Skip to content
Opens in a new window
Listen to this chapter • 8:27

[1] येशू त्यहाँबाट निस्केर आफ्ना चेलाहरूसित आफ्नो घर भएको शहरमा जानुभयो।

[2] विश्रामदिन आएपछि, उहाँले सभाघरमा सिकाउन लाग्नुभयो; अनि उहाँलाई सुन्‍नेहरू धेरैजना छक्‍क परे। तिनीहरूले सोधे, “यस मानिसले यी कुराहरू कहाँबाट पायो? यसलाई दिइएको यो कस्तो बुद्धि हो? जसले शक्‍तिशाली कामहरू पनि गर्छ?

[3] के यो सिकर्मी होइन? के यो मरियमको छोरो अनि याकोब, योसेफ, यहूदा र सिमोनको दाजु होइन? के यसका बहिनीहरू यहाँ हामीसित छैनन्?” अनि तिनीहरू उहाँसित चिढिए।

[4] तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्‍ता आफ्नै शहरमा, आफ्नै नातेदारहरूको बीचमा अनि उसको आफ्नै घरमा मात्र आदररहित हुन्छ।”

[5] उहाँले त्यहाँ केही बिरामीहरूमाथि हात राखेर तिनीहरूलाई निको पार्नु बाहेक अरू कुनै शक्‍तिशाली कामहरू गर्न सक्नुभएन।

[6] अनि उहाँ तिनीहरूका अविश्‍वास देखेर छक्‍क पर्नुभयो। त्यसपछि येशू चारैतिर सिकाउँदै एउटा गाउँदेखि अर्को गाउँ जानुभयो।

[7] बाह्र जनालाई आफूकहाँ बोलाएर, तिनीहरूलाई दुई-दुई गरी पठाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो।

[8] उहाँका आदेशहरू यस्ता थिए: “यात्राको लागि एउटा लट्ठीबाहेक केही पनि नलिनू; न रोटी, न थैली, न पटुकामा पैसा।

[9] जुत्ता लगाउनू, तर दुईसरो लुगा नबोक्नू।

[10] जब तिमीहरू कुनै घरमा पस्छौ, तिमीहरूले त्यो शहरलाई नछोडेसम्म त्यहीं अतिथीको रूपमा बस।

[11] अनि यदि कुनै ठाउँमा तिमीहरूलाई स्वागत हुँदैन वा तिमीहरूका कुरा सुनिदैन भने, तिमीहरू त्यो ठाउँ छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीको निम्ति तिमीहरूका खुट्टाको धूलोसमेत टक्टक्याइदेओ।”

[12] तिनीहरू गए, अनि मानिसहरूले पश्‍चात्ताप गर्नुपर्छ भनी प्रचार गरे।

[13] तिनीहरूले धेरै भूतहरू धपाए, अनि धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे।

[14] राजा हेरोदले यस विषयमा सुने, किनकि येशूको नाउँ चारैतिर प्रचलित थियो। कतिले भन्दैथिए, “बप्‍तिस्मा दिने यूहन्‍ना मरेकाबाट जीवित भएका छन्, त्यसकारण तिनीद्वारा शक्‍तिशाली कामहरू भइरहेका छन्।”

[15] अनि अरूले भन्थे, “एलिया हुन्।” अनि अझै अरूले यसो भनी दाबी गरे, “तिनी उहिलेका अगमवक्‍ताहरूमध्येका एकजना अगमवक्‍ता हुन्।”

[16] तर जब हेरोदले यो सुने, तिनले भने, “मैले शिर कटाएको मानिस यूहन्‍ना मरेकोबाट जीवित भएको छ।”

[17] किनकि हेरोद आफैले यूहन्‍नालाई पक्रन र बाँधेर झ्यालखानामा हाल्ने आदेश दिएका थिए; किनकि तिनले आफ्नै भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यसो गरेका थिए, जसलाई तिनले विवाह गरेका थिए।

[18] किनकि यूहन्‍नाले हेरोदलाई यसो भनेका थिए, “तपाईंले आफ्नै भाइकी पत्नी राख्नु उचित छैन।”

[19] यसकारण हेरोदियासले यूहन्‍नाको विरुद्धमा एउटा ईख राखेकी थिइन्, अनि तिनलाई मार्न चाहन्थिन्, तर तिनले सकेकी थिइनन्,

[20] हेरोद यूहन्‍नादेखि डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए; किनकि तिनी एक धार्मिक र पवित्र मानिस हुन् भनेर तिनले जान्दथे। जब हेरोदले यूहन्‍नाका कुरा सुन्थे, तिनी साह्रै विचलित हुन्थे, तर पनि तिनको कुरा सुन्‍न मन पराउँथे।

[21] आखिरमा अनुकूल समय आयो। आफ्नो जन्मदिनमा हेरोदले आफ्ना उच्‍च पदाधिकारीहरू, सेनाका कप्‍तानहरू अनि गालील प्रदेशका प्रमुख व्यक्‍तिहरूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे।

[22] अनि हेरोदियासकी छोरीले आएर नाची, उसले हेरोद अनि तिनका भोजमा आएका पाहुनाहरूलाई खुशी पारी। राजाले त्यस केटीलाई भने, “तिमीले मसित जे मागे पनि म तिमीलाई दिनेछु।”

[23] अनि तिनले शपथ खाएर उसलाई वचन दिए, “तिमीले जे मागे पनि म तिमीलाई दिनेछु, मेरो राज्यको आधा भागसम्म पनि।”

[24] त्यसले गएर आफ्नी आमालाई भनी, “म के मागूँ?” अनि तिनले जवाफ दिइन्, “बप्‍तिस्मा दिने यूहन्‍नाको शिर।”

[25] त्यो केटी तुरुन्तै हतारिँदै भित्र राजाकहाँ गएर यो विन्ती चढाई: “तपाईंले अहिल्यै बप्‍तिस्मा दिने यूहन्‍नाको शिर मलाई यस थालमा दिनुहोस् भन्‍ने म चाहन्छु।”

[26] राजा अत्यन्तै दुःखित भए, तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उसलाई इन्कार गर्ने इच्छा गरेनन्।

[27] यसकारण तिनले तुरुन्तै फाँसी दिने मानिसलाई यूहन्‍नाको शिर ल्याउनु भनेर आज्ञा दिई पठाए। त्यो मानिस गयो, अनि झ्यालखानामा यूहन्‍नाको शिर काट्यो,

[28] अनि तिनको शिर एउटा थालमा ल्यायो। तिनले त्यो त्यस केटीलाई दिए; अनि उसले त्यो आफ्नी आमालाई दिई।

[29] यो सुनेर यूहन्‍नाका चेलाहरू आए, र तिनको शरीर लगे अनि चिहानमा राखे।

[30] प्रेरितहरू येशूको वरिपरि भेला भए, अनि आफूले गरेका काम र सिकाएका सबै कुराहरू बताए।

[31] तब यति धेरै मानिसहरू आउँदैजाँदै गरेका थिए कि, उहाँहरूले खानसमेत मौका नपाउनुभएकोले उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू मात्र मसित एउटा एकान्त ठाउँमा आओ, अनि केही विश्राम लेओ।”

[32] यसकारण उहाँहरू अलग्गै एउटा डुङ्गामा चढेर पर एउटा एकान्त ठाउँमा जानुभयो।

[33] तर धेरैले उहाँहरू जाँदै गर्नुभएको देखेर उहाँहरूलाई चिनिहाले, अनि सबै शहरहरूबाट पैदलै दौडेर उहाँहरूभन्दा अघि त्यहाँ पुगे।

[34] जब येशू उत्रनुभयो, अनि उहाँले एउटा ठूलो भीडलाई देख्नुभयो, उहाँले तिनीहरूलाई टिठ्याउनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेडाहरूझैं थिए। यसकारण उहाँले तिनीहरूलाई धेरै कुराहरू सिकाउन थाल्नुभयो।

[35] त्यस बेला दिन ढल्किसकेको थियो, त्यसकारण उहाँका चेलाहरू उहाँकहाँ आएर तिनीहरूले भने, “यो एउटा सुनसान ठाउँ हो, अनि धेरै ढिलो भइसकेको छ।

[36] यी मानिसहरूलाई पठाइदिनुहोस्, ताकि तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर आफ्ना लागि केही खानेकुराहरू किनून्।”

[37] तर उहाँले भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले उहाँलाई भने, “त्यसको लागि त छ महिनाभन्दा बढिको ज्याला चाहिन्छ! के हामी गएर रोटीको लागि यति धेरै खर्च गरेर तिनीहरूलाई खान दिऔं?”

[38] उहाँले सोध्नुभयो, “तिमीहरूसित कतिओटा रोटी छन्? जाओ गएर हेर।” जब तिनीहरूले पत्ता लगाएर भने, “पाँचओटा रोटी र दुईओटा माछा।”

[39] तब येशूले तिनीहरू सबैलाई हरियो चउरमा झुण्ड-झुण्ड भई बस्‍न लाउने आज्ञा दिनुभयो।

[40] यसकारण तिनीहरू सय अनि पचासको झुण्ड भई बसे।

[41] ती पाँच रोटी र दुईटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो अनि रोटी भाँच्नुभयो। तब उहाँले ती कुराहरू मानिसहरूमा बाँडिदिनको लागि चेलाहरूलाई दिनुभयो। उहाँले ती दुई माछाहरू पनि तिनीहरूलाई बाँडिदिनुभयो।

[42] तिनीहरू सबैले खाए, र अघाए,

[43] अनि चेलाहरूले उब्रेका रोटीका टुक्राहरू र माछाहरू बाह्र डालाभरि उठाए।

[44] ती खानेहरूमा पुरुषहरू मात्रै पाँच हजार थिए।

[45] त्यसको लगत्तै येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढेर उहाँभन्दा पहिले बेथसेदामा जान लगाउनुभयो, अनि आफूले चाहिँ भीडलाई बिदा दिनुभयो।

[46] तिनीहरूबाट बिदा भएपछि, उहाँ प्रार्थना गर्न एउटा पहाडमा जानुभयो।

[47] त्यतिखेर रात परिसकेको थियो, डुङ्गा तालको बीचमा थियो, र उहाँचाहिँ जमिनमा एकलै हुनुहुन्थ्यो।

[48] उहाँले चेलाहरूलाई डुङ्गा खियाउनको लागि खूबै परिश्रम गरिरहेका देख्नुभयो, किनकि बतास तिनीहरूका विपरीत चलिरहेको थियो। बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो। उहाँले तिनीहरूलाई उछिनेर जान लाग्नुहुँदा,

[49] जब तिनीहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरूले उहाँलाई भूत भनी सम्झे। तिनीहरू जोडले चिच्याए,

[50] किनकि तिनीहरूले उहाँलाई देखेर भयभीत भए। तर तुरुन्तै उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साहस गर! म नै हुँ। नडराओ।”

[51] तब उहाँ तिनीहरूसित डुङ्गामा चढ्नुभयो, अनि बतास थामियो। तिनीहरू साह्रै छक्‍क परे,

[52] किनकि तिनीहरूले ती रोटीहरूको विषयमा अझै बुझेका थिएनन्; तिनीहरूका हृदय कठोर भएको थिए।

[53] उहाँहरू पारि तर्नुभएपछि गनेसरेतमा उत्रनुभयो, अनि डुङ्गा किनारमा लगाउनुभयो।

[54] उहाँहरू डुङ्गाबाट निस्कनसाथ मानिसहरूले येशूलाई चिने।

[55] तिनीहरू दगुर्दै सारा प्रदेशबाट रोगीहरूलाई ओछ्यानमा राखेर उहाँ जहाँ हुनुहुन्थ्यो, त्यतै लगेर गए।

[56] अनि उहाँ जुनसुकै ठाउँ अर्थात् गाउँहरू, शहरहरू र बस्तीहरूमा जानुहुन्थ्यो, तिनीहरूले रोगीहरूलाई सार्वजनिक स्थलहरूमा राखिदिन्थे। तिनीहरूले उहाँको वस्त्रको किनार मात्र भए पनि छुन पाऊन् भनी उहाँलाई विन्ती गरे; अनि जतिले उहाँलाई छोए, तिनीहरू सबै निको भए।

मर्कूस — Chapters