Skip to content
Opens in a new window
Listen to this chapter • 8:12

[1] अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यो ठाउँमा उपस्थित भएकाहरूमध्ये कतिले परमेश्‍वरको राज्य शक्‍तिसित आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।”

[2] अनि छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र यूहन्‍नालाई लिनुभयो, अनि तिनीहरूलाई एउटा अग्लो पर्वतमा लैजानुभयो, जहाँ उहाँहरू मात्र हुनुहुन्थ्यो। त्यहाँ तिनीहरूका सामुन्‍ने उहाँको रूप परिवर्तन भयो।

[3] उहाँको वस्त्र चहकिलो सेतो भयो; अर्थात् संसारमा कसैले धोएर सेतो बनाउनै नसक्ने गरी सेता भए।

[4] अनि त्यहाँ तिनीहरूका सामुन्‍ने एलिया र मोशा देखा परे; उनीहरू येशूसित कुरा गरिरहेका थिए।

[5] अनि पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यहीं रहनु असल छ। हामी तीनओटा वासस्थान बनाऔं; एउटा तपाईंको लागि, एउटा मोशाको लागि अनि एउटा एलियाको लागि।”

[6] तिनीहरू यति साह्रो डराएका थिए, के भन्‍ने हो सो तिनले जानेनन्।

[7] तब बाक्लो बादल देखा पर्‍यो र तिनीहरूलाई ढाक्यो, अनि बादलबाट यसो भन्‍ने आवाज आयो: “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु, यिनको कुरा सुन!”

[8] अचानक जब तिनीहरूले चारैतिर हेरे, तिनीहरूले आफूसित येशूबाहेक अरू कसैलाई पनि देखेनन्।

[9] उहाँहरू जब पर्वतबाट ओर्लँदैहुनुहुन्थ्यो, येशूले तिनीहरूलाई तिनीहरूले देखेका कुरा, मानिसका पुत्र मृत्युबाट जीवित भई नउठेसम्म कसैलाई नभन्‍नू भनी आज्ञा दिनुभयो।

[10] तिनीहरूले “मरेकोबाट जीवित हुनु” भनेको के हो भन्‍ने विषयमा छलफल गर्दै, त्यो कुरा आफूभित्र राखे।

[11] अनि तिनीहरूले उहाँलाई सोधे, “किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?”

[12] येशूले जवाफ दिनुभयो, “अवश्य, एलिया पहिला आउनेछन्, अनि सबै कुरा पुनर्स्थापन गर्नेछन्। त्यसो भए किन मानिसका पुत्रले धेरै कष्‍ट भोग्नुपर्छ, अनि तिरष्कृत हुनुपर्छ भनी लेखिएको?

[13] तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, अनि जस्तो तिनको विषयमा धर्मशास्त्रमा लेखिएको छ, तिनीहरूले तिनीप्रति इच्छा लागेका सबै थोक गरेका छन्।”

[14] जब उहाँहरू अरू चेलाहरूकहाँ आउनुभयो, उहाँहरूले तिनीहरूका चारैतिर एउटा ठूलो भीडसित व्यवस्थाका शिक्षकहरू तर्क गरिरहेका देख्नुभयो।

[15] सबै मानिसहरूले जब येशूलाई देखे, तिनीहरू आश्‍चर्य चकित भएर उहाँलाई अभिवादन गर्न दगुरे।

[16] अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू यिनीहरूसित कुन विषयमा बहस गर्दैछौ?”

[17] तब भीडबाट एकजना मानिसले जवाफ दियो, “हे गुरु, मैले तपाईंकहाँ मेरो छोरा लिएर आएको छु, जसलाई दुष्‍ट आत्मा लागेको छ, अनि त्यसले उसको बोली नै लगिदिएको छ।

[18] जब त्यसले उसलाई पक्रन्छ, उसलाई भुइँमा पछारिहाल्छ; उसले मुखबाट फिँज काढ्छ, दाह्रा किट्छ, अनि अरट्ठै पर्छ। मैले तपाईंका चेलाहरूलाई यस आत्मालाई धपाइदिनुहोस् भनी विन्ती गरें, तर तिनीहरूले सकेनन्।”

[19] येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहूँला र तिमीहरूलाई सहूँ? त्यस केटोलाई मकहाँ ल्याओ।”

[20] यसकारण तिनीहरूले त्यसलाई ल्याए। जब त्यस आत्माले येशूलाई देख्यो, त्यसले तुरुन्तै त्यस केटोलाई लछारपछार पार्‍यो। त्यो भुइँमा लडीबुडी गर्न थाल्यो, अनि मुखबाट फिँज काढ्दै लडीबुडी गर्न थाल्यो।

[21] अनि येशूले केटाको बुबालाई सोध्नुभयो, “यसलाई कहिलेदेखि यस्तो भइरहेको छ?” तिनले जवाफ दिए, “सानैदेखि।

[22] त्यसले यसलाई मार्नलाई घरी-घरी पानीमा अथवा आगोमा फ्याँकिदिन्छ; यदि तपाईंले केही गर्न सक्नुहुन्छ भने हामीमाथि दया गरेर सहायता गर्नुहोस्।”

[23] अनि येशूले भन्‍नुभयो, “यदि तपाईंले ‘सक्नुहुन्छ भने’ भन्‍नुको अर्थ के हो? विश्‍वास गर्नेको लागि हरेक कुरा सम्भव हुन्छ।”

[24] तुरुन्तै त्यस केटाको बुबाले भने, “म विश्‍वास गर्दछु; मेरो अविश्‍वासमाथि विजय पाउन मलाई सहायता गर्नुहोस्!”

[25] जब येशूले त्यस ठाउँमा एउटा भीड दौडेर आइरहेको देख्नुभयो, उहाँले त्यस अशुद्ध आत्मालाई यसो भनेर हकार्नुभयो, “तँ कान नसुन्‍ने र लाटो आत्मा, म तँलाई त्यसबाट बाहिर आइज अनि त्यसमा फेरि कहिल्यै नपस् भनी आज्ञा दिन्छु।”

[26] तब त्यो आत्मा चिच्याएर त्यसलाई जोडसित पछारेर बाहिर निस्क्यो। त्यो केटो यस्तो मुर्दाजस्तै भयो, कि धेरै जनाले “त्यो त मरेछ” भने।

[27] तर येशूले त्यसको हात पक्रेर त्यसलाई आफ्नो खुट्टामा उभ्याउनुभयो, अनि त्यो ठिङ्ग उभियो।

[28] येशू भित्र पस्‍नुभएपछि, उहाँका चेलाहरूले उहाँलाई गुप्‍तमा सोधे, “हामीले किन त्यसलाई निकाल्न सकेनौं?”

[29] उहाँले जवाफ दिनुभयो, “यस्तो किसिमको चाहिँ प्रार्थनाद्वारा मात्र निस्कन सक्छ।”

[30] उहाँहरू त्यो ठाउँ छोडेर गालील भएर जानुभयो। येशूले उहाँहरू कहाँ हुनुहुन्छ भनी कसैले पनि थाहा नपाएको चाहनुहुन्थ्यो,

[31] किनकि उहाँले आफ्ना चेलाहरूलाई सिकाउनुहुँदैथियो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछन्। तिनीहरूले उसलाई मार्नेछन्, अनि तीन दिनपछि उनी फेरि जीवित भई उठ्नेछन्।”

[32] तर यसको अर्थ के हो तिनीहरूले बुझ्न सकेनन् र त्यस विषयमा उहाँलाई सोध्न डराए।

[33] अनि उहाँहरू कफर्नहुममा आउनुभयो। उहाँ घरभित्र हुनुहुँदा उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू बाटोमा के विषयमा वाद-विवाद गर्दैथियौ?”

[34] तर तिनीहरू चूप रहे, किनकि बाटोमा तिनीहरूले सबैभन्दा ठूलो को हो भनी विवाद गरेका थिए।

[35] बसिरहेको बेला येशूले बाह्र जनालाई बोलाएर भन्‍नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने, ऊ सबैभन्दा पछि अनि सबैको सेवक हुनुपर्छ।”

[36] तब उहाँले एउटा सानो बालकलाई लिएर त्यसलाई तिनीहरूका बीचमा उभ्याउनुभयो। त्यसलाई काखमा लिएर उहाँले तिनीहरूलाई भन्‍नुभयो,

[37] “जसले यस्ता साना बालकहरूलाई मेरो नाउँमा स्वागत गर्छ, त्यसले मलाई स्वागत गर्छ; अनि जसले मलाई स्वागत गर्छ, त्यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई स्वागत गर्छ।”

[38] यूहन्‍नाले भने, “हे गुरु, हामीले एकजना मानिसलाई तपाईंको नाउँमा भूतहरू धपाइरहेको देख्यौं र हामीले त्यसलाई रोक्यौं, किनकि, ऊ हाम्रो समूहको थिएन।”

[39] येशूले भन्‍नुभयो, “त्यसलाई नरोक। मेरो नाउँमा शक्‍तिशाली कामहरू गर्ने कसैले पनि केही बेरपछि मेरो विषयमा केही नराम्रो भन्‍न सक्दैन,

[40] किनकि जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो पक्षमा छ।

[41] म तिमीहरूलाई साँच्‍चै भन्दछु, कसैले तिमीहरू ख्रीष्‍टका हौ भनेर मेरो नाउँमा तिमीहरूलाई एक गिलास पानी पिउन दिन्छ भने निश्‍चय नै उसले आफ्नो इनाम गुमाउनेछैन।

[42] “अनि यदि कसैले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्ये एकजनालाई पनि पाप गर्न लगाउँछ भने, उसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रमा फालिदिनु असल हुनेथियो।

[43] यदि तिमीहरूका हातले तिमीहरूलाई पाप गर्न लगाउँछ भने, त्यसलाई काटेर फालिदेओे, दुई हात लिएर कहिल्यै ननिभ्ने नरकको आगोमा जानुभन्दा त, हात विहीन भएर अनन्त जीवनमा प्रवेश गर्नु तिमीहरूको लागि असल हुन्छ।

[44] नरकमा त तिनीहरूका कीरा मर्दैन, अनि आगो निभ्दैन।

[45] यदि तिमीहरूका खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने, त्यसलाई काटेर फालिदेओ, दुई खुट्टा लिएर नरकमा फालिनुभन्दा त खुट्टा विहीन भएर जीवनमा प्रवेश गर्नु तिमीहरूको लागि असल हुन्छ।

[46] नरकमा त तिनीहरूका कीरा मर्दैन, अनि आगो निभ्दैन।

[47] यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने, त्यसलाई झिकेर फालिदेओ। दुई आँखा लिएर नरकमा फालिनुभन्दा त एउटा आँखा लिएर परमेश्‍वरको राज्यमा प्रवेश गर्नु तिमीहरूको लागि असल हुन्छ।

[48] नरकमा त, “ ‘तिनीहरूलाई खाने कीरा मर्दैन, अनि आगो निभ्दैन।’

[49] हरेकलाई नुनमा हालेझैं आगोमा हालिनेछ।

[50] “नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने, तिमीहरूले यसलाई फेरि कसरी नुनिलो बनाउने? तिमीहरू हरेकमा नूनको गुण छ, त्यसैले आपसमा मिलापमा रहो।”

मर्कूस — Chapters