Skip to content
Opens in a new window
Listen to this chapter • 4:34

[1] येशूले माथि हेर्नुहुँदा धनी मानिसहरूलाई दानपत्रमा तिनीहरूका भेटीहरू हालेको देख्‍नुभयो ।

[2] उहाँले एक जना गरिब विधवाले दुई पैसा भेटी हालेको देख्नुभयो ।

[3] यसैले, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिनीहरू सबैले भन्‍दा यस विधवाले बढी दिई ।

[4] यिनीहरू सबैले प्रशस्तताबाट भेटीहरू दिए । तर यस विधवाले आफू गरिब भएर पनि, जिउनका लागि यिनीसंग जे-जति थियो सबै दिई ।”

[5] अब कसैले मन्‍दिरको बारेमा भने, “दानहरू र सुन्‍दर-सुन्‍दर ढुङ्‌गाहरूले सजाइएको हेर्नुहोस् ।” उहाँले भन्‍नुभयो,

[6] “जसरी यी सबै थोकहरू तिमीहरू देख्छौ, यस्ता दिनहरू आउनेछन् जुन बेला एकमाथि अर्को ढुङ्‌गा रहनेछैन, सबै भत्किनेछन् ।”

[7] त्‍यसकारण, तिनीहरूले उहाँलाई यसो भन्‍दै सोधे, “गुरुज्‍यू, यी कुराहरू कहिले हुनेछन् ? र यी सबै घटनाहरू हुँदा के-कस्ता चिह्नहरू हुनेछन् ?”

[8] येशूले जवाफ दिनुभयो, “होशियार रहो ताकि तिमीहरू धोकामा नपर । धेरै जना मेरो नाउँमा यसो भन्‍दै आउनेछन्, ‘म उही हुँ र समय नजिक आएको छ ।’ तिमीहरू तिनीहरूका पछि नजाओ ।

[9] जब तिमीहरूले लडाइँ र खैलाबैलाहरू सुन्‍नेछौ, तब भयभीत नहोओ, किनकि यी कुराहरू पहिले हुनैपर्छ, तर अन्‍त्‍य भने तुरुन्‍तै हुनेछैन ।”

[10] तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “राज्‍य-राज्‍यको विरुद्धमा र देश-देशको विरुद्धमा उठ्नेछन् ।

[11] त्‍यहाँ धेरै भूकम्पहरू जानेछन्, र धेरै ठाउँमा महामारी र अनिकालहरू हुनेछन् । त्‍यहाँ डरलाग्दा घटनाहरू हुनेछन् र आकाशमा ठुला-ठुला चिह्नहरू हुनेछन् ।

[12] तर यी सबै कुरा हुन अगाडि, तिनीहरूका हात तिमीहरूमाथि पर्नेछन् र तिनीहरूले तिमीहरूलाई सताउनेछन्, सभाघरहरूमा सुम्पिदिनेछन् र झ्यालखानामा हाल्नेछन्, तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू र हाकिमहरूका अगाडि ल्याउनेछन् ।

[13] यसले तिमीहरूको गवाहीका लागि अवसरतिर डोर्‍याउनेछ ।

[14] त्‍यसकारण, तिमीहरूले बचाउको लागि के भन्‍ने भनेर अगिबाटै हृदयमा नसोच ।

[15] तिमीहरूका विरोधीहरूले सबै कुराको खण्डन गर्न नसकून् भनेर म तिमीहरूलाई वचन र बुद्धि दिनेछु ।

[16] तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिमीहरूमध्‍ये केही मृत्‍युका लागि सुम्पिनेछौ ।

[17] मेरो नाउँको खातिर सबैले तिमीहरूलाई घृणा गर्नेछन् ।

[18] तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्‍ट हुनेछैन ।

[19] तिमीहरूको सहनशीलतामा तिमीहरूले प्राण प्राप्‍त गर्नेछौ ।

[20] जब तिमीहरूले यरूशलेमलाई सेनाले घेरेको देख्‍नेछौ, तब त्‍यसको विनाश नजिकै छ भनी जान ।

[21] तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् र जो सहरको बीचमा छन् तिनीहरू सहर बाहिर भागून्, र बाहिर हुनेहरू सहरभित्र नपसून् ।

[22] यी दिनहरू बदला लिने दिनहरू हुनेछन्, यसैले लेखिएका सबै कुराहरू पुरा हुनेछन् ।

[23] हाय ती दिनमा गर्भवती र दूध चुसाउने स्‍त्रीहरू ! त्‍यस देशमाथि महासङ्‌कष्‍ट आउनेछ, र ती मानिसहरूमाथि क्रोध आइपर्नेछ ।

[24] तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी भएर जानेछन्, र गैरयहूदीहरूको समय पुरा नभएसम्म गैरयहूदीहरूले यरूशलेमलाई खुट्टामुनि कुल्चेर राख्‍नेछन् ।

[25] सूर्य, चन्‍द्रमा र ताराहरूमा चिह्नहरू देखा पर्नेछन् । अनि समुद्रका गर्जनहरू र छालहरूबाट पृथ्वीमा भएका जाति-जातिहरू कष्‍टमा परी व्याकुल हुनेछन् ।

[26] संसारमा आइपर्न लागेका घटनाहरूका आशङ्‌काले मानिसहरू मुर्छित हुनेछन्, किनकि आकाशका शक्‍तिहरू डग्मगाउनेछन् ।

[27] त्‍यसपछि तिनीहरूले मानिसका पुत्रलाई ठूलो शक्‍ति र महामहिमाका साथ बादलमा आउँदै गरेको देख्‍नेछन् ।

[28] जब यी कुरा हुन आउनेछन्, उठ र आफ्ना शिरहरू ठाडो पारेर हेर, तिमीहरूको उद्धारको दिन नजिकै छ ।”

[29] येशूले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “नेभाराको रुखलाई हेर र अरू सबै रुखहरूलाई पनि ।

[30] जब तिनहरूले पालुवा फेरेको तिमीहरूले देख्छौ, तब गृष्म ऋतु नजिकै छ भनी तिमीहरू आफैले थाहा पाउनेछौ ।

[31] त्‍यसैले पनि, जब तिमीहरूले यी थोकहरू भएको देख्‍नेछौ, परमेश्‍वरको राज्‍य नजिकै छ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।

[32] तिमीहरूलाई म साँच्चै भन्‍दछु, यी सब कुराहरू पुरा नभइन्जेलसम्म यो पुस्ता बितेर जानेछैन ।

[33] स्वर्ग र पृथ्वी टलेर जानेछ, तर मेरा वचनहरू कहिल्यै टल्नेछैनन् ।

[34] तर तिमीहरू आफै होशियार रहो । त्‍यसकारण तिमीहरूको हृदय विलास, मतवालापन र जीवनको फिक्रीले नभरियोस् । नत्र, त्‍यो दिन तिमीहरूमाथि अचानक आइपर्ला ।

[35] किनकि यसरी नै सारा पृथ्वी भरि जिउने हरेकमाथि त्‍यो पासोझैँ आइपर्नेछ ।

[36] तर हर समय सतर्क रहो, र हुन आउने सम्पूर्ण कुराहरूबाट उम्कनलाई बलियो हुन सक र मानिसका पुत्रका अगाडि खडा हुनलाई प्रार्थना गर्दै रहो ।”

[37] दिउँसोको समयमा उहाँले मन्‍दिरमा सिकाउनुहुन्‍थ्यो र साँझमा उहाँ बाहिर जानुहुन्‍थ्यो, र डाँडामा रात बिताउनुहुन्‍थ्यो जसलाई जैतून भनिन्‍छ ।

[38] सबै मानिसहरू उहाँका कुरा सुन्‍न बिहानै मन्‍दिरमा आउँथे ।

लुकाले लेखेको सुसमाचार — Chapters