍वास भेट्टाउनेछन् र ?”

[9] त्‍यसपछि उहाँले आफैँलाई धर्मी ठान्‍ने र अरूलाई तुच्‍छ ठान्‍ने कतिपय मानिसहरूलाई यो दृष्‍टान्‍त पनि भन्‍नुभयो,

[10] “दुई जना मानिस मन्‍दिरमा प्रार्थना गर्न गए– एक जना फरिसी र अर्को कर उठाउने ।

[11] फरिसीले उभिएर यसो भनेर आफ्नै बारेमा प्रार्थना गर्‍यो, ‘हे परमेश्‍वर, म तपाईंलाई धन्‍यवाद दिन्‍छु कि म अरू चोरहरू जस्‍तो छैनँ, अधर्मीहरू जस्‍तो छैनँ, व्यभिचारी जस्‍तो पनि छैनँ, यही कर उठाउने जस्‍तो पनि छैनँ ।

[12] म हरेक हप्‍ता दुई पटक उपवास बस्दछु । म आफूले पाएका सबै थोकको दशांश दिन्‍छु ।’

[13] तर कर उठाउने मानिसले टाढैबाट उभिएर, स्वर्गतिर पनि नहेरीकन आफ्नो छाती पिट्दै यसो भन्‍यो, ‘हे परमेश्‍वर म पापीमाथि कृपालु हुनुहोस् ।’

[14] म तिमीहरूलाई भन्‍दछु, कि यो मानिस अर्को मानिस भन्‍दा बढी धर्मी ठहरिएर आफ्नो घर फर्क्यो, किनभने हरेक जसले आफूलाई उचाल्दछ त्‍यो होच्‍याइनेछ र जसले आफैलाई होच्‍याउँछ त्‍यो उचालिनेछ ।

[15] उहाँले तिनीहरूलाई छोइदिऊन् भनी मानिसहरूले बालबालिकाहरूलाई पनि उहाँकहाँ ल्याए, तर यो यो देखेर चेलाहरूले तिनीहरूलाई हकारे ।

[16] तर येशूले आफूकहाँ तिनीहरूलाई भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्‍य यस्तैहरूको हो ।

[17] साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यदि कसैले परमेश्‍वरको राज्‍यलाई बालकले झैँ ग्रहण गर्दैन भने त्‍यो निश्‍चय नै स्वर्गमा प्रवेश गर्नेछैन ।”

[18] एक जना शासकले उहाँलाई सोधे, “हे असल गुरु, अनन्‍त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ ?”

[19] येशूले तिनलाई भन्‍नुभयो, “किन मलाई असल भन्‍दछौ, एक परमेश्‍वरबाहेक कोही पनि असल छैन ।

[20] तिमीलाई आज्ञाहरू थाहा छ– तैँले व्यभिचार नगर्नू, हत्‍या नगर्नू, नचोर्नू, झुटो गवाही नदिनू, आफ्ना आमाबुबाको आदर गर्नू ।”

[21] ती शासकले भने, “यी सब कुराहरू त मैले आफ्नो जवान अवस्थादेखि नै पालन गरिरहेको छु ।”

[22] जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “तिमीमा अझै एउटा कुराको कमी छ । तिमीले आफ्नो सारा सम्पत्ति बेच्‍नुपर्छ र गरिबहरूलाई दिनुपर्छ अनि तिम्रो धन स्वर्गमा हुनेछ । त्‍यसपछि आऊ र मेरोपछि लाग ।”

[23] तर जब धनी मानिसले यो कुरा सुने, तिनी अति नै दुःखित भए, कारण तिनी धेरै धनी थिए ।

[24] तब येशूले तिनलाई हेरेर अति दुःखित हुँदै भन्‍नुभयो, “धनी मानिसलाई स्वर्गको राज्‍यमा प्रवेश गर्न कति गाह्रो छ !

[25] धनी मानिसलाई स्वर्गको राज्‍यमा प्रवेश गर्नु भन्‍दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्‍छ !”

[26] त्‍यो सुन्‍नेहरूले यसो भने, “त्‍यसो भए को बचाइनेछ त ?”

[27] येशूले जवाफ दिनुभयो, “मानिसको निम्ति जुन कुरा असम्भव छ, त्‍यो परमेश्‍वरमा सम्भव छ ।”

[28] पत्रुसले जवाफ दिए, “हामीले आफ्ना सबै कुराहरू त्‍यागेर तपाईंको पछि लागेका छौँ ।”

[29] येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले परमेश्‍वरको राज्‍यको खातिर घर, श्रीमती वा दाजुभाइ, आमाबुबा वा छोराछोरीलाई त्‍याग्दछन्,

[30] तिनीहरूले यस संसारमा अझै धेरै पाउनेछन् अनि आउने संसारमा अनन्‍त जीवन पाउनेछन् ।”

[31] बाह्र जनालाई आफूकहाँ भेला गरेर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर, हामी यरूशलेमतर्फ जाँदै छौँ, अनि मानिसका पुत्रको बारेमा अगमवक्‍ताहरूले लेखेका सबै कुरा पुरा हुनेछन् ।

[32] किनकि उनी अन्‍यजातिहरूका हातमा सुम्पिइनेछन् र मनिसहरूले उनलाई गिल्ला गर्नेछन् र अपमानजनक व्यवहार गर्नेछन् र उनलाई थुक्‍नेछन् ।

[33] उनलाई दण्ड दिइसकेपछि तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा ऊ मृत्‍युबाट जीवित भई उठ्नेछ ।”

[34] उनीहरूले यी कुनै पनि कुराहरू बुझेनन् र यो वचन उनीहरूबाट लुकाइएका थिए, यसकारण भनिएका कुनै पनि कुराहरू उनीहरूको समझमा आएन ।

[35] येशू यरीहो नजिक आउनुहुँदा, एक जना दृष्‍टिविहीन मानिस बाटोको छेउमा बसी भिख मागिरहेको थियो ।

[36] त्‍यो बाटो भएर ठूलो भीड गइरहेको कुरा सुनेर उसले सोध्‍यो, “यहाँ के हुँदै छ ?”

[37] तिनीहरूले उसलाई भने, “नासरतका येशू यो बाटो भएर जाँदै हुनुहुन्‍छ ।”

[38] त्‍यसपछि त्‍यो दृष्‍टिविहीन मानिसले चिच्‍याउँदै भन्‍यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस् ।”

[39] भीडको अगिअगि हिँडिरहेका मानिसहरूले त्‍यो दृष्‍टिविहीन मानिसलाई हकारेर चुप लाग्‍न भने, तर त्यो झन् चर्को स्वरले कराउँदै भन्‍यो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।”

[40] येशू टक्‍क उभिनुभयो र त्‍यस दृष्‍टिविहीन मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो । जब त्‍यस दृष्‍टिविहीन मानिस येशूको नजिक आयो, येशूले त्यसलाई सोध्‍नुभयो,

[41] “मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्‍छौ ?” त्यसले भन्‍यो, “प्रभु, म देख्‍न चाहन्‍छु ।”

[42] येशूले भन्‍नुभयो, “तिमी देख्‍ने भइ जाऊ । तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।”

[43] तुरुन्‍तै उसले देख्‍न सक्यो र परमेश्‍वरको महिमा गर्दै उहाँलाई पछ्यायो । यो देखेर सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे ।

लुकाले लेखेको सुसमाचार — Chapters