Skip to content
Opens in a new window
Listen to this chapter • 8:16

[1] तब येशू त्यो ठाउँ छोडेर यहूदिया प्रदेशका इलाकाहरूमा अनि यर्दनपारि जानुभयो। फेरि मानिसहरूको भीड उहाँकहाँ आए, अनि आफ्नो रीतिअनुसार उहाँले तिनीहरूलाई सिकाउनुभयो।

[2] केही फरिसीहरूले उहाँलाई यसरी सोध्दै जाँच गरे, “के मानिसले आफ्नी पत्नीलाई त्याग्नु उचित हो?”

[3] उहाँले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिए?”

[4] तिनीहरूले भने, “मोशाले मानिसलाई एउटा त्यागपत्र लेखेर आफ्नी पत्नीलाई छोड्ने अनुमति दिएका छन्।”

[5] येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई यो व्यवस्था दिएको त तिमीहरूको हृदयको कठोरताको कारणले गर्दा हो,

[6] तर सृष्‍टिको सुरुमा त परमेश्‍वरले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो।’

[7] ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ, अनि पत्नीसित मिलेर बस्छ,

[8] अनि ती दुई एउटै शरीर हुनेछन्।’ यसरी तिनीहरू अब दुई होइनन्, तर एक हुनेछन्।

[9] यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।”

[10] जब उहाँहरू घरभित्र हुनुहुन्थ्यो, चेलाहरूले येशूलाई यसबारे फेरि सोधे।

[11] उहाँले जवाफ दिनुभयो, “जसले आफ्नी पत्नीलाई विवाह-विच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्दछ, त्यसले उसको विरुद्धमा व्यभिचार गर्दछ।

[12] यदि कुनै स्त्रीले आफ्नो पतिसँग विवाह-विच्छेद गरेर अर्को मानिससँग विवाह गर्दछे भने, त्यसले व्यभिचार गर्दछे।”

[13] मानिसहरूले साना बालबालिकाहरूलाई येशूले तिनीहरूलाई छोइदिऊन् भनेर उहाँकहाँ ल्याउँदैथिए; तर चेलाहरूले तिनीहरूलाई हप्काए।

[14] जब येशूले यो देख्नुभयो, उहाँ रिसाउनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, अनि तिनीहरूलाई नरोक; किनकि परमेश्‍वरको राज्य यस्तैहरूको हो।

[15] म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले परमेश्‍वरको राज्यलाई एउटा सानो बालकलेझैं ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।”

[16] अनि उहाँले नानीहरूलाई काखमा लिएर आफ्ना हात तिनीहरूमाथि राखी तिनीहरूलाई आशिष दिनुभयो।

[17] येशू जब बाटोमा जाँदैहुनुहुन्थ्यो, एकजना मानिस दगुर्दै आएर उहाँको सामुन्‍ने घुँडा टेक्यो, अनि सोध्यो, “हे असल गुरु, मैले अनन्त जीवन प्राप्‍त गर्नलाई के गर्नुपर्छ?”

[18] येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? एक मात्र परमेश्‍वरबाहेक कोही पनि असल छैन।

[19] तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैंले हत्या नगर्नू, तैंले व्यभिचार नगर्नू, तैंले नचोर्नू, तैंले झूटो साक्षी नदिनू, तैंले नठग्नू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ”

[20] त्यसले घोषणा गर्‍यो, “गुरु, यी सबै त मैले मेरो बालककालदेखि नै गर्दैआएको छु।”

[21] येशूले त्यसलाई हेरेर प्रेम गरी भन्‍नुभयो, “तिमीमा एउटै कुराको अभाव छ; जाऊ, तिमीसित भएको सबै कुरा बेचेर गरिबहरूलाई देऊ, अनि तिमीलाई स्वर्गमा धन प्राप्‍त हुनेछ। तब आऊ, अनि मलाई पछ्याऊ।”

[22] यो सुनेर त्यो जवान मानिसको अनुहार उदास भयो। त्यो दुःखित भएर गइहाल्यो, किनकि ऊसित धेरै सम्पत्ति थियो।

[23] येशूले चारैतिर हेरेर आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नु कति कठिन छ!”

[24] उहाँका वचनहरूमा चेलाहरू छक्‍क परे, तर येशूले फेरि भन्‍नुभयो, “हे केटाकेटीहो, परमेश्‍वरको राज्यमा प्रवेश गर्नु कति कठिन छ!

[25] कुनै धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।”

[26] चेलाहरू झन् बढी छक्‍क परेर आपसमा भने, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?”

[27] येशूले तिनीहरूतिर हेरेर भन्‍नुभयो, “मानिसको लागि त यो असम्भव छ, तर परमेश्‍वरको लागि छैन; परमेश्‍वरको लागि सबै कुरा सम्भव छ।”

[28] पत्रुसले उहाँलाई भन्‍न थाले, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौं।”

[29] येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, कि आफ्नो घर अथवा दाजुभाइहरू वा दिदीबहिनीहरू अथवा आमा वा बुबा अथवा बालबच्‍चा अथवा जग्गाजमिन मेरो र सुसमाचारको निम्ति त्याग्नेहरू कसैले पनि

[30] सतावटका साथै यही युगमा तीभन्दा सय गुणा बढ्ता: घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमाहरू, बालबच्‍चाहरू अनि जग्गाजमिन र साथै आउने युगमा, अनन्त जीवन पनि प्राप्‍त गर्नेछ।

[31] तर धेरै जो पहिला छन्, ती पछिल्‍ला हुनेछन्; अनि धेरै जो पछिल्‍ला छन्, ती पहिला हुनेछन्।”

[32] उहाँहरू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो, येशू तिनीहरूका अघि-अघि हिँड्दैहुनुहुन्थ्यो; र चेलाहरू छक्‍कै परेका थिए, अनि अरू पछि-पछि आउनेहरूचाहिँ डराएका थिए। उहाँले फेरि बाह्र जनालाई एकातिर लैजानुभयो, र उहाँमाथि के हुनेछ सो बताउनुभयो।

[33] उहाँले भन्‍नुभयो, “हामी यरूशलेमतर्फ जाँदैछौ; अनि मानिसका पुत्रलाई मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरूको हातमा सुम्पिइनेछन्। तिनीहरूले उनलाई मृत्युको दोषी ठहराएर गैरयहूदीहरूको हातमा सुम्पिदिनेछन्;

[34] जसले उनलाई गिल्‍ला गर्नेछन् र उनलाई थुक्नेछन्, उनलाई कोर्रा लगाउनेछन् अनि मार्नेछन्। तीन दिनपछि उनी जीवित भई उठ्नेछन्।”

[35] तब जब्दीका छोराहरू, याकोब र यूहन्‍ना, उहाँकहाँ आए। तिनीहरूले भने, “हे गुरु, हामी तपाईंसँग जे माग्छौं, त्यो तपाईंले हाम्रो निम्ति गर्नुभएको हामी चाहन्छौं।”

[36] उहाँले सोध्नुभयो, “म तिमीहरूको लागि के गरूँ भनी तिमीहरू चाहन्छौ?”

[37] तिनीहरूले जवाफ दिए, “तपाईंको महिमामा आउँदा हामीमध्ये एकजना तपाईंको दाहिनेतिर र अर्कोचाहिँ देब्रेतिर बस्‍न चाहन्छौं।”

[38] तर येशूले भन्‍नुभयो, “तिमीहरूले के मागिरहेका छौ, त्यो जान्दैनौ। के मैले पिउने कष्‍टको कचौरा तिमीहरू पिउन सक्छौ? अथवा जुन कष्‍टको बप्‍तिस्मा म लिनेछु, त्यो तिमीहरूले लिन सक्छौ?”

[39] तिनीहरूले जवाफ दिए, “हामी सक्छौं।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मैले पिउने कचौरा पिउनेछौ अनि मैले लिने बप्‍तिस्मा लिनेछौ,

[40] तर मेरो दाहिने अथवा देब्रेतिर बस्‍नदिने अख्तियारचाहिँ मेरो होइन। यी ठाउँहरू त तिनीहरूका निम्ति हुन्, जसको लागि ती तयार पारिएका छन्।”

[41] जब ती दशजनाले यस विषयमा सुने, तिनीहरू याकोब र यूहन्‍नासित रिसाए।

[42] येशूले ती सबैलाई एकसाथ बोलाएर भन्‍नुभयो, “तिमीहरू जान्दछौ कि यस संसारले ठहराइएका शासकहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूका उच्‍च अधिकारीहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्।

[43] तिमीहरूमा चाहिँ यस्तो हुनुहुँदैन; बरु तिमीहरूमध्ये जो ठूलो हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ,

[44] अनि तिमीहरूमध्ये जो श्रेष्‍ठ हुन चाहन्छ, त्यो सबैको सेवक हुनैपर्छ;

[45] किनकि मानिसका पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आएका हुन्।”

[46] तब उहाँहरू यरिहोमा आउनुभयो। येशू र उहाँका चेलाहरू एउटा ठूलो भीडको साथमा शहरदेखि बाहिर आउँदैगर्नुहुँदा एकजना दृष्‍टिविहीन मानिस, तिमैको छोरो बार्तिमै बाटोको छेउमा माग्दै बसिरहेको थियो।

[47] जब उसले नासरतको येशू हुनुहुन्छ भन्‍ने सुन्यो, त्यो यसो भन्दै चिच्याउन थाल्यो, “हे येशू, दाविदका पुत्र, ममाथि दया गर्नुहोस्!”

[48] धेरैले त्यसलाई हप्काएर चूप लाग् भने, तर त्यो त झन् चर्को सोरमा करायो, “हे दाविदका पुत्र, ममाथि दया गर्नुहोस्!”

[49] येशू अडिनुभयो, र भन्‍नुभयो, “त्यसलाई बोलाओ।” यसकारण तिनीहरूले त्यस दृष्‍टिविहीन मानिसलाई भने, “ढाडस गर्! उठ्, उहाँले तँलाई बोलाउँदै हुनुहुन्छ।”

[50] आफ्नो वस्त्र एकातिर फ्याँकेर, त्यो जुरुक्‍क उठेर आफ्नो खुट्टामा उभियो र येशूकहाँ आयो।

[51] येशूले त्यसलाई सोध्नुभयो, “मैले तिम्रो लागि के गरूँ भनी तिमी चाहन्छौ?” त्यस दृष्‍टिविहीन मानिसले भन्यो, “हे गुरु, म फेरि दृष्‍टि पाउन चाहन्छु!”

[52] अनि येशूले भन्‍नुभयो, “जाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” तुरुन्तै त्यसले आफ्नो दृष्‍टि पायो, अनि बाटोभरि येशूको पछि-पछि लाग्यो।

मर्कूस — Chapters