[1] एकाबिहानै, मुख्य पूजाहारीहरू, प्रधानहरू, व्यवस्थाका शिक्षकहरू अनि सम्पूर्ण महासभा मिलीकन एउटा निष्कर्षमा आइपुगे। अनि तिनीहरूले येशूलाई बाँधेर लगे, र पिलातसको हातमा सुम्पिदिए।
[2] पिलातसले सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “हो, तपाईंले भन्नुभएझैं हो।”
[3] ती मुख्य पूजाहारीहरूले उहाँमाथि धेरै कुराहरूको दोष लगाए।
[4] यसकारण फेरि पिलातसले उहाँलाई सोधे, “के तिमी केही जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै कुराहरूमा दोष लगाउँदैछन्।”
[5] तर येशूले कुनै जवाफ दिनुभएन, अनि पिलातस छक्क परे।
[6] अब चाडको समयमा मानिसहरूले विन्ती गरेर मागेको एकजना कैदीलाई छोडिदिने चलन थियो।
[7] झ्यालखानामा अरू विद्रोहीहरूसित एकजना बारब्बा नाउँ भएको मानिस पनि थियो, जसले विद्रोहको समयमा हत्या गरेको थियो।
[8] अनि भीड आयो, र पिलातसलाई तिनले गर्दैआएको काम गर्ने विन्ती गरे।
[9] पिलातसले सोधे, “के मैले यहूदीहरूको राजालाई तिमीहरूको निम्ति छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?”
[10] किनकि मुख्य पूजाहारीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भन्ने पिलातसलाई थाहा थियो।
[11] तर मुख्य पूजाहारीहरूले भीडलाई उक्साएर तिनीहरूले पिलातसलाई बारब्बालाई छोडिदिऊन् भन्न लगाए।
[12] पिलातसले तिनीहरूलाई सोधे, “त्यसो भए तिमीहरूले यहूदीहरूको राजा भनेकोलाई चाहिँ म के गरूँ?”
[13] तिनीहरू चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
[14] पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?” तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
[15] भीडलाई सन्तुष्ट पार्ने इच्छाले पिलातसले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, र तिनले येशूलाई कोर्रा लाउन लगाए, अनि उहाँलाई क्रूसमा टाँग्नलाई सुम्पिदिए।
[16] सिपाहीहरूले येशूलाई महल (अर्थात्, प्रेटोरियम) भित्र लगे, अनि सिपाहीहरूका जम्मै पल्टनलाई बोलाए।
[17] तिनीहरूले उहाँलाई एउटा बैजनी रङ्गको वस्त्र लगाइदिए, अनि काँडाहरू बटारेर एउटा मुकुट बनाएर उहाँलाई लगाइदिए।
[18] अनि तिनीहरूले उहाँलाई “यहूदीहरूको राजाको जय!” भन्दै कराए।
[19] तिनीहरूले घरी-घरी उहाँको शिरमा निगालोले हिर्काए अनि उहाँलाई थुके। तिनीहरूले उहाँको उपहास गर्दै उहाँको सामुन्ने घुँडा टेकेर झुके।
[20] अनि उहाँको अपमान गरिसकेपछि, तिनीहरूले त्यो बैजनी वस्त्र फुकालिदिए, र उहाँकै वस्त्र उहाँलाई लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे।
[21] अलेक्जेन्डर र रूफसका बुबा, साइरिनीवासी सिमोनलाई, जो गाउँबाट आइरहेका बेला तिनीहरूले उसलाई क्रूस बोक्न कर लगाए।
[22] तिनीहरूले येशूलाई गलगथा अर्थात् खप्परे भनिने ठाउँमा ल्याए।
[23] तब तिनीहरूले उहाँलाई नशालु पदार्थ मूर्र मिसाइएको दाखमद्य दिए, तर उहाँले त्यो पिउनुभएन।
[24] अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। तिनीहरूले उहाँको वस्त्रहरूका लागि कसले के पाउँदोरहेछ भनेर चिट्ठा हालेर ती भाग गरे।
[25] तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो।
[26] उहाँको विरुद्धको दोषपत्रमा यसरी लेखिएको थियो: यहूदीहरूको राजा।
[27] तिनीहरूले उहाँसित दुई डाँकूहरूलाई पनि क्रूसमा टाँगे, एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि।
[28] अनि धर्मशास्त्रको वचन यसरी पूरा भयो, “उहाँ अपराधीहरूसँग गनिनुभयो।”
[29] त्यस ठाउँबाट भएर हिँड्नेहरूले आफ्ना शिर हल्लाउँदै उहाँलाई अपमान गरेर यसो भने, “वाह! तँ मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने!
[30] क्रूसबाट तल ओर्लेर आइज, अनि आफूलाई बचा!”
[31] यस्तै किसिमले मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शिक्षकहरूले आपसमा उहाँको अपमान गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफूलाई बचाउन सक्दैन।
[32] यो ख्रीष्ट, इस्राएलको राजा, अब क्रूसबाट तल ओर्लिआओस् र हामी देखेर विश्वास गरौं।” उहाँसित क्रूसमा टाँगिएकाहरूले पनि उहाँलाई घोर अपमान गरे।
[33] अनि बाह्र बजेदेखि, दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो।
[34] अनि तीन बजेतिर येशू चर्को सोरले कराउनुभयो, “एलोई, एलोई, लामा सबखथनी?” जसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो?”
[35] छेउमा उभिरहनेहरूमध्ये कतिले जब यो सुने, तिनीहरूले भने, “सुन, यसले एलियालाई बोलाउँदैछ।”
[36] एकजना मानिस दौडेर गयो, अनि स्पन्जमा सिर्का चोपेर त्यसलाई एउटा निगालोमा लगाएर पिउन भनी येशूलाई दिँदै त्यसले भन्यो, “अब यिनलाई एकलै छोडिदेओ। हेरौं, कतै एलिया आएर यिनलाई उतार्छन् कि।”
[37] तब येशूले चर्को सोरले कराएर आफ्नो प्राण त्याग्नुभयो।
[38] अनि मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो।
[39] अनि जब येशूको अघिल्तिर उभिरहेका कप्तानले उहाँको स्वर सुने, अनि उहाँ कसरी मर्नुभयो, त्यो देखेर तिनले भने, “निश्चय यी मानिस परमेश्वरका पुत्र रहेछन्!”
[40] केही स्त्रीहरू टाढैबाट हेरिरहेका थिए। तीमध्ये मरियम मग्दलिनी, कान्छो याकोब र योसेफकी आमा मरियम अनि सलोमी थिए।
[41] यी स्त्रीहरूले गालीलमा उहाँको पछि लाग्दै उहाँको खाँचोमा सेवा गरेका थिए। उहाँसित यरूशलेममा आउने अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए।
[42] त्यो तयारीको दिन (अर्थात्, विश्रामदिनको अघिल्लो दिन) थियो। यसकारण जब साँझ हुनथाल्यो,
[43] अरिमथिया निवासी योसेफ, सभाका एकजना प्रमुख सदस्य, जो आफूले परमेश्वरको राज्य पर्खिरहेका थिए, साहससित पिलातसकहाँ गएर येशूको शव मागे।
[44] उहाँ मरिसक्नुभएको सुनेर पिलातस छक्क परे। कप्तानलाई बोलाएर तिनले उसलाई येशू मर्नुभएको हो कि होइन भनेर सोधे।
[45] जब कप्तानबाट तिनलाई यो कुरा पक्का भयो, तिनले उहाँको शरीर योसेफलाई लाने अनुमति दिए।
[46] योसेफले केही मलमलको कपडा किने, उहाँको शवलाई तल झारेर मलमलको लुगामा बेह्रे, अनि त्यसलाई चट्टान खोपेर बनाएको चिहानमा राखे। तब तिनले चिहानको मुखमा एउटा ढुङ्गा गुडाउँदै ल्याएर राखिदिए।
[47] मरियम मग्दलिनी र योसेफकी आमा मरियमले उहाँ राखिएको ठाउँ देखे।