Skip to content
Opens in a new window
Listen to this chapter • 9:26

[1] धेरैले हाम्रा बिचमा घटेका र पुरा भएका यी घटनाहरूको विवरण लेख्‍ने प्रयास गरेका छन् ।

[2] तिनीहरूले यी कुरा हामीलाई भर्खरै सुम्‍पिदिए, जो सुरुदेखि नै प्रत्‍यक्षदर्शी र वचनका सेवकहरू भएका छन् ।

[3] माननीय थियोफिलस, त्‍यसैले मलाई पनि यी सबै कुराहरूलाई अनुसन्धान गरी ठिकसित क्रमबद्ध रूपमा सुरुदेखि घटेका घटनाहरूलाई लेख्‍न असल लाग्यो ।

[4] त्‍यसैले, तपाईंलाई सिकाइएको सत्‍यताबारे यी कुराहरू तपाईंलाई थाहा होस् ।

[5] यहूदाका राजा हेरोदको समयमा, त्‍यहाँ जकरिया नाउँ गरेका एक जना पूजाहारी थिए जो अबियाको दलका थिए । उनकी पत्‍नी हारुन वंशकी छोरी थिइन् जसको नाउँ एलीशिबा थियो ।

[6] परमेश्‍वरको दृष्‍टिमा तिनीहरू दुवै धर्मी थिए । तिनीहरूले परमेश्‍वरका सबै आज्ञाहरू पालना गर्दथे र निर्दोष जीवन जिउँथे ।

[7] तर तिनीहरूको कुनै सन्‍तान थिएन, किनकि एलीशिबा बाँझी थिइन् र तिनीहरू दुवै जना वृद्ध भइसकेका थिए ।

[8] एक दिन आफ्नो दलको पालोअनुसार जकरिया पूजाहारी सेवा गर्न परमेश्‍वरको उपस्थितिमा थिए ।

[9] त्‍यहाँको परम्पराअनुसार चिट्ठाद्वारा पूजाहारीहरू आफ्नो सेवा गर्ने पालोअनुसार परमप्रभुको मन्‍दिरभित्र धूप बाल्नलाई छानिन्‍थे । त्‍यसैले, उनको नाउँ पर्‍यो ।

[10] जब तिनी धूप बाल्दै थिए, बाहिर त्‍यही समयमा मानिसको पुरै भीडले प्रार्थना गरिरहेको थियो ।

[11] ठिक त्‍यसै बेला परमप्रभुका एउटा दूत उनीकहाँ देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए ।

[12] जब जकरियाले स्वर्गदूतलाई देखे, तब उनी साह्रै डराए र आत्तिए ।

[13] तर स्वर्गदूतले उनलाई भने, “जकरिया नडराऊ, किनकि तिम्रो प्रार्थनाको सुनाइ भएको छ । तिम्री पत्‍नी एलीशिबाले तिम्रो लागि एउटा छोरा जन्‍माउनेछिन् र तिमीले उनको नाउँ यूहन्‍ना राख्‍नेछौ ।

[14] तिमीमा खुसी र आनन्‍द हुनेछ र उनको जन्‍ममा धेरै मानिसहरू आनिन्‍दित हुनेछन् ।

[15] परमप्रभुको दृष्‍टिमा उनी महान् हुनेछन् र उनले दाखमद्य पिउनेछैनन् । उनी आमाको गर्भमा नै पवित्र आत्माले भरिनेछन् ।

[16] अनि उनले इस्राएलका धेरै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काउनेछन् ।

[17] उनी एलियाको आत्माको शक्‍तिमा परमप्रभुको अगि-अगि जानेछन् । उनले बुबाहरूको हृदय आफ्ना छोराछोरीतिर फर्काउनेछन् र अनाज्ञाकारीहरूलाई बुद्धि र धार्मिकतामा हिँडाउनेछन् । उनले मानिसहरूलाई परमप्रभुको निम्ति तयार गर्नका लागि त्‍यसो गर्नेछन् ।”

[18] जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा पुरा हुनेछ भनी मैले कसरी थाहा पाउने ?” किनकि म बुढो भइसकेँ र मेरी पत्‍नी पनि बुढी भइसकिन् ।”

[19] तब स्वर्गदूतले जवाफ दिए र उनलाई भने, “म गब्रिएल हुँ, जो परमेश्‍वरको उपस्थितिमा उभिन्‍छु । तिम्रो निम्ति बोल्न र शुभ खबर दिन मलाई पठाइएको हो ।”

[20] हेर, ती कुरा हुने समयसम्म तिमी शान्‍त रहनेछौ र बोल्न सक्‍ने छैनौ, किनकि तिमीले मेरो वचनमा विश्‍वास गरेनौ, जुन ठिक समयमा पुरा हुनेछ ।”

[21] अनि जकरियाले लामो समयसम्म मन्‍दिरमा समय बिताइरहेकाले मानिसहरू अचम्म मान्‍दै पर्खिरहेका थिए ।

[22] तर, जब तिनी बाहिर आए, तब उनी तिनीहरूसँग बोल्न सकेनन् र उनले मन्‍दिरभित्र एउटा दर्शन देखे भनी तिनीहरूले महसुस गरे । उनले तिनीहरूलाई इसारा मात्र गरे, तर बोल्न सकेनन् ।

[23] जब तिनको सेवाको समय समाप्‍त भयो, तब तिनी आफ्नो घरमा फर्किए ।

[24] ती दिनहरूपछि, तिनकी पत्‍नी एलीशिबा गर्भवती भइन् । पाँच महिनासम्म उनले यसो भन्‍दै आफूलाई लुकाइन् ।

[25] “परमप्रभु परमेश्‍वरले मेरो लागि यो गर्नुभएको छ, उहाँले ममाथि निगाह गर्नुभयो र मानिसहरूका बिचबाट मेरो निन्‍दा हटाउनुभयो ।

[26] एलीशिबा गर्भवती भएको छैठौँ महिनामा, परमेश्‍वरले गालीलको सहर नासरतमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो ।

[27] परमेश्‍वरले तिनलाई एउटा कन्‍याकहाँ पठाउनुभयो जसको योसेफ भन्‍ने मानिससँग मगनी भएको थियो । तिनी दाऊदका वंशका थिए र कन्‍याको नाउँ मरियम थियो ।

[28] उनी तिनीकहाँ आए र भने, “तिमीलाई अभिवादन ! तिमीले परमेश्‍वरबाट धेरै निगाह पाएकी छ्यौ ।”

[29] तर उनको वचन सुनेर तिनले यो कस्तो प्रकारको अभिवादन हो भनी तिनी विचलित भइन् र चकित परिन् ।

[30] तब स्वर्गदूतले तिनलाई भने, “मरियम, तिमी नडराऊ । किनकि तिमीले परमेश्‍वरबाट निगाह प्राप्‍त गरेकी छ्यौ ।

[31] हेर, तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्‍माउनेछ्यौ । तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्यौ ।

[32] उहाँ महान हुनुहुनेछ र उहाँ सर्बोच्‍च परमेश्‍वरको पुत्र भनेर चिनिनु हुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पिता दाऊदको सिंहासन दिनुहुनेछ ।

[33] उहाँ महान् हुनुहुनेछ र उहाँ सर्वोच्‍च परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ ।

[34] तब मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ जब कि अहिलेसम्म म कुनै मानिससँग सुतेकै छैन ?”

[35] अनि स्वर्गदूतले जवाफ दिए, र तिनलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्‍चका परमेश्‍वरको शक्‍तिले तिमीलाई ढाक्‍नेछ । त्‍यसैले, जो पवित्र जन्‍मनुहुनेछ उहाँलाई परमेश्‍वरका पुत्र भनेर बोलाइनेछ ।

[36] अनि हेर, तिम्री नातेदार एलीशिबाले पनि तिनको वृद्धावस्थामा एउटा छोरा जन्‍माउन गर्भवती भएकी छन् । उनलाई बाँझी भनिए तापनि तिनी अहिले ६ महिनाको गर्भवती अवस्थामा छिन् ।

[37] परमेश्‍वरको लागि कुनै पनि कुरा असम्भव हुनेछैन ।”

[38] मरियमले भनिन्, “हेर, म परमप्रभुकी दासी एक स्‍त्री हुँ । तपाईंको सन्‍देशअनुसार नै मेरो निम्ति होस् ।” त्‍यसपछि स्वर्गदूत तिनीबाट बिदा भए ।

[39] त्‍यसपछि मरियम ती दिनहरूमा हतारिँदै यहूदाको पहाडी देशको एउटा सहरमा गइन् ।

[40] जहाँ उनी जकरियाको घरमा गइन् र एलीशिबालाई अभिवादन गरिन् ।

[41] जब एलीशिबाले मरियमको अभिवादन सुनिन्, उनको गर्भमा भएको बालक उफ्रियो र एलीशिबा पवित्र आत्माले भरिइन् ।

[42] तिनले चर्को सोरले मरियमलाई यसो भनिन्, “स्‍त्रीहरूमा तिमी धन्‍यकी हौ र तिम्रो गर्भको फल धन्‍यको होस् ।”

[43] तब यो कसरी हुन कि सक्छ मेरा प्रभुकी आमा मकहाँ आउनुभयो ?

[44] तब हेर, जब तिम्रो अभिवादनको आवाज मेरो कानमा आयो, मेरो गर्भमा भएको बालक आनन्‍दले उफ्रियो ।

[45] अनि जसले विश्‍वास गरेकी छिन्, धन्‍यकी हुन् किनकि जुन कुराहरू तिनलाई परमप्रभुबाट भनिएको थियो ती पुरा हुनेछन् ।”

[46] मरियमले भनिन्, “मेरो प्राण परमप्रभुमा आनन्‍दित छ ।

[47] र मेरो आत्मा परमप्रभु मेरो उद्धारकमा आनन्‍दित हुँदछ ।

[48] किनकि उहाँले आफ्नी दासी स्‍त्रीको दीनअवस्थामा ध्‍यान दिनुभएको छ । अब हेर, अहिलेबाट सबै पुस्ताहरूले मलाई धन्‍यकी भन्‍नेछन् ।

[49] किनकि सर्वशक्‍तिमान्‌ले मेरो लागि महान् कार्य गर्नुभएको छ, र उहाँको नाउँ पवित्र छ ।

[50] जसले उहाँलाई आदर गर्छ, एउटा पुस्तादेखि एर्को पुस्तसम्म उहाँको दया रहिरहन्‍छ ।

[51] उहाँका बाहुलीले शक्‍तिशाली कामहरू गरेका छन् । आफ्नो हृदयमा घमण्डी विचार भएकाहरूलाई उहाँले तितर-बितर पार्नुभएको छ ।

[52] उहाँले राजकुमारहरूलाई तिनीहरूका सिंहासनबाट खसाल्नुभएको छ । अनि तल्लो अवस्थाकाहरूलाई उठाउनुभएको छ ।

[53] उहाँले भोकाहरूलाई असल थोकहरूले भरिदिनुहुन्‍छ, तर धनीहरूलाई रित्तै हात पठाउनुहुन्‍छ ।

[54] त्‍यसकारण, आफ्नो दयालाई सम्झना गरेर, उहाँले आफ्नो दास इस्राएललाई सहायता दिनुभएको छ ।

[55] जसरी उहाँले हाम्रा पुर्खाहरूलाई भने जस्‍तै, अब्राहाम र उनका वंशसँग सदासर्वदा गर्नुहुनेछ ।”

[56] मरियम झन्डै तीन महिना एलीशिबासँग बसिन् र अनि आफ्नो घरमा फर्किन् ।

[57] अब एलीशिबाको बालक जन्‍माउने बेला आयो, र तिनले एउटा छोरा जन्‍माइन् ।

[58] जब तिनका छिमेकी र नातेदारहरूले परमप्रभुले तिनीमाथि महान् दया गर्नुभएको कुरा सुने, तब उनीहरू तिनीसँग आनन्‍दित भए ।

[59] अब बालक जन्‍मेको आठौँ दिनमा तिनीहरू बालकको खतना गर्न गए र तिनीहरूले उनलाई आफ्ना पिताको नाउँबाट नै जकरिया भनेर बोलाउन सक्थे ।

[60] तर उनकी आमाले जवाफ दिएर भनिन्, “होइन, उनलाई यूहन्‍ना भनेर बोलाइनेछ ।”

[61] तिनीहरूले तिनलाई भने, “तिम्रा नातेदारहरूका बीचमा यो नाउँ भएको त्‍यहाँ कोही पनि छैन ।”

[62] तिनीहरूले उनको बुबासँग इसारा गरेर बालकको नाउँ के राख्‍न चाहेका छन् भनेर तिनलाई सोधे ।

[63] उनले लेख्‍नका लागि पाटी मागे, र त्‍यसमा “तिनको नाउँ यूहन्‍ना हो” भनेर लेखे । त्‍यो देखेर तिनीहरू सबै अचम्मित भए ।

[64] तुरुन्‍तै उनको मुख खुल्यो र जिब्रोको बन्धन टुट्‌यो, अनि तिनले बोल्न सुरु गरे र परमेश्‍वरको प्रशंसा गरे ।

[65] तिनीहरूका वरिपरि बस्‍नेहरूको बीचमा भय उत्पन्‍न भयो र त्‍यहाँ भएका कुराहरू यहूदाको पहाडी मुलुकभरि नै फैलियो ।

[66] त्‍यसपछि यी कुरा सुन्‍ने सबैले आफ्नो हृदयमा राख्‍दै भने, “त्‍यसो भए, अब यो बालक कस्तो हुनेछ ?” किनकि परमप्रभुको हात त्‍यस बालकसँग थियो ।

[67] उनका पिता जकरिया पवित्र आत्माले भरिए र यसो भन्‍दै अगमवाणी गरे,

[68] “इस्राएलका परमप्रभु परमेश्‍वरको प्रशंसा होस्, किनभने उहाँले आफ्ना मानिसहरूका लागि सहायता र उद्धारको काम गर्नुभएको छ ।

[69] उहाँले हाम्रा निम्ति मुक्‍तिको सीङ्लाई उहाँका दास दाऊदको घरानाबाट शक्‍तिशाली रूपमा खडा गर्नुभएको छ ।

[70] प्राचीन कालमा उहाँका पवित्र अगमवक्‍ताहरूका मुखद्वारा बोल्नुभए झैँ भयो ।

[71] उहाँले हाम्रा शत्रुहरू र हामीलाई घृणा गर्नेहरूबाट छुटकारा दिनुहुनेछ ।

[72] यो उहाँले हाम्रा पुर्खाहरूप्रति दया प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्नलाई गर्नुभएको छ ।

[73] त्‍यो करारचाहिँ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको शपथ हो ।

[74] उहाँले हामीलाई हाम्रा शत्रुहरूका हातबाट मुक्‍त गर्न र उहाँको सम्मुख हाम्रो सारा जीवनभर

[75] पवित्रता र धार्मिकतामा उहाँको सेवा गर्नलाई योग्यको बनाउने शपथ खानुभयो ।

[76] हे बालक, तिमी सर्वोच्‍चका अगमवक्‍ता कहलाइनेछौ, किनभने तिमी मानिसहरूका निम्ति मार्ग तयार पार्न प्रभुको अगि-अगि जानेछन् ।

[77] तिनीहरूका पाप-क्षमाद्वारा उहाँले आफ्ना मानिसहरूलाई मुक्‍तिको ज्ञान दिनुभएको छ ।

[78] हाम्रा परमेश्‍वरले उहाँको कोमल कृपाको कारणले हामीलाई क्षमा गर्नुहुनेछ । यही कृपाद्वारा उहाँ हामीकहाँ बिहानको सूर्यझैँ आउनुहुनेछ ।

[79] मृत्‍युको अन्धकारको छायाँमा बस्‍ने मानिसहरूमाथि उहाँ चम्कनुहुनेछ । उहाँले हाम्रा गोडाहरूलाई शान्‍तिको मार्गतिर डोर्‍याउनुहुन्‍छ ।”

[80] त्‍यसपछि बालक हुर्के र आत्मामा बलियो भए, र उनी इस्राएलमा देखा नपरेसम्म उजाड-स्थानमा नै बसे ।

लुकाले लेखेको सुसमाचार — Chapters