Skip to content
Opens in a new window
Listen to this chapter • 8:19

[1] उहाँले बाह्र जनालाई एकैसाथ बोलाउनुभयो, र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने अधिकार र शक्‍ति दिनुभयो ।

[2] उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्‍यको सुसमाचार प्रचार गर्न र बिरामी निको पार्न पठाउनुभयो ।

[3] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यात्राका निम्ति केही नलैजाओ न त लौरो, न त थैली, न त रोटी, न त पैसा, न त दुई वटा दौरा लैजाओ ।

[4] तिमीहरू जुन घरमा पस्छौ, त्‍यस ठाउँबाट तिमीहरू अन्त नजाउन्जेल त्‍यहीँ बस ।

[5] कसैले तिमीहरूलाई ग्रहण गर्दैन भने, जब तिमीहरू त्‍यस सहरलाई छोड्छौ, तिनीहरूका विरुद्धमा साक्षीका लागि तिमीहरूका खुट्टाको धुलोसमेत टकटकाइदेओ ।”

[6] तब तिनीहरू सुसमाचारको घोषणा गर्दै हिँडे र हरेक ठाउँका रोगी मानिसहरूलाई निको पार्दै गाउँहरूतिर गए ।

[7] अनि शासक हेरोदले जे भइरहेको थियो, त्‍यो सुनेर उनी अन्‍योलमा परे, किनभने बप्‍तिस्मा-दिने यूहन्‍ना मृत्युबाट जीवित भई उठिसकेका छन् भनेर कसैले उनलाई सुनाइदिएको थियो ।

[8] र कसैले एलिया देखा परेका छन्, र अरूहरूले पुराना अगमवक्‍ताहरूमध्‍ये एक जना फेरि पुनर्जीवित भएका छन् भने ।

[9] हेरोदले भने, “मैले यूहन्‍नाको टाउको काटेँ, तर यो को हो जसको बारेमा म यस्तो कुरा सुन्‍दै छु ?” र हेरोदले येशूलाई हेर्ने बाटो खोज्‍ने कोसिस गरे ।

[10] जब पठाइएकाहरू फर्केर आए, तिनीहरूले गरेका सबै कुरा उहाँलाई तिनीहरूले बताए । तिनीहरूलाई उहाँसँगै लगेर, बेथसेदा भनिने सहरमा आफै तिनीहरूसँग जानुभयो ।

[11] तर भीडले यो सुन्‍यो र उहाँलाई पछ्यायो र उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्‍वरको राज्‍यको बारेमा तिनीहरूलाई बताउनुभयो र जसलाई निको हुन आवश्यक थियो, तिनीहरूलाई निको पार्नुभयो ।

[12] दिन ढल्किन लाग्दा बाह्रै जना उहाँकहाँ आए र भने, “यस भीडलाई बिदा दिनुहोस्, ताकि तिनीहरूले गाउँहरूतिर र वरिपरिका ठाउँहरूमा गएर बास बस्‍न र खान पाउन सकून्, किनकि हामी यहाँ मरुभूमिको ठाउँमा छौँ ।”

[13] तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानलाई देओ ।” तिनीहरूले भने, “हामीसँग पाँच वटा रोटी र दुई वटा माछा भन्‍दा बढी केही छैन । मानिसहरूको यो ठूलो भीडलाई गएर खाना किन्‍नबाहेक अर्को उपाय छैन ।”

[14] त्‍यहाँ पाँच हजार भन्‍दा बढी मानिस थिए । उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, तिनीहरूलाई पचास-पचास जनाको समूहमा बस्‍न लगाओ ।”

[15] अनि तिनीहरूले त्‍यसै गरे, र सबै मानिसहरू बसे ।

[16] उहाँले पाँच वटा रोटी र दुई वटा माछालाई हातमा लिनुभयो र स्वर्गतिर हेर्दै, तिनीहरूलाई आशीर्वाद दिनुभयो, र तिनलाई भाँचेर टुक्राटुक्रा पार्नुभयो, र भीडको सामु बाँड्नलाई चेलाहरूलाई दिनुभयो ।

[17] तिनीहरू सबैले खाए र सन्‍तुष्‍ट भए र उब्रेका सबै रोटीका टुक्राहरू बटुले र बाह्र डाला भरे ।

[18] जब उहाँ एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू पनि उहाँसँग थिए । उहाँले तिनिहरूलाई प्रश्‍न गर्दै भन्‍नुभयो, “भीडले म को हुँ भनी भन्‍दछ ?”

[19] तिनीहरूले जवाफ दिँदै भने, “बप्‍तिस्मा-दिने यहून्‍ना, तर अरूले भन्‍छन् एलिया र अरूहरूले फेरि उदाएका पुरानो समयका एक जना अगमवक्‍ता हुन् भनी भन्‍दछन् ।”

[20] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ तर तिमीहरूचाहिँ म को हुँ भनी भन्‍दछौ ?” पत्रुसले जवाफ दिँदै भने, “परमेश्‍वरबाट आउनुभएका ख्रीष्‍ट ।”

[21] तर तिनीहरूलाई चेताउनी दिँदै येशूले तिनीहरूलाई यो कसैलाई पनि नभन्‍नू भनी शिक्षा दिनुभयो ।

[22] निश्‍चय नै मानिसका पुत्रले धेरै कुरामा दुख सहनु, बुढापाकाहरू, मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूबाट तिरष्कृत हुनेछ र मारिनेछ र तेस्रो दिनमा जीवित भइ उठ्नेछ।

[23] उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो, “यदि कोही मेरो पछि आउन चाहन्‍छ भने, उसले आफैलाई इन्कार गरोस्, दिनहुँ आफ्नो क्रुस उठाओस् र मलाई पछ्याओस् ।

[24] जसले आफ्नो जीवनलाई बचाउने प्रयास गर्दछ, उसले त्‍यसलाई गुमाउनेछ, तर मेरो खातिर जसले आफ्नो जीवन गुमाउँछ, त्‍यसले त्‍यो बचाउनेछ ।

[25] सारा संसार हात पारेर पनि उसले आफैँलाई नाश गर्छ वा गुमाउँछ भने, मानिसलाई के लाभ हुन्‍छ र ?

[26] जो मेरा वचनहरू र मसँग शर्माउँछ, महिमाका पिता र पवित्र दूतहरूका सामु मानिसका पुत्र पनि आफ्नो महिमामा आउँदा तिनीहरूसँग शर्माउनेछ ।

[27] तर म तिमीहरूलाई साँचो भन्‍दछु, यहाँ तिमीहरूमध्‍ये उभिनेहरू कोही छन् जसले मृत्‍युको स्वाद चाख्‍नअगि परमेश्‍वरको राज्‍य देख्‍नेछैनन् ।

[28] लगभग आठ दिनपछि येशूले उहाँसँग प्रार्थना गर्न पत्रुस, यूहन्‍ना र याकूबलाई सँगै लिएर पहाडमाथि जाँदा यी कुराहरू भन्‍नुभएको थियो ।

[29] जब उहाँले प्रार्थना गर्दै हुनुहुन्‍थ्यो, उहाँको अनुहार परिवर्तन भयो, र उहाँको वस्‍त्र सेतो र चम्किलो भयो ।

[30] हेर, त्‍यहाँ दुई जना मानिस उहाँसँग कुरा गरिरहेका थिए ! तिनीहरू मोशा र एलिया थिए,

[31] जो महिमित देखिए । तिनीहरू उहाँको मृत्युबारे कुरा गरिरहेका थिए, जुन यरूशलेममा पुरा हुन लागेको थियो ।

[32] अब पत्रुस र तिनीसँग भएकाहरू निन्‍द्राले लट्ठ भएका थिए । तर जब तिनीहरू पूर्ण रूपले ब्युँझे, तिनीहरूले उहाँसँगै उभिरहेका दुई जना मानिस र उहाँको महिमालाई देखे ।

[33] तिनीहरू येशूबाट टाढा जाँदै गर्दा, पत्रुसले उहाँलाई भने, “गुरुज्‍यू, हामी यहाँ तीन वटा वासस्थान बनाऔँ, यो हाम्रो लागि असल छ । एउटा तपाईंको लागि, अर्को मोशाको लागि र एउटा एलियाको लागि ।” उहाँले केको बारेमा भन्‍दै हुनुहुन्‍थ्यो भन्‍ने कुरा उनले बुझेनन् ।

[34] जब तिनले यी कुराहरू भन्‍दै थिए, बादल आयो र तिनीहरूलाई ढाक्यो र तिनीहरूका वरिपरि बादलले ढाकेको देखेर तिनीहरू अत्तालिए ।

[35] बादलबाट यसो भन्‍दै एउटा आवाज आयो, “यिनी मेरा चुनिएका पुत्र हुन् । यिनको कुरा सुन ।”

[36] जब त्‍यो आवाज बन्‍द भयो, येशू एकलै हुनुभयो । तिनीहरू चुप भए र ती दिनमा जुन कुरा तिनीहरूले देखेका थिए, कसैलाई पनि भनेनन् ।

[37] तिनीहरू पहाडबाट तल ओर्लेर आएको भोलिपल्ट मानिसहरूको ठुलो भीडले उहाँलाई भेट्‌यो ।

[38] हेर, भीडबाट एक जना मानिस यसो भन्‍दै चिच्‍यायो, “गुरुज्‍यू, म बिन्‍ती गर्छु, कि तपाईंले मेरो छोरामाथि कृपा-दृष्टि गर्नुहोस्, किनभने ऊ मेरो एउटै मात्र छोरा हो ।

[39] हेर्नुहोस, उसलाई एउटा आत्माले समात्छ, र ऊ अचानक चिच्‍च्‍याउँछ, त्यसले उसको मुखमा फिज काढेर उसलाई काम्‍न लगाउँछ । त्यो उसबाट मुस्किलले जान्‍छ, जब त्यसले छोड्छ तब उसलाई नराम्रो गरी चोट पार्छ ।

[40] मैले ऊबाट त्यसलाई निकाल्न भनेर तपाईंका चेलाहरूसँग बिन्‍ती गरेँ, तर तिनीहरूले सकेनन् ।”

[41] येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “हे अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म तिमीहरूसँग कति समयसम्म रहनु र तिमीहरूलाई सहनु ? तिम्रो छोरालाई यहाँ लेऊ ।”

[42] त्‍यो केटो आउँदै थियो, भूतले उसलाई भुइँमा पछार्‍यो, र भयानक तवरले कमायो । तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटालाई निको पार्नुभयो र उसको बुबालाई फिर्ता दिनुभयो ।

[43] तिनीहरू परमेश्‍वरको महानतामा चकित भए । तर सबै जना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,

[44] “यी वचनहरू तिमीहरूका कानका गहिराइसम्म पुगून्, किनभने, मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछ ।”

[45] तर तिनीहरूले यस भनाइलाई बुझेनन् र यो तिनीहरूबाट गुप्त राखिएको थियो । त्‍यसैले, तिनीहरूले यसलाई बुझ्‍न सकेनन् । तिनीहरूले त्‍यस भनाइबारे उहाँलाई सोध्‍न डराए ।

[46] तब तिनीहरूबिच सबै भन्‍दा ठुलो को हुने हो भनी विवाद चल्यो ।

[47] तर येशूले तिनीहरूले हृदयमा के विचार गरिरहेका छन् भन्‍ने थाहा पाएर उहाँले एउटा बालकलाई लिएर उहाँको छेउमा राख्‍नुभयो,

[48] र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मेरो नाउँमा सानो बालकलाई झैँ ग्रहण गर्छ भने उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने, उसले मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्दछ । किनभने तिमीहरूमध्‍ये सबै भन्‍दा सानो नै सबै भन्‍दा महान् हो ।”

[49] यूहन्‍नाले जवाफ दिए र भने, “प्रभु, हामीले कसैले तपाईंको नाउँमा भूतहरू निकालिरहेको देख्यौँ । र उसलाई हामीले रोक्यौँ, किनकि उसले हामीलाई पछ्याएन ।”

[50] तर येशूले तिनलाई भन्‍नुभयो, “उसलाई नरोक, किनभने जो तिम्रो विरुद्धमा हुँदैन, त्‍यो तिम्रो पक्षमा हुन्‍छ ।”

[51] जब उहाँ स्वर्गतिर जाने समय नजिक आउँदै थियो, उहाँले यरूशलेमतिर जाने अठोट लिनुभयो ।

[52] उहाँले आफू भन्‍दा अगि सन्‍देशवाहकहरूलाई पठाउनुभयो र तिनीहरू गए र उहाँका निम्ति तयारी गर्ने सामरीहरूको गाउँमा प्रवेश गरे ।

[53] तर त्‍यहाँका मानिसहरूले उहाँलाई ग्रहण गरेनन्, किनभने उहाँले यरूशलेमतिर जाने अठोट लिनुभएको थियो ।

[54] जब उहाँका चेलाहरू यूहन्‍ना र याकूबले यो देखे, तिनीहरूले भने, “प्रभु के स्वर्गबाट आगो बर्साएर तिनीहरूलाई नष्‍ट गर्न हामी आज्ञा गरौँ ?”

[55] तर उहाँ फर्केर तिनीहरूलाई हप्काउनुभयो ।

[56] तब उहाँहरू अर्को गाउँतिर जानुभयो ।

[57] जब उहाँहरू बाटोमा जाँदै हुनुहुन्‍थ्यो, तब कसैले उहाँलाई भन्‍यो, “तपाईं जहाँ जानुहुन्‍छ म तपाईंलाई पछ्यानेछु ।”

[58] येशूले उसलाई भन्‍नुभयो, “फ्याउराहरूका दुला छन् र आकाशका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको टाउको लुकाउने ठाउँ पनि छैन ।”

[59] तब उहाँले अर्को मानिसलाई भन्‍नुभयो, “मेरो पछि लाग ।” तर उसले भन्‍यो, “प्रभु, मलाई पहिले मेरा बुबालाई गाड्न दिनुहोस् ।”

[60] तर उहाँले त्यसलाई भन्‍नुभयो, “मृतकहरूलाई नै तिनीहरूको मृत शरीर गाड्न देऊ, तर तिमी जाऊ र जताततै परमेश्‍वरको राज्‍यको घोषणा गर ।”

[61] अर्को मानिसले पनि भन्‍यो, “प्रभु म तपाईंलाई पछ्याउँछु, तर पहिले मेरो घरमा भएकाहरूसँग बिदा माग्‍न दिनुहोस् ।”

[62] तर येशूले त्यसलाई भन्‍नुभयो, “हलोमा आफ्नो हात राखेर पछाडि हेर्ने कोही पनि परमेश्‍वरको राज्‍यको योग्य हुँदैन ।”

लुकाले लेखेको सुसमाचार — Chapters