Skip to content
Opens in a new window
Listen to this chapter • 8:07

[1] अखमिरी रोटीको चाड नजिक थियो, जसलाई निस्तार-चाड भनिन्‍छ ।

[2] मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूले येशूलाई कसरी मार्ने भनी छलफल गरे, किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए ।

[3] बाह्र जनामध्‍ये एउटा यहूदा इस्करियोतमा शैतान पस्यो ।

[4] येशूलाई कसरी तिनीहरूकहाँ सुम्पन सकिन्‍छ भन्‍ने बारेमा छलफल गर्न यहूदा मुख्य पूजाहारीहरू र कप्‍तानहरूसँगै गयो ।

[5] तिनीहरू खुसी भए र त्यसलाई पैसा दिन सहमत भए ।

[6] त्यो सहमत भयो र त्यसले उहाँलाई भीड नभएको बेलामा तिनीहरूकहाँ सुम्पने उचित अवसर खोज्‍यो ।

[7] अखमिरी रोटीको चाडको दिन आयो जुन दिन निस्तार-चाडको थुमा बलिदान चढाउनै पर्थ्यो ।

[8] येशूले पत्रुस र यूहन्‍नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रो निम्ति निस्तार-चाडको भोज तयार पार, ताकि हामीले खान सकौँ ।”

[9] तिनीहरूले उहाँलाई सोधे, “हामीले कहाँ तयार परेको तपाईं चाहनुहुन्‍छ ?”

[10] उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “सुन, जब तिमीहरू सहरभित्र पस्तछौँ, तिमीहरूले एउटा पानीको गाग्रो बोकिरहेको मानिस भेट्टाउनेछौ । त्यो जाने घरभित्र त्यसलाई तिमीहरूले पछ्याओ ।

[11] तब घरको मालिकलाई भन, गुरुले तपाईंलाई भन्‍नुहुन्‍छ, ‘पाहुना कोठा कहाँ छ, जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाड खानेछु ?’

[12] उनले तिमीहरूलाई एउटा ठुलो सजाइएको माथिल्लो तलाको कोठा देखाउनेछन् । त्‍यहीँ तयारी गर ।”

[13] त्‍यसैले, तिनीहरू गए र उहाँले तिनीहरूलाई भनेझैँ हरेक थोक भेट्टाए । तब तिनीहरूले निस्तार-चाडको भोज तयार पारे ।

[14] जब समय आयो, उहाँ प्रेरितहरूसँगै बस्‍नुभयो ।

[15] तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले कष्‍ट भोग्‍नअगि तिमीहरूसँग निस्तार-चाड खाने ठूलो इच्‍छा गरेको छु ।

[16] किनभने म तिमीहरूलाई भन्‍दछु, यो परमेश्‍वरको राज्‍यमा पुरा नभएसम्म मैले फेरि खानेछैनँ ।”

[17] तब येशूले कचौरा लिनुभयो, र जब उहाँले धन्‍यवाद दिनुभयो, उहाँले भन्‍नुभयो, “यो लेऊ, र तिमीहरू आपसमा बाँड ।

[18] किनकि म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍य नआएसम्म म फेरि अङ्‌गुरको फलको रस पिउनेछैनँ ।”

[19] तब उहाँले रोटी लिनुभयो, र जब उहाँले धन्‍यवाद दिनुभयो, र उहाँले रोटी भाँच्‍नुभयो, र तिनीहरूलाई यसो भन्‍दै दिनुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ । मेरो सम्झनामा यो गर्ने गर ।”

[20] भोज खानुभएपछि त्‍यसै गरी उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जुन तिमीहरूका निम्ति बगाइन्‍छ ।

[21] तर ध्‍यान देओ । मलाई धोखा दिनेचाहिँ यही टेबलमा नै छ ।

[22] किनभने मानिसका पुत्र त ठहराइए अनुसार जानुपर्छ । तर त्‍यो मानिसलाई धिक्‍कार होस् जसद्वारा उनलाई विश्‍वासघात गरिन्‍छ ।”

[23] र तिनीहरूमध्‍ये कसले यो गर्ला भनी तिनीहरू आपसमा प्रश्‍न गर्न लागे ।

[24] तब तिनीहरूमध्‍ये को सबै भन्‍दा ठूलो भन्‍नेबारे तिनीहरूबिच झगडा उब्जियो ।

[25] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँदछन्, र तिनीहरूमाथि अधिकार जमाउनेलाई आदरणीय शासकहरू भनिन्‍छ ।

[26] तर तिमीहरूमा यस्तो हुनुहुँदैन । बरु, तिमीहरूमध्‍ये सबै भन्‍दा ठूलोचाहिँ सबै भन्‍दा सानो जस्‍तो होस् । र जो सबै भन्‍दा महत्त्‍वपूर्ण छ, त्‍यो सेवा गर्ने जस्‍तो होस् ।

[27] किनभने टेबलमा खान बस्‍ने कि वा सेवा गर्ने कुनचाहिँ ठूलो हो ? टेबलमा खान बस्‍ने होइन र ? तर म त तिमीहरूका बीचमा एक सेवा गर्ने जस्‍तै छु ।

[28] तर मेरो परीक्षामा निरन्‍तर मसँग रहने तिमीहरू नै हौ ।

[29] जसरी मेरा पिताले मलाई एउटा राज्‍य दिनुभएको छ, म तिमीहरूलाई एउटा राज्‍य दिन्‍छु ।

[30] मेरो राज्‍यमा तिमीहरूले मसँगै टेबलमा खान र पिउन सक्‍नेछौ । र इस्राएलका बाह्रै कुलको न्‍याय गरेर सिंहासनमा बस्‍नेछौ ।

[31] सिमोन, हे सिमोन, होशियार होऊ, शैतानले तिमीलाई हात पार्न खोज्‍यो ताकि उसले तिमीलाई गहुँलाई जस्‍तै निफन्‍न पाओस् ।

[32] तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु, ताकि तिम्रो विश्‍वास नडगमगाओस् । तिमी फेरि फर्केपछि तिम्रा भाइहरूलाई बलियो बनाओ ।

[33] पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँग जेल र मृत्‍युसम्म जानको निम्ति तयार छु ।”

[34] येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्‍छु, तिमीले मलाई चिन्‍दिनँ भनेर तीन पटक इन्कार नगरेसम्म, आजको दिन भाले बास्‍नेछैन ।”

[35] तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मैले तिमीहरूलाई पैसाको थैलो, खानेकुरा, वा जुत्ताहरूविना पठाउँदा, के तिमीहरूलाई केही कुराको खाँचो पर्‍यो र ?” र तिनीहरूले जवाफ दिए, “खाँचो परेन ।”

[36] तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर अहिले जोसँग पैसाको थैली छ, उसलाई बोक्‍न देऊ र खानेकुरा बोक्‍ने झोला पनि । जससँग तरवार छैन, त्‍यसले आफ्नो ओढ्ने बेचोस् र एउटा किनोस् ।

[37] किनकि म तिमीहरूलाई भन्‍दछु, मेरो बारेमा जे लेखिएको छ त्‍यो पुरा हुनेछ, ‘र उसलाई दुष्‍टलाई जस्‍तै व्यवहार गरिनेछ । किनकि मेरो बारेमा जे अगमवाणी गरिएको छ त्‍यो पुरा भइरहेको छ ।”

[38] तब तिनीहरूले भने, “प्रभु, हेर्नुहोस ! यहाँ दुई वटा तरवार छन् ।” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो पर्याप्‍त छ ।”

[39] भोजनपछि, येशूले प्रायः गर्ने जस्‍तै गर्नुभयो, उहाँ जैतून डाँडातिर जानुभयो, र चेलाहरूले उहाँलाई पछ्याए ।

[40] जब तिनीहरू आइपुगे, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “प्रार्थना गर ताकि तिमीहरू परीक्षामा नपर ।”

[41] उहाँ तिनीहरूबाट टाढा ढुङगा फ्याक्‍न सकिने ठाउँसम्म जानुभयो, र उहाँले घुँडा टेकेर प्रार्थना गर्नुभयो,

[42] “हे पिता, यदि तपाईं चाहनुहुन्‍छ भने, यो कचौरा मबाट हटाइदिनुहोस् । तथापि मेरो इच्‍छा होइन, तर तपाईंको इच्‍छा पुरा होस् ।”

[43] तब स्वर्गबाट एउटा स्वर्गदूत उहाँकहाँ देखा परे र उहाँलाई शक्‍ति दिए ।

[44] पीडामा भएर पनि उहाँले जोसिलो प्रकारले प्रार्थना गर्नुभयो, अनि उहाँका पसिना रगतको ठूला-ठूला थोपा जस्‍तै भुइँमा खसिरहेका थिए ।

[45] जब उहाँ प्रार्थना गरेर उठ्नुभयो, उहाँ चेलाहरूकहाँ आउनुभयो, र तिनीहरूका दुःखको कारणले गर्दा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो ।

[46] र उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “किन तिमीहरू निदाइरहेका छौ ? उठ र प्रार्थना गर, ताकि तिमीहरू परीक्षामा पर्नु नपरोस् ।”

[47] हेर, उहाँ बोलिरहनु हुँदा, बाह्र जनामध्‍ये एउटा अर्थात् यहूदाको अगुवाइमा एउटा भीड देखा पर्‍यो । त्यो येशूलाई चुम्बन गर्न उहाँको नजिक आयो,

[48] तर येशूले त्यसलाई भन्‍नुभयो, “यहूदा, के तिमीले मानिसका पुत्रलाई एउटा चुम्बनले विश्‍वासघात गर्दछौ ?”

[49] जब येशूको वरिपरि भएकाहरूले जे भइरहेको थियो, त्‍यो देखे, तिनीहरूले भने, “प्रभु, के हामीले तरवारले प्रहर गर्नुपर्छ ?”

[50] तिनीहरूमध्‍ये एक जनाले प्रधान पूजाहारीको नोकरलाई प्रहार गरे, र उसको दाहिने कान काटिदिए ।

[51] येशूले भन्‍नुभयो, “यति नै हुनदेऊ ।” र उहाँले उनको कान छुनुभयो, र निको पार्नुभयो ।

[52] येशूले उहाँ विरुद्ध आउने मुख्य पूजाहारीहरू, मन्‍दिरको कप्‍तान र अगुवाहरूलाई भन्‍नुभयो, “के तिमीहरू एउटा लुटेराको विरुद्धमा जस्‍तै तरवारहरू र लाठीहरू लिएर आउँछौ ?

[53] जब म तिमीहरूसँगै मन्‍दिरमा दिनहुँ हुँदा, तिमीहरूले ममाथि हात हालेनौँ । तर यो तिमीहरूको समय र अन्धकारको अधिकारको समय हो ।”

[54] तिनीहरूले उहाँलाई गिरफ्तार गरेर प्रधान पूजाहारीको घरभित्र ल्याए । तर पत्रुसले टाढैबाट उहाँलाई पछ्याए ।

[55] त्‍यसपछि तिनीहरूले आँगनको बीचमा आगो बाले र सँगै बसे, पत्रुस तिनीहरूका बीचमा बसे ।

[56] पत्रुस आगोको उज्‍यालोमा बस्दा एउटी नोकर्नीले उनीतिर सोझै हेरेर भनी, “यी मानिस पनि उनीसँगै थिए ।”

[57] तर पत्रुसले यसलाई इन्कार गर्दै भने, “नारी, म उहाँलाई चिन्‍दिनँ ।”

[58] केही बेरपछि अरू कसैले देखेर भन्‍यो, “तिमी पनि तिनीहरूमध्‍ये एक हौ ।” तर पत्रुसले भने, “हे मानिस, म होइनँ ।”

[59] लगभग एक घण्टापछि अर्को मानिसले जिद्दी गर्दै भन्‍यो, “साँच्‍चै यी मानिस पनि उनीसँगै थिए, किनभने उनी पनि एक गालीली नै हुन् ।”

[60] तर पत्रुसले भने, “हे मानिस, तिमीले के भनिरहेछौ, म जान्‍दिनँ ।” र उनले बोल्दै गर्दा भाले तुरुन्‍तै बास्यो ।

[61] प्रभुले पत्रुसतिर फर्केर हेर्नुभयो । र पत्रुसलाई उहाँले भन्‍नुभएको वचनलाई सम्झे, “भाले बास्‍नअगि तिमीले मलाई तीन पटक इन्कार गर्नेछौ ।”

[62] पत्रुस बाहिर गएर धुरुधुरु रोए ।

[63] तब येशूलाई सुरक्षा दिने मानिसहरूले उहाँलाई गिज्‍याए र कुटे ।

[64] उहाँका आँखामा पट्टी बाँधेर, तिनीहरूले उहाँलाई यसो भन्‍दै सोधे, “भविष्यवाणी गर् ! तँलाई कुट्ने को हो ?”

[65] येशूको विरुद्धमा तिनीहरूले अरू धेरै कुराहरू बोले र उहाँलाई ईश्‍वर-निन्‍दाको दोष लगाए ।

[66] बिहान हुनेबितिकै, मुख्य पूजाहारीहरू र शास्‍त्रीहरू दुवै मानिसहरूका धर्म-गुरुहरू सँगै भेला भए । तिनीहरूले उहाँलाई परिषद्‍मा लगे र

[67] भने, “यदि तँ ख्रीष्‍ट होस् भने हामीलाई भन् ।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि मैले तपाईंहरूलाई भने पनि तपाईंहरूले विश्‍वास गर्नुहुनेछैन,

[68] र मैले तपाईंहरूलाई सोधेँ भने, तपाईंहरूले जवाफ दिनुहुनेछैन ।

[69] तर अहिलेबाट, मानिसका पुत्र परमेश्‍वरको शक्‍तिको दाहिने हातपट्टि विराजमान हुनेछ ।”

[70] तिनीहरू सबैले भने, “त्‍यसो भए के तँ परमेश्‍वरका पुत्र होस् ?” र येशूले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरू नै भन्‍नुहुन्‍छ, म उही हुँ ।”

[71] तिनीहरूले भने, “अब हामीलाई किन अझ साक्षीहरूको आवश्यक पर्छ र ? किनभने हामी आफैले उसको आफ्नै मुखबाट सुनिसक्यौँ ।”

लुकाले लेखेको सुसमाचार — Chapters