Skip to content
Opens in a new window
Listen to this chapter • 5:15

[1] एक दिन यरूशलेमबाट आएका फरिसी र व्यवस्थाका केही शिक्षकहरू येशूका चारैतिर भेला भए।

[2] अनि उहाँका केही चेलाहरूले अशुद्ध हात अर्थात् नधोइएका हातहरूले भोजन खाइरहेका देखे।

[3] (फरिसीहरू र सारा यहूदीहरू पुर्खाहरूका परम्पराको विधिअनुसार हात नधोई भोजन गर्दैनन्।

[4] जब तिनीहरू बजारबाट आउँछन्, तिनीहरू स्‍नान नगरी खाँदैनन्। अनि तिनीहरू कचौरा, जग, कित्लीहरू पखाल्ने जस्ता अरू धेरै किसिमका परम्परा मान्दछन्।)

[5] यसकारण फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन पुर्खाहरूको परम्पराअनुसार चल्दैनन्, तर अशुद्ध हातले भोजन खान्छन्?”

[6] उहाँले जवाफ दिनुभयो, “तिमी कपटीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठीक भनेका थिए; जस्तो लेखिएको छ: “ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय मदेखि टाढो छ।

[7] तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्, तिनीहरूका शिक्षा खाली मानवीय नियम मात्र हुन्।’

[8] तिमीहरू परमेश्‍वरका आज्ञाहरू त्यागेर मानिसहरूको परम्परामा लागिरहन्छौ।”

[9] अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूसित आफ्नै परम्पराको निम्ति परमेश्‍वरका आज्ञाहरू पन्छाउने चतुर उपाय छ!

[10] किनकि मोशाले भने, ‘आफ्ना बुबाआमालाई आदर गर,’ अनि, ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’

[11] तर तिमीहरू भन्दछौ, कुनै मानिसले आफ्ना बुबा वा आमालाई ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो कुरबान हो’ अर्थात् परमेश्‍वरलाई चढाइसकिएको भेटी भनेर,

[12] अनि तिमीहरू त्यसलाई आफ्नो बुबा वा आमाको लागि केही गर्न दिँदैनौ।

[13] यसरी तिमीहरूले आफ्नो चलिआएको परम्पराद्वारा परमेश्‍वरको वचनलाई व्यर्थको तुल्याउँछौ। अनि तिमीहरूले यस्ता धेरै कुराहरू गर्दछौ।”

[14] येशूले भीडलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “तिमीहरू हरेकले मेरो कुरा सुन, अनि त्यसलाई बुझ।

[15] मानिसको बाहिर रहेको कुनै कुराले पनि ऊभित्र पसेर उसलाई अशुद्ध बनाउन सक्दैन। बरु मानिसको हृदयबाट जे बाहिर निस्कँदछन्, ती कुराहरूले चाहिँ उसलाई अशुद्ध बनाउँदछन्।

[16] जसको सुन्‍ने कानहरू छन्, त्यसले सुनोस् र बुझोस्।”

[17] उहाँ भीडलाई छोडेर घरभित्र पस्‍नुभएपछि, उहाँका चेलाहरूले उहाँलाई त्यस दृष्‍टान्तको विषयमा सोधे।

[18] उहाँले सोध्नुभयो, “के तिमीहरू यतिका अबुझ छौ? बाहिरबाट मानिसभित्र पसेको कुनै कुराले पनि उसलाई अशुद्ध बनाउन सक्दैन भनी तिमीहरू जान्दैनौ?

[19] किनकि त्यो त उसको हृदयमा होइन, तर पेटमा पस्छ, अनि शरीर बाहिर निस्कन्छ।” त्यसो भनेर येशूले सबै भोजन शुद्ध छन् भनी घोषणा गर्नुभयो।

[20] उहाँले अझ भन्‍नुभयो: “मानिसबाट जे बाहिर निस्कन्छ त्यसले उसलाई ‘अशुद्ध’ बनाउँछ।

[21] किनकि भित्रबाट मानिसको हृदयबाट दुष्‍ट विचार आउँछन्; अनैतिकता, चोरी, हत्या,

[22] व्यभिचार, लोभ, ईर्ष्या, छल, कामुकता, डाह, निन्दा, घमण्ड अनि मूर्खता।

[23] यी सबै दुष्‍ट कुराहरू भित्रबाट निस्कँदछन्, अनि मानिसलाई अशुद्ध बनाउँछन्।”

[24] येशू त्यो ठाउँ छोडेर टायरका छेउछाउका इलाकाहरूतिर जानुभयो। उहाँ एउटा घरमा पस्‍नुभयो, अनि यो कुरा कसैलाई थाहा नभएको चाहनुहुन्थ्यो; तरै पनि उहाँले आफ्नो उपस्थिति गुप्‍त राख्न सक्नुभएन।

[25] वास्तवमा अशुद्ध आत्माले सताएकी एउटी केटीकी आमा येशूको विषयमा सुन्‍नासाथ आई, र उहाँको पाउमा परी।

[26] त्यो स्त्री सिरियाको फोनिकेमा जन्मेकी ग्रीक थिई। उसले येशूलाई आफ्नी छोरीबाट भूत निकालिदिनलाई विन्ती गरी।

[27] उहाँले त्यसलाई भन्‍नुभयो, “पहिला छोराछोरीहरूलाई चाहेजति खान देऊ; किनकि छोराछोरीको रोटी लिएर कुकुरहरूको अघि फालिदिनु उचित हुँदैन।”

[28] त्यसले जवाफ दिई, “हो प्रभु, तर कुकुरहरूले पनि त टेबुलमुनि छोराछोरीले खसालेका टुक्राहरू खान्छन्।”

[29] तब उहाँले त्यसलाई भन्‍नुभयो, “यस्तो जवाफको निम्ति, तिमी जाऊ; भूतले तिम्री छोरीलाई छोडिसकेको छ।”

[30] ऊ घर गई, अनि आफ्नी छोरीलाई ओछ्यानमा पस्रिरहेकी र भूत निस्किसकेको भेट्टाई।

[31] तब येशू टायरका छेउछाउ छोडेर सीदोन हुँदै गालीलको समुद्र अनि डेकापोलिसको क्षेत्रतिर जानुभयो।

[32] त्यहाँ केही मानिसहरूले उहाँकहाँ एकजना सुन्‍न नसक्ने र भकभके मानिसलाई ल्याए, अनि त्यस मानिसमाथि आफ्नो हात राखिदिनहुन येशूलाई विन्ती गरे।

[33] येशूले त्यस मानिसलाई भीडबाट अलग्गै एकातिर लग्नुभयो, र आफ्ना औंलाहरू त्यस मानिसका कानहरूमा लगाउनुभयो। तब उहाँले थुकेर त्यस मानिसको जिब्रो छुनुभयो।

[34] उहाँले स्वर्गतिर हेरेर लामो सास लिएर त्यसलाई भन्‍नुभयो, “एफाता!” (जसको अर्थ हो, “खोलिजा!”)

[35] यसो हुँदा त्यस मानिसका कानहरू खोलिए, त्यसको जिब्रो चल्यो, र त्यो स्पष्‍ट गरी बोल्न थाल्यो।

[36] येशूले तिनीहरूलाई यो कसैलाई नभन्‍नू भनी आज्ञा दिनुभयो; तर उहाँले जति यसो भन्‍नुभयो, तिनीहरूले झन् धेरै यसबारे भनिरहे।

[37] मानिसहरू आश्‍चर्य चकित भए; अनि तिनीहरूले भने, “उहाँले हरेक कुरो असल गर्नुभएको छ! उहाँले सुन्‍न नसक्नेलाई सुन्‍ने र बोल्न नसक्नेलाई समेत बोल्ने तुल्याउनुहुन्छ।”

मर्कूस — Chapters