[1] ती दिनहरूमा फेरि अर्को एउटा ठूलो भीड जम्मा भयो। तिनीहरूसित खानेकुरा केही नभएकोले, येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो,
[2] “म यी मानिसहरूलाई टिठ्याउँछु; तिनीहरू हामीसित तीन दिनदेखि छन्, अनि तिनीहरूसित खानेकुरा केही छैन।
[3] यदि मैले तिनीहरूलाई भोकै घर पठाएँ भने तिनीहरू बाटैमा मूर्छा पर्नेछन्; किनकि तीमध्ये कोही धेरै टाढाबाट आएका छन्।”
[4] उहाँका चेलाहरूले जवाफ दिए, “तर यस अनकन्टार ठाउँमा तिनीहरूलाई खुवाउन प्रशस्त रोटी कहाँ पाउन सकिएला र?”
[5] येशूले सोध्नुभयो, “तिमीहरूसित कतिओटा रोटी छन्?” तिनीहरूले जवाफ दिए, “सातओटा।”
[6] उहाँले भीडलाई भुइँमा बस्न लाउनुभयो। जब उहाँले ती सातओटा रोटी लिएर परमेश्वरलाई धन्यवाद दिनुभयो, उहाँले ती भाँचेर मानिसहरूमा बाँडिदिनको लागि चेलाहरूलाई दिनुभयो, अनि तिनीहरूले त्यसै गरे।
[7] तिनीहरूसित केही साना माछाहरू पनि थिए; उहाँले तिनको लागि पनि धन्यवाद दिनुभयो अनि चेलाहरूलाई ती बाँडिदिन अह्राउनुभयो।
[8] मानिसहरूले खाए, अनि अघाए। त्यसपछि चेलाहरूले उब्रेका टुक्राहरू सात डालाभरि बटुले।
[9] त्यहाँ प्रायः चार हजार मानिसहरू उपस्थित थिए। अनि तिनीहरूलाई बिदा गरिसकेपछि,
[10] उहाँ आफ्ना चेलाहरूसित डुङ्गामा चढेर दलमनुथाका क्षेत्रमा जानुभयो।
[11] अनि फरिसीहरू आएर येशूलाई प्रश्नहरू सोध्न थाले। उहाँलाई जाँच गर्नको लागि तिनीहरूले उहाँसित स्वर्गबाट एउटा चिन्ह मागे।
[12] उहाँले लामो सास लिएर भन्नुभयो, “किन यस पुस्ताले चमत्कारी चिन्ह माग्छ? म तिमीहरूलाई साँच्चै भन्दछु, यस पुस्तालाई कुनै चिन्ह दिइनेछैन।”
[13] तब उहाँ तिनीहरूलाई छोडेर डुङ्गामा चढी पारिपट्टि जानुभयो।
[14] आफूसित भएको एउटा मात्र रोटीबाहेक चेलाहरूले अरू रोटी डुङ्गामा ल्याउन बिर्सेका थिए।
[15] “सावधान!” येशूले तिनीहरूलाई चेतावनी दिनुभयो, “फरिसीहरू अनि हेरोदको खमीरदेखि होसियार रहो।”
[16] तिनीहरूले यसबारे आपसमा छलफल गरे अनि भने, “यो त हामीसित रोटी छैन भनेर भन्नुभएको हो।”
[17] तिनीहरूका छलफल थाहा पाएर, येशूले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरू किन रोटी छैन भनेर कुरा गर्छौ? तिमीहरू अझै देख्तैनौ वा बुझ्दैनौ? के तिमीहरूको हृदय कठोर भएको छ?
[18] के तिमीहरूका आँखा भएर पनि देख्दैनौ र कान भएर पनि सुन्दैनौ? अनि के तिमीहरू सम्झदैनौ?
[19] जब मैले पाँच रोटीहरू पाँच हजारका निम्ति भाँचेको थिएँ, तिमीहरूले कति डालाभरि टुक्राटाक्रीहरू उठायौ?” “बाह्र,” तिनीहरूले भने।
[20] “अनि जब मैले चार हजारको निम्ति सातओटा रोटीहरू भाँचेको थिएँ, तिमीहरूले कति डालाभरि टुक्राटाक्रीहरू उठायौ?” “सात,” तिनीहरूले भने।
[21] उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै बुझ्दैनौ?”
[22] उहाँहरू बेथसेदामा आउनुभयो; अनि केही मानिसहरूले एकजना दृष्टिविहीनलाई येशूकहाँ ल्याएर त्यसलाई छोइदिन विन्ती गरे।
[23] उहाँले त्यस दृष्टिविहीन मानिसलाई आफ्नो हातले समातेर गाउँदेखि बाहिर लानुभयो। जब उहाँले त्यसको आँखामा थुकेर आफ्ना हात त्यसमाथि राख्नुभयो, येशूले सोध्नुभयो, “के तिमी केही देख्छौ?”
[24] त्यसले मास्तिर हेरेर भन्यो, “म मानिसहरूलाई रूखहरूजस्तो हिँडिरहेको देख्छु।”
[25] येशूले आफ्ना हात फेरि एकपल्ट त्यस मानिसको आँखामा राख्नुभयो। तब त्यसका आँखाहरू खोलिए, त्यसको दृष्टि फर्केर आयो, अनि त्यसले सबै थोक स्पष्ट गरी देख्यो।
[26] येशूले त्यसलाई यसो भनेर घर पठाउनुभयो, “गाउँमाचाहिँ जाँदै नजाऊ।”
[27] येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो। बाटोमा उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्छन्?”
[28] तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा दिने यूहन्ना भन्छन्, कसैले एलिया भन्छन्; अनि अझै अरूले अगमवक्ताहरूमध्ये एक भनी भन्छन्।”
[29] उहाँले सोध्नुभयो, “तिमीहरूले नि? तिमीहरू मलाई म को हुँ भन्छौ?” पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ।”
[30] येशूले तिनीहरूलाई आफ्नो विषयमा कसैलाई केही नभनून् भनी चेतावनी दिनुभयो।
[31] तब उहाँले तिनीहरूलाई मानिसका पुत्रले धेरै कष्टहरू सहनुपर्छ, अनि प्रधानहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शिक्षकहरूबाट तिरष्कृत हुनुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी सिकाउन थाल्नुभयो।
[32] उहाँले यस विषयमा स्पष्ट रूपले भन्नुभयो, अनि पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे।
[33] तर येशूले फर्केर आफ्ना चेलाहरूतिर हेरेर पत्रुसलाई हकार्नुभयो, “ए शैतान! मबाट टाढा जा,” उहाँले भन्नुभयो, “तेरो मनमा परमेश्वर सम्बन्धी विचारहरू होइनन्, तर मानिसहरू सम्बन्धी विचारहरू छन्।”
[34] तब उहाँले आफ्ना चेलाहरूसित भीडलाई पनि आफूकहाँ बोलाएर भन्नुभयो: “यदि कोही मेरो चेला हुन चाहन्छ भने, उसले आफैलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।
[35] किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, उसले त्यो गुमाउनेछ, तर जसले मेरो र सुसमाचारको निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ।
[36] कुनै मानिसले सारा संसार हात पारेर पनि आफ्नो प्राणचाहिँ गुमाउँछ भने उसलाई के फाइदा हुन्छ?
[37] अथवा कुनै मानिसले आफ्नो प्राणको बदलामा के दिन सक्छ र?
[38] यस व्यभिचारी र पापी पुस्तामा यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने, मानिसका पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र स्वर्गदूतहरूसित आउँदा त्यससँग शर्माउनेछन्।”