Skip to content
Opens in a new window
Listen to this chapter • 5:28

[1] अब यी कुराहरूपछि, प्रभुले अरू सत्तरी जनालाई नियुक्‍त गर्नुभयो, र जहाँ उहाँ आफैँ जान चाहनुहुन्‍थ्यो हरेक सहर र ठाउँमा तिनीहरूलाई उहाँको अगि-अगि जोडी-जोडी बनाएर पठाउनुभयो ।

[2] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन् । यसकारण फसलका प्रभुसँग जरुरी प्रार्थना गर, ताकि उहाँले खेतालाहरूलाई उहाँको फसलमा पठाऊन् ।

[3] आफ्नो बाटो लाग। हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडा जस्‍तै पठाउँदै छु ।

[4] पैसाको थैली नबोक, यात्राको निम्ति झोला नबोक, न त फाल्तु चप्‍पलहरू, र बाटोमा कसैलाई अभिवादन नगर ।

[5] तिमीहरू जुन घरमा पस्छौ, पहिला यसो भन “यस घरमा शान्‍ति होस् ।”

[6] यदि एउटा शान्‍तिप्रिय मानिस त्‍यहाँ छ भने, तिमीहरूको शान्‍ति उसँग रहनेछ, तर यदि होइन भने, यो तिमीहरूमा नै फर्कनेछ ।

[7] तिनीहरूले जे दिन्‍छन्, त्‍यहीँ खादै र पिउँदै त्‍यही घरमा रहो, किनकि खेताला उसको ज्‍यालाको योग्य हुन्‍छ । एउटा घरबाट अर्को घरमा नजाओ ।

[8] तिमीहरू जुन सहरमा जान्‍छौ, त्‍यहाँ तिनीहरूले स्वागत गरे भने तिमीहरूका अगि जे राखिएको छ खाओ,

[9] र त्‍यहाँ भएका बिरामीहरूलाई निको पार । तिनीहरूलाई भन, “परमेश्‍वरको राज्‍य तिमीहरूको नजिक आएको छ ।”

[10] तर तिमीहरू जुन सहरमा प्रवेश गर्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गरेनन् भने, त्‍यस सहरका सडकहरूमा गएर यसो भन,

[11] “तिमीहरूको सहरबाट हाम्रा खुट्टाहरूमा टाँसिएका धुला पनि तिमीहरूको विरुद्ध टकटकाउँदछौं । तर यो जान कि परमेश्‍वरको राज्‍य तिमीहरूको नजिक आएको छ ।”

[12] म तिमीहरूलाई भन्‍दछु, कि न्‍यायको दिन त्‍यस सहरलाई भन्‍दा सदोमका निम्ति सह्य हुनेछ ।

[13] खोराजीन, तँलाई धिक्‍कार छ ! बेथसेदा, तँलाई पनि धिक्‍कार छ ! यदि तिमीहरूमा गरिएका शक्‍तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए, तिनीहरूले भाङ्‌ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसक्थे ।

[14] तर न्‍यायको दिनमा तिमीहरूलाई भन्‍दा टुरोस र सदोमलाई बढी सहज हुनेछ ।

[15] तँ कफर्नहुम, के तँ स्वर्गतिर उचालिन्‍छस् जस्‍तो लाग्छ ? होइन, तँलाई पातालमा खसालिनेछ ।

[16] जसले तिमीहरूले भनेको सुन्‍छ, त्‍यसले मैले भनेको सुन्‍छ, जसले तिमीहरूलाई इन्कार गर्छ, त्‍यसले मलाई इन्कार गर्छ, र जसले मलाई इन्कार गर्छ, त्‍यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ ।

[17] सत्तरी जना आनन्‍दित हुँदै फर्के र भने, “प्रभु, तपाईंको नाउँमा भूतहरू पनि हाम्रो वशमा आउँछन् ।”

[18] येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुली जस्‍तै खसेको देखिरहेको थिएँ ।

[19] हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्‍छीहरू कुल्चने र शत्रुका सबै शक्‍तिमाथि कुल्चने अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि पुर्‍याउनेछैन ।

[20] तथापि आत्माहरू तिमीहरूको वशमा पर्छन् भनेर मात्र नरमाओ, तर तिमीहरूको नाम स्वर्गमा लेखिएका छन् भनेर अझ बढी आनन्‍दित होओ ।”

[21] त्‍यही समय उहाँ पवित्र आत्मामा आनन्‍दित हुनुभयो, “हे पिता, पृथ्वी र स्वर्गका प्रभु, म तपाईंको प्रशंसा गर्छु, किनभने तपाईंले यी कुराहरू बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभयो र साना बालकहरूजस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो । हे पिता, किनभने यो नै तपाईंको दृष्‍टिमा असल थियो ।”

[22] सबै कुराहरू पिताबाट मलाई सुम्पिएको छ र पितालेबाहेक पुत्र को हो भनी कसैले जान्‍दैन र पुत्रले उहाँलाई प्रकट गर्ने इच्‍छा गरेकोले बाहेक पिता को हो भनी कसैले जान्‍दैन ।”

[23] चेलाहरूतिर फर्केर उहाँले गुप्‍त रूपले भन्‍नुभयो, “तिमीहरूले देखेका कुरा देख्‍नेहरू धन्‍यका हुन् ।

[24] म तिमीहरूलाई भन्‍दछु, धेरै अगमवक्‍ताहरू र राजाहरूले तिमीहरूले देखेको कुरा देख्‍ने इच्‍छा गरे र तिनीहरूले देखेनन्, तिमीहरूले सुनेको कुरा सुन्‍ने इच्‍छा गरे र पनि तिनीहरूले सुनेनन् ।”

[25] हेर, एउटा यहूदी व्यवस्थाका शिक्षक खडा भएर यसो भन्‍दै उहाँलाई जाँचे “गुरु, मैले अनन्‍त जीवन पाउन के गर्नुपर्छ ?”

[26] येशूले तिनलाई भन्‍नुभयो, “व्यवस्थामा के लेखिएको छ ? तिमीहरू यसलाई कसरी पढ्छौ ?”

[27] तिनले जवाफ दिँदै भने, “तिमीले आफ्ना सारा हृदयले, आफ्ना सारा प्राणले, आफ्ना सारा सामर्थ्यले र आफ्ना सारा मनले परमेश्‍वरलाई प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफैलाई जस्‍तै प्रेम गर्नू ।”

[28] येशूले तिनलाई भन्‍नुभयो, “तिमीले ठिकसँग जवाफ दियौ । त्यसै गर, र तिमी जिउनेछौ ।”

[29] तर ती व्यवस्थाको शिक्षकले आफैलाई धर्मी ठहराउने विचारले येशूलाई यसो भने, “मेरो छिमेकी को हो ?”

[30] येशूले जवाफ दिँदै भन्‍नुभयो, एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदै थियो । ऊ लुटेराहरूको हातमा पर्‍यो, जसले उसका सम्पत्तिहरू लुटे र उसलाई पिटे, अनि उसलाई अधमरोअवस्थामा छोडे ।

[31] त्‍यसै बेला एक जना पूजाहारी त्‍यही बाटो भएर झरे र जब उनले त्‍यसलाई देखे, तिनी अर्को छेउबाट भएर गए ।

[32] त्यसै गरी, एक जना लेवी पनि त्‍यस ठाउँमा आइपुगे र त्‍यसलाई देखे र अर्को छेउबाट भएर गए ।

[33] तर एक जना सामरी पनि यात्रा गर्दा त्‍यो भएको ठाउँमा आइपुगे । जब उनले त्‍यसलाई देखे, उनी दयाले भरिए ।

[34] उनी त्‍यसको नजिक गए र उसको घाउमा पट्टी बाँधिदिए अनि तेल र दाखमद्य लगाइदिए । उनले आफ्नो जनावरमाथि राखेर त्‍यसलाई पौवामा ल्याए र उसको हेरचाह गरे ।

[35] अर्को दिन उनले दुई दिनार झिकेर पौवाको मालिकलाई दिएर भने, “यसको हेरचाह गर, तिमीले गरेको अन्‍य खर्च पछि म फर्कंदा तिमीलाई तिर्नेछु ।”

[36] यी लुटेराहरूको हातमा पर्नेको छिमेकी यी तीन जनामध्‍ये कुनचाहिँ हो जस्‍तो तिमीलाई लाग्छ ?”

[37] ती शिक्षकले भने, “जसले त्‍यसलाई दया देखायो ।” येशूले तिनलाई भन्‍नुभयो, “जाऊ र तिमीले पनि त्‍यसै गर ।”

[38] जब तिनीहरू यात्रा गरिरहेका थिए, उहाँ एउटा गाउँमा पस्‍नुभयो, र मार्था नाउँ गरेकी एउटी स्‍त्रीले उहाँलाई तिनको घरमा स्वागत गरिन् ।

[39] मरियम नाउँ गरेकी तिनकी एउटी बहिनी थिइन्, जो प्रभुको चरणमा बसेर उहाँका वचन सुन्‍दथिन् ।

[40] तर मार्था खाना पकाउने काममा अत्ति नै व्यस्त थिइन् । तिनी येशूकहाँ आइन्, र भनिन्, “प्रभु, मेरी बहिनीले पकाउने काममा मलाई एकलै छोडेकी तपाईंलाई थाहा छैन ? त्‍यसकारण, मलाई सहायता गर्न तिनलाई भनिदिनुहोस् न।”

[41] तर प्रभुले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराको बारेमा चिन्‍ता गर्दछ्यौ ।

[42] तर एउटा मात्र कुरा आवश्यक छ । मरियमले सबै भन्‍दा असल कुरा चुनेकी छिन् जुन कुरा तिनीबाट खोसिनेछैन ।”

लुकाले लेखेको सुसमाचार — Chapters