Skip to content
Opens in a new window
Listen to this chapter • 6:29

[1] तिनीहरूका सबै दल उठे, र येशूलाई पिलातसका सामु ल्याए ।

[2] तिनीहरूले उहाँलाई यसो भन्‍दै दोष लगाउन सुरु गरे, “हामीले यस मानिसलाई हाम्रो देश भाँड्दै गरेको, कैसरलाई कर तिर्न मनाही गरेको र ऊ आफैलाई ख्रीष्‍ट राजा भनेको भेट्टायौँ ।”

[3] पिलातसले उहाँलाई यसो भन्‍दै सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?” येशूले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “तपाईंले नै त्‍यसो भन्‍दै हुनुहुन्‍छ ।”

[4] पिलातसले मुख्य पूजाहारीहरू र भिडलाई भने, “यी मानिसमा म कुनै पनि दोष भेट्टाउँदिनँ ।”

[5] तर तिनीहरूले बडो जोड दिएर भनिरहेका थिए, “यसले गालीलबाट सुरु गरेर सारा यहूदाभरि यस ठाँउसम्म मानिसहरूलाई भड्काउँदै छ ।”

[6] त्‍यसकारण जब पिलातसले यो सुने, तब उनले उहाँ गालीली हुनुहुन्‍थ्यो कि भनी सोधे ।

[7] जब उनले उहाँ त हेरोदको अधिकारमुनि हुनुहुन्‍छ भन्‍ने थाहा पाए, उनले येशूलाई हेरोदकहाँ पठाए जो ती दिनहरूमा यरूशलेममा नै थिए ।

[8] जब हेरोदले येशूलाई देखे, उनी धेरै खुसी भए, किनकि उनले उहाँलाई धेरै अगाडिदेखि हेर्ने इच्‍छा गरेका थिए । उनले उहाँको बारेमा धेरै कुराहरू सुनेका थिए र उहाँद्वारा केही आश्‍चर्यकर्महरू गरिएको हेर्न चाहन्‍थे ।

[9] हेरोदले येशूलाई धेरै शब्दहरूमा प्रश्‍न गरे, तर येशूले उनलाई कुनै पनि जवाफ दिनुभएन ।

[10] मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूले येशूलाई जोड्दार दोष लगाउँदै उभिएका थिए ।

[11] हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँको अपमान गरे र उहाँलाई गिल्ला गरे अनि असल पोशाक पहिर्‍याएर येशूलाई पिलातसकहाँ फर्काइदिए ।

[12] हेरोद र पिलातस त्‍यसै दिनदेखि एक-अर्कासँग साथी भए (त्‍यस अगि उनीहरू शत्रु थिए) ।

[13] तब पिलातसले मुख्य पूजाहारीहरू र शासकहरू र मानिसहरूका भीडलाई बोलाए,

[14] र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई खराब काम गर्न मानिसहरूलाई अगुवाइ गर्ने व्यक्‍तिको रूपमा मकहाँ ल्यायौ, र हेर, तिमीहरूकै सामुन्‍ने यी मानिसलाई मैले प्रश्‍न गरेँ । तर तिमीहरूले लगाएको आरोपको दोष मैले यी मानिसमा भेट्टाइनँ ।”

[15] हेरोदले पनि दोषी भेट्टाएनन्, किनकि उनले हामीकहाँ फिर्ता पठाए । र हेर, यिनले मृत्‍युदण्ड पाउनेयोग्य कुनै काम गरेका छैनन् ।

[16] यसकारण म यिनलाई सजाय दिनेछु र छोडिदिन्‍छु ।”

[17] अब चाडको समयमा पिलातसले यहूदीका निम्ति एक जना कैदीलाई छोडिदिनुपर्थ्यो ।

[18] तर तिनीहरू एकैसाथ कराउँदै यसो भने, “यस मानिसलाई हाम्रा बिचबाट हटाउनुहोस् र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस् ।”

[19] बारब्बा सहरमा विद्रोह र हत्‍याको कारण गर्दा झ्यालखानमा राखिएको एक मानिस थिए ।

[20] येशूलाई छोड्ने इच्‍छा गरी फेरि पिलातसले तिनीहरूलाई सम्बोधन गरे ।

[21] तर तिनीहरूले चिच्‍च्‍याउँदै यसो भने, “त्‍यसलाई क्रुसमा झुन्ड्‌याओ, क्रुसमा झुन्ड्‌याओ ।”

[22] पिलातसले तेस्रो पटक तिनीहरूलाई भने, “किन, यो मानिसले के दुष्‍ट काम गरेको छ र ? मैले यिनमा मृत्‍युदण्ड दिने कुनै दोष पाइनँ । यसकारण, यसलाई सजाय दिएर छोडिदिनेछु।”

[23] तर तिनीहरू उच्‍च स्वरमा येशूलाई क्रुसमा टाँग्‍ने माग गर्दै लागि परे । र पिलातसलाई उनीहरूका आवाजले विश्‍वस्त तुल्यायो ।

[24] त्‍यसकारण, पिलातसले उनीहरूका माग पुरा गरिदिने निर्णय गरे ।

[25] त्‍यसैले तिनीहरूले माग गरेअनुसार पिलातसले बारब्बालाई छोडिदिए जसद्वारा सहरमा हत्‍या र आतङ्‌क भएको थियो, तर येशूलाई तिनीहरूको इच्‍छाअनुसार सुम्पिदिए ।

[26] तिनीहरूले उहाँलाई टाढा लजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर येशूलाई पछ्याउँदै उहाँको क्रुस बोक्‍न लगाए ।

[27] मानिसहरूको एउटा ठुलो भीड, उहाँका लागि विलाप गर्ने र दुःखित हुने स्‍त्रीहरूले पनि उहाँलाई पछ्याइरहेका थिए ।

[28] तर तिनीहरूतिर फर्केर येशूले भन्‍नुभयो, “यरूशलेमका छोरीहरू हो, मेरो लागि नरोऊ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति रोओ ।

[29] किनभने हेर, दिनहरू आउँदै छन् र तिनीहरूले भन्‍नेछन्, ‘हे बाँझीहरू, नजन्‍माउने कोखहरू, दूध नचुसाउने स्तनहरू धन्‍यका हुन् ।’

[30] त्‍यसपछि तिनीहरूले पहाडहरूलाई भन्‍न थाल्नेछन्, ‘हामीमाथि खस्,’ र डाँडाहरूलाई भन्‍नेछन्, ‘हामीलाई छोप् ।’

[31] यदि रुख हरियो हुँदै तिनीहरूले यस्ता कुराहरू गर्छन् भने, सुख्खा हुँदा के गर्लान् ?”

[32] उहाँसँगै अरू दुई जना अपराधीलाई पनि मृत्‍युदण्ड दिनलाई लगिएको थियो ।

[33] जब तिनीहरू खप्‍परे भन्‍ने ठाँउमा आए, त्‍यहाँ तिनीहरूले उहाँ र ती अपराधीहरूमध्‍ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई बायाँतर्फ क्रुसमा टाँगे ।

[34] येशूले भन्‍नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्‍दैनन् ।” र तिनीहरूले उहाँका वस्‍त्रहरू भाग गर्नलाई चिट्ठा हाले ।

[35] मानिसहरूले उभिएर हेरिरहेका थिए, जहाँ शासकहरूले पनि उहाँलाई यसो भन्‍दै गिल्ला हेरिरहेका थिए, “यो परमेश्‍वरको चुनिएको ख्रीष्‍ट हो भने यसले अरूलाई त बचायो, अब आफैलाई बचाओस् ।”

[36] अनि सिपाहीहरूले पनि सिर्का दिँदै यसो भनी गिल्ला गरे,

[37] “यदि तिमी यहूदीहरूका राजा हौ भने, आफैलाई बचाऊ।”

[38] “यो यहूदीहरूका राजा हो भनी” त्‍यहाँ उहाँको माथि एउटा चिह्न पनि थियो ।

[39] क्रुसमा टाँगिएको एक जना अपराधीले उहाँको गिल्ला गर्दै यसो भन्‍यो, “के तिमी ख्रीष्‍ट होइनौ ? हामीलाई र आफैलाई बचाऊ ।”

[40] तर अर्कोले त्‍यसलाई हप्काउँदै जवाफ दियो, “के तँ परमेश्‍वरको डर मान्‍दैनस्, तँ आफै यस्तो अवस्थामा छस् ?

[41] हामी वास्तवमा यहाँ न्‍यायोचित रूपले छौँ, हामीले हाम्रो कामको उचित परिणाम पाइरहेका छौँ । तर यी मानिसले त कुनै गल्ती काम गरेका छैनन् ।”

[42] र उसले थप्यो, “येशू, तपाईं आफ्नो राज्‍यमा आउनुहुँदा, मलाई सम्झनुहोस् ।”

[43] येशूले त्‍यसलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ ।”

[44] यो छैठौँ घडीको बेला थियो, र नवौँ घडीसम्म सारा देशभरि अन्धकारले ढाक्यो ।

[45] सूर्यले प्रकाश दिन छोड्‌यो । त्‍यसपछि मन्‍दिरको पर्दा बिचबाट च्‍यातियो ।

[46] येशूले उच्‍च स्वरमा कराएर भन्‍नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्‍छु । यसो भनेर उहाँले प्राण त्‍याग्‍नुभयो ।”

[47] जब कप्‍तानले जे भइरहेको थियो सो देखे, उनले यसो भन्‍दै परमेश्‍वरको महिमा गरे, “निश्‍चय नै यिनी एक धार्मिक मानिस थिए ।”

[48] यस ठाउँमा आएका सबै भिडले त्‍यहाँ भएका घटनाहरूलाई देखेपछि तिनीहरू आफ्नो छाती पिट्दै फर्के ।

[49] तर उहाँका चिनाजानीका मानिसहरू र गालीलबाट उहाँलाई पछ्याउने स्‍त्रीहरू टाढै उभिएर यी कुराहरू हेरिरहेका थिए ।

[50] हेर, त्‍यहाँ एक जना योसेफ नाउँ गरेका मानिस थिए । तिनी महासभाका सदस्य थिए, जो एक असल र धार्मिक मानिस थिए ।

[51] (उनी तिनीहरूका निर्णय र कार्यमा सहमत थिएनन्), उनी यहूदिया सहर अरिमाथियाका थिए, जसले परमेश्‍वरको राज्‍यको प्रतिक्षा गरिरहेका थिए ।

[52] यी मानिसले पिलातसकहाँ गएर येशूको शरीर मागे ।

[53] उनले तल लगे र सफा मलमलको कपडामा बेह्रेर चट्टानमा कपेर बनाइएको चिहानमा राखे, जहाँ कहिल्यै कसैलाई राखिएको थिएन ।

[54] यो तयारीको दिन थियो, र विश्राम दिन सुरु हुनै लागेको थियो ।

[55] गालीलदेखि पछ्याउँदै आएका स्‍त्रीहरूले पनि चिहानमा उहाँको शरीर कसरी राखिएको थियो, त्‍यसलाई हेरे ।

[56] तिनीहरू फर्के र सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे । त्‍यसपछि आज्ञाअनुसार विश्राम दिनमा तिनीहरूले विश्राम गरे ।

लुकाले लेखेको सुसमाचार — Chapters