Skip to content
Opens in a new window
Listen to this chapter • 7:17

[1] येशूले सबैकुरा सुनिरहेका मानिसहरूलाई भनिसक्‍नुभएपछि उहाँ कफर्नहुममा प्रवेश गर्नुभयो ।

[2] एउटा कप्‍तानको दास जो उनका लागि अति नै प्यारो थियो, ऊ साह्रै बिरामी भएर मर्नै आँटेको थियो ।

[3] तर उनले येशूको बारेमा सुनेको हुनाले कप्‍तानले यहूदीहरूका धर्म-गुरुहरूलाई येशूकहाँ गएर उहाँ आएर आफ्नो दासलाई मर्नदेखि बचाइ दिनुहोस् भनी पठायो ।

[4] जब तिनीहरू येशूको नजिक आए, तब तिनीहरूले उहाँसँग यसो भन्‍दै बिन्‍ती गरे, तिनी योग्यका छन् यो तिनका निम्ति तपाईंले गरिदिनुहोस् ।

[5] किनकि उनले हाम्रा जातिहरूलाई प्रेम गर्छन् र उनी तिनै नै हुन् जसले हाम्रा लागि सभाघर पनि निर्माण गरिदिएका छन् ।”

[6] त्‍यसैले, येशू तिनीहरूसँगै सरासर बाटो लाग्‍नुभयो । तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्‍तानले साथीहरू पठाएर उहाँलाई यसो भन्‍न लगाए, “प्रभु तपाईंले आफैलाई दुःख नदिनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्नुहुने योग्यको म छैनँ ।

[7] यही कारणले मैले आफैलाई तपाईंकहाँ आउने प्रर्याप्‍त योग्यको ठानिनँ, तर वचन बोली दिनुहोस् र मेरो दास निको हुनेछ ।

[8] किनकि म पनि एउटा अधिकार पाएको मानिस हुँ र मेरो अधिनमा सिपाहीहरू छन् । मैले एउटालाई जा भन्‍छु र त्‍यो जान्‍छ र अर्कोलाई आइज भन्‍छु र त्‍यो आउँछ र मेरो दासलाई ‘यसो गर भन्‍छु,‘ त्‍यसले त्‍यो गर्छ ।”

[9] जब येशूले त्‍यो सुन्‍नुभयो, उहाँ अचम्मित हुनुभयो र भीडतिर फर्केर उनलाई देखाउँदै भन्‍नुभयो, “म तिमीहरूलाई भन्‍दछु, कि इस्राएलमा पनि मैले कसैमा यस्तो विश्‍वास भेट्टाएको छैन ।”

[10] तब ती पठाइएका मानिसहरू घरमा फर्केर आए र दासलाई स्वस्थ अवस्थामा भेट्टाए ।

[11] त्‍यसको केही समयपछि येशू नाइन भन्‍ने सहरमा यात्रा गरिरहनुभएको थियो । मानिसहरूको एउटा ठुलो भीडसँगै उहाँका चेलाहरू पनि उहाँसँगै थिए ।

[12] जब उहाँ सहरको मूल ढोकानजिक पुग्‍नुभयो, त्‍यहाँ एउटा मृत मानिसलाई बोकेर लगिंदै थियो । त्‍यो उसकी आमाको एक मात्र छोरो थियो । तिनी एउटी विधवा थिइन् र सहरबाट आएको एउटा भीड तिनीसँगै थियो ।

[13] तिनलाई देखेर प्रभु तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्‍नुभयो, “नरोऊ ।”

[14] तब उहाँ अगाडि आउनुभयो र मृतकलाई छुनुभयो र शरीरलाई बोक्‍नेहरू टक्‍क अडिए । उहाँले भन्‍नुभयो, “जवान मानिस, म तिमीलाई भन्‍दछु, उठ ।”

[15] मृत मानिस उठ्‌यो र बोल्न थाल्यो । तब येशूले त्यसलाई उसकी आमालाई सुम्पनुभयो ।

[16] तब तिनीहरू सबै डराए । तिनीहरूले यसो भन्‍दै परमेश्‍वरको प्रशंसा गरिरहे, “हाम्रा बीचमा एउटा महान् अगमवक्‍ता खडा भएका छन् र परमेश्‍वरले आफ्ना मानिसहरूलाई हेर्नुभएको छ ।”

[17] येशूले गर्नुभएका यस कार्यको खबर सारा यहूदियाभरि र सबै छिमेकी इलाकाहरूमा चारैतिर फैलियो ।

[18] यूहन्‍नाका चेलाहरूले उहाँलाई यी सबै कुराहरूको बारेमा बताइदिए ।

[19] तब यूहन्‍नाले आफ्ना दुई जना चेलाहरूलाई बोलाएर प्रभुकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्‍ति तपाईं नै हुनुहुन्‍छ वा अर्को कुनै छ ?

[20] जब तिनीहरू येशूको नजिक गए, तब तिनीहरूले यसो भने, बप्‍तिस्‍मा-दिने यूहन्‍नाले हामीलाई तपाईंकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्‍ति तपाईं नै हुनुहुन्‍छ वा अर्को कुनै छ ?”

[21] त्‍यस घडीमा उहाँले धेरै मानिसहरूलाई तिनीहरूका रोग, दुःखकष्‍ट र दुष्‍टात्माबाट निको पार्नुभयो र उहाँले धेरै दृष्‍टिविहीन मानिसहरूलाई देख्‍न सक्‍ने क्षमता दिनुभयो ।

[22] येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका र देखेका छौ, सो यूहन्‍नालाई बताइदेओ । दृष्‍टिविहीनहरूले दृष्‍टि पाइराखेका छन्, लङ्‌गडाहरू हिँडिराखेका छन्, कुष्‍ठरोगीहरू शुद्ध भइराखेका छन्, कान नसुन्‍नेहरूले सुनिराखेका छन्, मृतकहरू जीवित भइराखेका छन् र आवश्यकतामा परेका मानिसहरूलाई सुसमाचार सुनाइएको छ ।

[23] मेरो क्रियाकलापको कारणले मलाई विश्‍वास गर्न नछोड्ने त्‍यो मानिस धन्‍यको हो ।

[24] यूहन्‍नाका समाचार वाहकहरू गइसकेपछि येशूले भीडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो, “तिमी उजाड-स्थानमा के हेर्नलाई गयौ, के बतासले हल्लाइराखेको निगालोलाई ?

[25] तर के हेर्नलाई तिमी गयौ, मलमलको कपडा लगाएको एउटा मानिसलाई ? हेर, चमकदार वस्त्र लगाएका मानिसहरू राजाका दरबारमा विलासितामा जिउँछन् ।

[26] तर के हेर्नलाई तिमीहरू बाहिर गयौ, एउटा अगमवक्‍तालाई ? हो, म तिमीहरूलाई भन्‍दछु, र एउटा अगमवक्‍ता भन्‍दा पनि महान् यहाँ छ ।

[27] यो जसको बारेमा लेखिएको छ, हेर, म मेरा सन्‍देशवाहकलाई तिम्रो अगि-अगि पठाउँदै छु ।

[28] म तिमीहरूलाई भन्‍दछु, स्‍त्रीहरूबाट जन्‍मेकाहरूमध्‍येमा, बप्‍तिस्मा-दिने यूहन्‍ना भन्‍दा महान् कोही छैन, तापनि परमेश्‍वरको राज्‍यमा सब भन्‍दा कम महत्त्‍वको मानिस पनि उनी भन्‍दा महान् हुन्‍छ ।”

[29] जब सबै मानिसहरूले यो सुने, तब कर उठाउनेहरूसमेत, तिनीहरूले यो घोषणा गरे कि परमेश्‍वर धर्मी हुनुहुन्‍छ, जसले यूहन्नाको बप्‍तिस्माले बप्‍तिस्‍मा लिएका थिए ।

[30] तर फरिसीहरू र यहूदीहरूका व्यवस्थाका पण्डितहरू, जसले उनीबाट बप्‍तिस्‍मा लिएका थिएनन्, तिनीहरू आफैले आफ्ना निम्ति परमेश्‍वरको बुद्धिलाई इन्कार गरे ।

[31] यस पुस्ताका मानिसहरूलाई मैले केसित तुलना गरूँ ? तिनीहरू केजस्ता छन् ?

[32] तिनीहरू बजार क्षेत्रमा खेलिरहने बालबालिकाहरूजस्ता छन्, जो बस्दछन् र एक अर्कोलाई यसो भन्‍दै बोलाउँछन्, “हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, तर तिमीहरू नाचेनौ । हामीले विलाप गर्‍यौँ, तर तिमीहरू रोएनौ ।”

[33] किनकि बप्‍तिस्मा-दिने यूहन्‍ना न रोटी खाँदै आए न त दाखमद्य नै पिउदै आए र पनि तिमीहरू भन्‍छौ कि उसलाई भूत लागेको छ ।

[34] मानिसका पुत्र खाँदै र पिउँदै आए र तिमीहरू भन्‍छौ, “हेर, ऊ त एउटा घिचुवा र पियक्‍कड मानिस, कर उठाउने र पापीहरूका मित्र हो ।”

[35] तर बुद्धि तिनका सबै सन्‍तानहरूद्वारा प्रमाणित हुन्‍छ ।”

[36] अहिले एक जना फरिसीले येशूलाई ऊसँग भोजन गर्नका लागि अनुरोध गरिरहेको थियो । त्‍यसपछि येशू फरिसीको घरमा प्रवेश गर्नुभयो, भोजन खानलाई टेबिलमा गएर बस्‍नुभयो ।

[37] हेर, त्‍यस सहरमा एउटी स्‍त्री थिइन् जो पापी थिइन्, तिनले पत्ता लगाइन् कि उहाँ फरिसीको घरमा बस्‍नुभएको छ र तिनले सिङ्‌गमरमरको बोतलमा अत्तर ल्याइन् ।

[38] तिनी उहाँका पाउको नजिक पछाडिपट्टि उभिइन् र रोइन् । तब तिनले उहाँको पाउ आफ्ना आँसुले भिजाउन थालिन् र टाउकाको कपालले उहाँका पाउ पुछिन्, उहाँका पाउमा म्वाइ खाइन् र पाउमा अत्तर घसिन् ।

[39] जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तब उसले आफूले विचार गर्दै भन्‍यो, “यदि यी मानिस एउटा अगमवक्‍ता भएको भए, तब उनले जान्‍ने थिए कि को र कस्ती प्रकारकी स्‍त्रीले उहाँलाई छोइरहेकी छे र त्‍यो एउटी पापी स्‍त्री हो भनेर ।”

[40] येशूले जवाफ दिएर उसलाई भन्‍नुभयो, “सिमोन मैले तिमीलाई केही भन्‍नु छ ।” उसले भन्‍यो, “गुरुज्‍यू, भन्‍नुहोस् ।”

[41] येशूले भन्‍नुभयो, “दुई जना मानिसले एक जना साहुबाट ऋण लिएका थिए । एउटाले पाँच सय दिनार ऋण, र अर्कोले पचास दिनार ऋण लिएको रहेछ ।

[42] तिनीहरूसँग तिर्ने नभएकोले साहुले ती दुवै जनालाई माफ गरिदिए । त्‍यसकारण, तिनीहरूमध्‍ये कुनचाहिँले उनलाई बढी प्रेम गर्नेछ ?”

[43] सिमोनले उहाँलाई जवाफ दिए र भने, “म विचार गर्छु कि जसलाई उनले बढी माफ गरे । येशूले उसलाई भन्‍नुभयो तिमीले ठिकसित न्‍याय गर्‍यौ ।”

[44] येशू स्‍त्रीतिर फर्केर सिमोनलाई भन्‍नुभयो, “तिमी यो स्‍त्रीलाई देख्दछौ । म तिम्रो घरभित्र प्रवेश गरेँ । तिमीले मेरो पाउ धुनलाई पानीसम्म दिएनौ, तर तिनले त आफ्नो आँसुले मेरा पाउ भिजाइन्, र कपालले मेरा पाउ पुछिन् ।

[45] तिमीले मलाई म्वाइँ खाएनौ, तर तिनले म यहाँभित्र पसेको समयदेखि मेरा पाउमा म्वाइँ खान छोडेकी छैन ।

[46] तिमीले मेरो शिर तेलले अभिषेक गरेनौ, तर तिनले मेरा पाउमा अत्तर घसिन् ।

[47] यो घटनाको कारणले म तिमीलाई भन्‍दछु, कि जसका धेरै पाप थिए र बढी क्षमा गरिएको छ, तिनले धेरै प्रेम गरेकी छन् । तर जसलाई थोरै मात्र क्षमा गरिएको हुन्छ, उसले थोरै नै मात्र प्रेम गर्छ ।”

[48] तब उहाँले तिनलाई भन्‍नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन् ।”

[49] त्‍यहाँ एकसाथ बसिरहेकाहरूले एक-अर्कामा भन्‍न थाले, ‘पाप क्षमा गर्ने यिनी को हुन् र ?‘

[50] तब येशूले स्‍त्रीलाई भन्‍नुभयो, “तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ, शान्‍तिसँग जाऊ ।”

लुकाले लेखेको सुसमाचार — Chapters