Skip to content
Opens in a new window
Listen to this chapter • 6:14

[1] उहाँहरू तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा जानुभयो।

[2] जब येशू डुङ्गाबाट बाहिर निस्कनुभयो, त्यहाँ अशुद्ध आत्मा लागेको एकजना मान्छे चिहानबाट उहाँलाई भेट्न आयो।

[3] यो मानिस चिहानहरूमा बस्थ्यो; अनि कसैले पनि त्यसलाई बाँध्न सक्दैनथियो, साङ्लोले समेत सक्दैनथियो।

[4] किनकि धेरैपल्ट त्यो हातखुट्टामा साङ्लोले बाँधिएको थियो; तर त्यसले साङ्लाहरू चुडाउँथ्यो अनि खुट्टाका फलामहरू भाँच्थ्यो। त्यसलाई अधीनमा राख्नसक्ने बल कसैसँग थिएन।

[5] दिनरात चिहानहरूमा र पहाडहरूमा रहन्थ्यो, र चिच्याउँथ्यो अनि आफैलाई ढुङ्गाले काट्ने गर्दथ्यो।

[6] जब त्यसले टाढैबाट येशूलाई देख्यो, त्यो दगुरेर उहाँको सामुन्‍ने गई उहाँको पाउमा पर्‍यो।

[7] त्यसले चर्को सोरले कराएर भन्यो, “हे सर्वोच्‍च परमेश्‍वरका पुत्र, येशू, तपाईं मसित के चाहनुहुन्छ? परमेश्‍वरको नाउँको निम्ति मलाई नसताउनुहोस्!”

[8] किनकि येशूले त्यसलाई भन्‍नुभएको थियो, “हे अशुद्ध आत्मा, तँ यस मानिसबाट बाहिर निस्की!”

[9] तब येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाउँ के हो?” त्यसले जवाफ दियो, “मेरो नाउँ फौज हो; किनकि हामी धेरै छौं।”

[10] अनि त्यसले येशूलाई त्यस इलाकादेखि तिनीहरूलाई बाहिर नपठाऊन् भनी बारम्बार विन्ती गर्‍यो।

[11] त्यहाँ नजिकै, पहाडमा सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेको थियो।

[12] ती भूत आत्माहरूले येशूलाई यसरी विन्ती गरे, “हामीलाई ती सुँगुरहरूमा पठाउनुहोस्; तिनीहरूभित्र पस्‍न दिनुहोस्।”

[13] उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अनि अशुद्ध आत्माहरू निस्केर सुँगुरहरूभित्र पसे। दुई हजार जतिको त्यो बगाल, त्यस भिरालो किनारबाट हुर्रिदै गएर तालमा खस्यो, अनि डुबेर मरे।

[14] ती सुँगुर चराउनेहरू भागेर शहर र गाउँतिर गएर त्यो खबर सुनाइदिए, अनि मानिसहरू के भएको थियो, सो हेर्न गए।

[15] जब तिनीहरू येशूकहाँ आए, तिनीहरूले दुष्‍ट आत्माको फौजले भरिएको त्यस मानिसलाई लुगा लगाएर सद्दे दिमागको भई त्यहाँ बसिरहेको देखे; अनि तिनीहरू डराए।

[16] जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्‍ट आत्मा लागेको मानिसलाई के भएको थियो, अनि सुँगुरहरूको विषयमा पनि मानिसहरूलाई भनिदिए।

[17] तब मानिसहरूले येशूलाई त्यस क्षेत्रबाट गइहाल्न विन्ती गरे।

[18] येशू जब डुङ्गामा चढ्नुहुँदैथियो, त्यो दुष्‍ट आत्माले सताएको मानिस आएर उहाँसँगै जानपाऊँ भनी विन्ती गर्‍यो।

[19] येशूले मान्‍नुभएन, तर भन्‍नुभयो, “घरमा जाऊ, अनि आफ्नो परिवारलाई तिम्रो लागि प्रभुले कति ठूलो काम गर्नुभएको छ र उहाँले तिमीप्रति कति कृपा देखाउनुभयो, त्यो सबैलाई भनिदेऊ।”

[20] यसकारण त्यो मानिस गइहाल्यो, अनि येशूले उसको लागि के गर्नुभयो त्यो डेकापोलिसमा भन्‍न थाल्यो; अनि सबै मानिसहरू छक्‍क परे।

[21] फेरि येशू डुङ्गामा चढी तालपारि जानुभएपछि, उहाँ तालको किनारमा हुँदा एउटा ठूलो भीड उहाँको चारैतिर भेला भयो।

[22] तब सभाघरका शासकहरूमध्ये याइरस नाउँ भएको एकजना त्यहाँ आए। येशूलाई देखेर तिनी उहाँको पाउमा घोप्टो परे,

[23] अनि उहाँलाई विनम्र अनुरोध गरे, “मेरी सानी छोरी मर्नै लागेकी छ। दया गरी आएर त्यसमाथि तपाईंका हात राखिदिनुहोस्, अनि त्यो निको होस्; र त्यो बाँचोस्।”

[24] तब येशू तिनीसित जानुभयो। एउटा ठूलो भीडले उहाँलाई पछ्यायो, अनि उहाँको चारैतिर ठेलमठेला भयो।

[25] अनि त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री थिई।

[26] त्यसले धेरै चिकित्सकहरूबाट धेरै कष्‍ट भोगेकी अनि आफूसित भएको सबै खर्च गरिसकेकी थिई, र पनि लाभ हुनुको साटो अझ खराब अवस्थामा पुगेकी थिई।

[27] जब त्यसले येशूको विषयमा सुनी, त्यो त्यस भीडमा उहाँको पछिल्तिर आएर उहाँको वस्त्र छोई,

[28] किनकि त्यसले सोचेकी थिई, “यदि मैले उहाँको वस्त्रमात्र छोएँ भने पनि म निको हुनेछु।”

[29] तुरुन्तै त्यसको रगत बग्न बन्द भयो, र आफ्नो शरीरको रोग निको भएको त्यसले थाहा पाई।

[30] येशूलाई आफ्नो शरीरबाट शक्‍ति बाहिर निस्केको तुरुन्तै थाहा भयो। उहाँले भीडमा पछि फर्केर सोध्नुभयो, “कसले मेरो वस्त्र छोयो?”

[31] उहाँका चेलाहरूले जवाफ दिए, “मानिसहरूको भीडले तपाईंलाई घचेटिरहेको देख्दैहुनुहुन्छ, र पनि तपाईं कसरी सोध्न सक्नुहुन्छ, ‘कसले मलाई छोयो?’ ”

[32] तर येशूले उहाँलाई कसले छोयो भनी चारैतिर हेरिरहनुभयो।

[33] तब आफूमा के भएको थियो, सो जानेर त्यो स्त्री आई, र उहाँको पाउमा घोप्टो परी, अनि डरले काँप्दै उहाँलाई सबै साँचो कुरा बताई।

[34] उहाँले त्यसलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। शान्तिसित जाऊ, तिमी आफ्नो कष्‍टबाट मुक्‍त भयौ।”

[35] येशू बोलिरहनुभएकै बेला केही मानिसहरू सभाघरका शासक याइरसको घरबाट आएर भने, “तपाईंकी छोरीको मृत्यु भयो। अब गुरुज्यूलाई किन अरू दुःख दिनुहुन्छ?”

[36] उनीहरूले भनेको कुराको वास्तै नराखी येशूले सभाघरका शासकलाई भन्‍नुभयो, “नडराऊ, विश्‍वास मात्र गर।”

[37] उहाँले आफूसित पत्रुस, याकोब र तिनका भाइ यूहन्‍नाबाहेक अरूलाई आउन दिनुभएन।

[38] जब उहाँहरू सभाघरका शासकको घरमा आइपुग्नुभयो; येशूले मानिसहरू रुँदै कराउँदै खैलाबैला गरेको देख्नुभयो।

[39] उहाँले भित्र पसेर तिनीहरूलाई भन्‍नुभयो, “किन यस्तो रुवाइ र खैलाबैला गर्छौ? केटी मरेकी छैन, तर सुतेकी छे।”

[40] तर तिनीहरूले उहाँको उपहास गरेर हाँसे। उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभएपछि, बालिकाका बुबा, आमा र आफूसित भएका चेलाहरूलाई लिएर बालिका भएको ठाउँमा जानुभयो।

[41] उहाँले त्यसको हातमा समात्नुभयो र त्यसलाई भन्‍नुभयो, “तालिता कौम!” (जसको अर्थ हो, “हे सानी केटी, म तिमीलाई भन्दछु, उठ!”)।

[42] त्यो केटी तुरुन्तै ठिङ्ग उभिई र यताउता हिँडी (ऊ बाह्र वर्षकी थिई)। यसमा तिनीहरूले अति अचम्म माने।

[43] उहाँले तिनीहरूलाई यसबारे कसैलाई नभन्‍नू भनी कडा आज्ञा दिएर त्यस केटीलाई केही खानेकुरा दिनू भन्‍नुभयो।

मर्कूस — Chapters