Skip to content
Opens in a new window
Listen to this chapter • 7:33

[1] उहाँले प्रार्थना गरिसक्‍नुपछि उहाँका चेलाहरूमध्‍ये एक जनाले भने, “प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् जसरी यूहन्‍नाले आफ्नो चेलालाई सिकाएका थिए ।”

[2] येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब तिमीहरूले प्रार्थना गर्छौ, यसो भन्‍नू, ‘हे पिता, तपाईंको नाउँ पवित्र गरियोस् । तपाईंको राज्‍य आओस् ।

[3] हामीलाई हाम्रो प्रत्‍येक दिनको रोटी दिनुहोस् ।

[4] हाम्रा पापहरू क्षमा गर्नुहोस, जसरी हामीले हाम्रा अपराधीहरूलाई क्षमा गरेका छौँ । हामीलाई परीक्षामा नडोर्‍याउनुहोस् ।’

[5] येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिम्रो यस्तो मित्र होला जसले मध्‍य-रातमा गएर तिमीलाई भन्‍नेछ ‘हे मित्र, मलाई तीन वटा रोटी सापट दिनुहोस् ।

[6] मेरा एउटा मित्र घुम्दै गर्दा मकहाँ आइपुग्‍नुभयो र उहाँलाई दिनका लागि मसित केही पनि छैन ।’

[7] त्‍यसपछि भित्रबाट यस्तो उत्तर आउन सक्छ, ‘मलाई दिक्‍क नबनाउनुहोस् । ढोका पहिले नै लगाइसकिएको छ, मेरा नानीहरू मसँगै ओछ्यानमा सुतिराखेका छन् । त्‍यसैले, म उठेर तपाईंलाई रोटी दिन सक्दिनँ ।’

[8] म तिमीलाई भन्‍दछु, कि उसले उठेर तिमीलाई रोटी नदिए तापनि तिमी उनको मित्र भएकोले गर्दा र लगातार मागिरहेको कारणले ऊ उठ्नेछ र तिमीलाई आवश्यक पर्ने रोटीहरू दिनेछ ।

[9] म तिमीलाई भन्‍दछु, “माग, र तिमीलाई यो दिइनेछ; खोज, र तिमीले भेट्टाउनेछौ; ढकढक्याऊ, र तिम्रो लागि यो उघारिनेछ ।

[10] माग्‍ने हरेकले यो पाउनेछ; र खोज्‍ने व्यक्‍तिले भेट्टाउनेछ; र ढकढक्याउने व्यक्‍तिका लागि उघारिनेछ ।

[11] तिमीहरूमध्‍ये को यस्तो बाबु होला जसले आफ्नो छोराले रोटी माग्दा ढुङ्‌गा देला अथवा माछा माग्दा सर्प देला र ?

[12] अथवा उसले अन्डा माग्दा, तिमीले बिच्‍छी दिन्‍छौ र ?

[13] त्‍यसैकारण, तिमीहरू दुष्‍ट भएर पनि आफ्ना नानीहरूलाई असल चिजहरू दिन जान्‍दछौ भने, तिमीहरूका स्वर्गका पिताले उहाँसँग माग्‍नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछैन र ?”

[14] त्‍यसपछि, येशूले बोल्न नसक्‍ने मानिसबाट भूतात्मा निकाल्नुभयो । जब भुतात्मा ऊबाट निस्क्यो र ऊ बोल्न थाल्यो । यो देखेर मानिसहरूको भीड छक्‍क पर्‍यो ।

[15] त्‍यहाँ भएका केही मानिसहरूले आपसमा भने, “भूतहरूको शासक बालजिबुलद्वारा त्यसले भूतात्मालाई निकाल्यो ।”

[16] तर कतिले उहाँलाई परीक्षा गर्नका लागि स्वर्गको कुनै एउटा चिह्न देखाउन भन्‍यो ।

[17] तर येशूले तिनीहरूले के सोचिरहेका छन् भनी जान्‍नुभयो र भन्‍नुभयो, हरेक राज्‍य एक-अर्काको विरुद्धमा विभाजन गरिनेछ र घरहरू एक-आपसको विरुद्धमा खडा भइ नष्ट हुन्छ।

[18] यदि भूतहरू एक आपसमा विभाजित हुन्‍छन् भने, कसरी तिनीहरूको राज्‍य रहन सक्दछ ? तिमीहरूले भन्‍छौ, मैले बालजिबुलको नाउँमा भूतात्मालाई धपाउँछु ।

[19] यदि मैले बालजिबुलको नाउँमा भूतहरूलाई धपाएँ भने, तिमीहरूका चेलाले कसको नाउँबाट धपाउलान् त ? किनकि, तिनीहरू तिम्रो न्‍याय गर्नेहरू हुनेछन् ।

[20] तर यदि मैले परमेश्‍वरको हातबाट भूतहरू निकालेँ भने, परमेश्‍वरको राज्‍य तिमीहरूमा आएको छ ।

[21] जब कुनै बलियो मानिसले हातहतियारसहित आफ्नो घरको सुरक्षा गर्दछ भने, त्‍यसको कारणले गर्दा उसका सामानहरू सुरक्षित हुन्‍छन् ।

[22] तर कुनै अझ बलियो मानिसले त्यसलाई जित्यो भने मानिसहरूका हातहतियारहरू कब्जा गर्दछ र मानिसका धन सम्पत्तिहरू लुट्नेछ ।

[23] मसंग नहुने, मेरो विरुद्धमा हुन्‍छ, र मसँगै जम्मा नगर्नेले छरपष्ट पार्छ ।

[24] जब अशुद्ध आत्मा मानिसबाट निस्केर गयो, त्यो पानी नभएको ठाउँ भएर गयो र त्यसले आरामको लागि ठाउँ खोज्छ। त्‍यसले कुनै ठाउँ पनि बस्‍नका लागि पाएन र त्‍यसले भन्‍यो, म जहाँबाट आएको हुँ म त्‍यहीँ फर्कीजानेछु ।

[25] फर्की सकेपछि, त्‍यसले आफ्नो घर सफासँग व्यवस्थित पारेर राखिएको देख्यो ।

[26] त्‍यसपछि, ऊ जानेछ र अन्‍य सात वटा भूतात्मालाई पनि बोलाउनेछ र तिनीहरूसँगै बस्‍नेछ र त्‍यो मानिसको अवस्था पहिलेको भन्दा अझ खराब हुनेछ ।

[27] उहाँले यो कुरा भन्‍दै गर्नुहुँदा, एउटी स्‍त्रीले भीडबाट कराएर उहाँलाई भनी “त्‍यो कोख धन्‍यको हो जसले तपाईंलाई जन्‍माइन् र दूध चुसाइन् र हुर्काइन् ।”

[28] तर उहाँले भन्‍नुभयो, “त्‍यो भन्‍दा पनि, ती मानिसहरू धन्‍यका हुन् जसले परमेश्‍वरका वचन सुन्‍दछन् र त्‍यसलाई पालन गर्दछन् ।”

[29] जब अझ धेरै मानिसहरू जम्मा भए, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो पुस्ता दुष्‍ट पुस्ता हो, यिनीहरूले चिह्न खोज्‍नेछन्, तर योनाको चिह्नबाहेक तिमीहरूलाई कुनै चिह्न दिइनेछैन ।

[30] जसरी निनवेका मानिसहरूका लागि योना चिह्न थिए, त्‍यसै गरी यो पुस्ताका लागि पनि मानिसका पुत्र चिह्न हुनेछ ।

[31] दक्षिणकी रानी मानिसको विरुद्धमा दोष लगाउनका लागि उठ्नेछिन्, किनकि उनी पृथ्वीको पल्लो कुनाबाट सोलोमनको ज्ञानको बारेमा सुन्‍न आएकी थिइन् र हेर, सोलोमन भन्‍दा पनि महान् यहाँ छ ।

[32] निनवेका मानिसहरू यो पुस्ताका मानिसहरूसँगै न्‍यायमा उभिनेछन् र यिनीहरूलाई दोष लगाउनेछन् । तिनीहरूले योनाको प्रचार सुनेर पश्‍चात्ताप गरे र हेर, योना भन्‍दा पनि महान् कोही यहाँ छ ।

[33] कसैले बत्ती बालेर टोकरीले छोपेर राख्दैन, तर त्‍यसलाई सामदानमा राख्दछ, ताकि त्‍यो भएर जाने हरेकलाई उज्‍जालो होस् ।

[34] तिम्रा आँखा तिम्रो शरीरको लागि ज्‍योति हो । तिम्रा आँखा असल छन् भने, तिम्रो पुरै शरीरले ज्‍योति पाउनेछ । तर तिम्रा आँखा खराब छन् भने, तिम्रो पुरै शरीरलाई अन्धकारले छोप्‍नेछ ।

[35] त्‍यसैकारण, होशियार रहो, कि तिमीमा भएको ज्‍योति अन्धकार नहोस् ।

[36] यदि त्‍यसो भए, तिम्रो पुरै शरीर ज्‍योति हो, यसको कुनै पनि भाग अन्धकारमा रहेको छैन, त्‍यसपछि तिम्रो पुरै शरीर बत्तीको चमक जस्‍तै तिमीमा चम्कोस् ।

[37] उहाँले बोलिसक्‍नुभएपछि, फरिसीहरूले उहाँलाई आफ्नो घरमा खाना खानलाई बोलाए । त्‍यसपछि येशू जानुभयो र ढल्केर बस्‍नुभयो ।

[38] खाना खानु भन्‍दा पहिले हात नधोएको कारणले गर्दा फरिसीहरू छक्‍क परे ।

[39] तर प्रभुले तिनीहरूलाई भन्‍नुभयो, “तिमी फरिसीहरू गिलास र कचौराको बाहिर सफा गर्दछौ, तर तिमीहरू भित्रपट्टि लोभ र खराब कुराले भरिएका छौ ।

[40] हे मूर्ख मनिसहरू हो, जसले बाहिर बनायो के उसले भित्र पनि बनाउँदैन र ?

[41] तिमीभित्र जे छ, त्‍यो कुरा गरिबलाई देओ र त्‍यो कुरा तिम्रो निम्ति सबै शुद्ध हुनेछन् ।

[42] धिक्‍कार तिमी फरिसीहरू, किनभने तिमीहरूले पुदिना, सुप र जडीबुटीको दशांश त दिन्‍छौ, तर तिमीहरू न्याय र परमेश्‍वरको प्रेमलाई बेवास्ता गर्छौ । तर तिमीहरूले परमेश्‍वरको प्रेम र धार्मिकताबमोजिम काम गर्नुपर्ने हो । यी काम गर्न असफल नहोओ ।

[43] धिक्‍कार फरिसीहरू, तिमीहरूले सभाघरको अगाडि बस्‍ने मानिसहरूलाई सहरहरूमा आदर र इज्‍जत गर्दछौ ।

[44] तिमीहरूलाई धिक्‍कार होस्, तिमीहरू चिह्न नलगाइएको चिहान जस्‍तै छौ । मानिसहरू केही थाहा नपाईकन हिँड्ने छन् ।”

[45] अनि केही यहूदी व्यवस्थाका शिक्षकहरूले जवाफ दिँदै भने, “गुरु, तपाईं हामीलाई किन अपमान गर्नुहुन्‍छ ।”

[46] येशूले भन्‍नुभयो, “तिमीहरूलाई धिक्‍कार व्यवस्थाका शिक्षकहरू, तिमीहरू मानिसहरूलाई व्यवस्थाको भार उठाउन लगाउँदछौ, तर तिमीहरूले आफ्नो एक औँलाले पनि ती भारहरूलाई उठाउँदैनौ ।

[47] तिमीहरूलाई धिक्‍कार, किनभने तिमीहरूले अगमवक्‍ताहरूको चिहानको स्मरणको लागि निर्माण गर्‍यौ, तर तिनीहरूलाई मार्ने तिमीहरूकै पुर्खाहरू हुन् ।

[48] त्‍यसैले, तिमीहरूले तिम्रा पुर्खाहरूको काममा गवाही दियौ र सहमति जनायौ, किनकि वास्तवमा तिनीहरूले त्‍यस समयका अगमवक्‍ताहरूलाई मारेका थिए र जसको चिहान तिमीहरूले आज सम्झनाको लागि बनाएका छौ ।

[49] त्‍यसैकारणले गर्दा, परमेश्‍वरको विवेकले भन्‍दछ, “म तिनीहरूकहाँ अगमवक्‍ता र प्रेरितहरू पठाउनेछु र तिनीहरूले सताउनेछन् र उनीहरू मध्‍ये कतिलाई मार्नेछन् ।

[50] तब यो पुस्ताको लागि संसारको सुरुदेखि अगमवक्‍ताहरूको रगतमा तिमीहरू जिम्मेवार छौ ।

[51] म तिमीहरूलाई भन्‍दछु, कि हाबिलको रगतदेखि वेदी र पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्मको दोष लागि यो पुस्ता जिम्मेवार छ ।

[52] यहूदी व्यवस्थाका शिक्षकहरू तिमीहरूलाई धिक्‍कार छ, किनभने तिमीहरूले बुद्धिको साँचोलाई तिमीहरूबाट टाढा लग्यौ । तिमीहरू आफै पनि भित्र प्रवेश गरेनौ र तिमीहरूले प्रवेश गर्नेहरूलाई रोक्यौ।

[53] येशू त्‍यहाँबाट गइसक्‍नुभएपछि, शास्‍त्रीहरू र फरिसीहरूले उहाँको विरोध गरे र धेरै विषयहरूमा उहाँसंग वादविवाद गर्न लागे ,

[54] उहाँको आफ्नै वचनको कारण उहाँलाई पासोमा पार्ने कोसिस गरे ।

लुकाले लेखेको सुसमाचार — Chapters