Skip to content
Opens in a new window
Listen to this chapter • 5:14

[1] येशूले मन्‍दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पूजाहारीहरू र शास्‍त्रीहरू येशूकहाँ आए ।

[2] तिनीहरूले उहाँलाई भने, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ ? अथवा कसले तिमीलाई यो अधिकार दियो ?”

[3] उहाँले जवाफ दिएर भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु ।

[4] यूहन्‍नाको बप्‍तिस्‍माको बारेमा मलाई बताओ । यो स्वर्गबाट थियो कि मानिसहरूबाट ?”

[5] उनीहरूले आपसमा भने, “यदि हामीले स्वर्गबाट भन्‍यौँ भने उसले यसो भन्ला ‘त्‍यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ ?’

[6] तर यदि हामीले मानिसबाट हो भन्‍यौँ भने, ‘सबै मानिसले हामीलाई ढुङ्‌गाले हान्‍नेछन्, किनभने उनीहरूले यूहन्‍नालाई अगमवक्‍ता हो भनी विश्‍वास गरेका छन्’ ।”

[7] यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए, “त्‍यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन ।”

[8] येशूले तिनीहरूले भन्‍नुभयो, “म पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिनँ ।”

[9] उहाँले मानिसहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाएर कामदारहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए ।

[10] तोकिएको समयमा तिनीहरूले आफ्नो हिस्साको फल दिऊन् भनी तिनले आफ्नो एक जना नोकरलाई ती कामदारहरूकहाँ पठाए । तर ती कामदारहरूले त्‍यसलाई पिटेर रित्तो हात पठाइदिए ।

[11] तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्‍यसलाई पनि पिटेर बेइज्‍जत गरी रित्तै हात पठाए ।

[12] तिनले तेस्रो नोकरलाई पनि पठाए, तर तिनीहरूले त्‍यसलाई पनि घाइते बनाएर निकालिदिए ।

[13] त्‍यसकारण, दाखबारीका मालिकले भने, ‘अब म के गरूँ ? म आफ्नो प्यारो छोरालाई पठाउनेछु शायद उसलाई त तिनीहरूले आदर गर्लान् कि ।’

[14] तर कामदारहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो । हामी यसलाई मारौँ र सम्पत्तिको हक हाम्रो हुनेछ ।’

[15] अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे । अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान् ?

[16] उनी आएर ती कामदारहरूलाई मार्नेछन् र दाखबारी अरूहरूलाई दिनेछन् ।” यो सुनेर तिनीहरूले भने, “यस्तो कहिल्यै नहोस् !”

[17] तर येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “यो धर्मशास्‍त्रको भनाइको अर्थ के हो, ‘जुन ढुङ्‌गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे त्‍यही नै कुने-ढुङ्‌गो बन्‍यो ?’

[18] त्‍यस ढुङ्‌गामाथि खस्‍ने हरेक चकनाचुर हुनेछ, तर जसमाथि त्‍यो खस्छ त्‍यसले त्‍यसलाई धुलोपिठो पार्नेछ ।”

[19] त्‍यसकारण, शास्‍त्री र मुख्य पूजाहारीहरूले त्‍यति नै बेला उहाँलाई पक्रन खोजे । किनकि तिनीहरूलाई थाहा भयो कि उहाँले यो दृष्‍टान्‍त तिनीहरूकै विरुद्धमा भन्‍नुभएको थियो । तर तिनीहरू मानिसहरूसँग डराउँथे ।

[20] तिनीहरूले मौका हेर्न लागे र येशूले भन्‍नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँकहाँ पठाए ।

[21] उनीहरूले उहाँलाई सोधे, “गुरुज्‍यू, हामी जान्‍दछौँ कि तपाईं ठिक बोल्नुहुन्‍छ र ठिक सिकाउनुहुन्‍छ र कसैको पक्षपात गर्नुहुन्‍न तर तपाईंले परमेश्‍वरको मार्गको सत्‍यता सिकाउनुहुन्‍छ ।

[22] हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन ?”

[23] येशूले उनीहरूको धूर्त्‍याइँलाई बुझेर भन्‍नुभयो,

[24] “मलाई एउटा सिक्‍का देखाओ, यसमा कसको नाम र चित्र खोपिएको छ ?” उनीहरूले भने, “कैसरको ।”

[25] उहाँले उनीहरूलाई भन्‍नुभयो, “त्‍यसो भए जे कैसर को हो, कैसरलाई देओ र जे परमेश्‍वरको हो परमेश्‍वरलाई देओ ।”

[26] मानिसहरूको सामुन्‍ने उहाँले बोल्नुभएका कुरामा शास्‍त्री र मुख्य पूजाहारीहरूले उहाँलाई फसाउन सकेनन् । उहाँको जवाफमा उनीहरू छक्‍क परे र केही पनि भन्‍न सकेनन् ।

[27] त्‍यसपछि मृतकहरूबाट पुनरुत्थान हुँदैन भन्‍ने सदूकीहरू उहाँकहाँ आए,

[28] र उहाँलाई सोधे, “गुरुज्‍यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निसन्‍तान भयो भने भाइले त्‍यसकी पत्‍नीलाई विवाह गरी दाजुको लागि सन्‍तान खडा गरिदिनुपर्छ ।

[29] सात भाइ थिए । जेठोले एउटी पत्‍नी ल्यायो र निसन्‍तान मर्‍यो

[30] अनि माहिलाले पनि त्‍यसलाई विवाह गर्‍यो र निसन्‍तान मर्‍यो ।

[31] साहिँलाले पनि त्‍यसलाई विवाह गर्‍यो अनि त्‍यसरी नै ती सातै जना निसन्‍तान मरे ।

[32] पछिबाट त्‍यो स्‍त्री पनि मरी ।

[33] यसकारण, मृतकबाट पुनरुत्थान हुँदा त्‍यो स्‍त्री तिनीहरूमध्‍ये कसकी पत्‍नी हुनेछे ? किनकि ती सातै जनाले त्‍यसलाई पत्‍नीको रूपमा लिएका थिए ।”

[34] येशूले तिनीहरूलाई भन्‍नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र विवाह गरेर पठाइन्‍छन् ।

[35] तर मृतकबाट जीवित भई उठ्न र अनन्‍त जीवन प्राप्‍त गर्न योग्य ठहरिनेहरूले न विवाह गर्दछन् न त विवाह गरेर पठाइन्‍छन् ।

[36] तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्वर्गदूत समान हुन् र पुनरुत्‍थानका सन्‍तान भएकाले परमेश्‍वरका सन्‍तान हुन् ।

[37] तर मृतकहरू जीवित भई उठ्नेछन् भन्‍नेकुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर भनेर पुकार्दा देखाइदिए ।

[38] उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्‍छ, किनकि सबै उहाँकै निम्ति जिउँछन् ।”

[39] अनि शास्‍त्रीहरूमध्‍ये कुनै-कुनैले भने, “गुरुज्‍यू, तपाईंले सही जवाफ दिनुभयो ।”

[40] उनीहरू कसैले पनि उहाँलाई फेरि प्रश्‍न सोध्‍ने आँट गरेनन् ।

[41] येशूले उनीहरूलाई भन्‍नुभयो, “ख्रीष्‍ट दाऊदका पुत्र हुन् भनेर तिनीहरूले कसरी भन्‍दछन् ?

[42] किनकि भजनको पुस्तकमा दाऊद आफैले भन्‍दछन्, परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस,

[43] जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ ।’

[44] यसकारण, दाऊदले ख्रीष्‍टलाई प्रभु भन्‍दछन् भने फेरि उनी कसरी दाऊदका पुत्र भए ?”

[45] सबै मानिसहरूले सुन्‍ने गरी उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,

[46] “शास्‍त्रीहरूदेखि होशियार रहो जो लामा वस्‍त्रहरूमा सजिएर बजारमा अभिवादन गरिएको मन पराउँछन् अनि सभाघर र भोजहरूमा प्रमुख स्थान चाहन्‍छन् ।

[47] तिनीहरूले विधवाहरूको घर हडप्छन् र लामो-लामो प्रार्थना गरेर देखाउँछन् । तिनीहरूले नै अझै ठुलो दण्ड पाउनेछन् ।”

लुकाले लेखेको सुसमाचार — Chapters