[1] केही दिनपछि जब येशू फेरि कफर्नहुममा आउनुभयो, अनि मानिसहरूले उहाँ घरमा हुनुहुन्छ भनी सुने।
[2] त्यहाँ यति धेरै मानिसहरू जम्मा भए कि, ढोकाबाहिर पनि कुनै ठाउँ रहेन; अनि उहाँले तिनीहरूलाई वचन प्रचार गर्नुभयो।
[3] अनि त्यहाँ चारजना मानिसहरूले एकजना पक्षघातीलाई बोकेर उहाँकहाँ ल्याए।
[4] तर भीडको कारणले गर्दा येशूसम्म पुर्याउन नसकेकाले, तिनीहरूले येशूको ठीक मास्तिरको छानो भत्काए, अनि त्यो पस्रिरहेको पक्षघाती ओछ्यानसहित तल ओरालिदिए।
[5] जब येशूले तिनीहरूका विश्वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, “हे छोरा, तिम्रा पापहरू क्षमा भएका छन्।”
[6] यतिखेर व्यवस्थाका शिक्षकहरूमध्ये केही त्यहाँ बसिरहेका थिए र आफैमा विचार गर्दैथिए,
[7] “यी मानिसले किन यसरी कुरा गर्छन्? यिनले त ईश्वरनिन्दा गरिरहेका छन्! परमेश्वरबाहेक कसले पाप क्षमा गर्न सक्छ?”
[8] तिनीहरूले आफ्ना हृदयमा यो कुरा सोच्दैछन् भन्ने येशूले तुरुन्तै आफ्नो आत्मामा थाहा पाउनुभयो, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन यस्ता कुराहरू विचार गर्दैछौ?
[9] यस पक्षघातीलाई के भन्नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्नु वा ‘उठ, र आफ्नो ओछ्यान बोकेर हिँड,’ भन्नु?
[10] तर मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान भन्ने म चाहन्छु।” उहाँले पक्षघातीलाई भन्नुभयो,
[11] “म तिमीलाई भन्दछु, उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।”
[12] त्यो उठ्यो, तिनीहरू सबैले देख्दादेख्दै ओछ्यान उठाएर बाहिर गइहाल्यो। यसले सबैलाई अचम्म तुल्यायो, अनि हरेकले यसो भन्दै परमेश्वरको महिमा गरे, “हामीले यस्ता कुरा कहिल्यै देखेका थिएनौं!”
[13] एकपल्ट फेरि येशू तालको किनारतिर जानुभयो। एउटा ठूलो भीड उहाँकहाँ आयो, अनि उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो।
[14] हिँड्दै गर्नुहुँदा उहाँले अल्फयसको छोरो लेवीलाई कर उठाउनेहरूको अड्डामा बसिरहेको देख्नुभयो। येशूले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे र उहाँलाई पछ्याए।
[15] एक दिन येशू लेवीको घरमा भोजन गरिरहनुहुँदा, धेरैजना कर उठाउनेहरू र पापीहरू, उहाँ र उहाँका चेलाहरूसित खाइरहेका थिए; किनकि उहाँलाई पछ्याउनेहरू धेरै थिए।
[16] जब व्यवस्थाका शिक्षकहरू जो फरिसीहरू थिए, उहाँलाई पापीहरू अनि कर उठाउनेहरूसित खाइरहनुभएको देखे, तब तिनीहरूले उहाँका चेलाहरूलाई सोधे: “तिनी किन कर उठाउनेहरू र पापीहरूसित खान्छन्?”
[17] यो सुनेर येशूले तिनीहरूलाई भन्नुभयो, “निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।”
[18] एकपल्ट यूहन्नाका चेलाहरू र फरिसीहरू उपवास बसेका थिए; केही मानिसहरूले येशूकहाँ आएर उहाँलाई सोधे, “किन यूहन्नाका चेलाहरू र फरिसीहरूका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरूचाहिँ बस्दैनन्?”
[19] येशूले जवाफ दिनुभयो, “दुलहा साथमा हुँदा उहाँका पाहुनाहरू कसरी उपवास बस्न सक्छन्? जबसम्म दुलहा तिनीहरूसित हुन्छन्, तिनीहरू त्यसो गर्न सक्दैनन्।
[20] तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, अनि त्यस दिन तिनीहरू उपवास बस्नेछन्।
[21] “कसैले पनि पुरानो वस्त्रमा नयाँ टालो सिलाउँदैन। यदि उसले यसो गर्छ भने नयाँ टालो घट्छ र पुरानोबाट च्यात्तिएर जान्छ, अनि त्यो फटाइ झन् नराम्रो हुन्छ।
[22] त्यसै गरी कसैले नयाँ दाखमद्य पुरानो छालाको थैलोमा खन्याउँदैन, नत्र भने त्यस दाखमद्यले छालाहरू फुट्छन्, अनि दाखमद्य र छालाको थैलो दुवै नष्ट हुनेछन्। त्यसो हुन नदिन उसले नयाँ दाखमद्य नयाँ छालाको थैलोमै राख्नुपर्दछ।”
[23] एक विश्रामदिन येशू अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो; अनि उहाँका चेलाहरू पनि हिँड्दै गर्दा तिनीहरूले खानका निम्ति अन्नका बाला टिप्न थाले।
[24] फरिसीहरूले उहाँलाई सोधे, “हेर्नुहोस्, किन यिनीहरूले विश्रामदिनमा उचित नहुने काम गरिरहेका छन्?”
[25] उहाँले जवाफ दिनुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्त्र पढेका छैनौ, दाविदले आफू र आफ्ना साथीहरू भोकाएको र खाँचोमा परेका बेला, के गरेका थिए?
[26] प्रधान पूजाहारी अबियाथारको समयमा, तिनी परमेश्वरको भवनभित्र पसे, र परमेश्वरलाई अर्पण गरिएको रोटी खाए, जो व्यवस्थाअनुसार केवल पूजाहारीहरूले मात्र खान उचित थियो। अनि तिनले केही भाग आफ्ना साथीहरूलाई पनि दिए।”
[27] तब येशूले तिनीहरूलाई भन्नुभयो, “विश्रामदिन मानिसहरूको लागि बनाइएको हो, तर मानिस विश्रामदिनको निम्ति होइन।
[28] यसकारण मानिसका पुत्र विश्रामदिनको पनि प्रभु हुन्।”