Skip to content
Opens in a new window
Listen to this chapter • 5:54

[1] येशू यरीहोमा प्रवेश गरेर त्‍यहाँबाट जाँदै हुनुहुन्‍थ्यो ।

[2] हेर, त्‍यहाँ जखायस नाउँ गरेका एक जना मानिस थिए । उनी कर उठनेहरूका मुख्य र धनी मानिस थिए ।

[3] उनले येशू को हुनुहुन्‍छ भनी हेर्न कोसिस गरिरहेका थिए, तर भीडको कारणले गर्दा हेर्न सकेनन्, किनकि उनी होचा थिए ।

[4] त्‍यसैले उनी भीडका मानिसहरू भन्‍दा अगाडि दौडे र उहाँलाई हेर्नको लागि नेभाराको रुखमा चढे, किनभने येशू त्‍यही बाटो भएर जाँदै हुनुहुन्‍थ्यो ।

[5] जब येशू उनी भएको ठाउँ नजिक आइपुग्‍नुभयो, उहाँले मास्तिर हेरेर भन्‍नुभयो, “जखायस छिटो ओर्ली आऊ, किनकि आज मलाई तिम्रो घरमा बस्‍नु छ ।”

[6] त्‍यसैले उनी हतार-हतार ओर्ली आए र उहाँलाई खुसीसाथ स्वागत गरे ।

[7] जब तिनीहरू सबैले यो देखे, तब उनीहरूले यसो भन्‍दै गनगन गर्न थाले, “उहाँ पापी मानिसकहाँ बस्‍नको लागि जानुभयो ।”

[8] जखायस खडा भएर भने, “हेर्नुहोस् प्रभु, मसँग भएका जे-जति छन् त्‍यसको आधा म गरिबहरूलाई दिनेछु र यदि मैले कसैलाई ठगेर कसैबाट केही कुरा लिएको छु भने त्‍यसको चार गुणा फिर्ता दिनेछु ।”

[9] येशूले तिनलाई भन्‍नुभयो, “आज यो घरमा मुक्‍ति आएको छ, किनकि यिनी पनि अब्राहामका पुत्र हुन् ।

[10] किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्‍न र बचाउनको लागि आएका हुन् ।”

[11] तिनीहरूले यी कुरा सुन्‍दै गर्दा, उहाँले अर्को दृष्‍टान्‍त पनि भन्‍नुभयो, किनभने तिनीहरू यरूशलेमको नजिक थिए र तिनीहरूले परमेश्‍वरको राज्‍य तुरुन्‍तै देखा पर्न लागेको छ भन्‍ने सोचेका थिए ।

[12] त्‍यसकारण, उहाँले भन्‍नुभयो, “एक जना खानदानी मानिस आफ्नो राज्‍य प्राप्‍त गर्नको निम्ति एउटा टाढा देशमा गएर फर्की आउनलाई गए ।

[13] उनले आफ्ना दस जना नोकरलाई बोलाए र तिनीहरूलाई दस सिक्‍का दिँदै भने, ‘म फर्की नआउँदासम्म यसलाई व्यापारमा लगाओ ।’

[14] तर उनका मानिसहरूले घृणा गर्दै यसो भन्‍ने सन्‍देश दिएर दूतहरू पठाए, ‘यो मानिसले हामीमाथि शासन गरेको हामी चाहँदैनौँ ।’

[15] तब राज्‍य प्राप्‍त गरी फर्केर आएपछि उनले सिक्‍का पाएका नोकरहरूलाई बोलाए र तिनीहरूले व्यापारबाट कति आर्जन गरे भनेर जान्‍ने इच्‍छा गरे ।

[16] पहिलो नोकर उनको अगाडि आयो र भन्‍यो, ‘मालिक, मैले तपाईंको सिक्‍काबाट अरू दस सिक्‍का कमाएँ ।’

[17] ती खानदानी मानिसले त्‍यसलाई भने, ‘स्याबास, असल नोकर । तिमी धेरै सानो कुरामा विश्‍वासयोग्य भयौ, त्‍यसकारण तिमीले दस वटा सहर अधिकार गर्नेछौ ।’

[18] दोस्रो नोकर आयो र भन्‍यो, ‘मालिक, तपाईंको सिक्‍काबाट मैले पाँच सिक्‍का कमाएँ ।’

[19] ती खानदानी मानिसले त्‍यस नोकरलाई भने, ‘तिमीले पाँच वटा सहरमा राज्‍य गर्नेछौ ।’

[20] अनि अर्को नोकर आयो र भन्‍यो, ‘मालिक, तपाईंको सिक्‍का यहाँ छ, जसलाई मैले कपडाभित्र सुरक्षितसाथ राखेको थिएँ ।

[21] किनकि म डराएँ, किनभने तपाईं कठोर मानिस हुनुहुन्‍छ । तपाईंले जे राख्‍नुभएको छैन, त्‍यो कुरा लिनुहुन्‍छ र जे छर्नुभएको छैन, त्‍यही कटनी गर्नुहुन्‍छ ।’

[22] ती खानदानी मानिसले त्‍यसलाई भने, ‘तँ दुष्‍ट नोकर, म तँलाई तेरो आफ्नै वचनले न्‍याय गर्नेछु । जहाँ राखेको छैन त्‍यहाँबाट लिन खोज्‍ने र जहाँ छरेको छैन त्‍यहाँबाट कटनी गर्न खोज्‍ने म कठोर मानिस हुँ भनी तँलाई थाहा थियो ।

[23] त्‍यसो भए, तैँले मेरो सिक्‍का किन बैङ्‌कमा राखिनस्, ताकि फर्की आउँदा ब्याजसहित मैले त्यो रकम पाउने थिएँ ?’

[24] ती खानदानी मानिसले त्‍यहाँ उभिएका मानिसहरूलाई भने, ‘त्यससँग भएको सिक्‍का खोसेर जससँग दस सिक्‍का छ, त्‍यसलाई देओ ।’

[25] तिनीहरूले उसलाई भने, ‘मालिक उसँग त दस सिक्‍का छ ।’

[26] ‘म तिमीलाई भन्‍दछु, जससँग छ त्‍यसलाई अझ धेरै दिइने छ, तर जोसँग छैन, त्‍यससँग भएको पनि खोसिनेछ ।

[27] तर, मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा यी शत्रुहरूलाई यहाँ ल्याओ र मेरो अगाडि मार’ ।”

[28] यी कुराहरू भनिसक्‍नुभएपछि, उहाँ यरूशलेमतिर जानुभयो ।

[29] बेथफागे र बेथानियाबाट जैतून भनिने डाँडा नजिक पुग्‍नुभएपछि उहाँले आफना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो,

[30] “नजिकैको गाउँमा जाओ । त्‍यहाँ पस्दै गर्दा, तिमीहरूले कोही पनि नचढेको एउटा बछेडो भेट्टाउनेछौ । त्‍यसलाई फुकाओ र मकहाँ ल्याओ ।

[31] यदि कसैले तिमीहरूलाई, ‘यसलाई किन फुकाउँदै छौ ?’ भनेर सोध्‍यो भने यसो भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ’ ।”

[32] पठाइएकाहरू गए र तिनीहरूले येशूले भन्‍नुभए जस्‍तै बछेडो पाए ।

[33] तिनीहरूले बछेडालाई फुकाल्दै गर्दा, त्‍यसका मालिकले तिनीहरूलाई भने, “तिमीहरूले यस बछेडालाई किन फुकाउँदै छौ ?”

[34] तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ ।”

[35] तिनीहरूले त्‍यसलाई येशूकहाँ ल्याए र तिनीहरूले त्‍यस बछेडामाथि आफ्ना कपडाहरू राखे र त्‍यसमाथि येशूलाई बसाले ।

[36] उहाँ जाँदै गर्नुहुँदा, तिनीहरूले बाटोमा कपडा ओछ्याए ।

[37] उहाँ जैतून डाँडाको ओरालोको नजिकै आइपुग्‍नुहुँदा, उहाँका चेलाहरूको ठूलो भीडले उहाँले गर्नुभएका शक्‍तिशाली कार्यहरू देखेको कारण आनन्‍दित हुँदै चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्न लागे ।

[38] तिनीहरूले यसो भन्‍न लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्‍यका हुन् ! स्वर्गमा शान्‍ति र सर्वोच्‍चमा महिमा !”

[39] त्‍यो भीडमा भएका केही फरिसीहरूले उहाँलाई यसो भने, “गुरुज्‍यू, तपाईंका चेलाहरू चुप बसून् भनी हप्काउनुहोस् ।”

[40] येशूले जवाफ दिँदै भन्‍नुभयो, “म तिमीहरूलाई भन्‍दछु, तिनीहरू चुप लागे भने, यी ढुङ्‌गाहरू नै कराउनेछन् ।”

[41] जब येशू सहरको नजिक पुग्‍नुभयो, उहाँ त्‍यसलाई देखेर यसो भन्‍दै रुनुभयो,

[42] “यदि तैँले यो दिनको बारेमा थाहा पाएको भए, तँलाई शान्‍ति दिने कुरालाई जानेको भए ! तर अहिले यी कुराहरू तेरो नजरबाट लुकाइएका छन् ।

[43] किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् र तँलाई घेर्नेछन् र चारैतिरबाट आक्रमण गर्नेछन् ।

[44] तिनीहरूले तँलाई र तेरा सन्‍तानलाई आक्रमण गरेर लडाउनेछन्; तिनीहरूले एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गा छोड्नेछैनन्, किनभने परमेश्‍वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्‍नलाई तैँले बुझिनस् ।

[45] येशू मन्‍दिरभित्र छिर्नुभयो र त्‍यहाँ व्यापार गरिरहेका मानिसहरूलाई यसो भन्‍दै निकाल्नुभयो,

[46] “यसो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले त यसलाई डाँकुहरूको अड्‌डा बनाएका छौ ।”

[47] येशूले मन्‍दिरमा दिनहुँ शिक्षा सिकाउनुहुन्‍थ्यो । मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूले उहाँलाई मार्न चाहन्‍थे ।

[48] तर तिनीहरूले त्‍यसो गर्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनभने मानिसहरूले उहाँको वचन ध्‍यानसित सुनिरहेका थिए ।

लुकाले लेखेको सुसमाचार — Chapters