[1] आदिमा वचन हुनुहुन्थ्यो । वचन परमेश्वरसँग हुनुहुन्थ्यो । अनि वचन नै परमेश्वर हुनुहुन्थ्यो ।
[2] उहाँ आदिदेखि नै परमेश्वरसँग हुनुहुन्थ्यो ।
[3] सबै थोकहरू उहाँद्वारा बनिए, र बनिएको कुनै पनि थोक उहाँविना बनिएन ।
[4] उहाँमा जीवन थियो, अनि त्यो जीवन सबै मानिसहरूका लागि ज्योति थियो ।
[5] ज्योति अन्धकारमा चम्किन्छ, अनि अन्धकारले यसलाई जितेन ।
[6] परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्ना थियो ।
[7] उहाँद्वारा सबैले विश्वास गरून् भनेर उहाँ ज्योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आउनुभयो ।
[8] यूहन्ना ज्योति थिएनन्, तर ज्योतिको बारेमा गवाही दिन भनेर उनी आए ।
[9] उहाँ सबै मानिसहरूलाई ज्योति दिनुहुने र संसारमा आउनुहुने सत्य ज्योति हुनुहुन्थ्यो ।
[10] उहाँ संसारमा हुनुहुन्थ्यो र संसार उहाँद्वारा नै बनियो, तर संसारले उहाँलाई चिनेन ।
[11] उहाँ आफ्नैहरूकहाँ आउनुभयो, तर उहाँलाई आफ्नैहरूले स्वीकार गरेनन् ।
[12] तर जतिले उहाँलाई स्वीकार गरे अर्थात् उहाँको नाउँमा विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरका सन्तानहरू हुने अधिकार दिनुभयो ।
[13] यिनीहरू न रगतले, न शारीरिक इच्छाअनुसार, न मानिसको इच्छाअनुसार नै जन्मेका थिए, तर परमेश्वरबाट जन्मेका थिए ।
[14] अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह र सत्यताले पूर्ण महिमा देख्यौँ ।
[15] यूहन्नाले उहाँको बारेमा गवाही दिए, र ठूलो सोरले यसो भने, “मपछि आउनुहुने म भन्दा महान् हुनुहुन्छ, किनकि उहाँ म भन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको व्यक्ति उहाँ नै हुनुहुन्छ ।”
[16] किनकि उहाँको पूर्णताबाट हामी सबैले अनुग्रहमाथि अनुग्रह पाएका छौँ ।
[17] किनकि व्यवस्था मोशाद्वारा दिइयो । अनुग्रह र सत्यता येशू ख्रीष्टद्वारा आयो ।
[18] कसैले पनि परमेश्वरलाई कहिल्यै देखेको छैन । पिताको छातीमा अडेस लाग्नुहुने एक मात्र परमेश्वरले उहाँलाई चिनाउनुभएको छ ।
[19] यहूदीहरूले यरूशलेमबाट पूजाहारीहरू र लेवीहरूलाई “तिमी को हौ ?” भनी सोध्न पठाउँदा यूहन्नाको गवाही यही हो ।
[20] उनले खुला भएर भने, र इन्कार गरेनन्, तर जवाफ दिए, “म ख्रीष्ट होइनँ ।”
[21] त्यसकारण, तिनीहरूले उनलाई भने, “त्यसो भए तिमी को हौ त ? के तिमी एलिया हौ ?” उनले भने, “होइनँ ।” तिनीहरूले भने, “के तिमी अगमवक्ता हौ ?” उनले जवाफ दिए, “होइन।”
[22] तब तिनीहरूले उनलाई भने, “तिमी को हौ, ताकि हामीलाई पठाउनेहरूलाई हामीले जवाफ दिन सकौँ ? तिमी आफ्नै बारेमा के भन्छौ ?”
[23] उनले भने, “म मरुभूमिमा कराइरहेको एउटा आवाज हुँ । ‘परमप्रभुको निम्ति बाटो सोझो बनाओ’ जस्तो यशैया अगमवक्ताले भने ।”
[24] ती पठाइएकाहरू फरिसीहरूबाटका थिए ।
[25] तिनीहरूले उनलाई सोधे र भने, “तिमी न ख्रीष्ट, न एलिया, न अगमवक्ता नै हौ भने किन बप्तिस्मा दिन्छौ ?”
[26] अनि यूहन्नाले तिनीहरूलाई यसो भनेर जवाफ दिए, “म पानीले बप्तिस्मा दिन्छु । तर तिमीहरूका माझमा तिमीहरूले नचिनेको कोही खडा हुनुहुन्छ,
[27] उहाँ जो मपछि आउनुहुन्छ, म उहाँको जुत्ताको फित्ता खोल्न लायकको छैनँ ।”
[28] यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए, जहाँ यूहन्नाले बप्तिस्मा दिइरहेका थिए ।
[29] अर्को दिन यूहन्नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्वरका थुमा !
[30] मपछि आउनुहुने म भन्दा महान् हुनुहुन्छ, किनकि उहाँ म भन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको उहाँ नै हुनुहुन्छ ।
[31] म उहाँलाई चिन्दिनथेँ, तर उहाँलाई इस्राएलीहरूप्रति प्रकट गराउन सकियोस् भनी म पानीले बप्तिस्मा दिँदै आएँ ।”
[32] यूहन्नाले यसरी गवाही दिए, “मैले पवित्र आत्मा स्वर्गबाट ढुकुरझैं ओर्लिरहनुभएको र उहाँमाथि बस्नुभएको देखेँ ।
[33] मैले उहाँलाई चिन्दिनथेँ, तर पानीमा बप्तिस्मा दिन पठाउनुहुनेले मलाई भन्नुभयो, ‘तिमीले जसमाथि पवित्र आत्मा ओर्लिरहनुभएको र उहाँमाथि रहनुभएको देख्छौ, पवित्र आत्माले बप्तिस्मा दिनुहुने उहाँले नै हुनुहुन्छ ।’
[34] मैले देखेको, र उहाँ नै परमेश्वरका पुत्र हुनुहुन्छ भनेर गवाही दिएको छु ।”
[35] फेरि अर्को दिन यूहन्ना आफ्ना दुई जना चेलासँग उभिरहँदा,
[36] तिनीहरूले येशू त्यही बाटो भएर हिँडिरहनुभएको देखे, र यूहन्नाले भने, “हेर, परमेश्वरका थुमा !”
[37] यी दुई चेलाले यूहन्नाले यसो भनेका सुने, र तिनीहरूले येशूलाई पछ्याए ।
[38] तब येशूले तिनीहरूले उहाँलाई पछ्याइरहेका देख्नुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू के चाहन्छौ ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “रब्बी (जसको अर्थ हो, गुरु), तपाईं कहाँ बस्दै हुनुहुन्छ ?”
[39] उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ अनि देख्छौ ।” तब उनीहरू आए र उहाँ बसेको ठाउँ देखे । त्यस दिन तिनीहरू उहाँसँगै बसे, किनभने दसौँ पहर हुन लागेको थियो ।
[40] यूहन्नाले भनेको सुन्ने र येशूलाई पछ्याउनेहरू यी दुई जनामध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए ।
[41] अन्द्रियासले आफ्ना भाइ सिमोनलाई भेट्टाएर भने, “हामीले मसिह (जसलाई ख्रीष्ट भनिन्छ) लाई भेट्टाएका छौँ ।”
[42] उनले आफ्ना भाइलाई येशूकहाँ ल्याए । अनि येशूले उनलाई हेर्नुभयो र भन्नुभयो, “तिमी यूहन्नाका छोरा सिमोन हौ । तिमीलाई केफास (जसको अर्थ पत्रुस हो ) भनिनेछ ।
[43] अर्को दिन जब येशू गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्नुभयो र उनलाई भन्नुभयो, “मलाई पछ्याऊ ।”
[44] फिलिप बेथसेदाका थिए जुन अन्द्रियास र पत्रुसको सहर थियो ।
[45] फिलिपले नथानेललाई भेटे र उनलाई भने, “मोशाको व्यवस्थामा र अगमवक्ताहरूले लेखेका अर्थात् नासरतका योसेफका छोरो येशूलाई हामीले भेट्टाएका छौँ ।”
[46] नथानेलले उनलाई भने, “के नासरतबाट कुनै असल कुरा आउन सक्छ र ?” फिलिपले उनलाई भने, “आएर हेर !”
[47] येशूले नथानेललाई आफूकहाँ आइरहेको देख्नुभयो र उनलाई उनको बारेमा भन्नुभयो, “हेर, कुनै छल नभएका एक इस्राएली !”
[48] नथानेलले उहाँलाई भने, “तपाईं मलाई कसरी चिन्नुहुन्छ ?” येशूले उनलाई जवाफ दिनुभयो र भन्नुभयो, “फिलिपले बोलाउनु भन्दा पहिले तिमी नेभाराको रुखमुनि हुँदा नै मैले तिमीलाई देखेँ ।”
[49] नथानेलले जवाफ दिए, “रब्बी, तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ ! तपाईं इस्राएलका राजा हुनुहुन्छ !”
[50] येशूले तिनलाई जवाफ दिनुभयो र भन्नुभयो, “‘मैले तिमीलाई नेभाराको रुखमुनि देखेँ भनेको कारण, के तिमी मलाई विश्वास गर्छौ ? तिमीले यो भन्दा ठूला-ठूला कुराहरू देख्नेछौ ।”
[51] येशूले भन्नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, “तिमीहरूले स्वर्ग उघ्रिएको, अनि परमेश्वरका स्वर्गदूतहरू मानिसका पुत्रमाथि ओर्लिरहेका र उक्लिरहेका देख्नेछौ ।”