Skip to content
Opens in a new window
Listen to this chapter • 4:33

[1] त्‍यस बेला, केही मानिसहरूले उहाँलाई पिलातसले तिमीहरूको रगत तिनीहरूको आफ्नै बलिदानसँग मिसाइदिएका गालीलीहरूबारे बताए ।

[2] येशूले जवाफ दिएर तिनीहरूलाई भन्‍नुभयो, “के ती गालीलीहरूले यस्तो भोगेकाले तिनीहरू अरू गालीलीहरू भन्‍दा पापी थिए भन्‍ने तिमीहरू सोच्‍छौ ?

[3] होइन, म तिमीहरूलाई भन्‍छु । तर यदि तिमीहरूले पनि पश्‍चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्‍ट हुनेछौ ।

[4] वा सिलोआमको धरहरा भत्केर मरेका अठार जना मानिस, यरूशलेमका अरू मानिसहरू भन्‍दा बढी पापी थिए भन्‍ने लाग्छ ?

[5] म भन्‍छु, होइन । तर यदि तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्‍ट हुनेछौ ।

[6] येशूले यो दृष्‍टान्‍त भन्‍नुभयो, “कसैले उसको दाखबारीमा दाख रोप्‍न लगायो र त्‍यसमा केही फलहरू खोज्‍न आयो, तर उसले केही पनि पाएन ।

[7] त्‍यो मानिसले त्‍यसको हेरचाह गर्नेलाई भन्‍यो, ‘हेर, मैले यो दाखको रुखमा तिन वर्षदेखि फल खोजेको छु, तर कुनै पनि फल पाइनँ । यसलाई ढाल । जमिनलाई किन खेर फाल्ने ?’

[8] त्‍यसको हेरचाह गर्नेले जवाफ दिएर भन्‍यो, ‘यस वर्ष यसै होस् । म यसको वरिपरि खनेर मल हाल्नेछु ।

[9] यसले अर्को वर्ष फल फलायो भने, ठिक छ; तर यदि फल फलाएन भने, ढाल्नुहोस्’ ।”

[10] यस बेला येशू विश्रामको समयमा एउटा सभाघरमा सिकाउँदै हुनुहुन्‍थ्यो ।

[11] हेर, त्‍यहाँ अठार वर्षदेखि दुर्बलताको अशुद्ध आत्माले सताएइकी एउटी स्‍त्री थिइन् र तिनी कुप्रो भएर पूर्ण रूपमा उभिन सक्दिन थिइन् ।

[12] जब येशूले तिनलाई देख्‍नुभयो, उहाँले तिनलाई बोलाउनुभयो र भन्‍नुभयो, “तिम्रो दुर्बलताबाट छुटकारा पाऊ ।”

[13] उहाँले तिनीमाथि हात राख्‍नुभयो र तिनी तत्कालै सोझो भएर उभिन् र परमेश्‍वरको महिमा गरिन् ।

[14] तर सभाघरका शासकहरू क्रूद्ध भए, किनभने येशूले विश्रामको दिनमा निको पार्नुभएको थियो । त्‍यसैले, शासकले जवाफ दिएर भिडलाई भने, “काम गर्नको निम्ति छ दिन छन् । यसैले, विश्रामको दिन होइन, अरू दिनमा आओ र निको होओ ।”

[15] प्रभुले जवाफ दिएर भन्‍नुभयो, “पाखण्डीहरू हो ! के तिमीहरू हरेकले विश्रामको दिनमा तिमीहरूका गधा वा गाईलाई फुकाएर पानी खुवाउन लाँदैनौ र ?

[16] त्‍यसैले, यी अब्राहामकी छोरी जसलाई अठार वर्षदेखि शैतानले बन्धनमा पारेको थियो, के तिनको बन्धन विश्रामको दिनमा नै फुकाल्नु पर्दैन र ?”

[17] जब उहाँले यी कुराहरू भन्‍नुभयो, उहाँका विरोध गर्नेहरू सबै लज्‍जित भए, तर सम्पूर्ण भीड उहाँले गर्नुभएका यी सबै महिमामय कार्यहरूमा आनन्‍दित भए ।

[18] तब येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य के जस्‍तो छ र म यसलाई केसँग तुलना गर्न सक्छु ?

[19] यो एउटा रायोको बिउ जस्‍तो हो, जसलाई एउटा मानिसले उसको करेसाबारीमा लगेर छरे र यो एउटा ठूलो रूख भयो र आकाशका चराहरूले यसका हाँगाहरूमा गुँड बनाए ।”

[20] उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्‍यलाई म केसँग तुलना गर्न सक्छु ?

[21] यो एउटा स्‍त्रीले खमिरलाई लिएर तीन मुठी पिठोमा यसलाई नफुलेसम्म मिसाए जस्‍तो हो ।”

[22] येशू यरूशलेम जाने बाटोमा पर्ने हरेक सहर र गाउँमा घुम्‍नुभयो र तिनीहरूलाई सिकाउनुभयो ।

[23] कसैले उहाँलाई भन्‍यो, “प्रभु, के थोरै मानिसहरू मात्र बचाइन्‍छन् त ?” त्‍यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो,

[24] “साँगुरो ढोका भएर पस्‍ने कोसिस गर, किनभने धेरैले प्रयास गर्नेछन्, तर पस्‍न सक्षम हुनेछैनन् ।

[25] एक पटक घरको मालिक उठेर ढोका थुनेपछि, तिमीहरू बाहिर उभिएर ढोका ढक्ढक्याउँदै यसो भन्‍नेछौ, ‘प्रभु, हामीलाई भित्र आउन दिनुहोस् ।’ अनि उहाँले जवाफ दिएर तिमीहरूलाई भन्‍नुहुनेछ, ‘म तिमीहरूलाई चिन्‍दिनँ अर्थात् तिमी कहाँबाट आएको ?’

[26] तब तिमीहरूले भन्‍नेछौ, ‘हामीले तपाईंसँगै खायौँ, पियौँ र तपाईंले हाम्रा गल्लीहरूमा सिकाउनुभयो ।’

[27] तर उहाँले जवाफ दिनुहुनेछ, ‘म तिमीहरूलाई भन्‍दछु, कि तिमीहरू कहाँबाट आएका हौ, म चिन्‍दिनँ । दुष्‍टहरू हो, मबाट गइहाल् ।’

[28] जब तिमीहरूले परमेश्‍वरको राज्‍यमा अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्‍ताहरूलाई देख्‍नेछौ, तिमीहरूलाई बाहिर फ्याँकिनेछ जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ ।

[29] तिनीहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आइपुग्‍नेछन् र परमेश्‍वरको राज्‍यको भोजमा रमाउनेछन् ।

[30] र अब, यो जान कि अन्‍तिमको पहिलो हुनेछ र पहिलोचाहिँ अन्‍तिम हुनेछ ।

[31] लगतै केही फरिसीहरू आए र उहाँलाई भने, “यहाँबाट जानुहोस्, यसलाई छोड्नुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्‍छन् ।”

[32] येशूले भन्‍नुभयो, “जाऊ र त्‍यो फ्याउरोलाई भन, हेर, मैले आज र भोलि भूतहरू निकाल्छु र निको पार्नेछु र तेस्रो दिन मेरो लक्ष्य पुरा गर्नेछु ।

[33] आज, भोलि र पर्सि मैले निरन्‍तरता दिनु आवश्यक छ, किनभने यरूशलेमबाट टाढामा एउटा अगमवक्‍ताहरूलाई मार्नु ग्रहणयोग्य हुँदैन ।

[34] त्‍यहाँ पठाइएका अगमवक्‍ताहरूलाई मार्ने, ढुङ्‌गाले हान्‍ने हे यरूशलेम ! मैले एउटा पोथीले आफ्ना चल्लाहरूलाई बटुलेझैँ तेरा सन्‍तानहरूलाई बटुल्न कति पटक इच्‍छा गरेँ, तर तैँले मानिनस् ।

[35] हेर, तेरो घर त्‍यागिएको छ । म तिमीहरूलाई भन्‍छु, तिमीहरूले यसो नभनेसम्म तिमीहरूले मलाई देख्‍नेछैनौ, “परमप्रभुको नाउँमा आउने धन्‍यको हो ।”

लुकाले लेखेको सुसमाचार — Chapters