[1] अनि येशू तिनीहरूसित दृष्टान्तहरूमा बोल्न थाल्नुभयो: “एकजना मानिसले एउटा दाखबारी लगाए। तिनले त्यसको चारैतिर एउटा पर्खाल लगाए, कोलको लागि एउटा खाडल खने, अनि एउटा मचान बनाए। तब तिनले त्यो दाखबारी केही मोहीहरूलाई ठेक्कामा दिएर यात्रामा गए।
[2] कटनीको समयमा, तिनले ती मोहीहरूबाट दाखबारीको फलको केही भाग ल्याउन भनी एउटा सेवकलाई तिनीहरूकहाँ पठाए।
[3] तर तिनीहरूले त्यसलाई पक्रेर पिटे, र त्यसलाई खाली हात फर्काइदिए।
[4] तब तिनले अर्को सेवकलाई तिनीहरूकहाँ पठाए; तिनीहरूले त्यस मानिसलाई टाउकोमा हिर्काए, अनि त्यसको बेइज्जत गरे।
[5] तिनले अझ अर्कोलाई पठाए, अनि त्यसलाई चाहिँ तिनीहरूले मारे। तिनले अरू धेरैलाई पठाए; जसमध्ये कसैलाई तिनीहरूले पिटे, अनि कतिलाई चाहिँ मारे।
[6] “अब पठाउनलाई तिनीसित एकैजना मात्र थियो; एउटा छोरा, जसलाई तिनले प्रेम गर्थे। तिनले यसो भन्दै अन्त्यमा तिनलाई पठाए, ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्लान्।’
[7] “तर ती मोहीहरूले आपसमा भने, ‘यो ता हकवाला हो; हामी यसलाई मारौं, अनि सम्पत्तिको हक हाम्रो हुनेछ।’
[8] यसरी तिनीहरूले त्यसलाई लगेर मारे, र दाखबारीको बाहिर फ्याँकिदिए।
[9] “अब त्यस दाखबारीका मालिकले के गर्लान्? तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र त्यो दाखबारी अरूहरूलाई दिनेछन्।
[10] के तिमीहरूले यो धर्मशास्त्र पढेका छैनौ? “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही ढुङ्गो मुख्य भएको छ;
[11] यो प्रभुबाट भएको हो, अनि यो हाम्रा दृष्टिमा आश्चर्यको छ।’”
[12] तब तिनीहरूले उहाँलाई पक्रने उपाय खोज्न थाले; किनकि उहाँले त्यो दृष्टान्त तिनीहरूका विरुद्धमा भन्नुभएको हो भनी तिनीहरूले बुझे; तर तिनीहरू भीडसित डराउँथे, र तिनीहरू उहाँलाई छोडेर गइहाले।
[13] केही समयपछि तिनीहरूले येशूलाई उहाँको वचनमा पक्रनको लागि केही फरिसी र हेरोदीहरूलाई उहाँकहाँ पठाए।
[14] तिनीहरूले उहाँकहाँ आएर भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौं। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्न, किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्न, तर तपाईंले साँचो गरी परमेश्वरका मार्ग सिकाउनुहुन्छ। के सिजरलाई कर तिर्नु उचित छ कि छैन?
[15] हामीले तिर्नुपर्छ कि पर्दैन?” तर येशूले तिनीहरूका कपट बुझ्नुभयो, अनि उहाँले सोध्नुभयो, “तिमीहरू किन मलाई फसाउने कोसिस गर्दैछौ? मकहाँ एउटा रोमी सिक्का ल्याओ, अनि मलाई त्यो हेर्न देओ।”
[16] तिनीहरूले सिक्का ल्याए, अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? अनि यो छाप कसको हो?” “सिजरको,” तिनीहरूले जवाफ दिए।
[17] तब येशूले तिनीहरूलाई भन्नुभयो, “जे सिजरको हो, त्यो सिजरलाई देओ, र जे परमेश्वरको हो, त्यो परमेश्वरलाई देओ।” अनि तिनीहरू उहाँसित छक्क परे।
[18] तब पुनर्जीवन हुँदैन भन्ने सदुकीहरू एउटा प्रश्न लिएर उहाँकहाँ आए।
[19] तिनीहरूले भने, “गुरुज्यू, मोशाले हाम्रा निम्ति लेखिदिएका थिए, कुनै मानिसको दाजु निःसन्तान भई पत्नीलाई मात्र छोडेर मर्यो भने, त्यस मानिसले त्यो विधवालाई विवाह गरेर उसका दाजुका निम्ति सन्तान उत्पन्न गरिदिनुपर्छ।
[20] अब कुनै परिवारमा सात भाइ थिए। पहिलोले विवाह गर्यो, अनि सन्तान नभई मर्यो।
[21] अनि दोस्रोले त्यस विधवासित विवाह गर्यो, तर ऊ पनि सन्तान नभई मर्यो। यस्तै स्थिति तेस्रोको पनि भयो।
[22] वास्तवमा ती सातै जनाको सन्तान भएन। अन्त्यमा त्यो स्त्री पनि मरी।
[23] यसैले पुनर्जीवनमा त्यो कसकी पत्नी हुनेछे? किनकि सातै जनाको त्यससँग विवाह भएको थियो।”
[24] येशूले जवाफ दिनुभयो, “तिमीहरू धर्मशास्त्र अथवा परमेश्वरको शक्तिलाई नजानेकाले के तिमीहरू भ्रममा त छैनौ?
[25] जब मुर्दाहरू स्वर्गमा जीवित भई उठ्छन्, तिनीहरूले न विवाह गर्छन्, न ता विवाहमा दिइन्छन्: तिनीहरू स्वर्गमा भएका दूतहरूजस्ता हुनेछन्।
[26] अब मुर्दाहरू जीवित भई उठ्ने विषयमा के तिमीहरूले मोशाको पुस्तकमा, त्यस झाडीको विवरणमा कसरी परमेश्वरले तिनलाई ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, अनि याकोबका परमेश्वर हुँ’ भनेर भन्नुभएको पढेका छैनौ?
[27] उहाँ मरेकाहरूको परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरू ठूलो भूलमा परेका छौ!”
[28] व्यवस्थाका शिक्षकहरूमध्ये एकजना आए, र तिनीहरूका वाद-विवाद सुन्यो। येशूले तिनीहरूलाई ठीक जवाफ दिनुभएको देखेर त्यसले उहाँलाई सोध्यो, “सबै आज्ञाहरूमा कुनचाहिँ सबैभन्दा मुख्य हो?”
[29] येशूले जवाफ दिनुभयो, “सबैभन्दा मुख्य आज्ञा यो हो: ‘हे इस्राएल, सुन! प्रभु हाम्रा परमेश्वर एउटै हुनुहुन्छ।
[30] तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मनले र आफ्नो सम्पूर्ण बलले प्रेम गर।’
[31] दोस्रोचाहिँ यो हो: ‘तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर।’ यीभन्दा ठूला आज्ञा अरू छैनन्।”
[32] त्यस मानिसले जवाफ दियो, “ठीक भन्नुभयो, गुरुज्यू। यो कुरा भन्दाखेरि तपाईं ठीक हुनुहुन्छ कि, परमेश्वर एक हुनुहुन्छ, अनि उहाँबाहेक अरू कोही छैन।
[33] उहाँलाई सारा हृदयले, सारा समझले अनि सारा बलले प्रेम गर्नु, अनि आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर्नुचाहिँ सबै होमबलि र बलिदानहरूभन्दा मुख्य हो।”
[34] जब त्यसले बुद्धिमानीसाथ जवाफ दिएको येशूले देख्नुभयो, उहाँले त्यसलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्यदेखि धेरै टाढा छैनौ।” अनि त्यस बेलादेखि उसो कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेन।
[35] मन्दिरका चोकहरूमा सिकाइरहनुहुँदा येशूले सोध्नुभयो, “व्यवस्थाका शिक्षकहरूले ख्रीष्ट दाविदका पुत्र हुन् भनी कसरी भनेका हुन्?
[36] दाविद आफैले पवित्र आत्माद्वारा यसरी घोषणा गरे: “ ‘प्रभुले मेरा प्रभुलाई भन्नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउमुनि राख्दिनँ, तबसम्म तिमी मेरा दाहिने हाततिर बस।” ’
[37] दाविद आफैले उहाँलाई ‘प्रभु’ भन्छन्। त्यसो भए उहाँ कसरी तिनका पुत्र हुन सक्छन्?” ठूलो भीडले उहाँको कुरा आनन्दसाथ सुने।
[38] येशूले सिकाउँदै गर्नुहुँदा भन्नुभयो, “व्यवस्थाका शिक्षकहरूदेखि होसियार बस। तिनीहरू लामो पोशाक पहिरेर यताउता हिँड्न चाहन्छन्, बजारहरूमा आदरको अभिवादन पाउन मन पराउँछन्,
[39] अनि सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र भोजहरूमा आदरको स्थान लिन मन पराउँछन्।
[40] तिनीहरूले विधवाहरूका घरहरू हडप्छन्, र देखाउनका निम्ति लामा-लामा प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले सबैभन्दा कडा दण्ड पाउनेछन्।”
[41] भेटी चढाउने ठाउँको सामुन्ने गएर येशू बस्नुभयो, अनि भीडले मन्दिरको दानपेटीमा तिनीहरूका पैसा हालिरहेको हेर्नुभयो। धेरै धनी मानिसहरूले धेरै मात्रामा रकम चढाए।
[42] तर एउटी गरिब विधवा आएर धेरै कम मूल्य भएको तामाका दुईओटा साना सिक्का चढाई।
[43] तब आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, यस गरिब विधवाले दानपेटीमा अरू सबैले भन्दा बढी चढाएकी छ।
[44] तिनीहरू सबैले आफ्ना प्रशस्त धनबाट चढाएका छन्, तर यस स्त्रीले त आफ्नो दरिद्रताबाट सबै थोक आफ्नो जीविका चलाउने खर्चसमेत नै चढाएकी छे।”