Skip to content
Opens in a new window
Listen to this chapter • 5:09

[1] येशू मन्दिर छोडेर जाँदै गर्नुहुँदा, उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “हेर्नुहोस्, गुरुज्यू! कति विशाल पत्थरहरू! कति भव्य भवनहरू!”

[2] येशूले जवाफ दिनुभयो, “के तिमी यी सबै विशाल भवनहरू देख्दैछौ? यहाँको एउटा ढुङ्गा पनि अर्कोमाथि छोडिनेछैन, तर प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।”

[3] येशू जैतुन डाँडामा मन्दिरतिर फर्किएर बसिरहनुहुँदा पत्रुस, याकोब, यूहन्‍ना अनि अन्द्रियासले उहाँलाई सुटुक्‍क सोधे,

[4] “हामीलाई भन्‍नुहोस्, यी कुराहरू कहिले हुनेछन्? अनि यी कुराहरू पूरा हुनको निम्ति चिन्ह के हुनेछ?”

[5] येशूले तिनीहरूलाई भन्‍नुभयो: “होसियार बस, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्।

[6] धेरैजना मेरो नाउँमा ‘म उही हुँ,’ भन्‍ने दाबी गर्दै आउनेछन्, अनि धेरैलाई धोका दिनेछन्।

[7] जब तिमीहरूले लडाइँ र लडाइँहरूका हल्‍लाहरू सुन्‍नेछौ, तब नडराओ। यस्ता कुराहरू हुनैपर्छ, तर अन्त्य आउन त बाँकी नै छ।

[8] जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा भुँइचालाहरू जानेछन्; अनि अनिकालहरू हुनेछन्। यी त प्रसववेदनाको सुरुआतजस्तै मात्र हुन्।

[9] “तिमीहरू आफ्नो विषयमा होसियार रहो। तिमीहरू स्थानीय सभाहरूमा सुम्पिनेछौ, र सभाघरहरूमा कोर्रा लगाइनेछौ। मेरो कारणले गर्दा तिमीहरू साक्षीको रूपमा राज्यपालहरू अनि राजाहरूको सामुन्‍ने उभिनेछौ।

[10] अनि अन्त्य आउनुभन्दा पहिला सबै राष्ट्रहरूमा सुसमाचार प्रचार गरिनुपर्छ।

[11] जब तिमीहरू पक्रिएर मुद्दामा पर्नेछौ, तब के बोल्नुपर्छ भनी पहिल्यैबाट चिन्ता नलेऊ। तिमीहरूलाई त्यसै बेला जे दिइनेछ त्यही भन; किनकि त्यो समयमा बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा बोलिरहनुभएको हुनेछ।

[12] “भाइले भाइलाई, बुबाले आफ्नो छोराछोरीलाई मृत्युको निम्ति धोका दिनेछन्। छोराछोरीहरू आफ्ना आमाबुबाको विरुद्धमा उठ्नेछन्, अनि तिनीहरूलाई मार्न लाउनेछन्।

[13] तिमीहरूलाई सबै मानिसहरूले मेरो निम्ति घृणा गर्नेछन्; तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यो नै बचाइनेछ।

[14] “जब तिमीहरूले ‘विनाशकारी घृणित कुरा’ जुन ठाउँमा नहुनुपर्ने त्यहाँ देख्छौ—पढ्नेले बुझोस्—तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्।

[15] घरको कौसीमा हुनेहरू कोही पनि तल नझरोस्, न ता केही थोक लिनलाई घरभित्र पसोस्।

[16] खेतमा हुने कोही पनि आफ्नो लुगा लिन फर्केर नजाओस्।

[17] ती दिनहरूमा गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि कति डरलाग्दा हुनेछन्।

[18] यो हिउँदमा नहोस् भनी प्रार्थना गर,

[19] किनकि ती दिनहरू यति कष्‍टदायक हुनेछन्; परमेश्‍वरले संसार सृष्‍टि गर्नुभएदेखि अहिलेसम्म न कहिल्यै भएको थियो, न ता फेरि कहिल्यै हुनेछ।

[20] “यदि प्रभुले ती दिनहरू नघटाइदिनुभएको भए, कोही पनि बाँच्ने थिएन। तर चुनिएकाहरूका निम्ति उहाँले ती घटाइदिनुभएको छ।

[21] त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन्’ अथवा, ‘हेर तिनी त्यहाँ छन्’ भन्छ भने विश्‍वास नगर।

[22] किनकि झूटा ख्रीष्‍टहरू अनि झूटा अगमवक्‍ताहरू देखा पर्नेछन्, र सम्भव भए चुनिएकाहरूलाई पनि बहकाउनलाई अलौकिक चिन्हहरू र आश्‍चर्यपूर्ण कामहरू गर्नेछन्।

[23] यसकारण तिमीहरू होसियार बस; मैले तिमीहरूलाई पहिलेबाट नै सबै कुरा भनिदिएको छु।

[24] “तर ती दिनहरूमा, विपत्तिको तुरुन्तै पछि, “ ‘सूर्य अँध्यारो हुनेछ, अनि चन्द्रमाले आफ्नो ज्योति दिनेछैन,

[25] आकाशबाट ताराहरू खस्‍नेछन्, अनि आकाशका शक्‍तिहरू डगमगाउनेछन्।’

[26] “त्यस बेला मानिसहरूले मानिसका पुत्रलाई महाशक्‍ति र महिमासित बादलमा आइरहेका देख्नेछन्।

[27] अनि उसले आफ्ना दूतहरूलाई आफ्ना चुनिएकाहरूलाई चारै दिशाबाट बटुल्नलाई पठाउनेछ, अर्थात् पृथ्वीको एक कुनादेखि आकाशको अर्को कुनासम्म।

[28] “अब अञ्जीरको रूखबाट यो पाठ सिक: जब यसका हाँगाहरूमा कलिला पातहरू पलाउन थाल्छन्, तिमीहरू ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी थाहा पाउँछौ।

[29] त्यसरी नै, जब तिमीहरूले यी कुराहरू भइरहेका देख्छौ, तिमीहरूले यो नजिकै, ढोकैमा छ भनी जान।

[30] म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्‍चय नै नष्‍ट भएर जानेछैन।

[31] आकाश र पृथ्वी नष्‍ट भएर जानेछन्, तर मेरा वचनहरू कहिल्यै पनि नष्‍ट हुनेछैनन्।

[32] “त्यस दिन र समयको विषयमा कसैले जान्दैन, न स्वर्गका दूतहरूले, न ता पुत्रले, तर पिताले मात्र।

[33] होसियार बस! सचेत बस! त्यो समय कहिले आउनेछ, त्यो तिमीहरू जान्दैनौ।

[34] यो त बाहिर गएको त्यो मानिसजस्तो हो: जसले आफ्नो घर छोड्नअघि आफ्ना सेवकहरूलाई जिम्मेवारी दिँदै, प्रत्येकलाई आ-आफ्ना काम सुम्पेर, एकजनालाई चाहिँ ढोकामा कुरेर बस्‍ने जिम्मा दिए।

[35] “यसकारण जागा रहो; किनकि घरका मालिक साँझमा, कि मध्यरातमा, कि भाले बास्दा, कि बिहानै अथवा कुन समयमा आउलान्, त्यो तिमीहरू जान्दैनौ।

[36] तिनी अचानक आए भने, तिनले तिमीहरूलाई सुतिरहेका नभेट्टाऊन्।

[37] म तिमीहरूलाई जे भन्दछु, त्यो हरेकलाई भन्दछु: ‘जागा रहो!’ ”

मर्कूस — Chapters