Skip to content
Opens in a new window
Listen to this chapter • 5:43

[1] फेरि येशूले तालको किनारमा शिक्षा दिन थाल्नुभयो। उहाँको चारैतिर यति ठूलो भीड जम्मा भएको थियो कि, उहाँ तालमा भएको एउटा डुङ्गामा चढेर बस्‍नुभयो, अरू सबै मानिसहरूचाहिँ किनारमा पानीको छेउमा थिए।

[2] उहाँले तिनीहरूलाई धेरै कुराहरू दृष्‍टान्तहरूमा सिकाउनुभयो र आफ्नो शिक्षामा उहाँले भन्‍नुभयो,

[3] “ध्यान दिएर सुन! एकजना किसान बीउ छर्नलाई निस्क्यो।

[4] उसले जब बीउ छर्दैथियो, केही बीउ बाटोमा परे; अनि चराहरूले आएर ती खाइहाले।

[5] केही ढुङ्गेनी जमिनहरूमा परे, जहाँ धेरै माटो थिएन। माटो पर्याप्‍त नभएकोले ती चाँडै उम्रे।

[6] तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाए, अनि तिनीहरूमा जरा नभएकाले ती सुकिहाले।

[7] केही बीउहरू काँडाका झाडीमा परे, अनि काँडाहरू बढेर आए, र ती बिरूवाहरूलाई निसासिदिए, अनि फल फलाउन सकेनन्।

[8] अझ अरू बीउहरूचाहिँ असल जमिनमा परे, ती उम्रे, बढे अनि तीस, साठी र सय गुणासम्म फल फलाए।”

[9] तब येशूले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्यसले सुनोस् र बुझोस्।”

[10] जब उहाँ एकलै हुनुभयो, ती बाह्र चेलाहरू र उहाँका चारैतिर भएकाहरूले दृष्‍टान्तहरूका विषयमा उहाँलाई सोधे।

[11] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको राज्यको रहस्य तिमीहरूलाई प्रकट गरिएको छ, तर अरूलाई हरेक कुरो दृष्‍टान्तहरूमा भनिन्छ,

[12] यसरी धर्मशास्त्र पूरा होस्: “ ‘तिनीहरूले हेरिरहनेछन्, तर कहिल्यै देख्नेछैनन्, सुन्‍न त सुनिरहनेछन्, तर कहिल्यै बुझ्नेछैनन्; नत्र तिनीहरूले पश्‍चात्ताप गर्नेथिए र क्षमा पाउनेथिए।’ ”

[13] तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू यो दृष्‍टान्त बुझ्दैनौ? त्यसो भए तिमीहरूले अरू दृष्‍टान्त कसरी बुझ्नेछौ?

[14] बीउ छर्नेले वचन छर्दछ।

[15] कति मानिसहरू बाटोतिर परेका बीउजस्तै हुन्, जहाँ वचन छरिन्छ; तिनीहरूले जब यसलाई सुन्छन्, शैतान आउँछ र तिनीहरूमा छरिएको त्यो वचन लैजान्छ।

[16] अरूचाहिँ ढुङ्गेनी ठाउँमा छरिएका बीउजस्तै हुन्, तिनीहरूले वचन सुन्‍ने बित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छन्;

[17] तर तिनीहरूका जरा नभएकाले, ती थोरै समयको लागि मात्र रहन्छन्। जब वचनको कारण दुःख र सतावट आइपर्दछ, तब तिनीहरू झट्टै पछि हट्छन्।

[18] अझ अरूचाहिँ काँडाहरूमा छरिएका बीउजस्तै हुन्, जसले वचन सुन्छन्,

[19] तर यस जीवनको फिक्री र धनसम्पत्तिको छलले अनि अरू थोकहरूको मोह आउँछ र वचनलाई निसासिदिन्छन्, र त्यो नफल्ने हुन्छ।

[20] तर अरूचाहिँ असल माटोमा परेका बीउजस्तै हुन्, जसले वचन सुन्दछन्, त्यसलाई ग्रहण गर्दछन्, अनि तीस गुणा, साठी गुणा र सय गुणासम्म फल फलाउँछन्।”

[21] येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले एउटा बत्ती ल्याएर भाँडोमुनि अथवा खाटमुनि राख्छौ र? यसको सट्टा तिमीहरूले के त्यसलाई सामदानमाथि राख्दैनौ र?

[22] जे लुकाइन्छ, त्यो प्रकट हुनको लागि हो, अनि जे गुप्‍तमा राखिन्छ, त्यो खुलस्त गरिनको लागि हो।

[23] यदि कसैको सुन्‍ने कानहरू छन् भने, त्यसले सुनोस् र बुझोस्।”

[24] उहाँले अझै भन्‍नुभयो, “तिमीहरू जे सुन्छौ, त्यसलाई होसियारीसाथ विचार गर। जुन नापले तिमीहरू अरूहरूलाई नाप्दछौ, तिमीहरू पनि त्यही नापले अर्थात् अझै बढ्ता गरी नापिनेछौ।

[25] जससित छ, त्यसलाई अरू दिइनेछ; र जससित छैन, त्यससित भएको पनि खोसिनेछ।”

[26] उहाँले यो पनि भन्‍नुभयो, “परमेश्‍वरको राज्य यस्तो छ: एकजना मानिसले जमिनमा बीउ छर्छ।

[27] राती र दिउँसो, ऊ सुते पनि वा उठे पनि, त्यो बीउ उम्रन्छ अनि बढ्छ, यद्यपि यो कसरी हुन्छ सो उसले जान्दैन।

[28] माटोले आफै अन्‍न फलाउँछ; पहिले बोट, त्यसपछि बाला, त्यसपछि बालामा पूरा अन्‍न।

[29] अन्‍न पाक्नसाथ उसले त्यसमा हँसिया लगाउँछ, किनकि कटनीको बेला आइपुगेको हुन्छ।”

[30] उहाँले फेरि भन्‍नुभयो, “हामी परमेश्‍वरको राज्यको तुलना केसँग गरौं? अथवा यसलाई वर्णन गर्नलाई हामीले कुन दृष्‍टान्त प्रयोग गरौं?

[31] यो एउटा रायोको बीउजस्तो हो, जुन माटोमा रोपिने बीउहरूमध्ये सबभन्दा सानो हुन्छ।

[32] तैपनि रोपेपछि यो बढेर बारीमा भएका अरू बोटबिरुवाहरू भन्दा ठूलो हुन्छ, जसका यति ठूला हाँगाहरू हुन्छन् कि, चराचुरुङ्गीहरू यसका छहारीमा बास बस्‍न सक्छन्।”

[33] यस्ता अरू धेरै दृष्‍टान्तहरूद्वारा येशूले तिनीहरूले बुझ्न सक्नेअनुसार तिनीहरूसित वचनहरू बोल्नुभयो।

[34] उहाँले तिनीहरूसित दृष्‍टान्तहरू प्रयोग नगरी केही भन्‍नुभएन; तर उहाँ आफ्ना चेलाहरूसित एकलै हुँदा तिनीहरूलाई सबैको अर्थ बताइदिनुहुन्थ्यो।

[35] त्यस दिन, साँझ परेपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “हामी पारिपट्टि जाऔं।”

[36] भीडलाई छोडेर तिनीहरूले उहाँलाई, उहाँ जुन डुङ्गामा हुनुहुन्थ्यो, त्यसैमा लगे। त्यहाँ उहाँसित अरू डुङ्गाहरू पनि थिए।

[37] तब एउटा डरलाग्दो आँधी आयो, र छालहरू डुङ्गाभित्र पसे, अनि त्यसलाई पानीले डुबाउनै लाग्यो।

[38] येशूचाहिँ डुङ्गाको पछिल्‍लो भागमा एउटा सिरानी लगाएर निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई बिउँझाएर भने, “हे गुरु, हामी डुब्नैलागेका छौं, र पनि तपाईंले वास्ता गर्नुहुन्‍न?”

[39] उहाँले उठेर बतासलाई हप्काउनुभयो, अनि छालहरूलाई भन्‍नुभयो, “चूप लाग! शान्त हो!” तब बतास पूर्ण रूपले थामियो, र पूरै चकमन्‍न भयो।

[40] उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यति साह्रै डराउँछौ? के तिमीहरूमा अझ पनि विश्‍वास छैन?”

[41] तिनीहरू डराए, अनि आपसमा भने, “यिनी को हुन्? बतास र छालहरूले पनि यिनको आज्ञा मान्दा रहेछन्!”

मर्कूस — Chapters